विकासन्युज

एक वर्षमा ४० अर्बले बढ्यो विनोद चौधरीको सम्पत्ति

काठमाडौं । नेपालका एक मात्रै फोर्ब्स डलर अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमा ४० अर्ब रुपैयाँले बढेको छ । फोर्ब्सले बुधबार सार्वजनिक गरेको सन् २०२३ को विश्वभरका धनाढ्यहरुको सूचीमा चौधरी १ हजार ६४७ औं स्थानमा आइपुगेका छन् । गत वर्ष सन् २०२२ मा उनी १ हजार ९६५ औं स्थानमा थिए । गत वर्ष चौधरीको कुल सम्पत्ति एक खर्ब ९७ अर्ब थियो । एक वर्षमा उनको सम्पत्ति बढेर करिब २ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । फोर्ब्सको सूची अनुसार चौधरी संसारका एक हजार ६४७औं धनी व्यक्ति हुन् । उनी नेपालका एक्ला अर्बपति हुन् ।

पोखरामा तीन दिन नयाँ वर्ष महोत्सव हुने

काठमाडौं । होटल सङ्घ पोखराको आयोजनामा यही चैत २९, ३० र वैशाख १ गते पोखरामा १८औं फेवा नववर्ष महोत्सव हुने भएको छ । कोभिड–१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनरुत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवरद्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । कोरोनाले प्रभावित पर्यटन बिस्तारै सकारात्मक हुँदै गएका अवस्थामा पछिल्लो समयमा पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरोन्नतिले पोखरा पर्यटन आगमनमा असर परेको उनले बताए । ‘यही समयमा बैंक तथा वित्तीय संस्थाका तर्फबाट एकतर्फी रुपमा बढाइएको ब्याजदरका कारण होटल क्षेत्र उकुसमुकुसको अवस्थाबाट गुज्रनु परेको छ’, उनले भने, ‘अहिलेको पर्यटकीय यामको ९० प्रतिशत वरपर ‘अकुपेन्सी’ हुनुपर्ने हाम्रा होटलमा क्षमताको २० प्रतिशत हाराहारी मात्र पर्यटक हुनु दुर्भाग्य हो ।’ पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा महोत्सव हुने जानकारी दिँदै अध्यक्ष सुवेदीले उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, विभिन्न खानाका परिकारको स्वाद लिन पाइने बताए । महोत्सवका अवसरमा सङ्घअन्तर्गतका होटलले २० प्रतिशतसम्म छुट दिने योजना बनाएका पनि जनाइएको छ ।

महिला उद्यमशीलता विकासका लागि मेटलाइफ फाउन्डेसनको सहकार्य

काठमाडौं । महिला उद्यमशीलता विकासका लागि मेटलाइफ फाउन्डेसनले स्वावलम्बन विकास केन्द्र (सिएसडि) नेपालसँग सहकार्य गरेकाे छ । मेटलाइफ फाउन्डेसनले नेपालका विभिन्न लघुवित्त संस्थाहरुसँग आवद्ध महिला उद्यमीको आर्थिक अवस्था सुदृढ गर्ने तथा उनीहरुलाई डिजिटल ज्ञान प्रदान गर्ने उद्देश्यका साथ सहकार्य गरेको हाे । यस पहल बमोजिम, सिएसडिले विभिन्न लघुवित्तमा आवद्ध महिला उद्यमीहरुलाई सञ्जाल विकासको अवसर, विशेषज्ञबाट व्यवसायिक सल्लाह-सुझाव, तथा व्यापक प्रशिक्षण प्रदान गरी उद्यमशीलताको बढाउने कम्पनीले जनाएकाे छ । मेटलाइफकाे अनुसार उद्यमशीलता र नवप्रवर्तन तालिम, वित्तीय तथा डिजिटल ज्ञान सम्बन्धी कार्यक्रम, राष्ट्रिय तथा अन्तराष्ट्रिय राष्ट्रिय बजारमा पहुँच, तथा देशैभर सञ्जाल विकास जस्ता कार्यक्रमहरु मार्फत करिब ५ हजार महिला उद्यमीहरुको उत्थानका लागि यस सहकार्य अन्तर्गत कुल ५० हजार अमेरिकी डलर प्रयोग गरिनेछ । यस परियोजनाका लागि एमएससि ग्लोबल कन्सल्टिङ्ग नामक एक परामर्श कम्पनीले नेपालभरका विभिन्न लघुवित्त संस्थाहरुमार्फत समन्वय गर्न सिएसडि नेपालसँग सम्झौता गरेको हाे । यस परियाेजनाले डिजिटल प्रवृत्ति तथा वित्तीय विशेषज्ञताको परिचय मार्फत महिला उद्यमीहरुको डर हटाउन र उनीहरुलाई दीगो जीविकोपार्जनका लागि असल निर्णयहरु लिन आत्मविश्वास प्रदान गर्न समेत मद्दत गर्ने बताइएकाे छ । यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भारत, बंगलादेश, नेपाल र भियतनाममा समावेशीता र स्वतन्त्रता मार्फत समानतालाई अंगाल्ने बाचा स्वरुप मेटलाइफ फाउन्डेसनले यस साझेदारी परियोजनाको शुरुवात गरेको हो ।  

सीआईटी र नबिललाई सेबोनको कारवाही

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ वटा मर्चेन्ट बैंकरलाई कारवाही गरेको छ । सबोनले धितोपत्र व्यवसाय गरिरहेका नागरिक लगानी कोष (सीआईटी) र नबिल इन्भेस्टमेन्ट बैंकिङ (साबिक नेपाल बंगलादेश क्यापिटल)लाई कारवाहीसहित जरिवाना पनि तिराएको हो । सेबोनका अनुसार यी दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेस नगरेकाले कारवाही गरिएको हो । साथै, प्रतिवेदन बुझाउनका लागि समय पनि माग नगरेको भन्दै कारबाही गरेको सेबोनले जनाएको छ । सेबोनले दुवै कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम जनही १० हजार रुपैयाँ जरिवानापनि तिराएको बताएको छ । ‘धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) तथा धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम २६ को उपनियम (१) बमोजिम आर्थिक वर्ष २०७८/२०७९ को वार्षिक प्रतिवेदन तोकिएको समयभित्र पेश नगरेको तथा म्याद थपको लागि निवेदन समेत बोर्डमा ढिला गरि पेश गरेकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (२) बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिएको छ,’ सेबोनले भनेको छ ।

रवि लामिछानेको उम्मेदवारी कायम रहने

काठमाडौं । चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालय भरतपुर चितवनका अनुसार उनको उम्मेदवारी कायम भएको हो । लामिछानेको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उनी विरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा चैत २१ गते चार वटा उजुरी दर्ता भएको थियो ।

नेपाल प्रहरी र सनराइज बैंकबीच सम्झौता, १५ जना विद्यार्थीलाई ९ वर्षसम्म छात्रवृत्ति दिने

काठमाडौं । नेपाल प्रहरी र सनराइज बैंकबीच ‘नेपाल प्रहरी– सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले समझदारीपत्र आदान–प्रदान गरेका थिए । उक्त समझदारीपत्रमा नेपाल प्रहरीका तर्फबाट प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रबिनकुमार नेपालले हस्ताक्षर गरेका थिए । सो कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले सम्झौताका लागि सनराइज बैंकलाई धन्यवाद दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीसँग जोडिएर सहकार्य गर्ने, प्रहरी काम कारवाहीलगायत अन्य कल्याणकारी कार्यक्रममा सहजीकरण र सबलीकरण गर्ने प्रयासमा सनराइज बैंकले गरेको समन्वय प्रशंसनीय रहेको बताए । प्रहरी महानिरीक्षक कुँवरले सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदान–प्रदान हुने अपेक्षा लिइएको बताए । यसैगरी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले नेपाल प्रहरीले आमनागरिकलाई सुरक्षित जिवनयापन र सुरक्षाको प्रत्याभूती दिन गरेको योगदान र भूमिका प्रशंसनीय रहेको बताए । उक्त सम्झौताले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिलाई थप हौसला र प्रेरणा मिल्नुका साथै नेपाल प्रहरी र सनराइज बैंकबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने शर्माले विश्वास व्यक्त गरे । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौं, सुनसरीको धरान, रौतहटको गरूडा, चितवनको शान्तिपुर, तनहुँको बेलचौतारा, दाङको घोराही, सुर्खेतको वीरेन्द्रनगर र कैलालीको धनगढीस्थित आठ नेपाल पुलिस स्कुलहरुका कक्षा ४ देखि १२ सम्म अध्ययनरत १५ विद्यार्थीलाई नौँ वर्षसम्मको अध्ययनका लागि छात्रवृत्ति रकम प्रदान गरिने जनाइएको छ । छात्रवृत्ति कार्यक्रमबाट अमर/शहीद एवम् अशक्त प्रहरी कर्मचारीका सन्तति र वहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका सन्ततीमध्ये जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइने बताइएको छ । जेहेन्दार छात्र–छात्रालाई वार्षिक शुल्क, परीक्षा शुल्क र स्टेशनरी खर्चसमेत गरी एकमुष्ठ छात्रवृत्ति रकम प्रदान गरिने जनाइएको छ । यसैगरी नेपाल पुलिस स्कुलको शैक्षिक शुल्क वृद्धि भएमा निर्धारित शुल्कको अधिकतम् १५ प्रतिशतसम्मको वृद्धि रकम सनराइज बैंकबाट प्रदान गरिने छ ।

प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेज बीच सम्झौता

काठमाडौं । प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेज बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रभु क्यापिटल र सेन्ट जेभियर्स कलेजबीच कलेजका व्यवस्थापन विभागको स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई लगानी, वित्तीय योजना र जोखिम व्यवस्थापन सहित पूँजी बजारको सैद्धान्तीक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र सेन्ट जेभियर्स कलेजका प्राध्यापक फादर. डा. अगस्टिन थोमस एस. जेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु क्यापिटलले कलेजका विद्यार्थीहरु, कर्मचारीहरुलाई आफनो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पूँजी बजार सम्बन्धी सामान्य, आधारभुत, तथा प्राविधीक विश्लेषण सम्बन्धी ज्ञान प्रदान गर्ने रहेको छ ।  

विशेष साधारण सभाबाट पारित भयो आइएमई जनरल र प्रुडेन्सियलको मर्जर प्रस्ताव

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स बीचको मर्जर आज विशेष साधारण सभाबाट पारित भएको छ । बुधबार दुवै कम्पनीको विशेष साधारण सभाबाट मर्जर सम्बन्धी प्रस्ताव पारित भएको हो । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ । मर्जरपछि नयाँ कम्पनीको अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी ३ अर्ब २ करोड, व्यवसाय करिब ४ अर्ब, शाखा संजाल ८४ र कर्मचारी संख्या ५१७ भएको छ ।