विकासन्युज

नेप्सेमा एक कम्पनीको ४७.५० प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न १ लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार महिला लघुवित्त वित्तीय संस्थाको ४७.५० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको ४७.५० प्रतिशत बोनस वापतको ७ लाख ६२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ४७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो

घरजग्गा र सेयरमा लगानी बढ्दा घर-चुलोमा सङ्कट

काठमाडौं । पछिल्लो समय मुलुकको अर्थतन्त्र निरन्तर खस्कँदो अवस्थामा रहे पनि यसबारे राजनीतिक नेतृत्व गम्भीर हुन नसकेको धारणा सरोकारवालाले राखेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालले काठमाडौँमा आयोजना गरेको ‘नेपालको वर्तमान आर्थिक अवस्थाः सङ्कट, चुनौती र समाधानका उपाय’ विषयक अन्तक्र्रिया कार्यक्रममा अर्थविद् र निजी क्षेत्रबाट यस्तो धारणा आएको हो । राप्रपा नेपालका अध्यक्ष कमल थापा, काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार तथा प्राध्यापक डा.अच्युत वाग्ले, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छा र नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्र सुधारका लागि राजनीतिक नेतृत्व गम्भीर हुन नसकेको धारणा राखे । बिग्रिँदो अवस्थाको अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रबाट सामूहिक पहल हुन आवस्यक रहेको उनीहरुको भनाइ छ । राप्रपा नेपालका अध्यक्ष थापाले देशको आर्थिक अवस्था अहिले अत्यन्तै जटिल र सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको अनुभव भइरहेको बताए । अहिले उद्योगी व्यवसायीले सहजरुपमा कर्जा नपाएको र उनीहरु ऋण तिर्न नसक्ने अवस्थामा पुगेको विषयलाई गम्भीररुपमा लिननुपर्ने थापाको भनाइ छ । ‘आममानिसको बुझाइमा देश चरम आर्थिक सङ्कटतर्फ गइरहेको अनुभव भइरहेको छ । प्रत्येक घर–चुलोमा सङ्कटको आभास देखिन थालिसकेको छ, हाम्रै निकायले पनि केही परिसूचक भयावह अवस्थामा रहेको बताइरहेका छन्,’ उनले भने, ‘अहिले देशको आर्थिक सङ्कटको समस्या कुनै दल विशेषले मात्र सम्भव हुँदैन, त्यसका लागि सरकारमा रहेका र प्रतिपक्ष सबै दल तथा निजी क्षेत्रसमेतले समन्वयतात्मक ढङ्गले अघि बढ्नुपर्ने हुन्छ ।’ पछिल्ला दिनमा अर्थतन्त्रका सबै आयाम बिग्रिएका कारण तिनलाई सुधार्न कुनै एक निकायको पहलले मात्र सम्भव नहुने उनको भनाइ छ । राप्रपा नेपालले अर्थतन्त्रबारे विभिन्न क्षेत्रबाट सुझाव लिएर सरकारलाई ज्ञापनपत्र बुझाउने अध्यक्ष थापाको भनाइ छ । अन्तक्र्रिया कार्यक्रममा काठमाडौँ विश्व विद्यालयका रजिष्ट्रार एवं प्राध्यापक डा.अच्युत वाग्लेले राजनीतिक वृत्तमा आर्थिक विषयप्रतिको चासो घट्दै गएको र अर्थतन्त्रको सङ्कटग्रस्त अवस्थाबारे कुनै पनि दलले गम्भीर भएर नसोचेको बताए । अहिले शोधनान्तर स्थिति र वैदेशिक मुद्रा सञ्चिती सुधारको अवस्थामा रहे पनि अबै सबैजसो क्षेत्र समस्यामा रहेको उनको भनाइ छ । मुलुकको आन्तरिक उत्पादन बढ्न नसक्दा अर्थतन्त्र सुधार हुन नसकेको वाग्ले बताउँछन् । अहिले मुलुकको अर्थतन्त्रमा औद्योगिक उत्पादनको योगदान घट्दै जानु र घरजग्गा कारोबारजस्ता क्षेत्रको योगदान बढ्नु समस्या हो, हाम्रो उत्पादनशील क्षेत्र सङ्कटमा पर्याे, बैंक तथा वित्तीय संस्थामा पनि उपभोग्य कर्जा बढ्दै गएको छ भने उत्पादनशील क्षेत्रमा कर्जा बढ्न सकेको छैन,’ उनले भने । पछिल्ला ६ दशकको अवधिमा नेपालको औसत आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै वाग्लेले छाया अर्थतन्त्र फस्टाएका कारण आर्थिक वृद्धिदरमा उल्लेख्य सुधार हुन नसकेको बताए । न्यून राजस्व सङ्कलन तथा पुँजीगत खर्च र बढ्दो व्यापार घाटालाई गम्भीर समस्याका रुपमा लिइनुपर्ने उनको भनाइ छ । ‘सरकारी राजस्वले चालु खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको छ, अर्कोतर्फ पुँजीगत खर्च बढ्न सकेको छैन, व्यापार घाटा उच्च छ, करिब १ रुपैयाँ बराबरको बस्तु तथा सेवा निर्यात गर्दा हामीले २० बराबरको आयात गरिरहेका छौँ,’ वाग्लेले भने । भारतसँग नेपाली मुद्राको स्थायी विनिमयदर कायम रहुन्जेलसम्म नेपालको आफ्नै मौद्रिक नीतिको कार्यदिशा तय गर्न नसकिने उनल बताए । त्यस्तै, वैदेशिक विकास सहायतामा अनुदानको अंश घट्दै जानु र ऋणको अंश बढ्दै जानु पनि समस्या रहेको वाग्लेले बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अहिले अर्थतन्त्रमा देखिएको समस्या निजी क्षेत्रको मात्र नभई देशकै भएको बताए । निजी क्षेत्रले अहिलेको जस्तो समस्या यसअघि कहिल्यै नदेखेको उनको भनाइ छ । ‘अहिले कोही त्यस्तो व्यक्ति छैन, जो समस्या नभोगिरहेको होस्, यो निजी क्षेत्रको मात्र होइन, राष्ट्रको पनि समस्या हो,’ उनले भने । न्यून राजस्व सङ्कलन, रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढ्नु, चर्को मुद्रास्फीतिलगायत समस्या समाधानका लागि सबै निकाय र क्षेत्र गम्भीर हुनुपर्ने गोल्छाको भनाइ छ । कोभिड–१९ महामारीका कारण समस्यामा परेको अर्थतन्त्रलाई उकास्नका लागि राष्ट्र बैंकका लचिला नीति पछि एकैपटक कडा बनाउँदा त्यसको असर बजारमा देखिएको उनको भनाइ छ । त्यस्तै नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका रुपमा उपलब्ध गराएको १ खर्ब रुपैयाँ रकमको उचित व्यवस्थापन नभएको पनि गोल्छाको तर्क छ । ‘कोभिड–१९ पछि पुनर्कर्जाको १ खर्ब निजी क्षेत्रले उपभोग गर्न पाए, बजारमा कृत्रिम रुपमा तरलता बढाइयो तर त्यसलाई समयमा व्यवस्थापन गरिएन, बैंकहरुले अत्याधिक कर्जा प्रवाह गरे, आयात बढ्यो, घरजग्गा र सेयरमा लगानी भयो तर यहीबीचमा शोधानान्तर स्थिति र विदेशी मुद्रासञ्चिती बढाउन राष्ट्र बैंकले कडा नीति लियो,’ उनले भने । लचिलो नीतिबाट राष्ट्र बैंकले एकैचोटी कडा मौद्रिक नीति कायम गरेर पनि समस्या भएको उनको भनाइ छ । अहिले तरलता अभावका कारण ब्याजदर महँगो भएको र बैंक तथा वित्तीय संस्थाको खराब कर्जासमेत बढ्दै गएको गोल्छाले बताए । ‘अहिलेको चर्को ब्याजदरले उद्योग–व्यवसायका लागि वातावरण बन्दैन, ब्याजदर एकल दरमा आउनै पर्छ, त्यस्तै खराब कर्जा ५ प्रतिशतसम्म पुग्ने देखिएको छ, यसले बैंकको नाफा घट्ने र उनीहरुले थप कर्जा बढाउन सक्ने अवस्था रहन्न,’ गोल्छाले भने । त्यस्तै, चालु पुँजी निर्देशिका दुई वर्षपछि मात्रै कार्यान्वयनमा ल्याउन र समस्यामा रहेको सहकारी क्षेत्रलाई व्यवस्थापन गर्न आवश्यक रहेको गोल्छा बताउँछन् । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष हेमराज ढकालले अर्थतन्त्रको समस्यालाई राजनीतिक नेतृत्व र नीति निर्माताले गम्भीरतापूर्वक नलिएसम्म निजी क्षेत्रले मात्रै समाधान गर्न नसक्ने बताए । अहिले निजी क्षेत्रको मनोबल खस्किएको उनले बताए । नेपालमा वस्तु तथा सेवाको उत्पादन लागत निकै बढी भएका कारण अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकेको ढकालको भनाइ छ । ‘बजारमा लगानीयोग्य रकम कम छ, मागमा गिरावट आएको छ, उद्योगका कर्मचारी कटौती भएका छन्, तलब खुवाउन सक्ने अवस्था छैन, हाम्रो मनोबल खस्किएको छ,’ उनले भने ।

रवि लामिछानेविरुद्ध ४ वटा उजुरी

काठमाडौं । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध ४ वटा उजुरी परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार ती उजुरी दर्ता भएका हुन् । तीन वटा उजुरी उम्मेदवारका प्रतिनिधिले गरेका हुन् भने एउटा उजुरी कानून व्यवसायी युवराज पौडेल ‘सफल’ले इमेलमार्फत दर्ता गराएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । अन्य तीन जनाले उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले दिने दाबी विरोधअन्तर्गत उजुरी परेको हो । राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराएका हुन् । आचार्यका अनुसार नेपालको नागरिकता लिएको ९० दिन नकटी उम्मेदवार बन्न नपाउने कानूनी प्रावधान रहेको र पुरानो नागरिकताको आधारमा मतदाता परिचयपत्र रहेकाले नयाँ लिनुपर्ने विषयमा उजुरी परेका हुन् । सफलको भने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १५ बमोजिम उजुरी दर्ता भएको हो । दफा १५ मा कुनै पनि उम्मेदवारको निर्वाचनको परिणाम आउनुभन्दा पहिला योग्यताका विषयमा जो सुकैले उजुरी दिन सक्ने उल्लेख छ । आचार्यले उम्मेदवार र उनका प्रतिनिधिले दिएको उजुरीमा बुधबार दिउँसो ३ बजेसम्म छलफल गरी टुङ्गो लगाइने जानकारी दिए । सफलले दिएको उजुरीको विषयमा उम्मेदवारसँग जवाफ मागेर निर्वाचन आयोगमा पठाइने उनले बताए । उपनिर्वाचनका लागि यस क्षेत्रमा १२ राजनीतिक दलका सहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रास्वपाका सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै संसद् पद पनि गएपछि अहिले उपनिर्वाचन हुन लागेको हो । यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका छन् । उनीहरूले ४३ स्थलका १३८ केन्द्रबाट मतदान गर्ने छन् ।

३ मतको फरक भएको पोखरा-१८ मा पुनः मतगणना गर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिका–१८ मा पुनः मतगणनाको आदेश दिएको छ । सो वडामा तीन मतान्तरले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद तिमिल्सिना विजयी भएका थिए । नेकपा (एमाले)का तर्फबाट वडाध्यक्षका प्रत्याशी पुष्कल थापाले गणनामा धाँधली भएकाले पुनः मतगणनाको मागसहित उच्च अदालतमा निवेदन दिएका थिए । सो निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले गणना बदर गरी आगामी वैशाख २० गते पुनः मतगणना गर्न आदेश गरेको अदालतका उपरजिष्ट्रार एवं सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिएका हुन् । गणनाको जनशक्ति व्यवस्थापनका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा र स्थान तोक्नका लागि उच्च अदालतका रजिष्ट्रारलाई आदेश दिएको छ । यसअघि निर्वाचन आयोगले सो वडाको अन्तिम मत परिणाममा वडाध्यक्षमा विजयी तिमिल्सिनाले १ हजार ६४३ र थापाले १ हजार ६४० मत पाएकोमा तिमिल्सिनालाई विजयी घोषणा गरेको थियो । थापाले परिणाम घोषणालगत्तै पुनः गणनाको माग गरे पनि निर्वाचन आयोगले गणना अस्वीकार गरेको थियो ।

गुराँस लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज चैत २२ गते अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज चैत २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पूँजीको १३.२७१२ प्रतिशत अर्थात् २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश पारित गर्न बैशाख ६ गते प्रधान कार्यालय तिनकुने काठमाडौंमा बिहान साढे १० बजे १३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

पैसाको जोहो गर्नुहोला ! रावा इनर्जिले बिहीबारदेखि आईपीओ बिक्री गर्दै

काठमाडौं । रावा इनर्जि डेभलपमेन्टले भोलि चैत २३ गते बिहीबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई बिक्री गर्नेछ । कम्पनीको सेयरमा खोटाङ्ग जिल्ला केपीलासगडी गाउँपािलका (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स.)का बासिन्दाहरुले खरिद गर्न सक्नेछन् । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५६ हजार कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम स्थानीय वासिन्दाले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले २ हजार ८ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । तर, स्थानिय बासिन्दाहरुलाई बिक्री गरिएको सेयरमा पूर्ण आवेदन नपरेमा वैशाख २२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभुमा क्यापिटल रहेको छ । स्थानिय लगानीकर्ताले आयोजना स्थल, प्रभु बैंकका तोकिएका शाखा कार्यालय र प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् । साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

मनकामना केबुलकार आज बन्द

काठमाडौं । मनकामना केबुलकारले एक दिनको लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । कम्पनीले टावर मर्मत सम्भार कार्यको लागि आज चैत २२ गते एक दिनको लागि केवुलकार सेवा बन्द गर्न लागेको हो । केवुलकार टावरको मर्मत संभार सकिएलगत्तै चैत २३ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुचारु हुर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटम स्टेशनमा रहेको रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ । कम्पनीले मनकामना केवलकारलाई नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टममा स्तरउन्नत्ति गरेको छ ।

हवाई कम्पनीहरुलाई भाडा घटाउन प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हवाई कम्पनीहरुलाई चैत २२ गतेदेखि हवाई भाडा घटाउन  निर्देशन दिएको छ । प्राधिकरणलाई मंगलबार हवाई कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । ‘उपरोक्त विषयमा नेपाल आयल निगमको चैत २० गते तद्नुसारको निर्णयानुसार हवाई इन्धनको साविक मुल्यमा प्रति लिटर १० घट्न गएकोले घटेको मुल्य अनुसार हुन आउने विभिन्न वृत्तखण्डको यसैसाथ संलग्न नयाँ फियुल सरचार्ज माघ २२ तद्नुसारदेखि लागू हुने गरी कार्यान्वयन गर्नरगराउनु हुनं प्राधिकरणको फागुन २१ गतेको निर्णयानुसार अनुरोध गरिन्छ,’ निर्देशनमा भनिएको छ । नेपाल आयल निगमले सोमबार इन्धनको मूल्य घटाउँदा हवाई इन्धनको मूल्य पनि १० रुपैयाँले घटाएको थियो ।