काठमाडौं । महिला उद्यमशीलता विकासका लागि मेटलाइफ फाउन्डेसनले स्वावलम्बन विकास केन्द्र (सिएसडि) नेपालसँग सहकार्य गरेकाे छ ।
मेटलाइफ फाउन्डेसनले नेपालका विभिन्न लघुवित्त संस्थाहरुसँग आवद्ध महिला उद्यमीको आर्थिक अवस्था सुदृढ गर्ने तथा उनीहरुलाई डिजिटल ज्ञान प्रदान गर्ने उद्देश्यका साथ सहकार्य गरेको हाे ।
यस पहल बमोजिम, सिएसडिले विभिन्न लघुवित्तमा आवद्ध महिला उद्यमीहरुलाई सञ्जाल विकासको अवसर, विशेषज्ञबाट व्यवसायिक सल्लाह-सुझाव, तथा व्यापक प्रशिक्षण प्रदान गरी उद्यमशीलताको बढाउने कम्पनीले जनाएकाे छ ।
मेटलाइफकाे अनुसार उद्यमशीलता र नवप्रवर्तन तालिम, वित्तीय तथा डिजिटल ज्ञान सम्बन्धी कार्यक्रम, राष्ट्रिय तथा अन्तराष्ट्रिय राष्ट्रिय बजारमा पहुँच, तथा देशैभर सञ्जाल विकास जस्ता कार्यक्रमहरु मार्फत करिब ५ हजार महिला उद्यमीहरुको उत्थानका लागि यस सहकार्य अन्तर्गत कुल ५० हजार अमेरिकी डलर प्रयोग गरिनेछ ।
यस परियोजनाका लागि एमएससि ग्लोबल कन्सल्टिङ्ग नामक एक परामर्श कम्पनीले नेपालभरका विभिन्न लघुवित्त संस्थाहरुमार्फत समन्वय गर्न सिएसडि नेपालसँग सम्झौता गरेको हाे ।
यस परियाेजनाले डिजिटल प्रवृत्ति तथा वित्तीय विशेषज्ञताको परिचय मार्फत महिला उद्यमीहरुको डर हटाउन र उनीहरुलाई दीगो जीविकोपार्जनका लागि असल निर्णयहरु लिन आत्मविश्वास प्रदान गर्न समेत मद्दत गर्ने बताइएकाे छ ।
यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भारत, बंगलादेश, नेपाल र भियतनाममा समावेशीता र स्वतन्त्रता मार्फत समानतालाई अंगाल्ने बाचा स्वरुप मेटलाइफ फाउन्डेसनले यस साझेदारी परियोजनाको शुरुवात गरेको हो ।