विकासन्युज

सरकारी कर्मचारीलाई वैयक्तिक विवरण अद्यावधिक गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती)ले सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीलाई एक महिनाभित्र आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा, बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका आधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले उक्त सूचना जारी गरेको हो । किताबखानाका सूचना अधिकारी प्रकाशजङ्ग शाहीका अनुसार कर्मचारीको वैयक्तिक विवरण नभएका कारण पूर्णरुपमा विवरण अद्यावधिक गर्न कठिनाइ भएकाले सङ्घ, प्रदेश तथा स्थानीय तहमा समायोजन भई कार्यरत सबै सेवा, समूह र श्रेणीका कर्मचारीले एक महिनाभित्र अद्यावधिक गर्नुपर्ने छ । किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजातसहित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने किताबखानाले जनाएको छ । किताबखानाले सबै सेवा, समूह र श्रेणीका कर्मचारीको अभिलेख राख्ने एवं अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था भएबमोजिम कर्मचारीको वैयक्तिक विवरण निरन्तर अद्यावधिक गर्दै आएको छ । किताबखानाले यसअघि सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गर्न सूचना जारी गरेको थियो ।

चन्द्रागिरि हिल्सका सेयरधनीलाई एक वर्षसम्म सबै सेवामा २५ प्रतिशतसम्म छुट

काठमाडौं । चन्द्रागिरि हिल्सले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरुलाई केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत चन्द्रागिरि हिल्सका सेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षको लागि लागू रहने कम्पनीले बताएकाे छ । काठमाडौं उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तव्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तब्यको रुपमा रहेको छ । यसका साथै प्रत्येक भ्रमणमा सेयरधनीहरुलाई संध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिने कम्पनीले बताएकाे छ ।

मोरङबाट ११६ नक्कली परीक्षार्थी पक्राउ

मोरङ । मोरङमा माध्यमिक शिक्षा परीक्षा एसइई दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । अरुको नाममा परीक्षा दिइरहेका उनीहरुलाई आज अनुगमन टोलीले विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार अनुगमन टोलीले केराबारी, ग्रामथान र हरैँचाका परीक्षा केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका परीक्षार्थीका विषयमा छानबिन भइरहेको उनले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी सरस्वती मावि ग्रामथानबाट ५२ जना, सार्वजनिक मावि केराबारीबाट ४४ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । नक्कली परीक्षार्थीका विषयमा आवश्यक छानबिन गरी कानुनी प्रक्रिया अगाडि बढाइने उपरीक्षक पोखरेलले जानकारी दिए । रासस

आइएमई पेबाट चार एयरलाइन्सको रिफन्डेबल टिकट काट्न सकिने

काठमाडौं । अब ग्राहकले  विभिन्न राष्ट्रिय उडानको टिकटलाई रिफन्डेबल टिकटमा परिवर्तन गर्न सक्ने भएका छन् । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसनको ‘आइएमई पे’ ले ल्याएको रिफन्डेबल एयरलाइन्स टिकट फिचर अन्तर्गत यस्तो गर्न सक्ने भएका हुन् । पछिल्लो समयमा आइएमई पेले ल्याएको सो रिफन्डेबल एयरलाइन्स टिकट फिचरले लोकप्रियता प्राप्त गरे सँगै विभिन्न एयरलाइन्स कम्पनीहरु यस फिचरको प्रयोग गर्ने उदेश्यले ‘आइएमई पे’सँग जोडिने प्रकृया सुरु भएको कम्पनी बताउँछ । यसै क्रममा आइएमई पे मार्फत एयरलाइन्स, सौर्य एयरलाइन्स, बुद्ध एयरलाइन्स र यती एयरलाइन्सको टिकटहरु अब ग्राहकहरुले सजिलै रिफन्डेबल टिकटमा रूपान्तरण गर्न सक्ने छन् । ग्राहकहरुले आइएमई पेबाट सुपथ मुल्यमा उच्चतम क्यासब्याकका साथ एयरलाइन्स टिकट प्राप्त गर्नको साथै रिफन्डेबल टिकटको फिचर प्रयोग गरी अत्यावश्यक समयमा टिकटको पूर्ण  मुल्य रिफन्ड पनि पाउन सक्ने कम्पनीले बताएको छ ।

नेपाल बीमा प्राधिकरणले कम्प्युटर खरिद गर्ने, आव्हान गर्यो बोलपत्र

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कम्प्युटर (ल्यापटप) खरिद गर्ने भएको छ । प्राधिकरणले कार्यालय प्रयोजनको लागि एक लाख रुपैयाँ बराबरका डेस्कटप, ल्यापटप तथा अन्य कार्यालय सामग्री खरिद गर्ने भएको हो । बुधबार एक सूचना जारी गर्दै प्राधिकरणले उक्त सामाग्री खरिद गर्नका लागि बोलपत्र आह्वान गरेको छ । सो उपकरण उत्पादक कम्पनीको अधिकृत डिलर भई सम्बन्धित निकायबाट आपूर्ति गर्न इजाजत प्राप्त इच्छुक फर्म, संस्था वा कम्पनीले बोलपत्र पेश गर्नुपर्ने छ । कम्पनीहरुले ३० दिनभित्र रीतपूर्वक आवेदन दिन सक्नेछन् । चैत २२ गतेदेखि आगामी वैशाख १२ गतेसम्ममा सो बोलपत्र पेश गरिसक्नु पर्ने छ । जसको लागि तीन हजार रुपैयाँ दस्तुर बुझाउनु पर्ने बताइएको छ । साथै, उक्त बोलपत्र बैशाख २२ गते अपराह्न २ बजे खोलिने प्राधिकरणले जनाएको छ ।

सुदूरपश्चिममा ‘बुस्टर डोज’ लगाउने न्यून

बैतडी । सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको बुस्टर डोज लगाउने सङ्ख्या न्यून रहेको छ । प्रदेशमा कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेभन्दा बुस्टर डोज लगाउनेको सङ्ख्या आधा कम हो । प्रदेशका नौवटै जिल्लामा गरी हालसम्म कूल २२ लाख ३३ हजार आठ सय ३१ जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । तेस्रो तथा बुस्टर डोजको पहिलो मात्रा लगाउने सङ्ख्या दश लाख १५ हजार ३७ रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । कैलालीमा सात लाख ३२ हजार सात सय ८९ जनाले पूर्ण मात्रा लगाएकामा तीन लाख ८६ हजार एक सय ८८ जनाले मात्रै बुस्टर डोज लगाएका छन् । कञ्चनपुरमा चार लाख ३९ हजार एक सय ६८ जनाले पूर्ण र एक लाख ९९ हजार आठ सय ५७ जनाले बुस्टर डोज लगाएको निर्देशनालयले जनाएका छन् । यस्तै बैतडीमा दुई लाख ११ हजार छ सय ५२ जनाले पूर्ण तथा ९८ हजार दुई सय १३ बुस्टर डोज, अछाममा एक लाख ८३ हजार छ सय दुई जनाले पूर्ण तथा ८८ हजार आठ सय ५२ जनाले बुस्टर डोज, डोटीमा एक लाख ६१ हजार एक सय ३८ जनाले पूर्ण तथा ६३ हजार पाँच सय १४ जनाले बुस्टर डोज, बझाङमा एक लाख ३७ हजार छ सय ११ पूर्ण तथा ३२ हजार एक सय १७ जनाले बुस्टर डोज, डडेल्धुरामा एक लाख २७ हजार सात सय २५ जनाले पूर्ण तथा ६७ हजार पाँच सय ८४ बुस्टर डोज, बाजुरामा एक लाख २५ हजार चार सय ६८ जनाले पूर्ण तथा २९ हजार आठ सय नौ जनाले बुस्टर डोज तथा दार्चुलामा एक लाख १४ हजार छ सय २८ जनाले पूर्ण तथा ४८ हजार नौ सय तीन जनाले बुस्टर डोज लगाएका छन् । प्रदेशभरि कोरोना भाइरसविरुद्धको चौथो तथा बुस्टर डोजको दोस्रो मात्रा लगाउनेको सङ्ख्या भने २९ हजार आठ सय ५६ मात्रै रहेको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोचका कारण बुस्टर डोज लगाउनेको सङ्ख्या न्यून भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक मीनराज जोशीले बताए । उनले भने, ‘रोग फैलिएपछि मात्रै खोप लगाउनुपर्छ भन्ने सोच अझै छ ।’ प्रदेशमा खोप कम मात्रामा आएकाले यो समस्या देखिएको जोशीको भनाइ छ । उनले भने, ‘खोप बढी मात्रामा आयो भने सबैलाई लगाउँछौँ ।’ प्रदेशमा हाल कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी छ । पचपन्न वर्षमाथिका, दीर्घरोगी, स्वास्थ्यकर्मी, कर्मचारीलगायतलाई बुस्टर डोज दिन थालिएको छ । उनीहरुका लागि ८९ हजार डोज खोज उपलब्ध रहेको जोशी बताउँछन् । सुदूरपश्चिममा २०७७ माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोपको अभियान सुरु गरिएको थियो । भारतसँग सीमा जोडिएको यस प्रदेशमा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रमण अधिकांश भारतबाट फर्किएकामा रहेकाले जोखिम बढेको छ । सीमानाकामा हेल्थ डेस्क स्थापनाका साथै अनिवार्य कोरोना परीक्षण गराउने गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । प्रदेशसमा हालसम्म छ लाख ४७ हजार सात सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ । हालसम्म ६१ हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट प्रदेशमा हालसम्म छ सय ३५ जनाको ज्यान गइसकेको छ । रासस

सरकारको न्युनतम साझा कार्यक्रम साँझ ५ बजे सार्वजनिक हुने

काठमाडाैं ।  १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरुबीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटेको बताए । उनले साना केही सुझावहरु आज बेलुकी ५ बजेसम्म दल र नेताहरुले दिनसक्ने ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक सार्वजनिक गर्ने निर्णय भएको बताए । ‘राजनीतिक दलहरुको बीचमा सरकारको न्युनतम साझा नीति तथा कार्यक्रमको बारेमा सैद्धान्तिक नीतिगत विषयमा छलफल भयो । मोटामोटी रुपमा सहमति भएको छ, सबै बीचमा । सानातिना सुझावहरु केही भए आज बेलुकासम्म दिने र सार्वजनिक गर्ने समय साँझ ५ बजे निर्धारित भएको छ । लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको बारेमा, सुशासनका बारेमा मुलभुत रुपमा सहमति भएको छ,’ उनले भने । महासचिव गुरुङले आजको बैठकमा मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयले प्रवेश नपाएको पनि स्पष्ट पारे ।

तोलामा ८ सयले घट्यो सुनको मूल्य

काठमाडौं ।  नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ । ब‍िहीबार सुनकाे भाउ ८ सयले घटेकाे हाे । हिजो बुधबार तोलामा १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ८ सयले घटेर प्रति तोला १ लाख १० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवासयाी महासंघले जनाएको छ । त्यस्तै, नेपाल सुन चाँदी व्यवासयाी महासंघका अनुसार तेजावी सुनको भाउ पनि आज प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ९ हजार ६ सय ५० सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।