काठमाडौं । नेपालको एक मात्रै डलर अर्बपति हुन् विनोद चौधरी । उद्योग व्यवसायमा एकपछि अर्को सफलतापछि नेपाली राजनीतिमा प्रवेश गरेका उनी अहिले सासंद छन् । उनी संसदमा सबैभन्दा ढबी सम्पत्ति भएको सांसदका रुपमा परिचित छन् ।
फोर्ब्सका अनुसार अहिले उनको सम्पत्ति १ अर्ब ८० करोड डलर छ । उनी विश्वका धनाढ्यहरुको १६ सय ४७ औं अर्बपतिको सूचीमा छन् । अर्बपति सांसद भएपनि उनले सांसदका रुपमा मासिक ९ हजार रुपैयाँ घर मर्मत सम्भार सुविधा बुझ्ने गरेका छन् ।
उनले सरकारी ढुकुटीबाट मासिक रुपमा सांसदले पाउने ९ हजार रुपैयाँ घर मर्मत सम्भार सुविधावापत बुझ्ने गरेको संसद सचिवायलयले जनाएको छ ।
संसद सचिवालयका अनुसार काठमाडौंमा घर हुने सांसदले मासिक ९ हजार रुपैयाँ मर्मत सम्भार सुविधा बुझ्ने गरेका छन् भने काठमाडौंमा घर नहुने सासंदहरुले घरभाडाका लागि १८ हजार रुपैयाँ सुविधा बुझ्ने गरेका छन् ।
अहिले काठमाडौंमा घर भएर पनि ९ हजार मर्मत सम्भार सुविधा नबुझ्ने सांसद भने सुनिल शर्मा छन् । उनी मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन् ।