बिग मर्जरका कारण बैंकका कर्मचारीले जागिर छाड्न थाले : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा कर्मचारीहरुलाई वेवास्ता गरिएको बताएका छन् । बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं महाधिवेशन तथा ३३ औं दिवश कर्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । बैंकिङ्ग क्षेत्रमा बिग मर्जरको अवधारणा अघि बढाइएको भएपनि कर्मचारी व्यवस्थापनमा चुकेको थापाको भनाइ छ । मर्जरपश्चात् कर्मचारीलाई अपायक पर्ने ठाउँमा सरुवा गरेको उनले बताए । ‘बिग मर्जर पछाडि लगानीकर्ताको लगानी सुरक्षित भयो, अर्थतन्त्रको आवश्यकता पनि बैंकहरुको मर्ज हुनुपर्छ तर, वर्षाैदेखि काम गरेर आएका कर्मचारीलाई वेवास्ता गरिएको छ,’ उनले भने, ‘मर्जरका बेलामा कर्मचरीको वृत्ति विकास वा अधिकारको ख्याल गरिएन, कतिपयलाई अपायक पर्ने ठाउँमा पठाएर हतोत्साहित गरेको छ, काम छोड्नु पर्ने सम्मको अवस्था श्रृजना गरिएको छ ।’ उनले यस्ता गतिविधिमा व्यवस्थापन तहको आँखा नपुगेको बताए । बाहिरबाट मर्जर भएपनि भित्रि रुपमा सकसको अवस्था रहेको उनको भनाइ छ । साथै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि छुट्टै स्वास्थ संस्था खोल्नका लागि प्रयास गर्ने उनले बताए । बैंक विरुद्धका गतिविधि गर्ने अराजक समूहलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । ‘देशको आर्थिक स्थिती खराब रहेका बेला प्रतिकूलताको फाइदा उठाएर केही अराजक व्यक्तिहरुले संगठित भएर बैंक तथा वित्तीय संस्थाको विरुद्धमा आन्दोलन गर्दैछन्, जसले समग्र राजनीतिक र आर्थिक स्थीरता खलबल्याउने काम गरेको छ,’ उनले भने, ‘बैंकमा काम गर्ने कर्मचारीलाई अप्ठ्यारो पार्ने गतिविधिलाइ सरकारले किन्तुपरन्तु नभनेर कारवाही गर्नुपर्छ, अराजक गतिविधि भनेको अपराधिक गतिविधि हो, अपराधीक गतिवधिले दण्ड पाउनुपर्छ ।’ उनले नेपालको अर्थतन्त्र संकटग्रस्त नभइ समस्याग्रस्त अवस्थामा पुगेको बताए । बाह्य क्षेत्रमा कडाइ गरेपछि विदेशी मुद्राको सञ्चिती बढेको उनको भनाइ छ । आयातमा कडाइ गर्दा राजश्व संकलनमा कमी आउँदा चालू खर्च गर्न ऋण लिनुपर्ने स्थिती आएको उनले बताए । नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएपनि सरकारसँग पारस्परीक सम्बनध कायम गरेर अर्थतन्त्र सुधार गर्नुपर्ने उनको धारणा छ । ‘सबैभन्दा बढी कर्जा जग्गामा जान्छ, जुन अनुत्पादक क्षेत्र हो, जसलाई ब्यापारले धेरै मूल्यअभिवृद्धि गर्दैन्, अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र नेपाल रास्ट्र बैंकबीच पारस्परिक सम्बन्ध हुनुपर्छ,’ उनले भने, ‘राष्ट्र बैंकले को कहाँबाट सरकारमा आएको छ भनेर हेर्नु हुँदैन, विश्वसनीय र पारदर्शी सम्बन्ध कायम गर्नुपर्छ ।’
टीम घोषणा गर्दै अञ्जनले भने : व्यवसायमा सफल छु, महासंघलाई पनि जिवन्त बनाउन उम्मेदवारी
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को को आगामी निर्वाचनका लागि अञ्जन श्रेष्ठले प्यानल घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्षका लागि मंगलबार मनोनयन दर्ता गरेका उनले बुधबार आफ्नो टीम घोषणा गरेका हुन् । उनको टीममा जिल्लानगर उपाधयक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिशालाल प्रधान र एसोशिएट उपाध्यक्षमा भरतराज आर्चाले उम्मेदवारी घोषणा गरेका छन् । आचार्य अञ्जन र उमेशलाल समूहको संयुक्त उम्मेदवारको रुपमा अगाडि बढेका छन् । चैत २९ गते हुने निर्वाचनका लागि श्रेष्ठले उम्मेदवारी घोषणा गर्दै समूहको वाचापत्र पनि सार्वजनिक गरेका छन् । वाचापत्र सार्वजनिक गर्दै उनले जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफुले उम्मेदवारी दिएको बताए । श्रेष्ठले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अगाडि बढ्नु पर्ने बताए । नेपाल जस्तो मुलुकमाकुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसायविस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए । महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे । आफ्नो टिमले सहभावना र सहकार्यको मुलआधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचानदिलाउने प्रतिबद्धता उनले जाहेर गरे । यस्तै, उनले आफुले सम्हालेका विभिन्न व्यवसायहरु सफल रुपमा अगाडि बढेको बताउँदे महासंघको नेतृत्व गर्ने अवसर पाएमा महासंघलाई पनि थप उचाइमा पुर्याउने बताए । श्रेष्ठले व्यवसायीको समस्या समाधानको लागि आफुले उम्मेदवारी दिएको बताउँदै व्यवसायीहरुको समस्या समाधान गर्नको लागि सबल नेतृत्व चाहिएको र ती समस्या समाधानको लागि आफु अब्बल भएको दाबी गरे । रेमिट्यान्सले मात्रै अर्थतन्त्रमा सुधार नल्याउने बताउँदै तत्काल ब्याज घटाउने विषयमा र तरलताको समस्या समाधानका लागि काम गर्न आवश्यक रहेको धारणा राखे । यस्तै, कार्यक्रममा नेपाल अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष धुव्र थापाले महासंघलाई हाक्न अन्जन श्रेष्ठ नै चाहिने बताए । ‘चानचुने नेतृत्वले महासंघ हाक्न सक्दैन, अञ्जन श्रेष्ठ नै चाहिन्छ,’ उनले भने, ‘व्यवसाय कसरी गरिरहेको छ, व्यवसाय कसरी हाँकिरहेको छ भन्ने विषयमा जानकार हुनु पर्छ ।’ उनले अन्जन श्रेष्ठको नेतृत्व गर्न सक्षम भएको र सबैको भावना बुझ्न सक्ने भएकोले यस पटक अञ्जन श्रेठलाई वरिष्ठ उपाध्यक्षमा विजयी गराउन आग्रह गरे । श्रेष्ठको समूहलाई गण्डकी र लुम्बिनी प्रदेशका अध्यक्षहरुको साथ रहेको देखिएको छ भने महासंघका तीन पूर्व अध्यक्षहरुको पनि सहभागिता हुँदा उनीहरुको पनि साथ रहेको बुझिन्छ ।
सूर्य नेपालको मिन्टो–ओ बाइट टफी बजारमा
काठमाडौं । सूर्य नेपालले आफ्नो नयाँ कन्फेक्सनरी उत्पादन मिन्टो–ओ बाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘फ्रेसनेस इन एभ्रि बाइट’ को नारा सहित प्रर्वद्र्धन गरिएको यो उत्पादन ‘मिन्ट’ स्वादमा ट्वीस्ट र्याप प्याकमा उपलब्ध हुने कम्पनीले जनाएको छ । आकर्षक मूल्य सहित मिन्टो ओ बाइट ५ रुपैयाँमा २ वटा उपलब्ध हुनेछ । मिन्टो–ओ बाइटको सितलताको आभाषको साथै रिफ्रेशिङ्ग अनुभव पनि गराउने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । मिन्ट स्वादले ताजा श्वासको साथै आत्मविश्वास पनि जगाउनेछ । अक्वा निलो र्यापरमा उपलब्ध मिन्टो–ओ बाइट बजारमा अरु उपलब्ध मिन्ट स्वादका कन्फेक्सनरी उत्पादनहरु भन्दा आकर्षक र भिन्न देखिने कम्पनीले जनाएको छ । मिन्ट स्वाद रुचाउने ग्राहकहरुले मिन्टो–ओ बाइट टफीको प्रयोगबाट मिन्टको सन्तुलित स्वाद प्राप्त गर्न सक्नेछन् । मिन्टो–ओ बाइट नेपालभरका खुद्रा पसल तथा सुपरमार्केटहरुमा उपलब्ध हुनेछ ।
बैंकका कर्मचारीलाई थर्काएर ९० प्रतिशत ऋण धनाढ्यले लिए : पूर्व अध्यक्ष दाहाल
काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघको पूर्व अध्यक्ष खिलानाथ दाहालले ९० प्रतिशत कर्जा धनाढ्यहरुले लिने गरेको बताएका छन् । बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिको कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले बैंकका कर्मचारीहरुलाई धम्क्याएर ९० प्रतिशत कर्जा धनाढ्यले लिने गरेको र बाँकी १० प्रतिशत कर्जा मात्रै अरुले गरेको बताए । यस्तै, उनले मर्जरको कारण कसैको पनि रोजगारी गुम्न नहुने बताए । उनले वित्तिय संस्थामा कार्यरत कर्मचारीको सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने पनि बताएका छन् । ुसामाजिक सुरक्षा कोसमा आवद्ध हुदा खाइपाइ आएको सुविधा पाउने भएपनी त्यो लागू हुन सकेको छैन, यसको व्यवस्था छिटो गर्नुपर्छ ु उनले भने । दाहालले अर्थतन्त्रलाई सुधार गर्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सहयोग गर्नु पर्ने बताएका छन् ।
नागढुङ्गामा सुरुङ खन्न रोकियो
काठमाडौं । सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिँदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ । यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ । पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकामा अहिले रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए । अरु काम चलेपनि सुरुङ खन्ने प्रगति कम रहेको छ । त्यहाँको भूवनोट कमजोर रहेको र काम गर्दा उपकरणमा विग्रने समस्या आइरहेको छ । आयोजनाले निर्माण कम्पनीलाई राम्रोसँग ‘सिस्टम’ ल्याउन र आवश्यक भएर उपकरणका पार्ट फेर्न भनेको छ । उनले भने, ‘आयोजना र कम्पनीका बीचमा कुराकानी भइरहेको छ’, निर्माण कम्पनीसँग अहिले जनशक्ति र उपकरण दुबै पर्याप्त भएको आयोजनाले जनाएको छ । कम्पनीले तिव्र गतिमा काम गरिरहँदा यो समस्याका कारण ‘ब्रेक डाउन’ भएको प्रमुख श्रेष्ठले बताए । डिजाइनमा यो ठाउँमा यस्तो चट्टान छ भन्ने अनुमान गरिएकामा त्योभन्दा फरक आइरहेको छ । धादिङ र काठमाडौँमा जग्गा प्राप्तिको समस्याको समाधान भइसकेको छैन । काठमाडौँतर्फ निर्माणस्थलमा दुई तीन जनाको व्यक्तिगत जग्गा मुआब्जा दिनुपर्ने छ । धादिङतर्फ स्थानीयवासीले उपभोग गरिरहेको जग्गा गुठीको छ । गुठीको जग्गाको मुआब्जा अरुभन्दा कम पाउने भए पनि उनीहरुले बढी मागरिहेको उनले बताए । जग्गा उपलब्ध नहुँदा काममा बाधा पुगेको छ । पहिरोको तल पर्खाल लगाउने लगायतका मर्मतको काम गर्नुपर्ने भए पनि जग्गाको कारण गर्न सकिएको छैन । उनले भने, ‘स्थानीयवासीको पूरा गर्न नसकिने मागका कारण निर्माणमा बाधा पुगेको छ’, आयोजनाले निर्माणस्थलमै ‘आइसोलेशन’ को व्यवस्था गरेर निर्माण अघि बढाइरहेको थियो । त्यति हुँदाहुँदै पनि कहिले कामदारलाई सङ्क्रमण देखिएर त कहिले निर्माण सामग्री र उपकरण ल्याउन बाधा पग्दा निर्माणमा ढिलाइ भयो । अहिले आयोजना पूरै ठप्प नभएर सुरुङ खन्ने काममा मात्रै बाधा पुगेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा विजय जैसीले बताउनुभयो । अरु संरचना निर्माण नियमित भइरहेको छ । मुख्य सुरुङको लम्बाइ दुई किमी छ सय ८८ मिटर रहेकामा अहिलेसम्म जम्मा एक हजार आठ सय ६९ किमी खन्न सकिएको छ । सुरुङभित्र ‘कङ्क्रिट लाइलिङ’को काम ३४ दशमव आठ प्रतिशत प्रगति रहेको छ । जमिनमा गर्ने काममध्ये सडकमार्ग उत्खनन ७९ दशमवलव दुई प्रतिशत र तटबन्ध पुर्ने काम (इब्याङमेन्ट फिलिङ) ७० दशमलव ५ प्रतिशत सकिएको छ । आयोजनाअन्तर्गत नै निर्माण गर्नुपर्ने १२ संरचनामध्ये ११ सम्पन्न भइसकेको छ । फ्लाईओभर निर्माणाधीन छ । आयोजनामा तीन अण्डरपास, चार बक्स कल्भर्ट, एक ओभर पास र तीन पुल सकिएको छ । आयोजनामा हालसम्म भौतिक प्रगति ५० दशमलव १५ प्रतिशत रहेको छ । जापान सरकारको ‘सफ्ट लोन’ मा निर्माण भइरहेको सुरुङमार्ग निर्माणको सुरुमा अवधि ४२ महिना थियो । नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पाेरेशनबीच विसं २०७६ असोजमा सम्झौता भएर कात्तिकमा सो आयोजना शिल्यान्यास भएको थियो । सुरूङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिक रूपमा हुने जाम हट्ने विभागले जनाएको छ । काठमाडौँ उपत्यका प्रवेश गर्ने सडकमा वर्षौदेखि रहेको सडक जाम कम गर्न नागढुङ्गा–मुग्लिन सडक विस्तार समेत अघि बढाइरहेको छ । रासस
नेपाललाई दिएको सहयोग रकम समयमा खर्च नभएकोमा विश्व बैंक र एडिबीको चिन्ता
काठमाडौं । नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन् । विश्व बैंकको टोलीले मङ्गलबार र एडिबीको टोलीले आज बिहान उनीसँग छलफल गरेको हो । छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् । ‘उहाँहरू नेपाललाई सहयोग गर्न उत्साहित हुनुहुन्छ, उहाँहरूको चाँसो र चिन्ता भनेको दिइएको सहयोग समयमा खर्च हुन सकेन भन्नेमा छ’, आज बिहान एडिबीका देशीय निर्देशक अर्नौड काउसिससँगको छलफलपछिसँग प्रतिक्रिया दिँदै अर्थमन्त्री महतले भने, ‘आयोजनाको जग्गा अधिग्रहण (साइट क्लियरेन्स) समयमा नभएर समस्या भएको छ, त्यसकारण ठेक्का प्रक्रिया अघि बढ्न नसकेको र कामले गति लिन सकेको छैन भन्ने उहाँहरुको चासो छ ।’ छलफलका क्रममा नयाँ विकास आयोजना र कार्यक्रमबारे पनि छलफल भएको उनले बताए । ‘उहाँहरूले विभिन्न क्षेत्रमा सहयोग गर्न चाहन्छौं भनेका छन्, एसियाली विकास बैंकले दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना र विश्व बैंकले माथिल्लो अरुण जलाशययुक्त जलविद्युत् आयोजनामा चासो देखाइरहेका छन्, त्यस्तै सडक आयोजनाहरुमा पनि बजेटरी सहयोगका लागि उनीहरुको चासो छ’, अर्थमन्त्री महतले भने । नेपालले अनुदान र सहुलियतपूर्ण ऋणलाई बढी प्राथमिकता दिनेबारे ती विकास साझेदारलाई आफुले जानकारी गराएको पनि मन्त्री महतको भनाइ छ । ‘उहाँहरुले अझै धेरै सहयोग गर्न चाहेको बताइरहँदा हामीले पनि अनुदान र सहुलियतपूर्ण ऋणलाई प्राथमिकतामा राख्ने भनेका छौं, यसमा उहाँहरु पनि सहमत हुनुहुन्छ’, उनले भने । नेपालको समग्र आर्थिक अवस्था सुधारका लागि सरकारले चाल्ने कदमबारे पनि विश्व बैंक र एडिबीले चासो देखाएका छन् । तात्कालिन आर्थिक समस्या र सरकारको प्राथमिकताबारे अर्थमन्त्रीसँग चासो राखेका थिए । अर्थतन्त्रमा देखिएका समस्या समाधान र मुख्यगरी खर्च गर्ने क्षमतामा देखिएको समस्यालाई बिस्तारै हटाउँदै जानेबारे प्रतिवद्ध रहेको अर्थमन्त्री महतले बताए । अर्थमन्त्रीका रुपमा कार्यभार सम्हालेलगत्तै महतले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड, निजी क्षेत्रका छाता सङ्गठनहरु, विकास साझेदारलगायत क्षेत्रसँग परामर्श थालेका छन् । तात्कालिन अवस्थामा अर्थतन्त्रमा खस्किएको मनोबल उकास्नु आफ्नो पहिलो काम हुने पनि उनले बताउँदै आएका छन् । रासस
फोहरबाट आम्दानी गर्दै कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताल
कञ्चनपुर । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ । अस्पतालमा उत्पादन हुने फोहर समस्या नभएर आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रमा कार्यरत कर्मचारी मीरा चौधरीले बताइन् । ‘फोहर सङ्कलन गरेर राख्छौँ, सङ्क्रमण हुनसक्ने सामग्रीको निर्मलीकरण गर्ने गरेका छौँ’, उनले भनिन्, ‘फोहर व्यवस्थापन केन्द्रमा कुहिने र नकुहिने सामग्री सबै छुट्याएर राखिन्छ ।’ उनका अनुसार कुहिने र नकुहिने तथा जोखिम र बिना जोखिमको सामग्री छुट्याएर बिक्री गर्ने गरिएको छ । ‘एकातर्फ अस्पतालको वातावरण स्वच्छ र सफा भएको छ, अर्कोतर्फ आम्दानी पनि भइरहेको छ’, उनले भनिन्, “फोहर बिक्री गरेर महिनामा १५/२० हजार आम्दानी हुन्छ ।” पुनः प्रयोग गर्न सकिने सामग्री बिक्री हुने गरेको छ । अहिले खरिद गर्ने धेरै नभएकाले सस्तोमै बिक्री गर्नु परिरहेको उनको भनाइ छ । फोहर व्यवस्थापन केन्द्रमा दुई कर्मचारी कार्यरत छन् । ‘जोखिम र बिना जोखिमको फोहर छुट्याइन्छ, जोखिमयुक्त फोहरलाई निर्मलीकरण गरिन्छ’, गोमती बोहराले भनिन्, ‘कुहिने, नकुहिने, प्लास्टिक, कागज, सिरिन्ज सबै छुट्याएर अलगअलग राखिन्छ ।’ सुरुमा सङ्कलन गरेको फोहर छुट्याउन समस्या भए पनि अहिले भने सहज भएको उनले बताइन् । अस्पतालमा एक महिनामा सात/आठ क्विन्टल फोहर उत्पादन हुने गरेको छ । जसमध्येको पुनःप्रयोग गर्न मिल्ने आधा भन्दा बढी फोहर अस्पतालले बिक्री गर्ने गरेको छ । बिक्री नभएको सामग्री भीमदत्त नगरपालिकाको फोहर सङ्कलन गर्ने गाडीमा व्यवस्थापन गरेर पठाउने गरिएको छ । रासस
सबैभन्दा ठूलो बन्यो आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, पुँजी ३ अर्ब नाघ्यो, व्यवसाय ४ अर्ब नजिक
काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्ज भई सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी बनेका छन् । दुई कम्पनी एक आपसमा मर्ज भई भनेको आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो भएको हो । मर्जपश्चात आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ । दुई कम्पनी बराबरी हैसियत अर्थात स्वाप रेसियो एक बराबर एकको अनुपातमा मर्ज हुने सहमति भएसँगै कम्पनीको पुँजी बढेर ३ अर्ब नाघेको हो । जुन निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पुँजी रहेको सिद्धार्थ प्रिमियरको तुलनामा बढी हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ । दुई कम्पनी एक आपसमा मर्ज हुने सम्बन्धी सम्झौताले अन्तिम रुप पाएको छ । चैत २२ गते काठमाडौंमा सम्पन्न आईएमई जनरल इन्स्योरेन्सको विशेष साधारण सभाले यसअघि दुई कम्पनीबीच भएको मर्जसम्बन्धी अन्तिम सम्झौतालाई पारित गरेको हो । यससँगै अब केही दिनमै कम्पनीले औपचारिक रुपमा एकीकृत कारोबार गर्ने छन् । सभामा आईएमई जनरलका अध्यक्ष हेमराज ढकालले हालको बीमा बजार तथा सोमा नियमन निकायबाट चुक्ता पुँजी सम्बन्धी प्राप्त निर्देशनलाई मध्येनजर गरी दुई कम्पनी मर्ज भएको बताए । कम्पनी गाभिए पश्चात हुने कम्पनीको अन्तराष्ट्रिय, राष्ट्रिय, स्थानिय पहुँच, अनुभव, क्षमतलाई बढीभन्दा बढी उपयोग गरी ७ वटै प्रदेशमा रहने शाखा संजाल लगायत डिजिटलको माध्यमबाट समेत उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले रहेको उनले बताए । साथै, उनले कम्पनीले निर्जीवन बीमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा बैठकलाई जानकारी गराए । नेपालमा रहेका २ उत्कृष्ट व्यवसायी घराना आइएमई ग्रुप र विशाल ग्रुप गाभिएपछि बनेको कम्पनीले भविष्यमा उत्कृष्ट व्यवसाय हासिल गर्ने र सेयरधनीहरुलाई उचित प्रतिफल प्रदान गर्ने अध्यक्ष ढकालले बताए । त्यस्तै, नयाँ कम्पनीको अधिकृत पुँजी ५ अर्ब, चुक्ता पुँजी ३ अर्ब २ करोड, व्यवसाय करिब ४ अर्ब, शाखा संजाल ८४ र कर्मचारी संख्या ५१७ हुने छ । साथै, नियमन निकाय बीमा प्राधिकरणले शुरु गर्न लागेको जोखिममा आधारित पुँजीको आधारमा व्यवसाय विस्तार गर्न पनि सहज हुने समेत सभाले जानकारी गराएको छ । संस्था गाभिए पछि पुँजी आधार सुदृढ हुनेछ, कम्पनीको वित्तीय अवस्था थप सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बन्ने र निर्जीवन बीमा क्षेत्रको विकास तथा बीमितको हक हित संरक्षणमा संस्था सफल हुने बताइएको छ । गाभिए पश्चात प्राविधिक र अन्य क्षमता, अनुभव र विज्ञता भएको मानव संशाधन एकआपसमा मिलेर संस्थालाई थप बल पुग्ने छ भने अनुभव आदान प्रदान भै गुणात्मक उपलब्धि हासिल हुने कम्पनीको विश्वास छ । जसले संस्थाको वित्तीय जग बलियो भई सेयरधनीहरूलाई उचित प्रतिफल प्रदान गर्दै पुँजी संरचना अनुसार गुणस्तरीय व्यवसाय गरिने कम्पनीको लक्ष्य छ । त्यस्तै, निकट भविष्यमा नेपालमा रहेको निर्जीवन बीमा कम्पनीहरुमध्ये आईजीआई प्रुडेन्सियल उत्कृष्ट कम्पनी हुने गरी स्थापित हुने समेत सभाले जानकारी गराएको छ ।