विकासन्युज

ग्रिन डेभलपमेन्ट बैंकले दुई वर्षपछि गर्यो लाभांश प्रस्ताव

काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बैंकको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२० प्रतिशत नगद गरी कुल ४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकले दुई वर्षपछि लाभांश बाँड्न लागेको हो । यसअघि कम्पनीले २०७६/७७ काे नाफाबाट लाभांश वितरण गरेको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

फेसबुकले हेप्छ नेपाललाई, झुठा र खतरनाक विज्ञापनमा सरकारको छैन चासो

काठमाडौं । नेपाली प्रयोगकर्ताहरुले अधिक प्रयोग गर्ने सामाजिक सञ्जाल मध्ये फेसबुक पनि अग्रपङ्तीमा पर्छ । फेसबुक विश्वका सीमित मुलुकमा बाहेक संसारैभरी फैलिएको सामाजिक सञ्जाल हो । आइटी विज्ञहरुका अनुसार फेसबुक  विश्वका हरेक देशमा फरक–फरक ढंगले प्रस्तुत हुने गर्छ । नेपालमा भने फेसबुकले समाजको मूल्य मान्यता र सुरक्षा जोखिमलाई बेवास्ता गर्दै आफ्नो व्यवसाय गरिरहेको छ । लामो समयदेखि फेसबुकको सञ्चालक कम्पनी मेटाले नेपाली प्रयोगकर्ताहरुमाझमा भेरीफाई नगरिएका प्रयोगकर्ताहरुमार्फत झुठा र खतरनाक विज्ञापन गर्न दिएर पैसा आर्जन गर्ने गरेको छ । जसले गर्दा नेपाली प्रयोगकर्ता, संस्थागत क्षेत्र र सरकारी क्षेत्रका तथ्यांक जोखिममा पर्दै गएका छन् । उदाहरणका रुपमा पछिल्लो समयमा ओपन एआई र च्याटजिपिटीका सफ्टवेयर डाउनलोड गर्नुहोस् भनेर विभिन्न फेक एकाउन्टका स्पोन्सर विज्ञापन फेसबुकको वालमा छ्यापछ्यापती आउने गरेका छन् । जसलाई प्रयोगकर्ताले अन्जानवस क्लिक गर्यो भने मोवाइल वा कम्प्युटरमा डाउनलोड भैहाल्ने र अन्य सफ्टवेयरहरुको तुलनामा छिटो छरितो तबरले इन्स्टल भएर प्रयोगकर्ताको डाटा चोरी हुने खतरा बढेको छ । ओपन एआई बाहेक पनि फेसबुकले कम्प्युटर, ल्यापटप र मोबाइलको डाटा चोरी गर्न सक्ने सफ्टवेयर डाउनलोड गर्ने प्रकारका अन्य खतरनाक विज्ञापन गर्ने गर्छ । कम्प्युटर ब्राउजरमा फेसबुक खोल्दा स्क्रोलको क्रममा देखिने विज्ञापनलाई रिपोर्ट गर्न मिल्ने भएपनि दायाँ साइडमा लुकाउन वा रिपार्ट गर्न नमिल्ने गरीपनि विज्ञापन राखिएको हुन्छ । केही समय अगाडि चेथसेरा नामक फेसबुक ह्यान्डलबाट डा. भगवान कोइरालाको तस्बिर जोडेर खुट्टामा आउने ढुसीको स्पोन्सर विज्ञापन गरिएको थियो । जसका विरुद्ध डा. कोइरालाले प्रहरीसमक्ष उजुरी समेत गरेका थिए । जबकी चेथसेरा नामक फेसबुक ह्यान्डल फेसबुकमा भेरिफाइड नभएको एउटा फेक एकाउन्टको रुपमा प्रयोग गरिएको थियो । त्यस्तै, केही समय अगाडि प्राइभेट भिडियो भन्दै नेपाली मिडियाको मिल्दो नाम रहेका एकाउन्टबाट केही सेलिब्रेटीको तस्बिर राखेर गलत सूचनाको स्पोन्सर समेत गरिएको थियो । जसमा भाइरसयुक्त फाइलको लिंक समेत राखिएको थियो । मेटा कै अर्को च्याट एप ह्वाट्स एप पनि ठगी गर्नेहरुको राम्रो प्लेटफर्म बनेको छ । ह्वाट्स एप मेसेन्जर प्रयोग गरेर विभिन्न प्रलोभन देखायर थुप्रै मानिसहरु ठग्ने काम समेत भइरहेको छ । अधिकांश साइबर उजुरी फेसबुकसँग सम्बन्धित नेपाल प्रहरी साइबर ब्युरोका अनुसार चालू आर्थिक वर्षको चैत तेस्रो सातासम्म सामाजिक सञ्जाल प्रयोग गरेर भएका चार हजार आठ सय ९१ वटा उजुरी परेका छन् । जसमध्ये फेसबुकको प्रयोगमार्फत भएका घट्नाको मात्रै तीन हजार सात सय ४९ वटा उजुरी परेको छ । त्यस्तै अन्य धेरै उजुरी इन्स्टाग्राम र टिकटक सँग जोडिएका छन् । जसमा क्रमशः ३३४ र ३३४ वटा उजुरी परेका छन् । त्यस्तै, ह्वाट्स एप सँग सम्बन्धित १४४ वटा र भाइबरसँग सम्बन्धित ४ वटा उजुरी परेको ब्युरोले जनाएको छ । ब्यूरोका अनुसार पछिल्लो पाँच वर्षको अवस्थालाई हेर्दा सामाजिक सञ्जालसँग जोडिएका साइबरसँग सम्बन्धित उजुरी वढ्ने क्रम तिव्र बनेको छ । आर्थिक वर्ष ०७५/७६ मा ३५७, ०७६/७७ मा २३०१, ०७७/०७८ मा ३९०६, ०७८/०७९ मा ४६८६ र चालु आवको हालसम्म ४८९१ वटा उजुरी परेका छन् । यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गरेको दुरुपयोगको उजुरी तथ्यांक हो । सरकारको छैन चासो सामाजिक सञ्जालमा गरिएका झुट्टा विज्ञापनका कारण कैँयन नेपाली प्रयोगकर्ताहरु समस्यामा परेपनि नेपाल सरकारले भने सो विषयमा चासो देखाएको पाईंदैन । सरकारले चासो देखाउने हो भने फेसबुकलाई नेपालमा नियमन गर्न सकिने बताउँछन् आइआइएमएस कलेजमा साइबर सेक्युरिटी अध्यापन गर्ने लेक्चर अपूर्व नेपाल बताउँछन् । ‘नेपाल सरकारले साइबर सेक्युरिटीको विषयलाई गम्भिरतापूर्वक नलिएको कारणले नै फेसबुकले नेपाली प्लेटफर्ममा त्यस्ता प्रकारका विज्ञापन राखेको हो, सरकारले चाह्यो भने यसलाई नियमन गर्न सकिन्छ’, नेपालले भने । अन्य मुलुकहरुले नियम नै बनाएर नियमन गरेको उनले बताए । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले नेपाली सामाजिक सञ्जालमा झुटा एकाउन्टबाट गरिने विज्ञापनलाई नियमन गर्नको लागि एथेस्ट कानून नभएको र छिट्टै बनाउन आवश्यक भएको बताउँछन् । अन्य मुलुकहरुले सामाजिक सञ्जालमा गरिने विज्ञापनबाट राज्यले समेत कर उठाइरहेको सन्दर्भमा नेपालले सामाजिक सञ्जाललाई करको दायरामा समेत ल्याउन सकेको छैन । जसले गर्दा वर्षेनी करोडौं बराबरको कर विज्ञापन कर राज्यले गुमाइरहेको छ । पछिल्लो समयमा सूचना प्रविधि विधेयकको ड्राफ्ट अन्तिम चरणमा भएको र सो ड्राफ्टमा पनि सामाजिक सञ्जाल नियमनको विषय उठाउन खोजिएको उनले बताए । फेसबुकले पटक-पटक, मानवधिकार, प्रजातन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रता जस्ता विषयमा प्रतिवद्धता जनाउने गरेको देखिन्छ, तर नेपाल जस्ता विकासोन्मुख मुलुकको कानूनको फाइदा उठाएर फेसबुकले आफ्ने पहुँचलाई आफ्ना सञ्जालमार्फत अवैध ढंगले आम्दानी गर्ने गरेको छ ।

एनआईसी एशिया बैंकले २८ वटा कार बेच्दै

काठमाडौं । एनआईसी एशिया बैंकले सवारी साधन बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेका विभिन्न कम्पनीका सवारी साधन लिलामीमा बिक्री गर्ने भएको हो । बैंकले विभिन्न शाखा कार्यालयमा रहेका २८ वटा सवारी साधन बिक्री गर्ने जनाएको छ । जसमा महिन्द्रा ब्राण्डका ३ वटा, रेनाल्ट ब्राण्डका ८ वटा र सुजुकी ब्राण्डका १७ वटा गरी कूल २८ वटा सवारी साधन बिक्री गर्ने बैंकले बताएको छ । बैंकका अनुसार सन् २०१७ मा बनेका महिन्द्रा स्कारपियो एसफोर प्लस २डब्लूडी र ४ डब्लुडी मोडलका ३ वटा, रेनाल्ट डस्टर आरएक्सएलका ८ वटा र सुजुकी वागोन आरभीएक्सआई मोडका १७ वटा छन् । बैंकले बिक्री गर्न राखिएको सवारी जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले बैशाख १० गतेसम्म बोलपत्र पेश गर्न आग्रह गरेको छ । खरिद गर्न चाहेको रकमको १० प्रतिशत अग्रीम भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।

सुरु भएको आठ वर्षपछि ५० शय्याको रामपुर अस्पताल भवन निर्माण

पाल्पा । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज हुने भएको छ । नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन् । यस अस्पताल २०७२ सालमा पचास शय्यामा स्तरोन्नति भए तापनि पन्ध्र शय्याकै पुरानो भवनबाट खुम्चिएर सेवा दिइएकोमा नयाँ भवन निर्माण भएपछि सेवा प्रवाहमा धेरै सहज हुने स्थानीयवासी तथा अस्पताल विकास समितिका पूर्वउपाध्यक्ष फणेश्वर गौतम बताउँछन् । ‘पचास शय्यामा स्तरोन्नति भए तापनि भवन तयार नभएकाले विशेषज्ञ सेवा सञ्चालन हुन नसक्दा यस क्षेत्रका स्थानीय विशेषज्ञ सेवा लिन बुटवल, पोखरा, काठमाडौ, चितवन जानुपर्ने बाध्यता बन्यो’, उनले भने, ‘भवनको संरचना तयार भएको हुदा सो सेवा रामपुरबाटै पाएपछि स्थानीयलाई अन्यत्र जानुपर्ने समस्या हट्नेछ ।’ एक हजार सात सय वर्गमिटरमा फैलिएर तयार भएको अस्पतालको भवनसहितको संरचना भ्याटबाहेक रविना कन्ट्रक्सन प्रालि काठमाडौँले २०७२ कात्तिक १७ गते सम्झौता गरी २० करोड दुई लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । आर्थिक वर्ष २०७२/७३ को पुसदेखि निर्माण कार्य सुरु गरिएको सो भवन कोभिड–१९ को असरले गर्दा धेरै समय लम्बिन पुग्यो । अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विजय परियारले पचास शय्यामा स्तरवृद्धि भए पनि भवन निर्माण नहुँदा प्राथमिक सेवा केन्द्रको संरचनामा सेवा प्रदान गर्दै आएकोमा नयाँ भवनबाट बहुविशेषज्ञ सेवा दिने लक्ष्यसहित अघि बढेको बताउँदै हिजोको दिनमा भन्दा फरक ढङ्गले सेवा प्रवाह गर्ने जानकारी र्दिए । पाल्पाको पूर्वी भेग, स्याङ्जा, तनहुँ र नवलपुर नवलपरासी सुस्ता पूर्वको केन्द्र भागमा रहेको यस अस्पताल कालीगण्डकी करिडोर सडकसँगै जोडिएको छ । सडक सञ्जाल विस्तार र जनघनत्व बढ्दै जाँदा यस अस्पतालमा बिरामीको चाप उत्तिकै बढ्दो छ । हिजोका दिनमा सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि रामपुर अस्पतालमै जाने क्रम बाक्लिदो छ । यहाँ दैनिक तीन सय बढी बिरामीले सेवा लिइरहेका छन् । सडक सुविधाले गर्दा रामपुर चार जिल्लाको केन्द्रमा जोडिएसँगै अन्यत्र जाने नागरिक हिजोआज रामपुर अस्पतालमै उपचारमा आउने क्रम बढेकाले सेवाको दायरा फराकिलो बनाउँदै कर्मचारी व्यवस्थापन गरी विशेषज्ञ सेवा दिने तयारीमा रहेको अस्पताल विकास समिति अध्यक्ष रामप्रसाद ढकाल बताउँछन् । ‘भवन अभावमा विशेषज्ञ सेवा सुरु गर्न सकिएको थिएन, अब संरचना तयार भएको छ, विशेषज्ञ सेवा सञ्चालन गरेर प्रभावकारी सेवा दिने तयारीमा छौँ’, उनले भने । पाल्पा सदरमुकाम तानसेन देखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसूति, एपेण्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयलाई ठूलो राहत पुगेको छ । सो समस्याको उपचारका लागि यसअघि सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पूर्वाधार निर्माण अब स्तरीय सेवा कसरी दिने भन्नेतर्फ केन्द्रित हुनुपर्ने बताउँदै यस अस्पताल रामपुरमा मात्रै नभई गण्डकी बेँसी क्षेत्रका नागरिकको लागि प्रत्यक्ष भूमिका खेल्ने अस्पताल रहेकाले नगरपालिकाबाट अस्पतालको व्यवस्थापन र सञ्चालनका लागि पूर्ण साथ र सहयोग रहने बताउँछन् । प्रदेश सरकारको मातहतमा रहेको रामपुर अस्पताल लुम्बिनी प्रदेशको नजरमा रहेकाले अस्पताललाई ट्रमा सेन्टरको रुपमा अघि बढाउनुपर्ने, रामपुर अस्पताल पालिकास्तरमा निर्माण भएका अन्य अस्पतालको अभिभावकत्व ग्रहण गर्ने र विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा स्थापित हुनु आवश्यक रहेको लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले बताए । नयाँ भवनको तल्लो तलामा हाल ओपिडी सेवा प्रवाह भइरहेको छ । विशेषज्ञ सेवाका लागि अहिले विभिन्न उपकरण जडान तथा व्यवस्थापनको काम अस्पतालमा भइरहेको छ । पचास शय्याको अस्पताल भएकाले यहाँ नौ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी २०६७ सालमा १५ शय्यामा स्तरोन्नति भई सेवा दिँदै आएको उक्त अस्पतालको २०७२ सालमा ५० शय्यामा स्तरोन्नति गरिएको हो । रासस

झापाको जुरोपानी सबस्टेसन सञ्चालनमा, विद्युत् आपूर्तिमा सुधार

काठमाडौं । झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना मार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका विद्युत उपभोक्ताहरुले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने छ । ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित जुरोपानी सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइनहरु निकालिएको छ । सबस्टेसनबाट ११ केभीका गौरादह, महारानी, बैगुनधुरा र गौरीगञ्ज फिडर निकालिएको छ भने थप एउटा जगेडामा राखिएको छ । सबस्टेसनलाई आइतबार विद्युत् आपूर्ति दिई सञ्चालनमा (चार्ज) ल्याएको छ । पहिलो चरणमा महारानी फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी फिडर क्रमशः सञ्चालनमा ल्याइने छ । हाल गोरादह, जुरोपानी, महारानी, गौरीगञ्जलगायतका क्षेत्रमा पाडाजुगी ९दमक० १३२ केभी सबस्टेसनबाट ११ केभी वितरण लाइनमार्फत विद्युत् आपूर्ति दिइएको थियो । ११ केभी वितरण लाइन ज्यादै लामो हुँदा त्यस क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतका समस्या थियो । जुरोपानी सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालेपछि उपभोक्ताहरुले अहिले व्यहोरिरहेको समस्या समाधान भई विद्युत आपूर्ति पर्याप्त, भरपर्दो, गुणस्तरीय भएको छ । त्यस क्षेत्रका कृषकहरुले विद्युतीय मोटरबाट पानी तानी खेतमा सिंचाइ गर्दै आएका छन् । पहिले २८० भोल्ट लाइन आउने गरेकोमा नयाँ सबस्टेसनबाट आपूर्ति दिन थालेपछि ४०० भोल्ट लाइन प्रवाह भई त्यस क्षेत्रमा कुटानीपिसानी मिलका उपकरणहरु पानी तान्ने पम्पलगायतले राम्रोसँग काम गर्न थालेको परीक्षण, सञ्चालन र चार्जिङमा सङ्लग्न आयोजनाका सहायक इन्जिनियर दुर्गादत्त सुवेदीले बताए । पाडाजुगीबाट जुरोपानीसम्मको करिब १८ किलोमिटर लामो ३३ केभी लाइन निर्माणाधीन छ। केही स्थानमा स्थानीय बासिन्दाको अवरोधका कारण लाइन तान्न सकिएको छ । गौरादह क्षेत्रको विद्युत् आपूर्तिको समस्या समाधान गर्न जरुरी भएकोले वैकल्पिक व्यवस्थाको रुपमा पाडाजुगी–गौरीगञ्ज सडकको छेउछेउबाट लाइन लगेर जुरोपानी सबस्टेसन सञ्चालनमा ल्याइएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र एशियाली विकास बैंकको सहुलीयतपूर्ण ऋणमा सबस्टेसन निर्माण गरिएको हो ।

लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ : कोरियाली पूर्वमन्त्री

काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताएका छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा उनले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्राएर विकासमा फड्को मार्न सक्नेमा विश्वास व्यक्त गरे । कोरिया सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झण्डै चार दशक काम गर्नुभएका पूर्वमन्त्री लीले कुनै पनि देश विकासका लािग नेतृत्व बलियो हुनुपर्नेमा जोड दिए । उनले दक्षिण कोरियाले सही नेतृत्वका कारण विकशित राष्ट्र बन्न सकेको बताए । उनले भने, ‘नेपालमा कैयन सम्भावना छन्, यी सम्भावनलाई अवसरका रुपमा लिन सके नेपालले पनि विकासमा छलाङ मार्न सक्छ । नेपालमा लगानीमैत्री वातावरण बनेमा विश्वबाट लगानी र प्रविधि ल्याउन समन्वय गर्छौ ।’ हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एशोसियसनका अध्यक्ष समेत रहनुभएका लीले आफ्नो देशले पनि पहिले वैदेशिक सहायता, प्रविधि र लगानी भित्र्याएर विकास गरेको स्मरण गर्नुभयो । विकासका लागि पूर्वाधार, यातायात र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले सीमित स्रोतलाई परियोजना लक्षित लगानीमा जोड दिनुपर्नेमा जोड दिए । साताव्यापी नेपाल भ्रमणमा आउनु भएका लीले अर्थमन्त्री, लगानी वोर्डका पदाधिकारीलगायत उच्च सरकारी अधिकारीहरुसँग भेट गरी लगानीका सम्भावनाका बारे भेटवार्ता गरेका थिए । योजना आयोगका उपाध्यक्ष श्रेष्ठले पूर्वमन्त्री लीको नेपालप्रतिको सद्भावका लागि धन्यवाद दिँदै नेपालले ली जस्तै लगानीकर्तालाई लगानीका लागि आह्वान गरे । उनले सन् १९५५ ताका नेपालले कोरियालाई खाद्यान्नलगायत सहयोग गरेको विषयलाई स्मरण गर्दै नेपाल विगतमा कमजोर नभएपनि पछिल्ला केही दशकमा राजनीतिक अस्थिरताले गर्दा आर्थिक र विकासमा पछि परेको धारणा राखे । उपाध्यक्ष श्रेष्ठले आयोग १६औं पञ्चवर्षीय योजना निर्माणमा जुटिरहेको परिप्रेक्षमा परिणाममुखी आयोजनामा ध्यान दिने बताए । गैरआवसीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष विनोद कुँवरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकसित राष्ट्रले अवलम्वन गरेका विकासको नमूनालाई नेपालमा पनि भित्र्याएर छिट्टै विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गरे । सो अवसरमा सङ्घका पूर्वउपाध्यक्ष सोनाम लामा, महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, दीपेश खत्री, रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल र लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याललगायतले नेपाललाई मोनोरेल, साना किसिमका सहरी रेलका माध्यमबाट पर्यटन र जल तथा नवीकरणीय ऊर्जाका माध्यमबाट विकास गर्न सकिने धारणा राखेका थिए । रासस

बाँकेको विद्यालयमा खानेपानी अभाव, घरबाटै लैजानु पर्छ

बाँके । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ । खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउँछन् । ‘विद्यालयमा शौच गर्न सधैँ समस्या हुन्छ, पानीको व्यवस्था छैन्’, उनले भने । कक्षा कोठा पनि गतिला नभएको उनको गुनासो छ । विद्यालयका एउटा मात्र हाते पम्प रहेको छ । पिउनलाई शुद्ध पानीको अभाव छ । ‘पानी किनेर पिउनुपर्ने बाध्यता छ’, कक्षा ५ मा अध्ययनरत कल्पना यादवले भने–’विद्यार्थीले सधैँ पानी किनेर पिउन सम्भव छैन । प्यास लागे प्रायः घरमै गएर पानी पिउने गरेका छौँ ।’ शौचालयमा प्रयोग गर्न पनि पर्याप्त पानी नभएको उनी बताउँछन् । शौचालय जाँदा बाहिरबाटै पानी बाकेर लैजानुपर्ने विद्यार्थी बताउँछन् । विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयमा खानेपानीको व्यवस्थाका लागि वडा कार्यालयले आश्वासन दिएको प्रधानाध्यापक रेखा धितालले बताइन् । उनले भने, ‘वडाले आश्वासन त दिएको छ, तर हालसम्म केही सुरसार छैन ।’ उनान्चालीस विद्यालय रहेको उक्त पालिकाको सबैभन्दा धेरै विद्यार्थी भएको शिवपुरी माध्यमिक विद्यालय । उक्त विद्यालयमा भने भौतिक संरचना जीर्ण छ । दुई वर्षदेखि कक्षा कोठाको छतबाट पानी चुहिँदै आएको प्रधानाध्यापक देव रानाले बताए । ‘टालटुल गरेर पठनपाठन भइरहेको छ’, उनले भने । जीर्ण भएकै कारण भर्ना हुन आएका विद्यार्थीलाई फिर्ता पठाएको रानाले बताए । पाँच ब्लकमा १२ कक्षाकोठा रहेको उक्त विद्यालयमा छात्राका लागि शौचालयको उचित व्यवस्था नभएको रानाको भनाइ छ । यहाँ सात सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । उक्त पालिकामा प्राथमिक विद्यालय १६, निमावि तीन र माध्यमिक विद्यालय पाँच छन् । यहाँ १४ मदरसा छन् । छ सामुदायिक विद्यालय रहेको उक्त पालिकामा एक गुरुकुल पनि सञ्चालनमा छ । माविसम्म सीमित रहेको उक्त पालिकामा आगामी शैक्षिक सत्रदेखि कक्षा ११ को पढाइ सञ्चालनका लागि कार्यपालिकाबाट निर्णय भइसकेको शिक्षा अधिकृत कृष्णाकुमारी भण्डारीले बताइन् । रासस

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार सुन ७०० रुपैयाँले घटेको छ । योसँगै छापावाल सुनको मूल्य तोलाको १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।