विकासन्युज

नेपाल प्रहरी र सनराइज बैंकबीच सम्झौता, १५ जना विद्यार्थीलाई ९ वर्षसम्म छात्रवृत्ति दिने

काठमाडौं । नेपाल प्रहरी र सनराइज बैंकबीच ‘नेपाल प्रहरी– सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले समझदारीपत्र आदान–प्रदान गरेका थिए । उक्त समझदारीपत्रमा नेपाल प्रहरीका तर्फबाट प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रबिनकुमार नेपालले हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले सम्झौताका लागि सनराइज बैंकलाई धन्यवाद दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीसँग जोडिएर सहकार्य गर्ने, प्रहरी काम कारवाहीलगायत अन्य कल्याणकारी कार्यक्रममा सहजीकरण र सबलीकरण गर्ने प्रयासमा सनराइज बैंकले गरेको समन्वय प्रशंसनीय रहेको बताए । प्रहरी महानिरीक्षक कुँवरले सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदान–प्रदान हुने अपेक्षा लिइएको बताए । यसैगरी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले नेपाल प्रहरीले आमनागरिकलाई सुरक्षित जिवनयापन र सुरक्षाको प्रत्याभूती दिन गरेको योगदान र भूमिका प्रशंसनीय रहेको बताए । उक्त सम्झौताले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिलाई थप हौसला र प्रेरणा मिल्नुका साथै नेपाल प्रहरी र सनराइज बैंकबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने शर्माले विश्वास व्यक्त गरे । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौं, सुनसरीको धरान, रौतहटको गरूडा, चितवनको शान्तिपुर, तनहुँको बेलचौतारा, दाङको घोराही, सुर्खेतको वीरेन्द्रनगर र कैलालीको धनगढीस्थित आठ नेपाल पुलिस स्कुलहरुका कक्षा ४ देखि १२ सम्म अध्ययनरत १५ विद्यार्थीलाई नौँ वर्षसम्मको अध्ययनका लागि छात्रवृत्ति रकम प्रदान गरिने जनाइएको छ । छात्रवृत्ति कार्यक्रमबाट अमर/शहीद एवम् अशक्त प्रहरी कर्मचारीका सन्तति र वहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका सन्ततीमध्ये जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइने बताइएको छ । जेहेन्दार छात्र–छात्रालाई वार्षिक शुल्क, परीक्षा शुल्क र स्टेशनरी खर्चसमेत गरी एकमुष्ठ छात्रवृत्ति रकम प्रदान गरिने जनाइएको छ । यसैगरी नेपाल पुलिस स्कुलको शैक्षिक शुल्क वृद्धि भएमा निर्धारित शुल्कको अधिकतम् १५ प्रतिशतसम्मको वृद्धि रकम सनराइज बैंकबाट प्रदान गरिने छ ।

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेज बीच सम्झौता

काठमाडौं । प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेज बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस. जेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ ।  

विशेष साधारण सभाबाट पारित भयो आइएमई जनरल र प्रुडेन्सियलको मर्जर प्रस्ताव

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बीचको मर्जर आज विशेष साधारण सभाबाट पारित भएको छ । बुधबार दुवै कम्पनीको विशेष साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएको हो । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ । मर्जरपछि नयाँ कम्पनीको अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी ३ अर्ब २ करोड, व्यवसाय करिब ४ अर्ब, शाखा संजाल ८४ र कर्मचारी संख्या ५१७ भएको छ ।

ब्रोकर लाइसेन्स नियमावली संशोधन ऐनको परिधिभित्र छ : सर्वोच्च

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार र धितोपत्र दलाल व्यवसायीलाई लाइसेन्स दिनेगरी गरेको नियमावली संशोधन धितोपत्र सम्बन्धी ऐन, २०६३ को परिधि भित्र नै रहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले ठहर गरेको छ । सर्वोच्चको यो आदेशसँगै नेपाल धितोपत्र बोर्डलाई बजारको आवश्यकताअनुसार नयाँ स्कट एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको आवेदन माग गर्नेगरी नियमावली संशोधन गर्न बाधा नरहेको भन्दै बोर्डलाई बाटो खुला गरिदिएको छ । अधिवक्ता अमृत खरेलको वारेस भई इन्द्रबहादुर बानियाँले नयाँ स्टक एक्स्चेञ्ज र धितोपत्र दलाल व्यवसायीहरुको लाइसेन्स दिनेगरी भएको नियमावली संशोधन विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दायर गरेका थिए ।  

वैवाहिक करणीको आरोपमा न्यायाधीश गिरीलाई पक्राउ गर्न अदालतद्वारा पुर्जी जारी

कपिलवस्तु । वैवाहिक करणीको आरोपमा न्यायपरिषदमा कार्यरत न्यायाधीश भुवन गिरीलाई पक्राउ गर्न कपिलवस्तु जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । न्ययाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माग गरेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हो । न्यायाधीश गिरीविरुद्ध उनकी श्रीमतीले जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको मुद्दा हालेकी छन् ।

राष्ट्रपति पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट शितल निवास फर्किएका छन् । उनी पेटमा समस्या आएपछि गत शनिबार अस्पताल भर्ना भएका थिए । अस्पतालका प्रशासन प्रमुख वैकुण्ठप्रसाद थपलियाद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अस्पतालबाट ‘डिस्चार्ज’ भएको उल्लेख छ । राष्ट्रपति पौडेललाई केही समय पूर्णरुपमा आराम गर्न चिकित्सकहरुले सुझाव दिएको जनाइएको छ । यसैबीच राष्ट्रपति पौडेलले आफ्नो उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, त्रिवि शिक्षण अस्पताल परिवार तथा स्वास्थ्य लाभको कामना गर्ने सबैमा धन्यवाद व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

नेपालकाे आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । सन् २०२२ मा पाँच दशमलव आठ प्रतिशत अनुमान गरिएको नेपालको आर्थिक वृद्धिदर यसवर्ष थप खस्किने प्रक्षेपण गरिएको हो । “कसिलो मौद्रिक नीति, घट्दो आन्तरिक बजार माग, अपर्याप्त कोभिड महामारी पुनरुत्थानका कार्यक्रम र विश्वव्यापी रुपमा देखिएका समस्याको असर नेपालको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा देखिनेछ”, एडिबीले भनेको छ । नेपालको पर्यटन क्षेत्र र रेमिट्यान्स आप्रवाहमा विश्वव्यापी आर्थिक मन्दिको प्रत्यक्ष असर देखिन सक्ने एडिबीले जनाएको छ । त्यस्तै, पुँजीगत खर्च बढ्न नसक्नु, नतिजा केन्द्रित लगानी योजना नहुनु, वित्तीय व्यवस्थापनमा समस्या हुनु र आयोजना कार्यान्वयनका लागि पूर्वतयारीका काममा धेरै समय लाग्नुलाई न्यून आर्थिक वृद्धिदरको कारणका रुपमा देखाइएको छ । नेपालको अर्थतन्त्रमा बढी योगदान भएका कृषि, सेवा, उद्योग क्षेत्रलगायतको वृद्धिदरमा यसवर्ष गिरावट आउने अनुमान एडिबीको छ । “सन् २०२२ मा दुई दशमलव तीन प्रतिशत अनुमान गरिएको नेपालको कृषि क्षेत्रको वृद्धिदर यसवर्ष दुई प्रतिशतमा खुम्चिनेछ । त्यस्तै, सेवा क्षेत्र चार दशमलव चार प्रतिशत रहने प्रक्षेपण छ”, एडिबीको प्रतिवेदनमा भनिएको छ । सन् २०२२ मा सेवा क्षेत्रको वृद्धिदर पाँच दशमलव नौ प्रतिशत अनुमान गरिएकोमा यसवर्ष एक दशमलव पाँच प्रतिशत विन्दुले घट्ने प्रक्षेपण गरिएको हो । उच्च ब्याजदर, केही वस्तुमा आयात प्रतिबन्धको नीति, गार्हस्थ्य खपतमा गिरावट र बाह्य वस्तुको उपभोगका कारण औद्योगिक क्षेत्रको वृद्धिदर खुम्चने अनुमान एडिबीको छ । त्यस्तै घरजग्गा कारोबार र खुद्रा व्यापार क्षेत्रले अर्थतन्त्रमा पु¥याउने योगदानको वृद्धिदर पनि घट्ने अनुमान छ । सन् २०२३ मा नेपालले उच्च मूल्यवृद्धिको सामना गर्नुपर्ने अनुमान एडिबीको छ । यसवर्ष मूल्यवृद्धि सात दशमलव चार प्रतिशतसम्म पुग्ने अनुमान छ । सन् २०२२ मा नेपालको मूल्यवृद्धि छ दशमलव तीन प्रतिशत रहने अनुमान गरिएको थियो । तर अर्कोवर्ष अर्थात् सन् २०२४ मा भने नेपालको मुद्रास्फीति केही नियन्त्रणमा आएर छ दशमलव दुई प्रतिशतमा कायम रहने अनुमान गरिएको छ । त्यस्तै, यसवर्ष सरकारको चालु खाता घाटा चार प्रतिशतले खुम्चने अनुमान गरिएको छ । एडिबीले सन् २०२३ मा एसियाली मुलुकको औसत आर्थिक वृद्धिदर चार दशमलव आठ प्रतिशत र औसत मुद्रास्फीति चार दशमलव दुई प्रतिशत रहने अनुमान गरेको छ । केही समयअघि मात्र विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ मा विश्व आर्थिक वृद्धिदर एक दशमलव सात प्रतिशतमा खुम्चने जनाएको थियो । उक्त प्रतिवेदनले नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२२/२३ मा पाँच दशमलव एक र २०२३/२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । रासस

एनएमबि बैंकद्धारा जनकपुरधामको श्री जानकी आँखा अस्पताललाई आर्थिक सहयोग

काठमाडौं । एनएमबि बैंकले जनकपुरधामको जानकी आँखा अस्पताललाई आर्थिक सहयोग गरेकाे छ । एनएमबि बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत जनकपुरधामको श्री जानकी आँखा अस्पतालमा  १,५१,००० रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग त्यस अस्पतालमा आवश्यक उपकरणहरु खरिद गर्नको लागि हस्तान्तरण गरिएको हो। सोकार्यक्रममा बै‌‌कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नायव प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, प्रदेश प्रमुख कमल पोखरेल, एरिया म्यानेजर मिथिलेश कुमार झा समेतको उपस्थिति रहेका थियो ।साथै, आँखा अस्पतालको तर्फबाट सभापति नरेश प्रसाद सिंह, मेडिकल डाइरेक्टर आशिष बोहरा, कोषाध्यक्ष धिरेन्द्र मोहन झा लगायत अन्य पधाधिकारीहरु समेतकोउपस्थिीती रहेको थियो । एनएमबि बैंक विगत २६ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’ प्राप्तगरि सकेको छ ।