अपर तामाकोशी हाइड्रोपावरको सीइओमा मोहन गौतम
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मोहन प्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको यही चैत १४ गतेको २७२ औं बैठकले नेपाल विद्युत प्राधिकरणका ११ औं तह (निर्देशक)का गौतमलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । अपर तामाकोशी हाइड्रोपावर लि।स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरबको ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न संस्थापना भएको कम्पनी हो । कम्पनीले प्रवद्र्धन गरेको आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा छ । नवनियुक्त सिइओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणलाई तिब्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयहरुलाई फरफारक गर्ने लगायतका काम आफ्नो प्राथमिकतामा रहेको बताए । रोल्वालिङ खोलाको पानीलाई पथान्तरण गरी माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको जलाशयमा मिसाउँदा प्राप्त हुने हेडलाई प्रयोग गरी कम्पनीले २१ मेगावाटको छुट्टै आयोजना निर्माण गर्न लागेको छ। इन्जिनियरिङ, खरिद र निर्माण ढाँचामा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । आयोजनाबाट थप १० करोड ५० लाख युनिट वार्षिक ऊर्जा प्राप्त हुने छ । साथैै, रोल्वालिङ खोला माथिल्लो तामाकोशीमा मिसाउँदा २१ करोड ६० लाख युनिट थप ऊर्जा प्राप्त हुने छ । योसँगै प्रणालीमा वार्षिक रुपमा ३२ करोड १० लाख युनिट ऊर्जा थप हुनेछ । रसियाको मस्को विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गौतमसँग जलविद्युत क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनीसँग बुटवल पावर कम्पनीमा कार्यरत रहँदा नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजनाको डिजाइन र निर्माण सुपरीवेक्षण गरेको अनुभव छ । २०६०मा प्राधिकरणको सेवा प्रवेश गर्नु भएका उनले २०६४–२०७२ सम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनामै विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएको थियो । सिइओ गौतमले २०७२–२०७३ सम्म ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा आयोजना प्रबन्धक भएर काम गरेका थिए । उनले २०७३–२०७९सम्म ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनीको प्रबन्ध–सञ्चालक भई काम गरिसकेका छन् । उनी प्राधिकरणको प्रतिनिधित्व गर्दै हाल त्रिशूली र जगदुल्ला हाइड्रोपावर कम्पनीको सञ्चालक समेत हुन् । चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोशी हाइड्रोपावर लि।मा प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनीको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ । कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मजारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ ।
सार्वजनिक हुनुअघि विशेष मूल्यमा जिपको पहिलो सेभेन–सिटर मेरिडियनको बुकिङ खुल्ला
काठमाडौं ।अमेरिकी अटोमोबाइल ब्रान्ड जिपले नेपालमा नयाँ प्रिमियम एसयुभी जिप मेरिडियनको बुकिङ खुल्ला गरेको छ । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप मेरिडियनलाई नेपाली बजारमा सार्वजनिक गर्नुअघि विशेष मूल्यमा बुकिङ खुल्ला गरेको हो । जिप मेरिडियन अमेरिकी विरासत बोकेको जिप ब्रान्डको पहिलो ‘सेभेन–सिटेड’ ‘फोर बाई फोर’ क्षमता भएको एसयुभी हो जसलाई एमएडब्लु लाइफले केही सातामा नेपालमा सार्वजनिक गर्ने तयारी थालेको छ । नेपालमा जिप मेरिडियनको लन्चअघिको विशेष मूल्य एक करोड ८० लाख ९० हजार रुपैयाँ कायम गरिएको छ । यसैबीच, एमएडब्लु लाइफले आफ्नो काठमाडौं नक्सालस्थित सोरुमबाट जिप मेरिडियनको ‘डिस्प्ले’ तथा ‘टेस्ट ड्राइभ’ पनि सुरु गरिसकेको छ । नेपालमा मेरिडियनको टप भेरियन्ट लिमिटेड (ओ) उपलब्ध हुनेछ । मेरिडियनमा २.० लिटरको ‘मल्टिजेट डिजेल इन्जिन’ हुनेछ जसको ‘नाइन–स्पिड अटोमेटिक ट्रान्समिसन’ले १६८ बीएचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्नेछ । यसमा ‘स्यान्ड’, ‘मड’, ‘स्नो’ र ‘अटो अप्सन’ रहेको ‘सेलेक–टेरेन’सहितको जिपको ‘लेजेन्डरी फोर बाई फोर सिस्टम’ रहेको छ । जिप मेरिडियन ‘एड्भेन्चर’ र ‘सोफिस्टिकेसन’को अनुपम मिश्रण हो जसमा धेरै ‘सेग्मेन्ट–फस्र्ट’ फिचरहरु छन् र यो ‘अनरोड’ र ‘अफरोड’ दुवैका लागि क्षमतावान् छ । प्रिमियम इन्टेरियर, ठूलो क्याबिन स्पेस, अत्याधुनिक प्रविधि र व्यवहारिक फिचरहरुले जिप मेरिडियनलाई बजारमा उपलब्ध ‘सभेन–सिटर एसयुभी’ मध्येमा अब्बल बनाएको छ । भारतमा केही समयअघि सार्वजनिक गर्नुअघि जिपले मेरिडियनलाई यसको ‘ड्युरेबिलिटी’ र ‘कन्सिस्टेन्ट पर्फमेन्स’ प्रत्याभुत गर्न एक लाख किलोमिटर कठोर परीक्षणमा राखेको थियो । जिप मेरिडियन कठोर भौगोलिक अवस्थाका लागि जबरदस्त मात्र छैन सुन्दर पनि छ । जिपको ‘आइकनिक सेभेन–स्लट ग्रिल’, ‘डीआरएल’सहितको ‘पावरफुल एलइडी प्रोजेक्टर हेडल्याम्प’, ‘बम्परमा राखिएका सिल्भर लाइनहरु र ‘क्रोम फिनिस’ले मेरिडियनलाई आधुनिक ‘एसयुभी’को रुप दिएको छ । मेरिडियनमा जिपको ‘यु–कनेक्ट’ जडित १०.१ इन्चको टचस्क्रिन, १०.२ इन्चको ‘डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर’, ‘पानोरामिक सनरुफ’, ‘वायरलेस स्मार्ट कनेक्टिभीटी’, ‘वायरलेस फोन चार्जिङ’, ‘डुअल–जोन क्लाइमेट कन्ट्रोल’, ‘भेन्टिलेटेड पावर्ड फ्रन्ट सिट’ र ‘पावर टेलगेट’ लगायतका फिचर छन् । साथै, सुरक्षाका लागि यसमा ६ वटा ‘एअर ब्याग’, ‘३६० डिग्री क्यामेरा’, ‘टायर प्रेसर मनिटरिङ’, ‘ट्रयाक्सन कन्ट्रोल’, ‘इएससी’, ‘हिल–स्टार्ट एन्ड डिसेन्ट कन्ट्रोल’ जस्ता फिचर छन् ।
मेयर साम्पाङ र बालेनबीच भेट
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङबीच भेट भएको छ । धरान उपमहानगरका मेयर साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच मंगलबार दिउँसो राष्ट्रिय सभामा भेट भएको हो । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । भेटको क्रममा बालेनलाई साम्पाङले सिलाम साक्मा लगाइदिएका थिए ।
गरिबले ऋण गरेर निजी विद्यालयमै छोराछोरी पठाउने स्थितिको अन्त्य गर्नुपर्छ : सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले राज्यले गरेको लगानीको प्रतिफल आउनेगरी सार्वजनिक विद्यालयको शैक्षिक स्तरमा सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले शिक्षालाई राज्यले प्राथमिकता दिएपनि लगानीअनुसारको नतिजा आउन नसकेको स्पष्ट पारे । उनले सार्वजनिक विद्यालयमा सरकारले गरेको लगानीको सदुपयोग हुन नसकेको बताए । सभामुख घिमिरेले सरकारले गरेको लगानीको प्रतिफल पाउन किन सकिएको छैन भन्नेकुराको छलफल हुन जरुरी रहेको बताए । उनले निजी विद्यालयमा विद्यार्थीको आकर्षण बढ्नु र सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण घट्नुको कारण पत्ता लगाइ यथोचित सम्बोधन हुन जरुरी रहेको बताए । उनले देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक स्थितिमा शिक्षाको स्तरलाई माथि ल्याउन विद्यार्थीहरुलाई सुलब शिक्षा दिन जरुरी रहेको बताए । उनले गुणस्तरीय शिक्षा पाउने भन्दै ऋण गरेर गरिबले पनि निजी विद्यालयमा विद्यार्थी पढ्न पठाउने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताए । उनले भने, ‘परिवर्तित सन्दर्भमा शिक्षलाई कसरी लैजाने भन्नेबारेमा शिक्षा ऐन आउन बाँकी छ । आएका कुरा पनि प्रभावकारी ढंगबाट कार्यान्वयन हुन समस्या भएको छ । देशको समग्र आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक स्थितिमा शिक्षाको स्तरलाई माथि ल्याउन विद्यार्थीहरुलाई सुलब शिक्षा दिन जरुरी छ । गुणस्तरीय शिक्षा पाउने भन्दै ऋण गरेर गरिबले पनि निजी विद्यालयमा विद्यार्थी पढ्न पठाउने स्थितिको अन्त्य कसरी हुन्छ ? त्यो सोच्न जरुरी छ ।’ सभामुख घिमिरेले शिक्षा ऐन पूरा पारित गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताए ।
ग्लोबल हाईड्रोपावरको सेयर प्रत्याभुतिमा मेगा क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट
काठमाडाैं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स, मेगा क्यापिटल मार्केट्स तथा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच त्रिपक्षिय सम्झाैता भएकाे छ । ग्लोबल हाईड्रोपावर एसोशिएट्सले निष्काशन गर्न लागेको ५८ कराेड ६० लाख सेयर पूँजी बराबरकाे १०० रुपैयाँ दरकाे ५८ लाख ६० हजार कित्ता साधारण सेयरकाे प्रत्याभुती गर्न सम्झाैता भएकाे हाे । आज एक कार्यक्रमका बीच एसोशिएट्सका तर्फबाट अध्यक्ष मोतीलाल दुगड, मार्केट्सका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मर्चेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
मुस्ताङको सेकुङ तालमा बढ्दै पर्यटक
मुस्ताङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा झन् बढेर गएको छ । सडक सञ्जालले छोएपछि दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउन थालेको स्थानीयवासी बताउँछन् । बहुचर्चित बेनी– जोमसोम– कोरोला सडक खण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने यो तालसम्म पुग्न अहिले लगभग प्रन्ध्र मिनेट लाग्छ । एक वर्ष अगाडि तालसम्म पुग्न पैदलमार्फत जानुपर्ने बाध्यता थियो । पैदल जाँदा करिब डेढ घण्टा लाग्थ्यो । तालबाट दुई ठूला हिमाल धौलागिरि र निलगिरि देख्न सकिन्छ । ताल समुद्री सतहदेखि दुई हजार सात सय २५ मिटर उचाइमा अवस्थित छ । तालसम्म पुग्न व्यवस्थित सडक निर्माण सँगसँगै ताल वरपर रिङरोड, पार्किङ, प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार समेत निर्माण गरिएको वडा नं– २ का अध्यक्ष गौतम शेरचनले बताए । मुस्ताङ जिल्लामा मात्रै करिब आधा दर्जनभन्दा बढी तालतलैया छन् । जसमा अत्यन्तै चर्चित ताल ढुम्बा हो । यो घरपझोङ गाउँपालिका– ५ मा पर्छ । तर अहिले सेकुङ ताल पनि आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको वडाध्यक्ष शेरचनको ठम्याइ छ । थासाङ गाउँपालिकाभित्रका प्रमुख आकर्षणको रुपमा रहेको टिटी ताल र भुछर ताललाई समेत विभिन्न निकायले संरक्षण र व्यवस्थापनमा आवश्यक पहलकदमी चालिरहेको अध्यक्ष शेरचनले बताए । गत साल मात्रै तीन वटा तालको संरक्षण र प्रवद्र्धन गर्नको लागि सङ्घीय सरकारले गुरुयोजना नै बनाएर एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजनसमेत गरेको थियो । पर्यटकलाई त्यहाँसम्म जाने वातावरण निर्माणका लागि विशेषतः प्रचारप्रसारको खाँचो देखिएको वडाध्यक्ष शेरचनको भनाइ छ । रासस
युनेस्को विश्व महासंघ एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्वाचित
काजकस्तान । युनेस्को विश्व महासंघ अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रका लागि नेपाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको छ । युनेस्को महासंघ एसिया तथा प्रशान्त क्षेत्रको काजकस्तानको राजधानी अलमाटिमा आइतबार सम्पन्न २६औँ साधारण सभाबाट नेपाल उपाध्यक्षमा चुनिएको हो । त्यस क्षेत्रको १२ देशले सहभागीता जनाएको अधिवेशनमा दुई उपाध्यक्ष पदका लागि नेपाल र भियतनामको मात्र उम्मेदवारी दर्ता भएकाले दुबै देश उपाध्यक्षमा निर्विरोध भएका हुन् । नेपालबाट युनेस्को महासंघका अध्यक्ष तथा भानु नगरपालिकाका मेयर आन्नदराज त्रिपाठी चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्षमा भने कोरिया र फिलिपिन्सले दावी गर्दै उम्मेदवारी दिएको थियो । कोरिया र फिलिपिन्सबीचको प्रतिस्पर्धामा मतका आधारमा कोरिया अध्यक्षमा निर्वाचित भएको हो । कोरियाले १० मत प्राप्त गर्दा फिलिपिन्सले भने २ मत मात्र प्राप्त गरेको थियो । कोरियाबाट सञ्जुली चुनावी मैदानमा उत्रिएकी थिइन् । उपाध्यक्षमा निर्वाचित भएपछि नेपाल युनेस्को संघ–संस्था तथा क्लबहरूको राष्ट्रिय महासंघका अध्यक्ष त्रिपाठीले एसिया तथा प्रशान्त क्षेत्रमा युनेस्को अभियानलाई सशक्त रुपमा अगाडि बढाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
बीमा प्राधिकरणको ‘गोप्य जरुरी’ पत्र, जसले १४ कम्पनीका ३१ सञ्चालकको पद धरापमा
काठमाडौं । नेपाल बीमा प्राधिकरणको एउटा पत्रले धेरै वटा बीमा कम्पनीहरुको सञ्चालक तथा अध्यक्षको पद धरापमा परेको छ । प्राधिकरणले चैत १७ गते सबै बीमा कम्पनीहरुको लागि ‘गोप्य अत्यन्त जरुरी’ भन्दै एउटा पत्र पठायो । ९६ शब्द, ८ ठाउँमा वा, र, तथा, प्रयोग भएको, तीन ठाउँमा कमा र एउटा मात्र पूर्णविराम भएको एक वाक्यको परिपत्रले १४ वटा बीमा कम्पनीको ३१ भन्दा बढी जना सञ्चालकको पद धरापमा परेको छ । एक वाक्यको पत्र भएपनि त्यसमा प्रयोग भएको शब्द, वा, तथा जस्ता संयोजकको प्रयोगले उक्त पत्र कानुनको गुजुल्टो जस्तो छ । पत्र अनुसार बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत सेयर लिएको बहालवाला संचालक वा कर्मचारी बीमा कम्पनीको सञ्चालक हुन अयोग्य हुनेछ । त्यस्तै, सार्वजनिक पद धारण गरेको वा सरकारको स्वामित्व प्राप्त संस्था, प्राधिकरण, बोर्ड, बीमक, बैंक तथा वित्तीय संस्थाको बहालवाला कर्मचारी समेत बीमकको सञ्चालक हुन अयोग्य हुनेछ । राष्ट्रिय बीमा संस्थानका सातै जना सञ्चालक अयोग्य हुने छन् । अध्यक्ष ईश्वर पौडेल, सञ्चालकद्धय अरुण पोखरेल र रञ्जन कृष्ण अर्याल निजामति सेवा अन्तरगत विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारी हुन् । सञ्चालकद्वय प्रकाश कुमार अधिकारी नेपाल बैंकका र रामप्रसाद गौतम नेपाल राष्ट्र बैंकका कर्मचारी हुन् । त्यस्तै, सञ्चालक समितिका सदस्यद्वय कवि पाठक र कृष्ण कुमार श्रेष्ठ बीमा संस्थानका प्रशाशक र सहायक प्रशासक पदमा कार्यरत छन् । राष्ट्रिय बीमा कम्पनीका सञ्चालकहरु कृष्ण प्रसाद शर्मा र दामोदर प्रसाद सुवेदीले पद छोड्नुपर्ने हुन्छ । शर्मा अर्थमन्त्रालयका कर्मचारी हुन् भने सुवेदी कर्मचारी संयच कोषमा कार्यरत कर्मचारी हुन् । त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष लक्ष्मण पौडेलले पनि पद छोड्नु पर्ने हुन्छ । उनी नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, प्रभु इन्स्योरेन्सका सञ्चालक महेशप्रसाद खनालको पद पनि जोखिममा परेको छ । उनी कर्मचारी सञ्चय कोषका कामु मुख्य प्रबन्धक हुन् । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति सदस्य देवेन्द्र रमण खनालको पद पनि जोखिममा परेको छ । उनी राष्ट्रिय वाणिज्य बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । यो पूर्ण सरकारी बैंक हो । प्राइम लाइफ इन्स्योरेन्सका अध्यक्षसहित ३ जनाले पद त्याग गर्नुपर्ने हुन्छ । अध्यक्ष पिउस राज अर्याल र सञ्चालक दीपेश अमात्य लक्ष्मी बैंकका कर्मचारी हुन् । प्राइम लाइफका विज्ञ सञ्चालक रेशम थापाले पनि पद छोड्नु पर्ने हुन्छ । उनी त्रिभुवन विश्व विद्यायलको केन्द्रीय अर्थशास्त्र विभागमा सह-प्रध्यापक हुन् । बीमा प्राधिकरणको निर्देशन पालना गर्दा प्रभु लाइफ इस्योरेन्सका सञ्चालक मनिराम पोखरेलले पद छोड्नु पर्ने हुन्छ । उनी प्रभु बैंकको नायव प्रमुख कार्यकारी पदमा कार्यरत छन् । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालकद्वय युगेश भक्त बादे श्रेष्ठ र दीप चन्द्र रेग्मीले पनि पद छोड्नु पर्ने हुन सक्छ । श्रेष्ठ आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् भने रेग्मी ग्लोबल आईएमई बैंकमा चिफ फाइनान्स अफिसर छन् । यस कम्पनीमा श्रेष्ठको पद भने कानुनको प्रष्टिकरण वाक्यले जोगाउन सक्छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक डा. सुवर्णदास श्रेष्ठ माथि पनि प्रश्न उठ्नेछ । उनी सानिमा माई हाइड्रो पावर लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । सानिमा माइ नेप्सेमा सूचीकृत सार्वजनिक संस्था हो । आइएमई जनरल इन्स्योरेन्सका दुई जना सञ्चालकले पनि पद छोड्नुपर्ने हुनसक्छ । सञ्चालक अम्बिका प्रसाद पौडेल सरकारी कम्पनी नेपाल टेलिकमको सञ्चालक छन् भने अर्का सञ्चालक राजेन्द्र सिंह भण्डारी हाल राष्ट्रिय सुरक्षा परिषद्को सदस्य रहेको उनको व्यक्ति प्रोफाइलमा लेखिएको छ । नेको इन्स्योरेन्सका सञ्चालक विजय रमण पौडेलले पद छोड्नु पर्ने हुन्छ । उनी राष्ट्रिय वाणिज्य बैंकका कर्मचारी हुुन् । एनएलजी इन्स्योरेन्सका सञ्चालक सुरेश कुमार खत्रीले पनि पद छोड्नु पर्ने हुन सक्छ । उनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । बीमा प्राधिकरणको निर्देशनलाई मात्र आधार मान्ने हो भने नेपाल पुनर्बीमा कम्पनीका ४ जना संचालकले पद छोड्नु पर्ने छ । कार्यवाहक अध्यक्ष ईश्वरी प्रसाद अर्याल र मदन पोखरेल अर्थमन्त्रालयका कर्मचारी हुन् । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकद्वय दीप प्रकाश पाण्डे शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् भने सुनिल बल्लभ पन्तको एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् । केही सञ्चालकलाई कानुनी सुविधा बीमा प्राधिकरणको निर्देशनमा बीमा ऐनमा देखिएको प्रष्टिकरण वाक्य राखिएको छैन । बीमा ऐनको दफा ५० (ट) मा प्रष्टीकरण वाक्य राखिएको छ । त्यसमा लेखिएको छ- ‘तर नेपाल सरकार, प्रदेश सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्था वा बीमकले सेयर खरिद गरेको फरक किसिमको बीमकमा सञ्चालक मनोतित गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन ।’ उक्त वाक्यलाई बीमा प्राधिकरणको निर्देशन पत्रमा उल्लेख गरिएको छैन । बीमकले सेयर खरिद गरेको फरक किसिमको बीमकमा सञ्चालक मनोनित गर्न यस व्यवस्थाले बाधा पुर्याएको मानिने छैन भन्ने वाक्यांशले एक बीमा कम्पनीको कर्मचारीलाई फरक बीमा कम्पनीको सञ्चालक बन्न बाधा नपुग्ने कानुनका एक जानकारले बताए । यस्तो भएमा नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकद्वय दीपप्रकाश पाण्डे र सुनिल बल्लव पन्त, आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक युगेशभक्त बादे श्रेष्ठ, एनएलजी इन्स्योरेन्सका सञ्चालक सुरेश खत्रीको पद जोखिने छ । कानुनी व्याख्याका क्रममा बीमकको सञ्चालक बनेको सरकारी कर्मचारीलाई पनि बीमा प्राधिकरणले छुट दिन सक्ने धेरैको अनुमान छ । विदेशी कम्पनीलाई छुट ? एलआईसी नेपालको सञ्चालक समितिमा अध्यक्ष सहित चार जना भारतीय सरकारी कम्पनी एलआईसी इन्डियाका कर्मचारी छन् । त्यसमा अध्यक्ष सिद्धार्थ मोहन्टी, बीसी पटनायक, प्रविन कुमार माल्री र लक्ष्मी प्रसाद दास रहेका छन् । एलआईसी इण्डिया पूर्ण सरकारी कम्पनी हो । नेपाली सरकारी निकायका कर्मचारी वा नेपाली बीमा कम्पनीका कर्मचारी अर्को कम्पनीको अध्यक्ष वा सञ्चालक बन्न नपाउने कानुन बनाउने सरकार र कार्यान्वयनमा गइरहेको बीमा प्राधिकरणले यस विषयमा के गर्छ ? भन्ने गम्भीर प्रश्न उठिरहेको छ । जीवन बीमातर्फ मेटलाइफ नेपाल र निर्जीवनतर्फ नेशनल र ओरियन्टल इन्स्योरेन्सले नेपाल सरकार, बीमा प्राधिकरणको नियम मान्दैनन् । मेटलाइफ अमेरिकी लगानीमा सञ्चालित कम्पनी हो भने नेशनल र ओरियन्टल भारतीय लगानीका कम्पनी हुन् । यी कम्पनीहरुले नेपाल सरकारका नियम कानुन पालना गर्दैनन् । उनीहरुलाई कानुनको परिपालना गराउन पनि बीमा प्राधिकरण असफल हुँदै आएको छ । पुँजी वृद्धि, शाखा विस्तार, वित्तीय विवरणको पारदर्शिता, संस्थागत सुशासन लगायत कुनै पनि विषयका नियमको पालना यी कम्पनीले गर्दैनन् र बीमा प्राधिकरणले पालना गराउन पनि सकिरहेको छैन ।