विकासन्युज

एकल महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीका थरबाट गर्न सकिने

काठमाडौं । एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो । त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको विभागका महानिर्देशक रुद्र पण्डितले राससलाई जानकारी दिए । ‘विवाह अघि जन्म भएको तर पितृत्व ठेगान नभएको बच्चा भएको एकल महिलाको विवाह गरी बच्चासहित पतिको ठेगानासँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्मदर्ता गर्न सकिनेछ’, विभागले भनेको छ । विभागले विवाह अघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चाको मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गर्न सकिने जनाएको छ । माथिका दुई व्यवस्था अनुसार बच्चाको जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता गर्नुपर्ने विभागले जनाएको छ । माथिको अवस्थाबाहेक अन्य अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण नियमावली संसोधनसहित २०७७ र विभागको यसअघिको परिपत्रअनुसार गर्नुपर्ने भनिएको छ । रासस

पर्यटकीयस्थल बन्दै दमौलीको ‘मगर भिलेज’

दमौली । मिछुर्लुङ गाउँमा खोलिएको मगर भिलेज रिसोर्ट यतिबेला पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुन थालेको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका सचिव प्रताप रानामगरले सञ्चालनमा ल्याएको उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारबाट भिमाद हुँदै मिर्छुलुङ पुगिन्छ । खैरेनीटारबाट आठ किलोमिटर भिमाद बजार र त्यहाँबाट चार किलोमिटर यात्रा गरेपछि मिर्छुलुङ गाउँ पुगेपछि मगर भिलेज रिसोर्ट भेटिन्छ । उक्त रिसोर्ट पर्यटकीय तथा अध्ययन केन्द्रका रूपमा विकास हुन थालेको सञ्चालक राना मगरले जानकारी दिए । उनले भने, ‘प्राकृतिक वातावरण, स्थानीय संस्कृति र मगर संस्कारलाई प्रवद्र्धन गर्दै यो रिसोर्ट सञ्चालन गरिएको छ । यहाँ दिनदिनै आउने पर्यटकको सङ्ख्या बढ्दो छ ।’ ‘मगर संस्कृतिको अध्ययनका लागि जिल्ला तथा जिल्लाबाहिरबाट विद्यार्थी, सर्वसाधारण र सहकारी सङ्घसंस्थाका टोली आउँछन् र यहाँको मनोरम दृश्य हेर्दै मोहित भएर फर्किन्छन्’, सञ्चालक रानाले भने । गत वर्षदेखि सञ्चालनमा आएको रिसोर्टले एक वर्षमै ख्याति कमाइसकेको छ । यस रिसोर्टमा रहेको घुमाउने घर र खुर्पेटोले यहाँ पुग्ने सर्वसाधारणको ध्यान खिच्ने गरेको छ । ‘आजभोलि घुमाउने घर कमै मात्रामा देख्न पाइन्छ, हामीले घुमाउने घर बनाएर राखेका छौँ, घर अगाडि खुर्पेटो पनि छ,’ उनले भने, ‘घुमाउने घर र खुर्पेटोमा फोटो खिचाउन आगन्तुक लालायित हुन्छन् ।’ रिसोर्टमा ढिकी, जाँतोजस्ता पुराना सामग्री पनि राखिएको छ । अहिलेका पुस्तालाई पुरातात्विक तथा धार्मिक महत्वका सामग्रीबारे बुझाउन विभिन्न सामग्री राखिएको र अहिले त्यही हेर्न विद्यालयबाट पनि विद्यार्थी आउने गरेको सञ्चालक रानाको भनाइ थियो । रिसोर्टमा पुगेका पाहुनालाई प्राङ्गारिक खाना खुवाउने व्यवस्था मिलाइएको छ । यहाँ विभिन्न गीतको छायाङ्कनसमेत हुने गरेको छ । ‘गाउँले दृश्य भिडिओमा समावेश गर्न र थुप्रै गीतको छायाङ्कन भइसकेको छ,’ सञ्चालक रानाले भने । रिसोर्टमा रहेको डुङ्गाको पिङ यहाँको अर्को आकर्षण बनेको छ । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित यहाँ दृश्यावलोकन स्तम्भ भ्युटावर निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीहरूबाट सङ्कलन गरिएको रकमबाट उक्त स्तम्भ निर्माण गरिएको हो । मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको थियो । कूल ३८ लाख चार हजार नौ सय रुपैयाँको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको बताइएको छ । मगर समुदायको कौरा र झ्याउरे गीतका साथै प्राङ्गारिक खानाको परिकार मिर्छुलुङको विशेषता हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिएको थियो । रासस

दोर्दी करिडोर १३२ केभी प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा

काठमाडौं । लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । २०७८को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पुर्याएका ४ वटा टावरहरुको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएसँगै करिब ३ सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइन गत भदौबाट आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो । बाढीले क्षति पुर्याएका टावरहरुको पुनर्निर्माणमा केही समय लाग्ने देखिएपछि उदीपुर सबस्टेसनबाट निजी क्षेत्रले निर्माण गरेको दोर्दी खोला–१ जलविद्युत आयोजनासम्म दोर्दी करिडोरको लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला–१को प्रसारण लाइन प्रयोग गरी लाइनको आंशिक खण्ड सञ्चालनमा ल्याएको थियो । वैकल्पिक व्यवस्थाको रुपमा दोर्दी खोला–१ को साढे तीन किलोमिटर प्रसारण लाइन प्रयोग गरी निजी क्षेत्रले निर्माण गरेका जलविद्युत आयोजनाहरुको विद्युत् जोडिएको थियो । टावरको पुनर्निर्माण सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा आएसँगै दोर्दी खोलामा निर्माण भएका निजी क्षेत्रका सबै जलविद्युत आयोजनाहरुको विद्युत् कीर्तिपुर सबस्टेसनमा जोडिएर दोर्दी करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह भएको आयोजना प्रमुख रमेश पौडेलले बताए । प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, १२ मेगावाटको दोर्दी खोला–१ र ८.६३ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजना जोडिएका छन् । निर्माणको अन्तिम चरणमा रहेको ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युतसहित त्यस करिडोरमा निर्माणाधीन र निर्माण हुने अन्य आयोजनाको विद्युत् यही लाइनमा जोडिने छ । उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमर्स्याङ्दी विद्युतगृहको स्वीचयार्डमा विद्युत् जोड्ने व्यवस्था गरिएको छ । यसका लागि निर्माणाधीन २२० केभी मर्स्याङ्दी करिडोरको करिब ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ । निर्माण अन्तिम चरणमा रहेको उदीपुर सबस्टेसन असारभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखी काम भइरहेको छ । करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभी, १० एमभिए क्षमताको सबस्टेसन निर्माण गरेको छ । २०७७ मै निर्माण सम्पन्न भएको प्रसारण लाइनका ४ वटा टावरहरु २०७८को असारमा असारमा दोर्दी खोलामा आएको बाढीले बगाइदिएको थियो । आयोजना २०७४ सालमा सुरु गरिएको थियो ।

म्युचुअल फण्ड : बजार घट्दा ब्याज खाने, बढ्दा नाफा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएका बेला ऋणीहरुको लागत बढेको भन्दै उद्योगी तथा व्यवसायीहरुले आन्दोलन गरे । सडकदेखि सदनसम्म ब्याजदरको विषय राजनीतिक मुद्धा बन्यो । बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्नेदेखि अराजक गतिविधिसम्म भए । कर्मचारी माथि हातपात समेत भयो । बैंकमा साढे ३ करोडको हाराहारीमा निक्षेपकर्ता छन् भने १८ लाख जति ऋणी छन् । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढ्दा विरोध भन्दा स्वागत हुनु पर्ने हो तर, विरोध बढ्यो । कर्जा लिने ऋणी भन्दा निक्षेपकर्ता २०औं गुणा बढी छन् । ब्याजदर बढ्दा ऋणीलाई भन्दा बढी निक्षेपकर्तालाई हुने भएपनि ऋणीहरुले नै आन्दोलन गर्नु परेको देखिन्छ । पछिल्लो समय ब्याजदर क्रमिक रुपमा घट्दैछ । जसले गर्दा ऋणीलाई राहत हुनेछ भने निक्षेपकर्तालाई भने सकस पर्ने देखिन्छ । व्यक्तिगत निक्षेपकर्ताभन्दा पनि संस्थागत निक्षेपकर्तालाई बढी घाटा हुने मर्चेन्ट बैंकरहरु बताउँछन् । निक्षेपकर्ताकै रुपमा रहेका म्युचुअल फण्डहरुले बैंकको निक्षेपमा अर्बौं रुपैयाँ लगानी गरेका छन् । जनताबाट संकलन गरेको रकमलाई बैंकको निक्षेपमा लगानी गर्न पल्केका म्युचुअल फण्ड ब्याजदर घट्दा भने तनावमा छन् । सेयर बजार ओरालो लागेका बेला बैंकको निक्षेपमा लगानी गरेका म्युचुअल फण्डहरु पछिल्लो समय ब्याजदर घटेपछि भने निक्षेप झिक्ने तयारीमा रहेको बैंकरहरु बताउँछन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३० वटा म्युचुअल फण्ड सूचीकृत छन् । ३० वटै म्युचुअल फण्डले बैंकको मुद्दती निक्षेपमा फागुनसम्म साढे ३ अर्ब बढी रकम लगानी गरेका छन् । तथ्याङ्कअनुसार बैंकको मुद्दती निक्षेपमा ३ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । जुन माघको तुलनामा १ प्रतिशत रकम घटी हो । माघमा म्युचुअल फण्डले ३ अर्ब ६८ करोड रुपैयाँ बैंकको मुद्दतीमा लगानी गरेका थिए । फागुनमा सबैभन्दा धेरै सानिमा इक्विटी फण्डले बैंकको मुद्दतीमा लगानी गरेको छ । यस फण्डले फागुनसम्म २७ करोड रुपैयाँ, एनआईबिएल समृद्धि फण्ड-२ ले २२ करोड ५० लाख रुपैयाँ, एनआईबिएल ग्रोथ फण्डले १९ करोड ८० लाख रुपैयाँ, आरविवि म्युचुअल फण्ड-१ ले १८ करोड ७५ लाख रुपैयाँ र प्रभु सेलेक्ट फण्डले १८ करोड २५ लाख रुपैयाँ बैंकको मुद्दतीमा लगानी गरेका हुन् । यस्तै, कुमारी धनवृद्धि योजनाले १८ करोड, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ ले १७ करोड १० लाख, एनएमबि हाइब्रिड फण्ड एल-१ ले १६ करोड ८८ लाख, एनआईसी एशिया सेलेक्ट-३० ले १५ करोड ५० लाख, सानिमा लार्ज क्याप फण्डले १५ करोड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १४ करोड, लक्ष्मी इक्विटी फण्डले १३ करोड ५० ला, सनराइज फोकस्ड इक्विटी फण्डले १३ करोड, नबिल इक्विटी फण्डले १२ करोड ५० लाख, एनआईसी एशिया ग्रोथ फण्डले १२ करोड ३५ लाख, सनराइज फर्ष्ट म्युचुअल फण्डले १२ करोड, सिद्धार्थ इक्विटी फण्डले ११ करोड ५० लाख र नबिल ब्यालेन्सड फण्ड-३ ले ११ करोड रुपैयाँ बैंकको मुद्दतीमा राखेर ब्याज खाइरहेका छन् । यस्तै, एनएमबि फिफ्टी, सनराइज ब्लुचिप फण्ड र मेगा म्युचुअल फण्ड-१ ले १० करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । यस्तै, एनआईसी एशिया ब्यालेन्सड फण्डले ९ करोड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले ७ करोड ८० लाख, लक्ष्मी उन्नति कोष र कुमारी इक्विटी फण्डले ७/७ करोड, सानिमा ग्रोथ फण्डले ५ करोड ५० लाख, सिटिजन्स म्युचुअल फण्ड-१ ले ४ करोड ७५ लाख, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ ले ३ करोड, नबिल ब्यालेन्सड फण्ड-२ ले २ करोड ६१ हजार र सिटिजन्स म्युचुअल फण्ड-२ ले ५० लाख रुपैयाँ बैंकको मुद्दतीमा लगानी गरेका छन् । फागुनमा ३ वटा फण्डले मुद्दतीमा लगानी बढाएका छन् भने ४ वटा फण्डले पैसा निकालेका छन् । सनराइज फोकस्ड इक्विटी फण्डको ४४.४४ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको २० प्रतिशत र एनआईबिएल समृद्धि फण्ड-२ को २.२७ प्रतिशत रकम मुद्दतीमा लगानी गरेका हुन् । यस्तै, सानिमा लार्ज क्याप फण्डको ६.२५ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डको ८ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड-१ को ४०.६२ प्रतिशत र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को ६२.५ प्रतिशत लगानी मुद्दतीबाट झिकेर सेयरमा लगानी गरेको देखिन्छ । सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दीप कार्की सेयर बजारमा लगानी गर्ने वातावरण नभएर बैंकको निक्षेपमा लगानी गरेको बताउँछन् । म्युचुअल फण्डको ठूलो रकममध्ये १०/१२ करोड मुद्दतीमा राख्नु थोरै भएको उनको भनाइ छ । साथै, बैंकबाट आएको ब्याज इकाईधनीहरुलाई नै वितरण गर्ने गरेको उनले बताए । ‘बजारमा लगानीको वातावरण बन्दै गएपछि मुद्दती निक्षेपको लगानी घट्दै जान्छ, बैंकको मुद्दतीबाट आएको ब्याज इकाईधनीहरुले नै पाउने हो, सेयर बजारमा लगानी गर्ने स्थिति छैन भने मात्रै मुद्दतीमा निक्षेपमा राखिन्छ, कल वा करेन्ट खातामा राख्नुभन्दा मुद्दतीमा राखेपछि आउने ब्याजले आम्दानीमा सपोर्ट गर्छ,’ उनले भने । म्युचुअल फण्डले मुद्दतीमा निक्षेपमा लगानी गरेर ब्याज खायो भनेर आरोप लगाउनु भन्दा पनि नगद व्यवस्थापन गरिएको उनी बताउँछन् । यदि नगद रकम भयो भने बजार तल झरेको बेलामा खरिद गर्न सहज हुने उनको भनाइ छ । ‘फण्ड व्यवस्थापनको एक भाग नगद व्यवस्थापन हो, बजारमा उतारचढाव भइरहन्छ, घटेको बेलामा राम्रो ‘प्रफर्मेन्स’ गर्न सकिएन भने मुद्दतीमा राख्ने हो,’ उनले भने । यदि बजार बढेको छ भने निक्षेपको रकम घट्ने गरेको उनले बताए । साथै, तरलता व्यवस्थापन गर्नका लागि भएपनि मुद्दतीमा लगानी गर्ने गरेको उनको भनाइ छ । हकप्रद, ऋणपत्र, अक्सन सेयर बिक्री गर्नका लागि सहज होस् भनेर १०/१५ प्रतिशत रकम होल्ड गर्ने गरेको उनले बताए । एक मर्चेन्ट बैंकरका अनुसार म्युचुअल फण्डले पोर्टफोलियो व्यवस्थापनका लगि मुद्दतीमा लगानी गर्ने गरेका छन् । बजारमा घटेको बेलामा घाटा खानुभन्दा मुद्दतीमा राखेर ब्याज खानु उपयुक्त हुने उनले बताए । म्युचुअल फण्डहरुले कूल रकमको १५ प्रतिशत रकम मुद्दतीमा लगानी गर्न पाउने व्यवस्था अनुसार फण्डहरुले आ-आफ्नो योजना अनुसार ५, १० र १५ प्रतिशत रकम मुद्दतीमा लगानी गर्न सक्ने उनले बताए । ‘म्युचुअल फण्डले पोर्टफोलियो सन्तुलन कायम गर्न मुद्दतीमा लगानी गर्छन्, बजार घटेको बेला प्रतिफल राम्रो नआएपछि निक्षेप लगानी गर्ने हो मुद्दतीबाटै १२/१३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्,’ उनले भने, ‘म्युचुअल फण्डले विशेषगरी दोस्रो बजारमै लगानी गर्ने भएपनि अहिले घटेको हुँदा मुद्दतीमा बढाएका हुन् ।’  

चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति

काठमाडौं । चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय त्रिविका बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यही चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ३० गते निर्वाचन गराउन सहमति गरेका छन् । ‘देशभरि निर्वाचन हुन बाँकी रहेका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन गर्ने, निर्वाचन विथोलिने खालका गतिविधि नगर्ने र निर्वाचन भाँड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरियो भने प्रशासनको सहयोगमा ताला तोडी चुनावी प्रक्रिया अगाडि बढाउन प्रतिबद्ध छौँ’, संयुक्तरुपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । भर्ना विवादका कारण स्ववियु निर्वाचन रोकिएका क्याम्पसमा विवादित विषयमाथि सत्यतथ्य छानबिनका लागि अध्ययन र अनुगमन गर्न विश्वविद्यालयको केन्द्रीय अनुगमन समितिलाई अनुरोध गरी निर्वाचन प्रक्रिया अगाडि बढाउनसमेत उनीहरुले माग गरेका छन् । उपत्यकाका अमृत साइन्स, त्रिचन्द्र, पाटन संयुक्त क्याम्पस, विश्वभाषा, रत्नराज्य र नेपाल कमर्श क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । यस्तै उपत्यकाबाहिर पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, चितवन इन्जिनियरिङ क्याम्पस र सिद्धनाथ बहुमुखी क्याम्पसमा निर्वाचन गर्न बाँकी छ । यही चैत ५ गते १४ वर्षपछि त्रिविका अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । केही क्याम्पसमा भर्ना र विद्यार्थी सङ्गठनबीच विवादका कारण निर्वाचन हुन सकेको थिएन । रासस

पहिचानका आधारमा प्रदेशको नामाकरण माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विभिन्न जनवर्गीय संगठनहरुले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र पेश गरेका छन् । किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले भेटी ज्ञापनपत्र बुझाएका छन् । प्रदेशको नामाकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्री समक्ष हार्दिक अनुरोध गरिएको छ ।

सरकारी कर्मचारीलाई वैयक्तिक विवरण अद्यावधिक गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती)ले सरकारका उपसचिव र शाखा अधिकृत सरहका कर्मचारीलाई एक महिनाभित्र आफ्नो वैयक्तिक विवरण अद्यावधिक गर्न सूचना जारी गरेको छ । कर्मचारीको सरुवा, बढुवा, पुरस्कार र पदस्थापन विज्ञताका आधारमा मात्र गर्ने सरकारको तयारीपछि किताबखानाले उक्त सूचना जारी गरेको हो । किताबखानाका सूचना अधिकारी प्रकाशजङ्ग शाहीका अनुसार कर्मचारीको वैयक्तिक विवरण नभएका कारण पूर्णरुपमा विवरण अद्यावधिक गर्न कठिनाइ भएकाले सङ्घ, प्रदेश तथा स्थानीय तहमा समायोजन भई कार्यरत सबै सेवा, समूह र श्रेणीका कर्मचारीले एक महिनाभित्र अद्यावधिक गर्नुपर्ने छ । किताबखानाको वेबसाइटमा रहेको इमेलमार्फत वा स्वयं कागजातसहित कार्यालयमा गई विवरण अद्यावधिक गर्न सकिने किताबखानाले जनाएको छ । किताबखानाले सबै सेवा, समूह र श्रेणीका कर्मचारीको अभिलेख राख्ने एवं अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था भएबमोजिम कर्मचारीको वैयक्तिक विवरण निरन्तर अद्यावधिक गर्दै आएको छ । किताबखानाले यसअघि सचिव र सहसचिव सरहका कर्मचारीको विवरण अद्यावधिक गर्न सूचना जारी गरेको थियो ।

चन्द्रागिरि हिल्सका सेयरधनीलाई एक वर्षसम्म सबै सेवामा २५ प्रतिशतसम्म छुट

काठमाडौं । चन्द्रागिरि हिल्सले आउँदै गरेको नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरुलाई केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत चन्द्रागिरि हिल्सका सेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ्ग, वाल क्लाइम्बिङ्ग, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुट पाउनेछन् । यस नयाँ योजना अन्तर्गत छुट सुविधा लिनको लागि सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षको लागि लागू रहने कम्पनीले बताएकाे छ । काठमाडौं उपत्यकाको दक्षिण–पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तव्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तब्यको रुपमा रहेको छ । यसका साथै प्रत्येक भ्रमणमा सेयरधनीहरुलाई संध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिने कम्पनीले बताएकाे छ ।