विकासन्युज

फोहरबाट आम्दानी गर्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल

कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ । अस्पतालमा उत्पादन हुने फोहर समस्या नभएर आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रमा कार्यरत कर्मचारी मीरा चौधरीले बताइन् । ‘फोहर सङ्कलन गरेर राख्छौँ, सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने गरेका छौँ’, उनले भनिन्, ‘फोहर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिन्छ ।’ उनका अनुसार कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ । ‘एकातर्फ अस्पतालको वातावरण स्वच्छ र सफा भएको छ, अर्कोतर्फ आम्दानी पनि भइरहेको छ’, उनले भनिन्, “फोहर बिक्री गरेर महिनामा १५/२० हजार आम्दानी हुन्छ ।” पुनः प्रयोग गर्न सकिने सामग्री बिक्री हुने गरेको छ । अहिले खरिद गर्ने धेरै नभएकाले सस्तोमै बिक्री गर्नु परिरहेको उनको भनाइ छ । फोहर व्यवस्थापन केन्द्रमा दुई कर्मचारी कार्यरत छन् । ‘जोखिम र बिना जोखिमको फोहर छुट्याइन्छ, जोखिमयुक्त फोहरलाई निर्मलीकरण गरिन्छ’, गोमती बोहराले भनिन्, ‘कुहिने, नकुहिने, प्लास्टिक, कागज, सिरिन्ज सबै छुट्याएर अलगअलग राखिन्छ ।’ सुरुमा सङ्कलन गरेको फोहर छुट्याउन समस्या भए पनि अहिले भने सहज भएको उनले बताइन् । अस्पतालमा एक महिनामा सात/आठ क्विन्टल फोहर उत्पादन हुने गरेको छ । जसमध्येको पुनःप्रयोग गर्न मिल्ने आधा भन्दा बढी फोहर अस्पतालले बिक्री गर्ने गरेको छ । बिक्री नभएको सामग्री भीमदत्त नगरपालिकाको फोहर सङ्कलन गर्ने गाडीमा व्यवस्थापन गरेर पठाउने गरिएको छ । रासस

सबैभन्दा ठूलो बन्यो आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, पुँजी ३ अर्ब नाघ्यो, व्यवसाय ४ अर्ब नजिक

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भई सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी बनेका छन् । दुई कम्पनी एक आपसमा मर्ज भई भनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो भएको हो । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ । दुई कम्पनी एक आपसमा मर्ज हुने सम्बन्धी सम्झौताले अन्तिम रुप पाएको छ । चैत २२ गते काठमाडौंमा सम्पन्न आईएमई जनरल इन्स्योरेन्सको विशेष साधारण सभाले यसअघि दुई कम्पनीबीच भएको मर्जसम्बन्धी अन्तिम सम्झौतालाई पारित गरेको हो । यससँगै अब केही दिनमै कम्पनीले औपचारिक रुपमा एकीकृत कारोबार गर्ने छन् । सभामा आईएमई जनरलका अध्यक्ष हेमराज ढकालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पुँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी दुई कम्पनी मर्ज भएको बताए । कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढीभन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले रहेको उनले बताए । साथै, उनले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । नेपालमा रहेका २ उत्कृष्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप गाभिएपछि बनेको कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गर्ने र सेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने अध्यक्ष ढकालले बताए । त्यस्तै, नयाँ कम्पनीको अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी ३ अर्ब २ करोड, व्यवसाय करिब ४ अर्ब, शाखा संजाल ८४ र कर्मचारी संख्या ५१७ हुने छ । साथै, नियमन निकाय बीमा प्राधिकरणले शुरु गर्न लागेको जोखिममा आधारित पुँजीको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने समेत सभाले जानकारी गराएको छ । संस्था गाभिए पछि पुँजी आधार सुदृढ हुनेछ, कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जीवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुने बताइएको छ । गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुने कम्पनीको विश्वास छ । जसले संस्थाको वित्तीय जग बलियो भई सेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पुँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गरिने कम्पनीको लक्ष्य छ । त्यस्तै, निकट भविष्यमा नेपालमा रहेको निर्जीवन बीमा कम्पनीहरुमध्ये आईजीआई प्रुडेन्सियल उत्कृष्ट कम्पनी हुने गरी स्थापित हुने समेत सभाले जानकारी गराएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र राजदुत थम्पसनबीच शिष्टाचार भेट

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदुत डिन आर। थम्पसनबीच आज गृहमन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटमा नेपाल९अमेरिका द्वीपक्षीय सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा छलफल भएको छ । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यस सम्बन्धि विधेयक संसदमा पेश भैसकेको समेत उनले बताए । यस्तै, राजदुत थम्पसनले अमेरिकाले नेपालको शान्तिप्रक्रियाले पूर्णता पाएको देख्न चाहेको तथा आफु र आफ्ना कुटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने बताएका थिए । राजदुत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताए । कोभिडपछि अमेरिकी सहयोग संस्था ‘पिसकोर’को काम प्रभावित भएकाले ‘पिसकोर’ कार्यकर्ताको भिसा सहजताका लागि राजदुत थम्पसनले आग्रह गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर यसलाई सहज बनाइने प्रतिवद्धता जनाएका छन् । नेपालमा अमेरिकी लगानी, कार्यरत संस्था तथा यसका कर्मचारीहरूको सुरक्षामा समेत राजदुतले चासो राखेका थिए ।

सरकारले तलब दिन नसकेर उच्च ब्याजमा ट्रेजरी बिल बिक्री गर्दैछ : डिसीईओ ज्ञवाली

काठमाडौं । नबिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मनोज ज्ञवालीले सरकारले कर्मचारीलाई तलब दिन नसकेर उच्च ब्याजमा ट्रेजरी बिल बिक्री गरिरहेको बताएका छन् । बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले देशको हालत खराब भैसकेको बताए । ‘देश रह्यो भने संस्था रहन्छ, संस्था रह्यो भने अटोमेटिक जनता रहन्छन्, त्यसैले देश जोगाउनु पर्छ,’ उनले भने । ज्ञवालीले कर्मचारीले सही काम गर्न नसके संस्थाले राम्रो प्रतिफल नदिने बताउँदै कर्मचारीहरु शुत्रभन्दा पनि साथी भएर सहकार्य गरेर अगाडी बढ्नुपर्ने बताए । यस्तै, उनले बैंकका कर्मचारी गाउँगाउँमा जाँदा कालोमोसो दल्ने प्रवृति बढेको बताए । टाइ र परिचयपत्र लगाएर हिँड्ने बैंकका कर्मचारीको सुरक्षाको व्यवस्था सरकारले गर्नुपर्ने उनी बताउँछन् ।

व्यवसायीको समस्या समाधानको लागि उम्मेदवारी दिएको हुँ : अन्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवारी अन्जन श्रेष्ठले व्यवसायीको समस्या समाधानको लागि आफुले उम्मेदवारी दिएको बताएका छन् । बुधबार उम्मेदवारी र एजेण्डा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । व्यवसायीहरुको समस्या समाधान गर्नको लागि सबल नेतृत्व चाहिएको बताउँदै उनले वस्तुगत उपाध्यक्षमा रुपमाको रुपमा काम गरेको अनुभवले उम्मेदवारी बनाउन प्रेरित बनाएको बताए । यस्तै, उनले तरलताको समस्या समाधान गर्न प्रयास नगरिएको बताए । रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार नल्याउने बताउँदै तत्काल ब्याज घटाउने विषयमा र तरलताको समस्या समाधानका लागि काम गर्न आवश्यक रहेको बताएका छन् ।

सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ : प्रधानमन्त्री

  काठमाडौं। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन्। बुधबार बिहान नेकपा माओवादी केन्द्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको सहकर्मीहरुको राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्रीले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित तुल्याउनुपर्ने बताए। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीतिक कस्तो हुने, अर्थनीति कस्तो हुने, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ । त्यही छलफलको जगमा अबको राज्य समाजवादउन्मुख हुनेछ भनिएको हो । समाजवादउन्मुख राज्यको महत्वपूर्ण आधार सहकारी आन्दोलन हो । तसर्थ, हामीले यसलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ।’ ‘संविधानमा तीन खम्बे अर्थनीतिको व्यवस्था गरिएको छ– निजी, साझेदारी र सहकारी। यो निकै ठूलो संघर्ष र बलिदानको जगबाट प्राप्त भएको उपलब्धि हो’ प्रधानमन्त्रीले भने, ‘संविधानले परिलक्षित गरेअनुसार समाजवादको आधार तयार पार्नसमेत सहकारी क्षेत्रको निकै ठूलो भूमिका रहन्छ। संविधानमा जे–जति मौलिक हकको व्यवस्था गरिएको छ, त्योसमेत समाजवादको आधार निर्माणसँग सम्बन्धित छ।’ ‘संविधान र संघीयताको कार्यान्वयनमा हाम्रा बहसहरू छन् । कतिपय शक्तिहरू परिवर्तनका मुद्दाहरु उल्टाउने, समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने काम गरिरहेका छन्’ प्रधानमन्त्रीले भने, ‘सहकारी आन्दोलनलाई पूँजीवादीकरण गर्ने सोंच पनि समाजवादको आधार निर्माणमा अवरोध सिर्जना गर्ने विचार र मनोविज्ञानद्वारा निर्देशित छ। सहकारी आन्दोलनलाई उत्पादनसँग नजोडी समाजवादको आधार निर्माण हुन सक्दैन। त्यसका लागि कृषिमा आधारित उत्पादन सहकारीहरूको निर्माण, परिचालन, बजारीकरण आवश्यक छ।’ ‘नेपालको सन्दर्भमा आत्मनिर्भर अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र नै हो। यसलाई ठीक ढंगले बुझेर राज्यले लगानी केन्द्रित गर्न आवश्यक छ। उद्योगको हकमा पनि कृषिमा आधारित उद्योगबाहेक अरु उद्योग दीर्घकालीन समाधान होइन। कृषिको सहकारीकरणमार्फत् मात्र आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र सुदृढ गर्न सकिन्छ’ प्रधानमन्त्रीले भने । केही नयाँ, फरक र गुणात्मक काम गर्छौं सम्बोधनका क्रममा प्रधानमन्त्रीले नयाँ सरकारले पूर्णता प्राप्त गरिसकेकाले अब सरकारको सम्पूर्ण ध्यान नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणमा केन्द्रित हुने बताए। प्रधानमन्त्रीले भने, ‘कठिन परिस्थितिमा सरकारको नेतृत्व गरिरहेको छु। चुनौती नै चुनौतीका बिचसमेत देशका लागि केही गर्न सकिन्छ भन्ने दृढतासहित सरकारको नेतृत्व गरिरहेको छु। यसलाई मैले चुनौतीपूर्ण अवसर भनेको छु।’ ‘आज वा भोलिमा सरकारले सतप्रतिशत पूर्णता पाउँछ। यसपछि हामी नीति, कार्यक्रम र बजेटमा केन्द्रित हुन्छौँ’ प्रधानमन्त्रीले भने, ‘परम्परागत नीति, कार्यक्रम र बजेटले देशका समस्या सम्बोधन गर्न सक्दैन, अर्थतन्त्रका चुनौती पार लगाउन सक्दैन । त्यसैले विगतभन्दा केही नयाँ, विगतभन्दा केही फरक र देशको अर्थतन्त्रमा गुणात्मक प्रभाव राख्ने योजनाहरू ल्याउनुपर्छ। सत्ता समीकरणको चरित्रलाई समेत ध्यान दिँदै केही न केही नयाँ गर्छौं।’

चानचुने नेतृत्वले महासंघ हाक्न सक्दैन, अञ्जन श्रेष्ठ नै चाहिन्छ : धुव्र थापा

काठमाडौं । नेपाल अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष धुव्र थापाले महासंघलाई हाक्न अन्जन श्रेष्ठ नै चाहिने बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको लागि अन्जन श्रेष्ठको उम्मेदवार र एजेण्डा घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘चानचुने नेतृत्वले महासंघ हाक्न सक्दैन, अञ्जन श्रेष्ठ नै चाहिन्छ,’ उनले भने, ‘व्यवसाय कसरी गरिरहेको छ, व्यवसाय कसरी हाँकिरहेको छ भन्ने विषयमा जानकार हुनु पर्छ ।’ उनले अन्जन श्रेष्ठको नेतृत्व उचाइ भएको र सबैको भावना बुझ्न सक्ने बताए । व्यवसाय छाडेर सडकममा पुगेको व्यवसायीको समस्या समाधानको लागस श्रेष्ठ उपयुक्त उम्मेदवार भएको उनको भनाइ छ ।

नयाँ वर्षमा सिजीका सामान किन्दा दुबइ घुम्ने मौका

काठमाडौं । नयाँ वर्षमा इलेक्टोनिक ब्रान्ड सिजीले घरायसी समानको खरिदमा दुबइ भ्रमण तथा साप्तहिक उपहार योजना ल्याएको छ । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँमा ग्राहकको खुशीयालीमा झनै उमँग भर्न सीजी साना घरायसी सामानको खरिदमा ‘नयाँ वर्ष २०८० सीजीको, उमँग नयाँपनको’ उपहार योजना लिएर आएको छ । यस उपहार योजना अन्तर्गत सीजीको साना घरायसी सामानको खरिदमा हरेक हप्ता प्रेसर कुकर उपहारसँगै बम्परमा दुबई भ्रमण जित्ने मौका समेत रहेको छ । सीजी तथा सीजी मेरिडियाका उत्कृष्ट उत्पादनहरुका साथ नयाँपनको उमँग सहित ग्राहकहरुले अब हरेक हप्ता आकर्षक उपहार सहित दुबई भ्रमणको आनन्द समेत लिन सक्नेछन् । यो योजना सीजी तथा सीजी मेरिडियाका विभिन्न उत्पादन जस्तै मिक्सर ग्राइन्डर तथा ब्लेन्डर, जुसर मिक्सर ग्राइन्डर, ह्याण्ड मिक्सर, माइक्रोवेभ ओभन, विभिन्न प्रकारका प्रेसर कुकर, राइस कुकर, वाटर डिस्पेन्सर, एयर फ्रायर, ग्यास स्टोभ तथा इन्डक्सन कुकटप आदि जस्ता अरु पनि साना घरायसी सामानमा उपलब्ध छ । यस उपहार योजनासँगै गर्मीको मौसममा समेत आरामदायी बसाइका लागि सीजीका सामानहरुको खरिद गर्दै ग्राहकहरुले दुबइ भ्रमण गर्ने मौका पाउँन सकिनेछ । यसैगरी सहज र सरल पकाईका लागि आकर्षक डिजाइनका उत्कृष्ट इन्डक्सन कुकटप लगायत प्रेसर कुकर, राइस कुकर तथा ग्यासस्टोभहरु उपलब्ध छन् । विभिन्न प्रकारका मिक्सर ग्राइन्डर, ब्लेन्डर तथा जुसर सँगै भान्साको कामकाज सरल हुनुको साथै पकवानको मजा लिन सकिनेछ तथा वाटर डिस्पेन्सरका साथ तातो तथा चिसो पानी तुरुन्तै प्राप्त गर्न सहज हुनेछ । यसैगरी एयरफ्रायरको खरिद गरी ग्राहकहरुले विभिन्न प्रकारका मिठा पकवानहरु एकदमै स्वस्थय तरिकाले बिना धेरै तेल प्रयोग गरी बनाउन सकिनेछ भने माइक्रेवेभ ओभनका साथ विषेश परिकारहरु घरमै बिना कुनै झन्झट बनाउन सकिनेछ । यसरी यी सबै उत्कृष्ट उत्पादनहरुको सहजता तथा विशेषताहरुको उपभोग गर्नुकासाथै यस नयाँ वर्षमा झनै उमँग भर्दै विदेश भ्रमण जित्ने मौका समेत पाइनेछ ।