लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ : कोरियाली पूर्वमन्त्री
काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा उनले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्राएर विकासमा फड्को मार्न सक्नेमा विश्वास व्यक्त गरे । कोरिया सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झण्डै चार दशक काम गर्नुभएका पूर्वमन्त्री लीले कुनै पनि देश विकासका लािग नेतृत्व बलियो हुनुपर्नेमा जोड दिए । उनले दक्षिण कोरियाले सही नेतृत्वका कारण विकशित राष्ट्र बन्न सकेको बताए । उनले भने, ‘नेपालमा कैयन सम्भावना छन्, यी सम्भावनलाई अवसरका रुपमा लिन सके नेपालले पनि विकासमा छलाङ मार्न सक्छ । नेपालमा लगानीमैत्री वातावरण बनेमा विश्वबाट लगानी र प्रविधि ल्याउन समन्वय गर्छौ ।’ हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एशोसियसनका अध्यक्ष समेत रहनुभएका लीले आफ्नो देशले पनि पहिले वैदेशिक सहायता, प्रविधि र लगानी भित्र्याएर विकास गरेको स्मरण गर्नुभयो । विकासका लागि पूर्वाधार, यातायात र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले सीमित स्रोतलाई परियोजना लक्षित लगानीमा जोड दिनुपर्नेमा जोड दिए । साताव्यापी नेपाल भ्रमणमा आउनु भएका लीले अर्थमन्त्री, लगानी वोर्डका पदाधिकारीलगायत उच्च सरकारी अधिकारीहरुसँग भेट गरी लगानीका सम्भावनाका बारे भेटवार्ता गरेका थिए । योजना आयोगका उपाध्यक्ष श्रेष्ठले पूर्वमन्त्री लीको नेपालप्रतिको सद्भावका लागि धन्यवाद दिँदै नेपालले ली जस्तै लगानीकर्तालाई लगानीका लागि आह्वान गरे । उनले सन् १९५५ ताका नेपालले कोरियालाई खाद्यान्नलगायत सहयोग गरेको विषयलाई स्मरण गर्दै नेपाल विगतमा कमजोर नभएपनि पछिल्ला केही दशकमा राजनीतिक अस्थिरताले गर्दा आर्थिक र विकासमा पछि परेको धारणा राखे । उपाध्यक्ष श्रेष्ठले आयोग १६औं पञ्चवर्षीय योजना निर्माणमा जुटिरहेको परिप्रेक्षमा परिणाममुखी आयोजनामा ध्यान दिने बताए । गैरआवसीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष विनोद कुँवरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकसित राष्ट्रले अवलम्वन गरेका विकासको नमूनालाई नेपालमा पनि भित्र्याएर छिट्टै विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे । सो अवसरमा सङ्घका पूर्वउपाध्यक्ष सोनाम लामा, महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, दीपेश खत्री, रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल र लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याललगायतले नेपाललाई मोनोरेल, साना किसिमका सहरी रेलका माध्यमबाट पर्यटन र जल तथा नवीकरणीय ऊर्जाका माध्यमबाट विकास गर्न सकिने धारणा राखेका थिए । रासस
बाँकेको विद्यालयमा खानेपानी अभाव, घरबाटै लैजानु पर्छ
बाँके । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ । खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउँछन् । ‘विद्यालयमा शौच गर्न सधैँ समस्या हुन्छ, पानीको व्यवस्था छैन्’, उनले भने । कक्षा कोठा पनि गतिला नभएको उनको गुनासो छ । विद्यालयका एउटा मात्र हाते पम्प रहेको छ । पिउनलाई शुद्ध पानीको अभाव छ । ‘पानी किनेर पिउनुपर्ने बाध्यता छ’, कक्षा ५ मा अध्ययनरत कल्पना यादवले भने–’विद्यार्थीले सधैँ पानी किनेर पिउन सम्भव छैन । प्यास लागे प्रायः घरमै गएर पानी पिउने गरेका छौँ ।’ शौचालयमा प्रयोग गर्न पनि पर्याप्त पानी नभएको उनी बताउँछन् । शौचालय जाँदा बाहिरबाटै पानी बाकेर लैजानुपर्ने विद्यार्थी बताउँछन् । विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयमा खानेपानीको व्यवस्थाका लागि वडा कार्यालयले आश्वासन दिएको प्रधानाध्यापक रेखा धितालले बताइन् । उनले भने, ‘वडाले आश्वासन त दिएको छ, तर हालसम्म केही सुरसार छैन ।’ उनान्चालीस विद्यालय रहेको उक्त पालिकाको सबैभन्दा धेरै विद्यार्थी भएको शिवपुरी माध्यमिक विद्यालय । उक्त विद्यालयमा भने भौतिक संरचना जीर्ण छ । दुई वर्षदेखि कक्षा कोठाको छतबाट पानी चुहिँदै आएको प्रधानाध्यापक देव रानाले बताए । ‘टालटुल गरेर पठनपाठन भइरहेको छ’, उनले भने । जीर्ण भएकै कारण भर्ना हुन आएका विद्यार्थीलाई फिर्ता पठाएको रानाले बताए । पाँच ब्लकमा १२ कक्षाकोठा रहेको उक्त विद्यालयमा छात्राका लागि शौचालयको उचित व्यवस्था नभएको रानाको भनाइ छ । यहाँ सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । उक्त पालिकामा प्राथमिक विद्यालय १६, निमावि तीन र माध्यमिक विद्यालय पाँच छन् । यहाँ १४ मदरसा छन् । छ सामुदायिक विद्यालय रहेको उक्त पालिकामा एक गुरुकुल पनि सञ्चालनमा छ । माविसम्म सीमित रहेको उक्त पालिकामा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सञ्चालनका लागि कार्यपालिकाबाट निर्णय भइसकेको शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताइन् । रासस
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुन ७०० रुपैयाँले घटेको छ । योसँगै छापावाल सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
बजेट महाशाखा प्रमुखको जिम्मा खत्रीलाई, हटाइए शर्मा
काठमाडौं । अर्थ मन्त्रालय अन्तरगत रहेको बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी उत्तर कुमार खत्रीले पाएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्कालीन महाशाखा प्रमुख धनीराम शर्मालाई हटाएर खत्रीलाई जिम्मेवारी दिएका हुन । अर्थमन्त्रीमा नियुक्त भएपछि महतले आफू माताहातका तीन जना सहसचिवलाई अर्थ मन्त्रालय भित्र्याएका छन् । नयाँ टिम बनाउन अर्थमा तीन जना सहसचिवलाई भित्र्याईएका छन् भने दुई जनालाई हटाएका छन् । अर्थमन्त्री महतले बजेट लेखनको टिम समेत बनाइसकेका छन् । अर्थमन्त्री डा. महतको चैत २४ को मन्त्रीस्तरीय निर्णय गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तयार गर्न अर्थ मन्त्रालयले सहसचिव भुपाल बराल संयोजकत्वको बजेट मस्यौदा लेखन समिति गठन गरिसकेको छ । उक्त समितिको सदस्यहरुमा सहसचिवहरु खत्री सहित धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा छन् । सम्बन्धित समाचार : अर्थमन्त्री महतले आफू निकट सहसचिवलाई भित्र्याए, बाहिरिए दाहाल र आचार्य
म्युचुअल फण्डले घरजग्गा र सुनमा लगानी गर्न पाउनुपर्छ : सीईओ कार्की
काठमाडौं । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम-३ निष्काशन तथा बिक्री खुला गरेको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम-३ ले १२ अर्ब रुपैयाँ बराबरको इकाई बिक्री खुला गरेको हो । १० वर्षे अवधिको यो योजना बन्दमुखी प्रकृतिको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई रहेको जनाएको छ । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात् ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्तालाई छुटाइएको छ । क्यापिटलको फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म खरिद गर्न सक्नेछन् । क्यापिटलको फण्ड छिटोमा चैत २९ गतेसम्म खरिद गर्न सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा २०८० बैशाख १० गतेसम्म आवेदन दिन समय लम्बिनेछ । यहि विषयमा आधारित भएर सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दीप कार्कीसँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ कस्तो प्रकारको फण्ड हो ? बजारमा सबै फण्डहरु इक्विटी ओरियन्टेड छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ पनि इक्विटी ओरियन्टेड फण्ड हो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ बाट संकलन रकम सेयर बजारमै लगानी गर्ने हो । फण्डहरुलाई सेयर बजार बाकेह अन्य क्षेत्रमा लगानी गर्नका लागि अनुमति छैन । यो योजनाका विशेषता के-के हुन् ? सेयर बजार ४५ प्रतिशतसम्म झरेको छ । सेयर बजारमा अहिले लगानी गर्दा धेरै नाफा कमाउन सकिन्छ । त्यसैले अहिले जारी गरिएका फण्डले इकाईधनीहरुलाई धेरै प्रतिफल दिन सक्छन् । सेयर बजार घटेर तल्लो विन्दुमा पुगेको हुँदा लगानी गर्न सहज हुन्छ । अहिले सस्तो मूल्यमा सेयर खरिद गरेर दीर्घकालमा मूल्य बढ्न सक्छ । सेयर बजार तल्लो तहमा झरेको छ । म्युचुअल फण्डमा पनि आकर्षण कम छ । लगानीकर्ताको मनोबल कमजोर बनेको छ । यस्तो समयमा फण्ड बिक्री हुन्छ त ? पक्कै पनि फण्ड बिक्री हुन्छ । किनभने सेयर बजार बुझेका लगानीकर्ताहरुका लागि अहिले उपयुक्त समय हो । लगानीकर्ताको मनोबल पक्कै घटेको छ । बजार अझै के हुन्छ भन्ने अन्यौलता छ । बजारमा धेरै उतारचढाब पक्कै भएको छ । तर, सधैं यस्तै रहन्छ भन्ने पनि छैन । अब बजार विस्तारै सुधार हुन्छ । लगानीकर्ताले छोटो अवधिका लागि मात्रै फाइदा खोजिरहेका छन् । अधिकांश फण्डहरु ८/१० वर्ष अवधिका छन् । दीर्घकालका लागि बजारको स्थिति राम्रो देखिन्छ । अहिले बजारमा लगानीकर्ताको मनोबल कमजोर भएपनि अब बजार माथि नै उक्लिने हो । बजार घट्दा म्युचुअल फण्डलाई कस्तो असर गर्छ ? बजारमा फण्डहरुको मूल्य पार भ्यालू भन्दा तल झरेको छ । म्युचुअल फण्डको मूल्य १०/१५ प्रतिशतसम्म घटेको देखिन्छ । अब धेरै तल झर्नु पर्ने कारण छैन । लगानीकर्ताहरुमा बुझाईको कमी छ । फण्डहरु पनि विभिन्न समयमा बजारमा आएका छन् । यदि बजार ५० प्रतिशत बढ्यो भने फण्डहरुले राम्रो प्रतिफल दिन्छन् । फण्डहरुमा विभिन्न तत्वहरुले पनि प्रभाव पारेको हुन्छ । अहिले ५ वर्ष अघि आएका फण्डको कस्ट फरक परेको हो । तर, अहिले आएका फण्डहरुबाट तत्काल फाइदा लिन सकिन्छ । प्रत्येक फण्डहरुको आ-आफ्नै विशेषता छन् । कुनै फण्ड बजार बढेको बेला आएका छन् भने कुनै फण्ड बजार घटेको बेला । १० रुपैयाँ भन्दा कम मूल्य भएका फण्डहरुले लाभांश वितरण गरेका पनि छन् । जस्तो सिद्धार्थ क्यापिटलका २ वटा फण्ड सञ्चालित छन् । एउटा फण्डले ५७ प्रतिशत र अर्काे फण्डले ४५ प्रतिशत लाभांश वितरण गरेको छ । अन्य फण्डहरुले पनि प्रत्येक वर्ष लाभांश वितरण गरिरहेका छन् । लगानीकर्ताहरुले छोटो अवधिभन्दा दीर्घकालका लागि हेर्दा फाइदा नै छ । ५ वर्षको अवधिमा फण्डहरुले ३/४ पटक लाभांश वितरण गरिसकेका हुन्छन् । फण्डहरुले क्षमता अनुसार प्रत्येक वर्ष इकाईधनीहरुलाई लाभांश वितरण गर्दै आएका छन् । फण्डहरुले औषतमा १५/२० प्रतिशतसम्म प्रतिफल वितरण गरेका छन् । केही परिपक्व भएका फण्डहरुले औषतमा ४० प्रतिशतसम्म प्रतिफल बाँडेका पनि छन् । म्युचुअल फण्डहरुले वार्षिक प्रतिफल वितरण गर्दा नराम्रो भन्न पक्कै पनि मिल्दैन । म्युचुअल फण्डहरुले राम्रो पर्फमेन्स पनि गरिरहेका छन् । आजको भोलि प्रतिफल खोेज्ने हो भने म्युचुअल फण्ड राम्रो नदेखिन सक्छन् । तर, दीर्घकालका लागि होल्ड गर्ने लगानीकर्ताका लागि म्युचुअल फण्ड उत्कृष्ट क्षेत्र हो । म्युचुअल फण्डको धेरै लामो इतिहास पनि छैन । त्यसैले बजारमा एक/दुई फण्डहरुले राम्रो प्रर्फमेन्स गर्न नसेकेका हुन सक्छन् । कतिपय कुराहरुमा हामी पनि गर्दै सिक्दै छौं । नेपालमा म्युचुअल फण्डको इतिहास १० वर्ष मात्रै भयो । विदेश (भारत)मा म्युचुअल फण्डको ६० वर्षको इतिहास छ । तैपनि हामीले सञ्चालन गरेका फण्डबाट असन्तुष्ट नै हुनुपर्ने अवस्था छैन । जस्तो सिद्धार्थ क्यापिटलले सञ्चालन गरिरहेका फण्डहरुले वार्षिक औषत २० प्रतिशत लाभांश वितरण गर्दै आएको छ । अर्थतन्त्र पनि स्थीर हुँदैछ । आगामी वर्षमा सबैभन्दा धेरै लाभांश दिन सक्ने क्षेत्र म्युचुअल फण्ड नै हुनेछ । त्यसकारण पनि म्युचुअल फण्डमा आकर्षण नै देखिन्छ । परिपक्व हुने समयमा वास्तविक न्याभभन्दा बढीमै कारोबार भएका हुन्छन् । अबको सेयर बजारमा म्युचुअल फण्डले नै राज गर्छ । म्युचुअल फण्ड बजार बढेको बेला खरिद गर्ने की घटेको बेला ? यो लगानीकर्ताको व्यक्तिगत निर्णय हो । जसले सानो ‘होराइजन’ राखेको छ, उसले बजार बढेको बेला खरिद गर्छ । अहिले फण्ड खरिद गरेर ४/५ महिनापछि लाभांश बुक गरेर बाहिरीन्छन् । बजारको स्थिती पनि बढेको बेला बढ्यै हुन्छ भने घटेको बेला घटेको घट्यै हुन्छ । बजार घटेको बेला धेरै औजार प्रयोग गर्न सकिन्छ । घटेको बेला राम्रो गर्न सक्ने क्षमता हामीसँग छ । हामीले बजार घटेकै बेला पनि राम्रो नाफा कमाउन सक्छौं । बजार बढेको बेला राम्रो देखिन्छ भने घटेको बेला नराम्रो देखिनु स्वभाविक हो । बजारमा सबै जना डाउन भएर बसेका छन् । बजार बढेको बेला न्याभ बढी हुने भएकाले लाभांश पनि राम्रो दिन सक्ने क्षमता हुन्छ । अन्य समूहका कम्पनीहरुसँग तुलना गर्ने हो बजार घटेको बेला पनि म्युचुअल फण्डहरुले औषत १५ प्रतिशत लाभांश वितरण गरेका छन् । अब त्यसलाई नराम्रो भन्न त मिल्दैन । गत वर्ष सिद्धार्थ क्यापिटलका फण्डहरुले १० प्रतिशतसम्म लाभांश वितरण गरेको थियो । तर, अन्य क्षेत्रका कम्पनीहरुले १० प्रतिशत पनि लाभांश सकेका छैनन् । अब बजार भाइब्रेट भएर माथि उक्लिएपछि राम्रो प्रतिफल दिन्छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले कुन-कुन क्षेत्रमा लगानी गर्छ ? नियामक निकायले स्टक मार्केटमा मात्रै लगानी गर्न अनुमति दिएको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ ले पनि नियामकले दिएको क्षेत्रभित्रै लगानी गर्छ । सेयर बजारको वस्तु स्थिती हेरेर लगानी गर्छ । सेक्टरमा आधारित फण्डहरु पनि आइरहेका छन् । भविष्यमा अन्य क्षेत्रमा पनि लगानी गर्ने वातावरण बन्यो भने त्यतापनि लगानी सक्छौं । आजको दिनमा अन्य क्षेत्रमा अनुमति नदिएको हुँदा इक्विटीमा मात्रै लगानी गर्छाै । यो स्किमले इकाईधनीहरुलाई कति प्रतिफल दिने प्रक्षेपण गरेको छ ? सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ को अवधि १० वर्षको हो । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ का इकाईधनीहरुलाई वार्षिक २०/२२ प्रतिशतसम्म प्रतिफल दिने प्रक्षेपण छ । कुनै वर्ष बढी र कुनै वर्ष कम हुन सक्छ । तर, औषतमा वार्षिक २०/२२ प्रतिशत प्रतिफल दिन्छौं । बजारको परिपेक्ष हेर्दा सर्ट टर्म हावी देखिन्छ । त्यो बेलामा हाम्रो प्रक्षेपण नमिल्न पनि सक्छ । प्रत्येक वर्ष नै वितरण गर्नुपर्छ भन्ने मान्यता लगानीकर्तामा छ । यसअघि जारी गरेका म्युचुअल फण्डबाट कस्तो अनुभव बटुल्नु भएको छ ? मलाई ठिक लाग्छ । हामी यहि क्षेत्रबाट विकास हुँदै गर्दै सिक्दै आएका छौं । एक/दुई फण्डको पर्फमेन्स तलमाथि हुन सक्छ । तर, समग्रमा म्युचुअल फण्ड धेरै परिपक्व भइसके । पहिलाको तुलनामा धेरै प्रगति गरेका छन् । विगतको तुलनामा अहिलेका फण्डहरुको पर्फमेन्स राम्रो छ । ७०/८० प्रतिशत लाभांश दियो भने राम्रो, नत्र भने नराम्रो भन्ने जमात बजारमा छ । तर, व्यवहारिक रुपमा सधैं सम्भव हुँदैन । धेरै जोखिम लिन सक्ने ठाउँमा पनि हुँदैनौं । समग्रमा हेर्दा म्युचुअल फण्डको स्थिति बैंकको फिक्स्ड डिपोजिट रेट (एफडी)भन्दा माथि नै छ । औषतमा वार्षिक २५ प्रतिशतसम्म लाभांश बाँडिरहेका छन् । कतिपय सूचीकृत कम्पनीहरुले लाभांश नै दिन सकेका छैनन् । म्युचुअल फण्डको न्याभ र लाभांश दर घटेको छ । लगानीकर्ताको आकर्षण म्युचुअल फण्डमा कम देखिन्छ नी ? अहिले बजार पक्कै पनि सेन्टिमेन्टमा छ । बजार घटेको बेला कमाउन सकिने औजार छैनन् । हाम्रो बजार वान वे छ । अब बजारमा लगानीकर्ताको मनोबल बढाउनुपर्छ । आर्थिक सूचकमा पनि सकारात्मक सुधार हुँदैछ । जति चाँडो अर्थतन्त्रमा सुधार हुँदै जान्छ त्यति नै छिटो लगानीकर्ताको मनोबल पनि बढ्दै जान्छ । आफै कारोबार गर्न नसक्ने लगानीकर्ताले म्युचुअल फण्ड खरिद गर्दा राम्रो हुन्छ । म्युचुअल फण्डमा व्यक्तिगत जोखिमभन्दा पनि धेरै जोखिम हुन्छ । विस्तारै अर्थतन्त्र खुकुलो हुँदै जाँदा आकर्षण बढ्दै जान्छ । बजार बढेको बेला शतप्रतिशत लाभांश र घटेको बेला लाभांश नै वितरण गरेनन् । यसले बजार बढेको बेला लगानी गर्नुपर्छ भन्ने मानसिकता भएन र ? बजार बढेको बेला मूल्य पनि बढी हुन्छ । सेयर बजार घटेको बेला खरिद गर्याे भने मूल्य कस्टमाइज हुन्छ । १ सय प्रतिशत लाभांश दिएका फण्डको मूल्य पनि त्यो बेला बढी नै हुन्छ । उनीहरुले १८ रुपैयाँमा खरिद गरेर लाभांश बुक गरेका हुन्छन् । तर, आजको दिनमा सेयर खरिद गरेर होल्ड गर्न सक्यो भने भविष्यमा राम्रो हुन्छ । फण्डहरुले आ-आफ्नै पोलिसी बनाएका हुन्छन् । फण्डहरुले एक रुपता कायम गरेर लाभांश वितरण गर्न सके भने राम्रो नै हुन्छ । फण्ड व्यवस्थापनमा ध्यान दिन सकियो भने लाभांश वितरणमा एकरुपता कायम बन्न सक्छ । समग्र म्युचुअल फण्डको भविष्य कस्तो देख्नु भएको छ ? म्युचुअल फण्डको भविष्य राम्रो छ । १०/११ वर्षअघि म्युचुअल फण्डको आकारभन्दा अहिलेका म्युचुअल फण्डको आकार पनि बढेको छ । पहिला म्युचुअल फण्ड भनेको के हो भन्ने पनि थाहा थिएन । आजका दिनमा एउटा क्षेत्रको विकास तथा विस्तार भएको छ । म्युचुअल फण्डमा भएका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्छ । विदेशमा म्युचुअल फण्डको ठूलो इण्डष्ट्रि छ । १० वर्षअघि बन्दुमुखी फण्डबाट यात्रा सुरु भएकोमा ३/४ वर्षअघिदेखि खुलामुखी फण्ड पनि सुरु भएको छन् । अब यो क्षेत्र ठूलो हुँदैछ । अन्य लगानी गर्ने क्षेत्र पनि खुला भइरहेका छन् । विदेशमा फण्डहलाई घरजग्गा तथा सुनमा लगानी गर्न पाउँछन् । यदि नेपालमा पनि घरजग्गा तथा सुनमा लगानी गर्न पाउने व्यवस्था गरियो भने म्युचुअल फण्डको भविष्य चम्किलो छ । ४०/५० करोडको आकारबाट सुरु भएका फण्डहरु ४०/५० अर्ब पुग्न सक्ने अवस्था पुगिसकेको छ । बजारका लागि पनि राम्रो हो । म्युचुअल फण्डमा कर छुटको व्यवस्था गर्नुपर्छ । विदेशमा म्युचुअल फण्डमा कर छुटको व्यवस्था छ । साथै फण्डका लागि सुविधा बढाउँदै जाने र प्रक्रिया सहज बनाउदिने हो र समय अनुसारको व्यवस्था गर्ने हो भने राम्रो नै हुनेछ । यस विषयमा सहकार्य गरेर तयारी अघि बढाउनु पर्याे । हामीले यो क्षेत्रलाई स्थापित बनाएका छौं भने भविष्यका पुस्ताहरुका लागि पनि यो ठाउँलाई राम्रै बनाउनुपर्नेछ । सबै मान्छे आफै लगानी गर्न सक्दैनन् । त्यसकारण यो फण्डलाई व्यवस्थित गर्नुपर्छ । यी विषयमा हामीले पनि गृहकार्य गर्नुपर्नेछ । म्युचुअल फण्डको १० वर्षको इतिहाशमा भएका कमीकमजोरी पहिचान गरी समाधानतर्फ लाग्नू पर्छ । विदेशमा फण्डहरुलाई भाइटल लगानीको भाग मानिन्छ । बजारमा स्थीरता कायम गर्न फण्डहरुको भूमिका रहन्छ । १० वर्षमा कति वटा बुल आउँछन् ? ठ्याक्कै भन्न सक्ने अवस्था छैन । बजार बढेपछि घट्नै पर्ने र घटेपछि बढ्नैपर्छ । पुराना तथ्याङ्क विश्लेषण गर्दा १० वर्षमा २ वटा बुल आउने अनुमान छ । तर, बजारले आफ्नो प्रकृति वा पवृत्ति परिवर्तन गरिरहेको हुन्छ । यसपटक बजार ४४ प्रतिशत घट्दा हाम्रा लागि नयाँ अनुभव भएको छ । फण्ड म्यानेजरहरुले पनि लामो समय अनुभव सँगालेका छन् । कहिले काँही लामो समय काम गर्दा पनि नयाँ अनुभव लिनुपर्छ । हरेक बुल सरप्राइज, हरेक वियर सरप्राइज भन्ने कुरालाई हामीले बुझ्नुपर्छ ।
साल्ट ट्रेडिङकाे अध्यक्षमा प्रदिपलाल श्रेष्ठ
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको आइतबार साँझ बसेको संचालक समितिको बैठकले श्रेष्टलाई अध्यक्षमा नियुक्त गरेको हो । काठमाडौंमा जन्मिएका श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवम् साल्ट ट्रेडिङ समुहका प्रवर्तक स्वर्गिय इश्वरलाल श्रेष्ठ तथा पद्मावती श्रेष्ठका जेष्ठ सुपुत्र हुन् ।
हिमालयन उर्जा विकास कम्पनीले पायो हकप्रद सेयर जारी गर्न अनुमति
काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीलेले हकप्रद सेयर निष्कासन गर्ने अनुमति पाएको छ । कम्पनीले आइतबार विद्युत नियमन आयोगबाट हकप्रद सेयर जारी गर्ने अनुमति पाएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको २ सय प्रतिशत अर्थात १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र हकप्रद सेयर निष्कासन प्रक्रिया अगाडि बढ्नेछ । त्यसपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई स्वीकृती पाएपछिमात्रै हकप्रद सेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी ९९ करोड रहेको छ ।
भरतपुर अस्पतालमा सेवा विस्तार गर्ने
चितवन । चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औँ वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो । अस्पतालमा पिआइसियु, सिसियु र बर्न युनिट थप गरिँदै छ भने आइसियु र एनआइसियु सेवा विस्तार गरिँदै छ । अक्सिजन प्लान्ट थप गरिएको छ । अक्सिजन प्लान्टबाहेकका सेवा नयाँ वर्षसँगै सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । जन्मेको २८ दिनपछि १४ वर्षसम्मका बालबालिकालाई सघन उपचार आवश्यक परेमा राख्नका लागि अस्पतालमा पिआइसियुको अभाव रहँदै आएकामा आठ शय्याको यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो । नवजात शिशुलाई एनआइसियु र १४ वर्षमाथिकालाई आइसियुमा राखेर उपचार गर्ने गरिन्छ । यसैगरी आगोले पोलेका बिरामीका लागि पहिलो पटक बर्न युनिट सञ्चालनमा ल्याउन लागिएको छ । तीन शय्याको वर्न युनिट सञ्चालनमा ल्याउन लागिएको हो । यस्तै २० शय्या सञ्चालन हुँदै आएको आइसियुलाई १० शय्या थप गरी ३० पुर्याइँदै छ । अस्पतालमा एनआरएनएको सहयोगमा अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको छ । यसअघि अस्पतालमा दुई अक्सिजन प्लान्ट सञ्चालनमा छन् । भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यहाँ कम जनशक्ति र उपकरणका कारण बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता छ । रासस