सरकारी कार्यालयलाई स्वदेशी काठ प्रयोग गर्न निर्देशन
काठमाडौं । राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकारलाई स्वदेशी काठ र काठजन्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ । ‘नेपालका काष्ठजन्य वन पैदावारको उच्चतम उपयोग, उत्पादन तथा आपूर्ति र विदेशबाट आयातको विस्थापन’ विषयक बैठकमा समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले स्वदेशी काठको उच्चतम प्रयोग गर्दै आयात प्रतिस्थापन गर्नेतर्फ अग्रसर हुन सरकारलाई निर्देशन दिएकी हुन् । ‘सम्बन्धित निकायसँग समन्वय गरी स्वदेशमै काष्ठजन्य वनपैदावार उत्पादन र आपूर्ति गर्ने तथा यसको आयात विस्थापनमा सरकारले ध्यान दिनुपर्छ, सरकारी निकायले स्वदेशी काठ प्रयोग बढाउनेतर्फ सरकारलाई निर्देशन दिएकाछौँ,’ उनले भनिन् । वन तथा वातवरण मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले काठको आयात प्रतिस्थापनका लागि आवश्यक विधि तयार गर्न मन्त्रालयअन्तर्गत समितिसमेत गठन भइसकेको जानकारी दिए । उनले वन संरक्षणसँगै उपभोग र व्यवस्थापनका लागि काम भइरहेको बताए । वन तथा वातवरण विभागका उपमहानिर्देशक नवराज पुडासैनीले काठमा नेपाल आत्मनिर्भर बन्न सक्ने बताए । नेपालमा सबैभन्दा धेरै तराई तथा चुरेक्षेत्रका वनमा काठ मौज्दात रहेको उनको भनाइ छ । ‘नियम अनुसार अहिले पनि १५ करोडभन्दा बढी क्युविक काठ निकाल्न सकिन्छ, यसबाट सरकारले वार्षिक ९८ अर्ब ९९ करोड रुपैयाँ राजस्व प्राप्त गर्न सकिन्छ भने यसबाट ६१ हजारले रोजगार पाउन सक्ने अवस्था छ,’ उनले भने । बैठकमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिको प्रगति विवरणमा समेत छलफल भएको थियो । चुरे संरक्षण समितिका अध्यक्ष डा.किरण पौडेलले चुरे संरक्षणका लागि बजेट घटाइएकोप्रति असन्तुष्टि व्यक्त गरे । समिति सभापति थापाले चुरे संरक्षणका लागि अर्थमन्त्रालयसँग फेरि छलफल आवश्यक रहेको बताइन । उनले वन्यजन्तु र मानवबस्तीबीचको बढ्दो द्वन्द्व कम गर्न कार्यक्रम प्रभावकारी बनाउन वन तथा वातवरण मन्त्रालयलाई निर्देशन दिइन । यसका लागि अन्तरमन्त्रालयबीच समन्वयको खाँचो रहेको भन्दै सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ अनुसार सबै निकायले काम गर्नुपर्ने उनको भनाइ छ । समिति सदस्य गङ्गाकुमारी बेल्बासेले वन संरक्षणसँगै सहज उपयोगका लागि ध्यानार्कषण गराइन् । उनले रुख कटानसँगै वृक्षरोपणलाईं प्रभावकारी बनाउन जरुरी रहेको बताइन् । ‘हामीसँग वन क्षेत्रफल निकै धेरै छ, सडक कालोपत्रे गर्दा पनि सडकबीचको रुख काटेका छैनौँ, यो दीर्घकालीन समस्या भएकाले निष्र्कषमा जान जरुरी छ,’ उनले भनिन् । समिति सदस्य जगतबहादुर पार्कीले सरकारी कार्यालयमा आल्मुनियमको प्रयोग कम गर्दै स्वदेशी काठको प्रयोग बढाउनुपर्ने बताए । यसका लागि नीतिगत पहल आवश्यक रहेको उनको भनाइ छ । समिति सदस्य राजेन्द्रलक्ष्मी गैरेले स्वदेशी काठको प्रयोग बढाएर आयातित काठमार्फत विदेशिने रकम जोगाउनुपर्ने धारणा राखे ।
नेप्सेमा गुँरास लाइफको १३.२७ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ । नेप्सेले गुँरास लाइफ इन्स्योरेनस कम्पनीको बोनस सेयर मुल्य समायोजन गरेको हो । कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा बिहीबार कारोबार हुनेछ । कम्पनीको १३.२७ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेल प्रतिकित्ता ३६९.४७ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । बुधबार इन्स्योरेन्स कम्पनीको सेयर प्रतिकित्ता ४१८.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न निर्देशन, राइड सेयर व्यवसायीलाई धक्का
काठमाडौं । अबदेखि निजी सवारीले भाडा लिएर यात्रु बोक्न नपाइने भएको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न निर्देशन दिएको हो । नेपाल राष्ट्रिय व्यवसायी महासंघले केही दिन अघि गृह मन्त्रालयमा एक ज्ञापनपत्र पेश गर्दै सार्वजनिक यातायातका सवारी साधनहरुलाई प्रत्यक्ष असर र्पुयाउने गरी निजी सवारीले उद्देश्य विपरीत भाडा तोकेर देशभर निर्वाद रुपमा यात्रु ओसारपसार गर्ने गरेको गुनासो गरेको थियो । सोही अनुसार बुधबार गृह मन्त्रालयले एक परिपत्र जारी गर्दै भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाही गर्न भनेको हो । यदि यो निर्देशन हुबहु पालना भए भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा पर्नेछन्न् । गृहको यस्तो निर्देशनले पठाओ, इन्ड्राइभर जस्ता राइड सेयर सेवा दिइरहेका दर्जनौं कम्पनीको व्यवसायमा धक्का लाग्ने देखिन्छ । पछिल्लो समय काठमाडौं लगायत देशका मुख्य सहरहरुमा एपको प्रयोगमार्फत निजी सवारीमा यात्रु बोक्ने काम राइड सेयर सेवप्रदायक कम्पनीले गर्दै आएका छन् । पछिल्लो समय अधिकांशले अफलाइनबाटै सेवा दिइरहेका छन् । गृह मन्त्रालयका अनुसार अबदेखि रातो नम्बर प्लेट भएका ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधानले भाडा लिएर यात्रु बोक्न पाइने छैन ।
कुमारी क्यापिटलको सुनौलो लगानी योजना खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । कुमारी क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिन आज चैत २३ गते अन्तिम दिन रहेको छ । क्यापिटलले चैत ९ गतेदेखि बिक्री खुला गरेको कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने अन्तिम दिन हो । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको हो । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यो फण्ड खुलामुखि योजना हो । क्यापिटलले १५ प्रतिशत अर्थात् १ करोड ५० लाख कोष प्रवद्र्धक कुमारी बैंकलाई सुरक्षित राखी ३५ करोड रुपैयाँ बराबरको ३ करोड ५० लाख इकाई निष्काशन गरेको हो । साथै, क्यापिटलले प्रथम चरणमा ५० करोड रुपैयाँको ५ करोड इकाई बिक्री गरेको हो । इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरेको हो । क्यापिटलको फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
रावा इनर्जिको आईपीओ बिक्री खुला, कति कित्ता खरिद गर्ने ?
काठमाडौं । रावा इनर्जि डेभलपमेन्टले आज चैत २३ गते बिहीबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी २८ करोड रुपैयाँको २ करोड ८० लाख रुपैयाँ बराबरको २ लाख ८० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुलाई बिक्री गरेको हो । खोटाङ्ग जिल्ला केपीलासगडी गाउँपािलका (साविक फेदी, खार्ताम्छा, बास्पानी, बाक्सिला, सप्तेश्वर, दिप्सुङ र सुङ्देल गा.वि.स.)का बासिन्दाहरुले सेयर खरिद गर्न सक्नेछन् । साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५६ हजार कित्ता सेयरमा विदेशमा रोजगार गरी रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि स्थानीय वासिन्दाले १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले २ हजार ८ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । तर, स्थानिय बासिन्दाहरुलाई बिक्री गरिएको सेयरमा पूर्ण आवेदन नपरेमा वैशाख २२ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभुमा क्यापिटल रहेको छ । स्थानिय लगानीकर्ताले आयोजना स्थल, प्रभु बैंकका तोकिएका शाखा कार्यालय र प्रभु क्यापिटलबाट आवेदन दिन सक्नेछन् । साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
३० हजार कित्ता किन्न पाइने भुगोल इनर्जिको आईपीओ बिक्री खुला
काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आज चैत २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ रुपैयाँ अंकित मूलय दरका १० लाख ८८ हजार १०७ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ भने ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १३ लाख ४६ हजार ९९३ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आजदेखि आवेदन दिन सक्नेछन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याएको सेयर बिक्री गरी बाँडफाँट गरिसकेको हुँदा अब सर्वसाधारण लगानीकर्ताले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीको आईपीओमा चैत २७ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्ता सेयर खरिद गर्न सक्नेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा २०८० वैशाख ७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट सिआस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवारसँग ढकालको ‘टेबल टक’, सर्वसम्मत नेतृत्व चयनको अभ्यास थालौं
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत्र २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना आकांक्षीहरुलाई एकै ठाउँमा राखेर सर्वसम्मत नेतृत्व चयन गर्ने किसिमले पहल सुरु गरेका हुन् । ढकाल आगामि साधारणसभाबाट स्वतः अध्यक्ष बन्दै छन् । बुधबार काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीनजना आकांक्षीहरु उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर तीन जनालाई मिलेर अगाढि बढ्न आग्रह गरेका छन् । ‘महासंघलाई सबै उद्योगी व्यवसायीहरुको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो, त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौ भन्ने हो, ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र, सबै प्रदेशमा अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन्, यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ, यसै शिलशिलामा महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो,’ ढकालले भने । उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरु समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतीको झनै ठूलो महत्व रहने बताए । ‘हामी एक भयौं भने मात्र निजी क्षेत्र बलियो हुन्छ,। हाम्रो महत्व बढ्छ, हाम्रा माग सम्बोधन गराउन सकिन्छ, अहिलेको अवस्थामा झन हामी एक हुनुको विकल्प छैन,’ उनले भने । उनले निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा व्यवसायीहरु बिभाजन नहुन पनि आग्रह गरेका छन् । एकता र सहकार्यबाट समाधान खाजेर अगाडि बढ्नु पर्न उनको भनाइ छ ।
लुम्बिनीमा थन्किएका २० वटा देशका विदेशी मुुद्रा सटही हुने
काठमाडौं । लुम्बिनीमा दानको रूपमा जम्मा भएको विदेशी मुद्रा सटही हुने भएको छ । लामो समयदेखि सटही नभएको विदेशी मुद्रा सटही गर्न नेपाल राष्ट्र बैंक सिद्धार्थनगर र लुम्बिनी विकास कोषबीच सम्झौता भएको छ । बुधबार कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र राष्ट्र बैंक सिद्धार्थनगरका कायममुकायम निर्देशक शान्तिप्रसाद पाण्डेबीच लुम्बिनीमा सङ्कलित विभिन्न २० वटा देशका विदेशी मुद्रामात्र सटही गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो । लुम्बिनीमा भेटी र दानबापत जम्मा भएको विदेशी मुद्रामा सबैभन्दा धेरै म्यानमारको रहेको कोषका कोषाध्यक्ष भट्टराईले बताए । यस्तै, श्रीलङ्का, मेक्सिको, इराक, बु्रनाई, लेवनान, पेरु, युगान्डा, भियतनाम, बङ्गलादेश, इन्डोनेसिया, ओमानलगायतका मुलुकको मुद्रा रहेको उनको भनाइ छ । राष्ट्र बैंकको परिवत्र्य सूचीमा नपरेका लुम्बिनी मायादेवी मन्दिरमा दानबापत चढाइएका मुद्रा लामो समयदेखि सटही नभएर कागज बराबर भएको थियो । लुम्बिनी विकास कोषले पटकपटक पहल गरे पनि परिवत्र्य सूचीमा नभएकाले सटहीका लागि समस्या भएको थियो । राष्ट्र बैंकले सटहीका लागि प्रक्रिया थाल्न लुम्बिनी विकास कोषसँग सम्झौता भएसँगै आर्थिक वर्ष ०७१/०७२ देखि सटही हुन नसकेको करिब ७४ लाख बराबरको विदेशी मुद्रा सटहीको प्रक्रियामा जाने भएको छ । विभिन्न मुलुकबाट लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको भेटी रकम राष्ट्र बैंकको परिवत्र्य विदेशी मुद्राको सूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफूहरूको पटक पटकको अनुरोधपछि सटही हुने अवस्थामा आएको कोषका कोषाध्यक्ष भट्टराईले बताए । ‘राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी रुपन्देही आएको बेला भेटीबापतको रकम सटही नभएको कुरा राखेका थियौँ, ध्यानार्कषण पत्र पनि बुुझायौँ, राष्ट्र बैंकले सटही गर्ने सैद्धान्तिक सम्झौता भएको छ’, कोषाध्यक्ष भट्टराईले भने । कोषले सङ्कलित विभिन्न ३९ देशका विदेशी मुद्रा सटहीका लागि एक हप्ताभित्रमा राष्ट्र बैंक पठाउने उनले बताए । परिवत्र्य विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या भए पनि अब सटहीका लागि प्रक्रिया अघि बढाइने राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवनप्रकाश पाण्डेले बताए । कोषबाट आउने मुद्रालाई केन्द्रीय कार्यालय हुँदै राष्ट्र बैंकको सिङ्गापुरस्थित एजेन्सी बैंकमा मुद्रा सटहीका लागि पठाइने उनले बताए । उनका अनुसार यो रकम सटही भएपछि तीनदेखि चार महिनाको अवधिमा लुम्बिनी विकास कोषको खातामा जम्मा हुनेछ । लुम्बिनीको मायादेवी मन्दिर, अशोकस्तम्भलगायतका क्षेत्रमा राखिएका दानपेटीमा जम्मा भएको विदेशी मुद्रा लामो समयदेखि सटही हुन सकेको थिएन । अहिले विदेशी मुद्रा सटही हुने भएपछि यसले लुम्बिनी विकास कोषको टाउको दुखाइ कम भएको छ । रासस