सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ । आइतबार कम्पनीको कुल ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयरलाई नेप्सेले न्युनतम ९८ रुपैयाँ ४३ पैसादेखि अधिकतम २९५ रुपैयाँ २९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सो रेन्जमा रहेर सोमबारदेखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको सेयरलाई नेप्सेले टिएएमओआर (TAMOR) कारोबार संकेत प्रदान गरेको छ ।
वृद्धा भत्ता हटाएर १०० अर्ब जोगाउने रणनीतिमा सरकार
काठमाडौं । सरकारले लामो समयसम्म सामाजिक सुरक्षा भत्ता (वृद्धाभत्ता) वितरण गर्न सक्ने अवस्था नरहेको संकेत गरेको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षा भत्ता वितरणका लागि मात्रै सरकारको वार्षिक रुपमा सय अर्ब रुपैयाँ खर्च हुने भन्दै भत्ता वितरण रोक्ने संकेत गरेको हो । अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन् । वर्षेनी साधरण खर्च बढ्दै गएको र लामो समय सामाजिक सुरक्षा भत्तामा जाने खर्च धान्न नसक्ने भन्दै राज्यले सामाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने उनले बताएका हुन । उनले रोजगारीमा आवद्ध भएका हरेक नागरिक अनिवार्य समाजिक सुरक्षा कोषमा आवद्ध हुन जरुरी रहेको समेत बताए । सरकारले वार्षिक रुपमा करिव एक सय अर्ब बढी रकम समाजिक सुरक्षा भत्तामा मात्रै खर्च गर्ने गरेको भन्दै उनले राज्यकोषबाट यसरी सामाजिक सुरक्षा भत्ता बाँड्ने विद्यमान परिपाटी हटाउन आवश्यक रहेको बताए । अर्थसचिव रायले सरकारले सामाजिक सुरक्षामा धेरै खर्च गर्न नसक्ने भन्दै रोजगारीमा रहेका सबै नागरिकलाई सामाजिक सुरक्षामा जोड्न आवश्यक रहेको समेत उल्लेख गरे । सचिव रायले वर्तमान अवस्थामा देशमा राजश्व संकलनको अवस्था जटिल रहेको भन्दै राजश्व चुहावटको विषयमा सरकारले माफी दिन नसक्ने समेत बताए ।
भित्तामा ठोक्किएर हेलि एभरेष्टको हेलिकप्टर दुर्घटना, क्याप्टेन घाइते
काठमाडौं । धौलागिरी बेसक्याम्पमा हेलि एभरेष्टकाे हेलिकप्टर दुर्घटनामा परेको छ । पोखराबाट धौलागिरी बेसक्याप पुगेको उक्त हेलिकप्टर टेकअफकाे क्रममा दुर्घटनामा परेको हो । ९ एन ए एन वी नम्बर भएको हेलि एभरेष्टको उक्त हेलिकप्टरले आइतबार मध्यान्ह १२ बजे पोखराबाट धौलागिरी बेस क्यापका लागि उडान भरेको थियो । ‘उक्त हेलिकप्टरले धौलागिरी र अन्नपूर्ण बेस क्यापमा सामान लैजाने गरेको थियो, धौलागिरी बेसक्यापमा सामान झारेर टेकअफ गर्ने क्रममा भित्तामा ठोकिएर जहाज दुर्घटनाग्रस्त भएको हो’, नागरिक उडड्यन प्राधिकरण (क्यान) का सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने । उनका अनुसार जहाजमा पाइटल श्रीया अधिकारी मात्र रहेका थिईन । उनको एयर डाइनास्टीकको हेलिकप्टरबाट उद्धार गरी मेडिसिटी अस्पतालमा ल्याउन लागिएको छ ।
नेताको पनि नेता बन्ने फर्मुला मैले गरेको काम नै हो : हेमराज ढकाल
नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमिति सदस्य, महासंघको स्वास्थ्य तथा सीप विकास समितिको सभापति र कृषि उद्यम केन्द्रको नेतत्व गरेर उद्योगी व्यवसायीले रुचाएका पात्र हुन् हेमराज ढकाल । हेरिटेज कार्पेट उद्योगबाट सफलता पाएपछि लगानीलाई विविधिकरण गर्दै चिया उद्योगमा लागेका ढकाललाई अहिले महासंघको चुनाव लागेको छ । सरल र अनुशासित उद्योगी व्यवसायीको छवि निर्माण गरेका ढकालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठको समूहबाट वस्तुगत उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । चैत २८ र २९ गते हुने महासंघको निर्वाचनका लागि तीन वटा प्यानल चुनावी प्रस्पिर्धामा छन् । वस्तुगत उपाध्यक्षका उम्मेदवार ढकालसँग हामीले महासंघको चुनाव र उनीको चुनावी रणनीतिका विषयमा कुराकानी गरेका छौं । तपाईंले वस्तुगत उपाधयक्षका लागि उम्मेदवारी दिनु भएको छ, तपाईंको उम्मेदवारी किन ? नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत संघहरुसँग म नजिकसँग जोडिएको छु । म आफै पनि उत्पादन, कृषि, व्यापार तथा उद्योग सेवा क्षेत्र लगायतका आवद्ध छु । नेपालको अर्थतन्त्रको आधार पनि त्यही हो । त्यस कारणले मैले जानेको, बुझेको र दुई वर्षदेखि वस्तुगत संघहरुसँग आवद्ध भएर उनीहरुका समस्या, चुनौति र सम्भावनाका विषयसँग विभिन्न कार्यक्रमहरुमा गएर वहस गरेको छु । समस्या समाधानका लागि सहयोग गरेको छु । उनीहरुले नै अब तपाईंले स्वास्थ्य तथा सीप विकास समिति, कृषि उद्यम केन्द्रमा बसेर नेतृत्व गर्नु भयो अब उपाध्यक्ष बन्नु पर्छ भनेर प्रस्ताव गरेपछि म अगाडि सरेको हुँ । .ती दुवै समिति मेरो नेतृत्वमा अब्बल ठहरिएका छन् । सबैले तारिफ गरेका छन् । यति काम गरेपछि र अनुभव सम्हालेपछि मैले किन दाबी नगर्ने भनेपछि अगाडि बढेको हुँ । मसँग क्षमता पनि छ र साथीहरुले चाहना देखाइसकेपछि उम्मेदवारी दिएको हुँ । मैले डेलिभर पनि गर्न सक्छु भन्नेमा विश्वस्त छु । अहिले एकातर्फ अर्थतन्त्र समस्यामा छ भनेर विभिन्न बहसहरु हुन थालेका छन् अर्कोतर्फ महासंघको चुनाव महँगो हुँदै गयो भन्ने गुनासो पनि सुनिन्छ, आकांक्षी पनि धेरै भए भन्ने कुरा छ, यस्तो किसिमको परिस्थिति किन आयो ? अहिले तीन वटा प्यानल भएका छन् । तर, केन्द्रिय सदस्यहरुमा धेरै आकांक्षी देखिएका छैनन् । आफ्नै व्यवसायमा समस्या भएपछि महासंघले खेल्नु पर्ने भूमीका खेलेन की भन्ने बुझाइ पनि धेरेको छ । सरकारले पनि महासंघको कुरा नसुनेको होकी भन्ने बुझाइ धेरैको हुन सक्छ । महासंघमा गएर पनि काम छैन की भन्ने धेरैको बुझाइ होला । हो, महासंघको धेरै ठूलो सञ्जाल छ । यसअघि एकवर्ष अघिदेखि नै चुनाव लाग्थ्यो । तर, अहिले एक महिनादेखि नै सुरु भएको छ । अहिले धेरै आर्थिक समस्यामा छन् । मलाई लाग्छ धेरै महँगो नहोला । तपाईंहरु नेताको पनि नेता हो, विभिन्न वस्तुगत संघका नेतृत्वहरुलाई कन्भिन्स गरेर मत बटुल्न सक्ने तपाईंको रणनीति के हो ? नेताहरुको पनि नेता बन्न गाह्रो नै छ । त्यो अनुभव मैले पनि गरेको छु । कन्भिन्स गर्ने विषयमा मैले सामान्य फर्मुला प्रयोग गरेको छु । आफुलाई महासंघले दिएको जिम्मेवारी अनुशासित ढंगबाट निभाउने, साथीहरुलाई परेका समस्याको समाधान गर्ने हो । मेरो काम गर्ने शैली, मेहेनती नेचर र अुनशासनले नै साथीहरुले मलाई विश्वास गर्नु हुन्छ । यो मान्छे हामीलाई चाहिन्छ भन्ने महसुस उहाँहरुले गर्नु भएको छ । मेरो स्ट्रेन्थ पनि यही हो । तीन जना प्रतिस्पर्धीहरुमध्ये मतदाताले तपाईंलाई नै किन मतदान गर्ने ? कृषि उद्यम केन्द्र महासंघकै ठूलो डिपार्टमेन्ट हो । यो एउटा ठूलो जिम्मेवारी पनि हो । त्यसमा पनि मैले राम्रो काम गरें । ७७ वटै जिल्लामा घुमेको छु । म कृषिमा पनि आवद्ध छु । कोरोनाको समयमा अस्पतालहरुको भौतिक पूर्वाधार निर्माणका लागि पनि सरकारसँग सम्वाद गरेर समस्याको समाधान गरेको छु । गगन थापा स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढेको थियो । त्यसमा थोरै प्रिमियम तिरेर सरकारले अनुदान गर्नु पर्ने कुरा थियो । त्यसमा केही समस्या थियो । त्यो समस्या समाधानका लागि मैले ठूलो भूमीका खेलें । त्यस्तै, ब्रिटिस काउन्सिल र यूरोपियन युनियनले इलम भन्ने कार्यक्रम सुरु गरेको थिए । त्यसअघि विभिन्न निकायले आ–आफ्नै किसिमले सीप दिने अभ्यास थियो । तर, पछि आधिकारिक सीप दिने किसिमले पेशागत मापदण्ड बनाएर काम गर्यौं । त्यसमा पनि ठूलो भूमीका निर्वाह गरेर काम गरियो । अहिले त्यो मापदण्ड पाठ्यक्रममै समावेश गरिएको छ । यी सबै कामहरुको बारेमा म अब्बल छु । मैले एक दशक भयो महासंघका विभिन्न समितिमा बसेको । तर, दुई कार्यकालमा समितिको नेतृत्व गर्ने अवसर पाएँ । तपाईंका मतदाताको अपेक्षा चाहिँ के रहेछ ? अहिले बैंकको ब्याज बढेको छ । लगानी गर्न पुँजी छैन । कच्चा पदार्थको मूल्य बढेको छ । ‘कष्ट अफ डुइङ बिजनेस’ बढेको छ । बैंकमा तरलता समस्या हुँदा कर्जा पाइएको छैन । यी विभिन्न समस्याहरु समाधान गर्नु पर्ने मतदाताको अपेक्षा हो । अहिले उत्पादन र बजारको पनि समस्या छ । मेरो व्यवसायिक जीवनमा अहिलेको जस्तो समस्या कहिल्यै थिएन । यो सबैको समस्या हो । म उमेशलाल श्रेष्ठको समूहबाट उम्मेदवार बनेको हुँ । उहाँ पनि स्पष्ट र निडर उम्मेदवार हो । उहाँ बोल्ड क्यारेक्टर भएकोले मैले पनि उहाँलाई रोजेको हुँ । सबैले उहाँसहित हाम्रो टीमलाई रोज्नु हुन्छ । आफ्नो उत्पादनले देशको माग धान्ने, आयातमुखी अर्थतन्त्रलाई प्रतिस्थापन गर्नु पर्ने, रेमिट्यान्सलाई विकास निर्माणमा लगाउने, निर्यात प्रवद्र्धन गर्ने विषयलाई हामीले प्राथमिकतामा राखेका छौं । हाम्रा मतदाताको अपेक्षा पनि यही हो । कर प्रणाली पनि पारदर्शी छैन । भ्याट प्रणालीलाई पनि पुनर्विचार गर्नु पर्छ । उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु पर्छ । वस्तुगत संघहरुको क्षमता विकासका लागि के सोच्नु भएको छ ? वस्तुगत संघहरु अर्थतन्त्रको मेरुदण्ड नै हो । ती सबै हामीसँग सम्भावना भएका वस्तुहरुका संघहरु नै हुन् । ठूल्ठूला जलविद्युतका संघहरु पनि छन् । उनीहरुका समस्या पनि छन् । नीति नियमका समस्या पनि छन् । सरकारले समयमै पैसा निकासा नगर्ने समस्या पनि छ । अहिले धेरै वस्तुगत संघहरुले मौलिक उत्पादनरु उत्पादन गर्छन् । उहाँहरुको समस्या पनि मैले बुझेको छु । उहाँहरुलाई कसरी समावेश गराउने, कसरी अपनत्व महसुस गराउने भन्ने विषयमा पनि मैले बुझेको छु । उहाँहरुको संलग्नतामा हामी महासंघको समितिमा राख्छौं । र, समस्याहरुलाई सरकारलाई बुझाउँछौं । कार्यान्वयनका लागि लविङ गर्छौं । कतिपय वस्तुगत संघहरु महासंघमा आवद्ध हुन नसकेको गुनासो पनि सुनिन्छ, यस विषयमा तपाईंले के सोच्नु भएको छ ? हामीसँग सम्भावना भएका क्षेत्रहरु उजागर हुँदै गएका छन् । संगठन बन्ने क्रम पनि जारी छ । महासंघको पनि आफ्नै सीमाहरु छन् । त्यहाँ क्राइटेरियाहरु छन् । अहिले २० वटा बढी वस्तुगत संघहरु थपिएका छन् । महासंघको तदारुकता पनि नभएको हुन सक्छ । यी विविध छन् । अब अध्यक्ष हुँदै गरेका चन्द्र ढकालज्यूले पनि महासंघको पछाडि जग्गा छ । त्यो जग्गामा भवन बनाएर वस्तुगत संघहरुका कार्यालय राख्ने भन्ने विषय पनि उठेको छ । मेरो पनि त्यसमा सहयोग हुन्छ । अन्य संगठनहरुलाई पनि संलग्न गराउनेमा सक्रिय हुन्छु । अहिले तीन वटा प्यानल भएको कारण पनि महासंघको निर्वाचन दोस्रो चरणमा प्रवेश गर्ने धेरैको बुझाइ छ, तपाईंको प्यानलले पहिलो चरणमै विजयी हुने सम्भावना कत्तिको देख्नु भएको छ, दोस्रो चरणमा प्रवेश गरेमा तपाईंको प्यानलको रणनीति कस्तो बन्छ ? स्वभाविक रुपमा विधानले दिएको व्यवस्था अनुसार ३/४ प्यानल हुन सक्छन् । हामीले उम्मेदवारी घोषणा गर्दा हाम्रो प्यानललाई ६ वटा उद्योग वाणिज्य संघले सर्पोट छ भनेको थियाे । अहिले सबै प्रदेशको साथ छ । जिल्लानगरको मतभार ५० प्रतिशत हुन्छ । लगभग जिल्लानगरका साथीहरु हामीसँग नै समाहित भएका छन् । हाम्रो प्यानल मात्रै एउटा प्यानल हो जसले जिल्ला नगर, वस्तुगत र एशोसिएटमा पुरै प्यानल नै घोषणा गरेको छ । अन्यको त्यो अवस्था देखिँदैन । मलाई लाग्छ, पहिलो चरणमै हामी ५१ प्रतिशत ल्याएर विजयी हुन्छौं, यदी त्यसो हुन नसकेमा टप टु ले वरिष्ठ उपाध्यक्षका लागि निर्वाचन हुन्छ । पहिलो त हामी हुन्छौं नै । दोस्रो हुनेसँग प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।
विद्यालयले किताब बेच्न पाउँदैन, बेचे प्रिन्सिपललाई कारवाही गर्छौं : काठमाडौं महानगर
काठमाडौं । काठमाडौं महानगरिपालिकाले विद्यालय आफैले किताब र स्टेशनरी बेच्न नपाउने बताएको छ । आइतबार एक सूचना जारी गर्दै महानगरले यस्तो बताएको हो । महानगरले विद्यालयहरु आफैले पाठ्यपुस्तक तथा स्टेशनरी विक्री गर्न नपाउने, विद्यालयबाट निर्धारित ड्रेस कोडको नमुना विद्यार्थीहरुलाई उपलब्ध गराउनुपर्ने र विद्यालयले तोकेको स्थानमा पोशाक खरिद गर्न विद्यार्थीहरुलाई बाध्य नगराउने भन्ने व्यवस्था रहेको जनाएको छ । संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधन सहित) मा यस्तो व्यवस्था रहेपनि विद्यालयहरुले अभिभावक र विद्यार्थीलाई तोकिएको ठाउँबाट किताब, स्टेशनरीर ड्रेस किनाउन लगाइरहेमा आपत्ती जनाएको छ । महानगरले यस्ता गुनासो नगर कार्यपालिकाको कार्यालय शिक्षा विभागमा बारम्बार आउने गरेको हुँदा सम्बन्धित सबै विद्यालयहरुले अनिवार्य रुपमा निर्देशिका पालन गर्न अुनरोध गरेको छ ।
इन्टरनेटको दुरुपयोग र साइबर अपराध एउटै होइन : साइबर विज्ञ भट्टराई
काठमाडौं । पछिल्लो समय साइबर सुरक्षा अपराध तिब्र रुपले बढेको छ । यो सरकारी तथ्यांकले देखाएको कुरा हो । देशमा प्रविधिको विकाससँगै साइबर सुरक्षासम्बन्धी अपराधमा पनि वृद्धि हुँदै गइरहेको छ । यसलाई नियन्त्रण गर्न सरकारी पक्षहरु लागिरहेका छन् । तर पनि प्राविधिक पक्षमा सरकारले आवश्यक चासो नदिँदा समस्या ज्युँका त्युँ नै छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले पनि केही समयअघि मात्रै सार्वजनिक कार्यक्रममा नै साइबर सुरक्षा सम्बन्धी अपराध तिब्र गति बढीरहेको र सरकार यसलाई रोक्न लागिपरेको बताएका थिए । साथै संसदीय समितिमा पनि साइबर अपराध बढेको विषयले प्रवेश पाएको थियो । जसमा सांसदहरुले हरेक मन्त्रालयमा एकजना प्राविधिक विज्ञ राखेर यस किसिमका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । यसै सन्दर्भमा केन्द्रित रहेर न्युज साइबर विज्ञ डा.श्रीकृष्ण भट्टराईसँग कुराकानी गरेको छ । सो क्रममा उनले अहिले नेपालमा दुरुत्साहनरुपी साइबर अपराधहरु धेरै भएको बताए । प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश : साइबर क्राइम भनेको के हो ? साइबर क्राइम भन्नाले साइबर र क्राइम दुईवटा टर्मोलोजी मिलेर साइबर क्राइम बनेको छ । पहिलो कुरो त साइबर भनेको कम्प्युटर वा कम्प्युटरसँग रिलेटेड कुराहरुसँग जनाउँछ भने क्राइम भनेको अपराध हो । जुन अपराध कन्भेन्सनल हामी अपराधको परिभाषाभित्र भन्छौँ । जुन अपराध हुनको लागि हामी के गर्छौ भने मेनेस्डिया भन्छौँ र एक्ट्सडियस भन्छौँ । अपराधिक मनशाय र अपराधिक कार्य । दुईवटा भइसकेपछि अपराध हुन्छ । त्यो अपराधिक कार्य गर्नको लागि कम्युटर र इन्टरनेटको प्रयोग भएको छ भने त्यसलाई हामी साइबर क्राइम भन्छौँ । छोटोमा भन्दा त्यति हो । त्यसभित्र छिर्दा फरक के–के हो ? साइबर क्राइममा हामी कुनैपनि सूचनालाई, कुनैपनि तथ्यलाई हामी के गर्छौं भने कुनैपनि तथ्यको उत्पादन गर्ने । त्यसलाई तोडमोड गर्ने । त्यसलाई डिलिट गर्ने । मिस्युज (गलत प्रयोग) गर्ने । कुनैपनि सूचनालाई गलत तरिकाले प्रयोग ग¥यौँ ओरिजिनल फम भन्दा फरक तरिकाले । भिक्टिमको इच्छा विपरित त्यो कुरा गरियो भने त्यो कुरा क्रिमिनललले क्राइम भनेर परिभाषा गरेको विषयवस्तुभित्र जोडिन्छ भने त्यसलाई हामी त्यसरी साइबर क्राइमको रुपमा जान्छौँ र त्यसमा के हुन्छ भने खालि यो मोड अफ कमिटीङ क्राइममात्रै हो यो साइबर क्राइममा । अनि यसको क्याटेगोरीभित्र जाँदा एउटा साइबर क्राइम भन्छौँ । त्यो अन्तर्गत एउटा कम्युटर क्राइम हुन्छ । कम्युटर क्राइमलाई बोर्डर सेन्समा साइबर क्राइमकै भित्र राखिन्छ अम्रेला भित्र । तर कम्युटर क्राइम भनेको के हुन्छ भने अघि मैले भनेका कुराहरु क्राइम गर्दाखेरी इन्टरनेट कनेक्टेड छैन । साइबर स्पेस हामीले प्रयोग गरेका छैनौँ । इन्टरनेट प्रयोग गरेको छैन । र कम्युटरसँग मात्रै रिलेटेड छ भने त्यसलाई हामी कम्युटर क्राइम भन्छौँ । त्यहाँ क्राइम हुने अवस्थाको छ भने । जस्तो मान्नुस् कुनै कम्युटर छ, कुनै ल्यापटप छ कसैलाई प्रयोग गर्न दिनुभयो । तर उहाँले त्यसको कन्टेन्टहरु चोरिदिने, कन्टेनहरु लगिदिने, त्यहाँ भएकाहरुलाई मिस्युज गरिदिने गर्नुभयो र त्यसमा इन्टरनेट प्रयोग गर्नुभएन भने त्यो कम्युटर क्राइम भयो । र, इन्टरनेट प्रयोग गरेर सर्कुलेट गर्नुभयो । इमेलबाट पठाउनु भयो । कुनै सोसल मिडियामा पोष्ट गर्नुभयो । त्यसो गर्नुभयो भने यो के भयो भने साइबर क्राइमतिर गयो । त्यसभित्र सह क्याटेगोरीमा जाँदाखेरी साइबर क्राइमलाई हामीले दुईवटा रुपमा व्याख्या गर्छौं । एउटा पेओर साइबर क्राइम भन्छौँ । त्यसलाई टेक्नोलोजी एज टार्गेट भन्छौँ । जस्तोः वेबसाइटहरु ह्याक गरिदिने । बैंकको एटिएमहरु ह्याकिङ गरिदिने । त्यस्ता क्राइमहरु पेओर साइबर क्राइमहरु भए । अर्कोचाहीँ टेक्नोलोजी एज स्टुमेड हुन्छ । जस्तो अरु कन्भेसनल क्राइम गर्नुप¥यो । तर इन्टरनेटको प्रयोग गरियो । जस्तो कसैलाई मर्डर गर्नुछ भने उसलाई म्यासेन्जरमा वा टेक्स्ट गरेर , फोनबाट, म्यासेन्टरबाट टेक्स्ट गरेर त्यहाँ बोलाइयो र अरु क्राइम गरियो भने त्योसँग कनेक्टेड हुन्छ । त्यसलाई हामी टेक्नोलोजी एज स्टुमेड भन्छौँ । त्यसको सब क्याटगोरीभित्र जाँदाखेरी । साइबर क्राइमभित्र जाँदाखेरी हामी के गर्छौं भने सोसल मिडिया अहिले व्यापक प्रयोग भएको छ । अहिले हाम्रो बुझाइ नै कस्तो भएको छ भने सोसल मिडिया प्रयोग गरेर गरेको मात्रै साइबर क्राइम हो । पेओर साइबर क्राइमको बारेमा मानिसको मानसपटलमै छैन अहिले । जस्तो सोसल मिडिया पनि हेर्दाखेरी साइबर क्राइमको मेजर कन्टेन्टहरु चाहिन्छ । त्यसको लागि कम्युटर चाहियो । कम्प्युटर भनेको स्मार्ट फोनदेखि लिएर डिजिटल फर्मका जुनसुकै युज (प्रयोग) गर्न सकिने चिजहरु भए । त्यसमा इन्टरनेट वा साइबर स्पेश कनेक्टेड हुन्छ । आखिर सोसल मिडियामा पनि ति पार्ट त हुन्छन् । त्यसकारणले यो साइबर क्राइमसँग रिलेटेड फिल्ड हो । तर सोसल मिडियालाई यसको राइट प्रोनाउन्स् गर्दा यसलाई हामी सोसल मिडिया अब्युज भन्नसक्छौँ । त्यसको दुरुपयोग । कतिपय देशहरुमा के गरिएको छ भने सोसल मिडियासँग रिलेटेड कुराहरु जस्तोः फेसबुक, ट्वीटरहरु सँग रिलेटेड कुराहरु त्योमार्फत कुनैपनि कुराहरु एक्सप्रेस गरिन्छ र राइट टु एक्सप्रेसन सँग जोडिएको हुन्छ । अनि कसैको अभिव्यक्तिको स्वतन्त्रता हुन्छ । उसले आफ्नो कुराहरु पहिलाको जमानामा कही बोलेर एक्सप्रेस गथ्र्यो । त्यसपछि रेडियोमार्फत गरिन्थ्यो । अहिले टेलिभिजनको आविस्कारभयो । टेलिभिजनमार्फत गरियो । पछि अनलाइन माध्यम आए अडियो भिडियो पोष्ट गरेर गरियो । कुनै कुरा हामीले एक्सप्रेशन गरिन्छ भने राइट टु एक्सप्रेशन हुन्छ । अर्को राइट टु प्राइभेसी । राइट टु एक्सप्रेशनको लिमिटेशन कहाँनिरसम्म हुन्छ भने अर्काको प्राइभेसीको जोनसँग टच नगर्ने बेलासम्म हाम्रो राइट टु इन्फरमेशन हुन्छ । फ्रिडम अफ इन्फरमेशन हुन्छ हाम्रो । अर्काको एरियातिर गइसकेपछि उसको राइट टु प्राइभेसी शुरु हुन्छ । जस्तो सोसल मिडियाबाट कुनै कुरा एक्सप्रेश गरिन्छ भने त्यो राइट टु एक्सप्रेशन भयो । त्यसबाट एक्सप्रेश भएका कुराले कुनै अपराध भयोे । कुनै अपराध हुने अवस्था रह्यो भने त्यहाँनिर फेरि सोसल मिडिया क्राइम हुन्छ । जस्तो ः कसैले स्टाटस पोष्ट गर्यो । कसैलाई टेक्स्ट पठाएर ए भन्ने मान्छेले बि भन्ने मान्छेलाई तिमी बाँच्नुको कुनै मतलव छैन । तिमि आत्महत्या गरिहाल । गरेनौँ भने तिम्रो म यो यो गरिदिन्छु वा कुनै थ्रेट दियो भने त्यसको आधारमा आत्महत्या भयो भने सोसल मिडिया प्रयोग गरेर त्यो गरियो भनेपनि त्यसको रिजेल्टचाहीँ क्राइम भयो भने हामी सोसल मिडिया क्राइम भन्छौँ । र कसैले आफूलाई लागेका कुराहरुको एक्सप्रेश गरियो भने सोसल मिडिया साइबर क्राइमभित्र पर्दैन त्यो । एक्सप्रेशन गर्दा कसैलाई आक्षेप लाग्यो । कसैप्रति नेगेटिभ कुराहरु भनियो । आक्षेप लागेको पार्ट चाहीँ गालि, बेइज्जति हुन्छ । फेसबुकमा अथवा सामाजिक सञ्जालमा लाइभमा बसेर अथवा रेकर्ड गरेर भिडियो प्ले गरिदिएर उसले कोही मान्छेलाई ब्लेम गर्छ, ऊ सुसाइड गर्छ, पछिल्ला दिनहरुमा त्यो केसहरु पनि देखिए, त्यस्तो अवस्थामा त्यो कुन अन्तर्गतको पर्यो ? यसलाई साइबर क्राइमभित्रै पार्न सकिन्छ । साइबर क्राइमभित्र पर्छ । तर आत्महत्या गरेको त्यसको अर्को फिलोसोपी छ । अहिले आत्महत्या दुरुत्साहनका केशहरु एकदमै धेरै आइराखेका छन् । नर्मल अवस्थामा कस्तो भएको छ भने अहिले हाम्रो कोर्टहरुमा आउनेचाहीँ जस्तोः बुहारीले आत्महत्या गरी भने माईती तिरकाले ज्वाईलाई र उसका सासु, ससुरालाई आत्महत्या दुरुत्साहनमा हालिदिने । अहिले फौजदारी अपराध संहिताले के गरेको भने नयाँ ल्याएको विषय हो । यद्यपी अरु देशहरुमा थियो । त्यो गर्दा के हुन्छ भने उसको बाँच्न सक्ने सम्भावना नै थिएन । त्यसको विकल्प थिएन । जस्तोः त्यहाँ पोस्ट गरेको कुरालाई त उसले उपचार गर्न सक्थ्यो । उसले डेफेन्श गर्न सक्थ्यो । तर उसलाई त्यो अप्शन नै दिइएन र मर्नेभन्दा विकल्प छैन भनेर त्यो तत्काल भएको छ भने त्यसलाई हामी आत्महत्या दुरुत्साहनको प्रिन्सिपल हो । हामी भन्छौँ नि कराईबाट फुत्कियो भने भुंग्रोमा पर्ने । लाइभ इन्ड नै हुन्छ । वा त्यो मैले आत्महत्या गरिनँ भने मेरो परिवार, मेरो छोराछोरीहरुलाई आक्रमण हुन्छ र उनीहरुको सुरक्षाको लागि मेरो जीवनको इन्ड गर्छु भन्ने अवस्थाको त्यो लेभलको छ भने आत्महत्या दुरुत्साहन हुन्छ । अहिले यहाँले कुरा गरेको कसैले भिडियो पोस्ट गरिदियो । कसैको कसैसँग व्यक्तिगत सम्बन्धका कुराहरु हुन्छन् । त्यस्तो कुराहरु एक्सपोज गरिदियो भने समाजमा कसरी मुख देखाउने भनेर मर्ने अवस्था रह्यो र तत्कालिन उहाँको विकल्प थिएन र पोष्ट गरेका कारणले ज्यान गयो भने त्यो कुराहरु साइबर क्राइमभित्र पर्छन् । भनिन्छ, कानूनभन्दा अपराधी एक तह अगाडी हुन्छ, हामीकहाँ सामाजिक सञ्जालको प्रयोगपनि धेरै लामो समय भएको छैन भर्खर भर्खर छ र हामी विद्युतिय कारोबार ऐन अन्तर्गत यो विषयहरुलाई समेटिरहेका छौँ, हामी कत्तिको व्यवहारिक छौँ ? अथवा कानूनको आवश्यकता हो कि होइन ? साइबर क्राइमको इतिहास हेर्दाखेरी हामी नयाँ नै छौँ । फेसबुक २००४ मा लञ्च भयो । ट्वीटरहरु २००६ मा लञ्च भयो । युट्युव, सोसलमिडियाका धेरै फोरमहरु, ब्लगहरु आए । अनि यसलाई सोसल मिडियाको छुट्टै विधा जेनेरेट भयो । त्यो भन्दा अगाडी डाटाहरुको प्रोटेक्शन गर्नेदेखि लिएर साइबर क्राइमको छुट्टै विधा थियो । यो २००४ पछिको कुराहरु हो । अहिले धेरै सोसल मिडियाको प्रयोग भयो । यो त रियल टाइम ट्रान्समिशन, रियल टाइम ब्रोडकास्टिङ, रियल टाइम एक्सप्रेशन भइदियो । पत्रकारिताभन्दा पनि एक स्टेप अगाडी भयो । सोसल मिडिया युजरहरु वा ब्लगरहरु आफूलाई पत्रकार भनेर पनि दाबी गर्नुहुन्छ । अनलाइन पोर्टलहरु आइदियो । त्यसलाई रेगुलेट गर्नको लागि हामीसँग अहिले प्रोपर ल छैन । त्यसलाई ट्याकल गर्नका लागि हामीसँग आईटीको विशेषज्ञ हनुपर्छ । साइबर सेक्युरिटीको प्रोफेसनलहरु हुनुहुन्छ । कतिबेला साइबर क्राइमको जुरिस्टिक्शन शुरु हुन्छ भने जब साइबर सेक्युरिटीको पार्ट ब्रिज हुन्छ । ब्रिज हुन्छ र त्यसको उपचार गर्नुपर्ने हुन्छ । कोर्टमा त्यो अनुसन्धानको विषय आउँछ त्यसपछि साइबर क्राइमको पार्ट शुरु हुन्छ । कसैले कसैको लाइफ इन्ड गरेर मान्छे मारिदिएपछि न उसलाई अनुसन्धान गर्न शुरु गरिन्छ । मान्छे मर्नु नपर्ने, सुरक्षा दिनुपर्ने काम त राज्यको वा प्रहरीको थियो नि त । क्राइम भइसकेपछिको कानूनी उपचारको पाटो जसरी शुरु हुन्छ, यो पनि हाम्रो त्यसरी नै शुरु हुने हो । आइटी वा साइबर सेक्युरिटीको ब्रिज भएको कारणले हाम्रो शुरु हुन्छ । हामीसँग दक्ष आइटी प्रोफेशनलहरु भएभने क्राइमको अवस्था नै आउँदैन । वेवसाइट बनाउँदा सुरक्षाको उचित उपायहरु ग¥यौँ भने ह्याक नै हुन सक्दैन सामान्यतया भन्ने हो भने । सोसल मिडिया, कम्युटरहरु प्रयोग गर्दा सावधानी अपनायौँ भने त्यो अवस्थाहरु आउँदैन । त्यो नअपनाएको कारणले आउने हो । त्यसको रिजल्ट हो यो भनेको । यसमा सबभन्दा पहिले दक्ष आइटी प्रोफेसनलहरु हुनुप¥यो । अनुसन्धान गर्ने प्रहरीहरुमा पनि विज्ञता जरुरत छ । त्यसपछि त्यसलाई लिने सरकारी वकिलहरुमा पनि विज्ञता अभाव छ । साइबर क्राइम हेर्ने वकिलहरुमा पनि हामीसँग कम जनशक्ति छ । त्यसपछि अदालतमा गइसकेपछि न्यायाधीशहरुमा पनि त्यसको विज्ञता हुनुप¥यो । यसको विज्ञताहरुको हामीसँग अभाव छ । त्यसले गर्दा हामी अहिले भएका के छौँ भने अहिले कम्युटर, टेक्नोलोजी, टेलिफोन, टेलिकम्युनिकेशनमा फोरजी, फाइभजी शुरु भयो । अमेरिकामा शुरु भयो भने हामीकहाँ आइपुगिहाल्छ । कुनै स्मार्ट फोनको नयाँ भर्सन लञ्च हुन बित्तिकै नेपालमा त्यो उपलब्ध भइहाल्छ । टेक्नोलोजी हामीकहाँ आउने भयो । त्यो टेक्नोलोजीलाई सेक्योर गर्ने र ट्याकल गर्ने हामीसँग त्यसको अभाव रह्यो । अभाव रहेको हुनाले हामीलाई यो समस्याहरु आइरहेको छ । त्यसलाई ट्याकल गर्ने हामीसँग कानून छैन । कानून नभएकाले अहिले हामीले विद्युतीय कारोबार ऐन जुन फरक प्रयोजनका लागि बनेको हो, त्यो ऐन लगाएर हामीले काठमाडौं जिल्ला अदालतमा मात्रै नेपालभरीका मुद्दाहरु केन्द्रित गरेर मुद्दा हेरिरहेको अवस्था छ । अरु ७६ जिल्लामा भएका घटनाहरु पनि काठमाडौँ ल्याउनुप¥यो । अनुसन्धान गर्न पक्राउ गरेर ल्याउनुप¥यो । दुनियाँ कारणले गर्दाखेरी सकेसम्म यो मुद्दाहरु नचलाएको अवस्थाहरु छ । कसैले अपराध गर्यो अथवा अपराध गर्न उन्मुख भयो, तर हामीले गलत कानूनले उसलाई कारबाही गरिरहेका छौँ, यो गलत हुन्छ कि हुँदैन ? विद्युतीय कारोबार ऐन २०६३ बन्दाखेरी त्यसमा धेरै कुराहरु इलेक्ट्रोनिक फमबाट कुनै कारोबार हुन्छ, कुनै व्यापारिक ग्रुपहरु बीच काम, कारोबार हुन्छ भने त्यो काम, कारोबारलाई डिजिटलाइज गर्ने र त्यसपछि त्यसको इलेक्ट्रोनिक फममा भएका कुराहरुलाई त्यसको इभिडेन्सहरु क्रेट गर्नलाई त्यो ऐन आएको हो । उदाहरणका लागि हामीले अनलाइन अर्डरहरु गर्छौं । डेलिभर गर्छ तर कहिलेकाहीँ त्यसको पेमेन्टहरु दिँदैन । त्यो गर्दा मैले यो गरेको होइन भन्ने प्रश्नहरु पनि आउँछ । त्यसलाई रेगुलेट गर्नको लागि जस्तो उसको डिजिटल सिग्नेचरहरु रजिष्ट्रार भन्ने त्यसले क्रेट गरेको छ, त्यो रजिष्टारको कार्यालयमा राख्ने, उसको एकाउन्टहरु दिने, अनलाइन आइडीहरु, इमेल आइडीहरु दिने, त्यसको वेवसाइटहरु, डिटेल्सहरु दिइसकेपछि त्यसको कि जेनेरेट गर्ने, अनि त्यस्तो काम गरिसकेपछि भोली मैले होइन भन्दा तपाईले त गरेकै हो भनेर उसबाट त्यसलाई उपचार गर्नको लागि यो कानून विद्युतीय कारोबार ऐन बनेको हो । विद्युतीय कारोबार ऐनको दफा ४५, ४६, ४७ मा व्यवस्था छ । त्यसमा कम्युटर प्रयोग गरेर कसैलाई अनाधिकृत रुपमा कुनै गालि, बेइजती गर्ने कामहरु गरियो भने त्यसलाई यति सजाय हुन्छ भनेर कुनैमा ५० हजार रुपैयाँदेखि २ वर्षसम्म कैदका कुराहरु, कुनैमा ५ वर्ष सम्म कैदका कुराहरु राखेर त्यो व्यवस्था राखियो । अहिले हामीसँग साइबर कानून नभएको कारणले गर्दा हामी त्यही दफा ४७ प्रयोग गरेर त्यसलाई ह्याण्डल गरिराखेका छौँ । स्पेसिफिक साइबर ल हामीलाई जरुरी छ । त्यसमा पनि हामीले अझ स्पेसेफिक सोसल मिडियालाई हामीले क्राइम भन्छौँ भने त्यो हाम्रो कन्ट्री स्पेसिफिक कुरा हो । जस्तो अमेरिकाले भन्दैन । दुईवटा मोडेलहरु हामीसँग प्रयोग छ । एउटा अमेरिकन मोडेल, अर्को ब्रिटिश मोडेल । ब्रिटिश मोडेलमा कस्तो छ भने गर्भमेन्ट सेन्ट्रिक, प्रो गर्भमेन्ट । भनेको, गर्भमेन्टलाई डिफेन्ड गर्ने । गर्भमेन्ट साइटलाई डिफेन्ड गर्ने र पब्लिकलाई सजाय गर्ने । अर्को अमेरिकन मोडेल छ, हामी प्रो पब्लिक भन्छौँ । अमेरिकामा पिपुललाई सेन्ट्रिक गर्छ । गर्भमेन्टलाई उहाँहरुले त्यसलाई प्राथमिकता दिँदैन । जस्तो अमेरिकी राष्ट्रपतिलाई, ठूला ठूला संवेदनशील पदमा भएका मान्छेलाई पनि सोसल मिडियामा गालिगलौज ग¥यो भने त्यसलाई हिरासतमा राखेर, अनुसन्धान गरेर मुद्दा चलाइँदैन । त्यसलाई गालि बेइजती अन्र्तगत त्यहाँ कमिनिकेशन डिसेन्स एक्ट १९९६ भन्ने छ वा टेलिकम्युनिकेशन एक्ट १९९६ भन्ने छ, त्यसको पाँचौ च्याप्टरमा त्यसले एड्रेस गरेको अवस्था छ । तर हामीकहाँ चाहीँ साइबर ल नभएपनि विद्युतिय कारोकार ऐन प्रयोग गरेर हामीले खासगरी सामाजिक सञ्जालसँग रिलेटेड कुराहरुलाई ट्याकल गरेको अवस्था छ । जस्तो कसैको नग्न भिडियोहरु बनाएर सार्वजनिक गरिदिने कुराहरु, कसैलाई गालि, गलौज गरिदिने म्यासेन्जर, टेक्स्टमार्फत पनि । कसैलाई स्टाटस पोस्ट गरेर गरिदिने । त्यो कुराहरुलाई हामीले यो रुपमा लिएका छौँ । साइन्स अफ ल को संसारभर प्रिन्सिपल एउटै हुन्छ । कुनैपनि कानूनको पछाडी जुरीपुडिन्सियल प्रिन्सिपल स्ट्याण्ड गरेको हुन्छ त्यसको आधारमा । त्यो गर्दाखेरी हामीले इन्टरनेशनली कम्पेरिटीवल हुनको लागि, हामीलाई अन्तर्राष्ट्रियस्तरमा लिगल प्राक्टिशमा हामी इक्वल फुटिङमा आउनको लागि, ट्रस्ट क्रेट गर्नको लागि हामीलाई के जरुरी छ भने अझ सोसल मिडियालाई हामी यदी क्राइम भन्न चाहन्छौँ भने त्यसलाई कानूनमै परिभाषित गरेर यस्तो यस्तो गर्यो भने यो क्राइम हुन्छ, यो गरे वापत यो जरिवाना हुन्छ भनेर कानूनमै व्यवस्थित गर्नुपर्यो । यद्यपी अहिलेको विद्युतीय कारोबार ऐनको दफा ४७ मा यो कुरा क्राइम हो भनेर भनेको छैन । तर यो यो गर्नेलाई सजाय हुन्छ भनेर सिधै सजाय प्रश्ताव गरेको छ । जस्तो ज्यानसम्बन्धी कानूनमा के भन्यो भने कानून बमोजिम बाहेक कसैले कसैको ज्यान लिनु हुँदैन भन्यो । पहिला हुँदैन भन्यो, त्यसको अर्को दफामा गएर त्यो गर्यो भने जन्मकैद हुन्छ । यति वर्ष कैद हुन्छ भनेर भनिएको हुन्छ । कानूनको प्याट्रन त्यो हो, त्यो हुनुपर्छ । पहिला कुन क्रियाकलाप अपराध हो भनेर घोषणा गर्नुपर्छ । त्यो ब्रिज भयो भने सजायको प्रश्ताव गर्नुपर्छ तर विद्युतीय कारोबार ऐनको दफा ४७ ले यो यो गर्नु अपराध भन्दैन । तर यो यो गरेमा सजाय यति हुन्छ भनेर सिधै प्रश्ताव गर्छ । त्यसो भएको हुनाले यसमा लिगल प्रिन्सिपलको पनि हामीसँग अभाव छ । तत्काल हामीले यसलाई संशोधन गर्नुपर्ने हुन्छ । त्यो पाटोमा हाम्रो विधायकहरुको पनि ध्यान पुगेको देखिँदैन । त्यसलाई तत्काल सुधार गर्नुपर्ने अवस्था छ । हाम्रो प्रश्तावित आइटी एक्ट २०१९ सञ्चार मन्त्रालयले प्रश्ताव गरेको थियो । यद्यपी पास हुन सकेको छैन । पछिल्लो समय के देखियो भने ठुला सञ्चार माध्यमभन्दा व्यक्तिका स्टाटसहरुले समाजमा बढी रियाक्ट गर्ने भए, त्यसले गर्दा सामाजिक सञ्जालको दुुरुपयोगको ट्रेन्ड झन बढेर गयो, सञ्चार माध्यमलाई हेर्ने विषय र यसलाई हेर्ने विषय पनि अब अलग्गै चाहियो होइन ? एकदमै अलग चाहियो । यो कति ट्रिकि विषय छ भने मैले यहाँलाई के कुरा गरेँ भने एउटा इन्फरमेशन टेक्नोलोजीसँग जोडिएको छ । र क्रिमिनल ल सँग जोडिएको छ । अर्को ब्रोडकास्टिङ र मिडियासँग पनि जोडिएको छ । यहाँहरुको ब्रोडकास्टिङ ऐन त छुट्टै छ । तर के गरियो भने हामीले यसलाई युट्युबहरुबाट तत्काल पोस्ट गर्ने, स्टाटस पोष्ट गर्नेलाई रियल टाइम इन्फरमेशन भन्दा रहेछौँ । यो पत्रकारिता भन्दापनि एक स्टेप अगाडी छ । यहाँहरुको पनि अनलाइन मिडिया छन् । कतिपय दर्ता भएका होलान् । कतिपय दर्ता नभएका होलान् । सञ्चारमाध्यमबाट आयो भने त ब्रोडकास्टिङ एक्टले पनि समात्छ । व्यक्तिगत रुपमा कसैको ब्लगबाट आइदियो, सोसल मिडियाबाट पोस्ट भएको क्राइमको परिभाषाभित्र पर्यो भने साइबर ल ले त्यसलाई एड्रेस गर्नुपर्छ । त्यो पोष्ट गरेको कुराले कसैलाई आपत्तिजनक भयो । कसैको मान हानी भयो । कसैको इज्जत, प्रतिष्ठामा आघात पर्यो भने हामी गाली, बेइज्जती ऐन अन्तर्गत जानुपर्छ । हाम्रो अपराध संहीतामा गालि, बेइज्जतिको छुट्टै च्याप्टर छ । त्यो इन्टरनेट वा साइबर स्पेस थ्रो भयो । यसको आविष्कार नहुँदा ढंग फरक थियो । तर अहिले यसको मोड फरक भयो ।
प्रधानमन्त्री प्रचण्ड र लेखराज भट्टबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन धनगढी पुगेका प्रचण्ड आइतबार बिहान भट्ट निवास गेटामा पुगेका थिए । भट्टसँग समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘यो घरसँग मेरो ४० वर्षदेखि सम्बन्ध छ, यहाँ माथि एउटा म बस्ने कोठा छ, जहाँ मैले खाने बस्ने गर्थेँ, त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हो, बाँकी कुरा, लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो’, भट्टसँगको भेटपछि उनले भने । पूर्वमाओवादी धारका नेता भट्ट हाल नेकपा एमालेका केन्द्रीय सचिव हुन । नेकपा विभाजनको बेलामा उनी एमालेमै बसेका थिए ।
नेपालमा कारोना सङक्रमण बढ्दै, खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका छन् । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले दैनिक बढिरहेको छ । हिजो मात्र ६४ जनामा नयाँ सङ्क्रमित फेला परेका थिए भने हाल कुल सक्रिय सक्रमितको सङ्ख्या ३५६ जना पुगेका छन् । काठमाडौं उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु) र पाँच जना भेन्टिलेटरमा उपचार गरारहेका छन् । अहिले काठमाडाैंसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ । स्वास्थ्य कार्यालय काठमाडौंका सूचना अधिकारी अञ्जना खड्काका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ । यस्तै काठमाडौंका स्थानीय तहले पनि आवश्कता अनुसार विभिन्न ठाउँमा खोप प्रदान गरिरहेका छन् । केही दिनअघि गरिएको अनुवांशिक अध्ययानमा नेपालमा पहिलो पटक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ । मन्त्रालयले सङ्क्रमणको लक्षण देखिने वित्तिकै परीक्षण गराउन र आइसोलेशनमा बस्न अनुरोध समेत गरेको छ ।