विकासन्युज

गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशमा हाल स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही गण्डकी प्रदेशको पहाडी भु–भागको केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मङ्गलबार देशका पहाडी भू–भागमा आंशिक बदली रही गण्डकी र कर्णाली प्रदेशका पहाडी भु–भागका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव चार डिग्री तथा अधिकमत तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

एशियन पेन्ट्स नेपालले सार्वजनिक गर्यो घरलाई सधै जवान राख्ने ४ नयाँ उत्पादन

काठमाडौं । एशियन पेन्ट्स नेपालले ग्राहकहरुका लागि बजारमा स्मार्टकेयर समूह र रोयल प्ले समुह अन्तर्गतको २/२ नयाँ उत्पादनहरु सार्वजनिक गरको छ । कम्पनीले स्मार्टकेयर समूह अन्तर्गत सिलिकन शिल्ड, हाइड्रोलक र रोयल प्ले समुह अन्तर्गत  बारिक र स्टुको सार्वजनिक गरेको हो । कम्पनीको अनुसार स्मार्टकेयर समूह अन्तर्गतको नयाँ उत्पादनहरुले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्दछ भने रोयल प्ले समुहका उत्पादनहरुले भने घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने गर्दछ । स्मार्टकेयर समूह अन्तर्गतको सिलिकन शिल्डमा रहेको पेनीट्रेटिभ फर्मुलेसनले ईट्टा, ढुङ्गा र क्ले टायलहरुको लागि अनुकूल राख्नुको साथै  घरको बाहिरी भित्ताहरुलाई नुनियादेखि जोगाएर भित्ताको स्वाभाविक सुन्दरतालाई कायमै राखिदिने कम्पनीको दावी छ । त्यसैगरि, पेनीट्रेटिभ जलप्रतिरोधक सोलुसन रहेको हाइड्रोलक भित्ताहरुलाई ओस र नुनियाबाट सुरक्षित राख्नका लागि प्लाष्टर माथि लगाउन अत्यन्त उपयुक्त रहेको कम्पनीले जनाएको छ । यस्तै, रोयल प्ले समुहको बारिक अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र स्टुकोले भित्री भित्ताहरुमा मार्बलको लुक्स दिने कम्पनीले जानकारी दिएको छ ।

म्याग्दीका कृषकलाई माछाका भुरा वितरण

म्याग्दी । म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ । भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् । विज्ञ केन्द्र र बेनी नगरपालिका १३/१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन् । जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवनप्रसाद आचार्य र बेनी नगरका पशु शाखा प्रमुख प्रदीप गौतमले भुरा वितरण गरे । मागअनुसार बेनीका ३५, अन्नपूर्णका सात र रघुगङ्गाका तीन कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुख गौतमले जानकारी दिए । भुरा नवलपरासीबाट खरिद गरिएको हो । व्यावसायिक उत्पादनमा जोड दिन कृषकलाई अनुदानमा भुरा, औषधि, तालिम र प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ । जिल्लामै भुरा उत्पादन भने हालसम्म गर्न सकिएको छैन । जिल्लामा व्यावसायिकरुपमा माछापालन गर्ने कृषक ५० भन्दा बढी रहेको बताइएको छ । रासस

भक्तपुरमा आजदेखि बिस्काः जात्रा

काठमाडौं । आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ । बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले जानकारी दिए । उनले भने, ‘पूजापछि भैरवको रथ तान्न सुरु गरिने छ, यस वर्ष छिट्टै रथ तानेर गहिटी पु¥याउने लक्ष्य छ ।’ पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमानढोकाबाट ल्याएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको हो । विगत वर्षमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पु¥याउने चलन थियो । यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पु¥याइ पहिलो दिनको जात्रा सम्पन्न गर्ने तयारी छ । रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न नदिने वलीले बताए । आजको जात्रा सम्पन्न भएपछि चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ । आगामी वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते अपराह्न ५ बजेसम्म रथ तानीसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बिस्केट जात्रामा हुल दङ्गा हुन नदिन र शान्तिपूर्णरुपमा जात्रा सम्पन्न गराउन आवश्यक तयारी गरिएको बताए । प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीका अनुसार जात्राका लागि झण्डै सात सय सुरक्षाकर्मी खटाइएको छ । रासस

कुमारी बैंकले एउटै ऋणीको ११८ वटा सवारी साधन बेच्दै

काठमाडौं । कुमारी बैंकले धितोमा राखिएको ११८ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितोमा राखिएका द हवि अटो ट्रेडिङ्ग प्रालिका ११८ वटा सवारी सम्पत्ति बिक्री गर्ने भएको हो । पर्साको विरगंज उपमहानगरपालिका १५ स्थित रजिष्टर्ड कार्यालय रहेको ऋणी द हवि अटो ट्रेडिङ्ग प्रालिका सञ्चालक उमेश नारायण मानन्धर र जमानीकर्ताहरु हवि कुमारी मानन्धर, सफु मानन्धर र यचु मानन्धरको सम्पत्ति लिलाम गर्ने बैंकले जनाएको छ । बैंकले शाखा कार्यालय विरगंज र सिर्सिया, पर्साको धितोमा रहेको सम्पति लिलाम बिक्री गर्ने बताएको छ । सञ्चालक मानन्धरलाई पटक–पटक कर्जा चुक्ता भुक्तान गर्न तोकता गरेपनि वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले १५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ । रितपूर्वतक प्राप्त बोलपत्र बैशाख ११ गते खोलिने बैंकले जनाएको छ ।

बेलाबेला बिग्रेर मर्मत खर्च बढी हुन थालेपछि प्रदेशले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता

फाइल फाेटाे बैतडी । बैतडीका स्थानीय तहले सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता गरेका छन् । प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले तीन वर्षमै फिर्ता गरेका हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ती दुवै स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराएको थियो । ग्रामीण सडकमा सञ्चालन गर्न समस्या भएको भन्दै ती एम्बुलेन्स फिर्ता गरिएको स्थानीय तहले जनाएको छन् । पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष वीना भट्टले एम्बुलेन्स बेलाबेलामा बिग्रने गरेका र मर्मतमा धेरै खर्च हुन थालेपछि फिर्ता गरिएको जानकारी दिइन् । ‘कार्यपालिकाको बैठकबाट निर्णय गरी एम्बुलेन्स मन्त्रालयलाई फिर्ता पठाएका हौँ’, उनले भनिन । ग्रामीण सडकमा सहजरुपमा सञ्चालन गर्न मिल्ने एम्बुलेन्स गाउँपालिका आफैले खरिद गर्न लागेको भट्टको भनाइ छ । सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिकमा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । पञ्चेश्वरको कुलाउ स्वास्थ्यचौकीले प्रयोग गर्दै आएको सो एम्बुलेन्स एक वर्षदेखि बिग्रिएर धनगढीमा थन्किएको थियो । यस्तै डिलासैनी गाउँपालिकाकाले पनि प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स मन्त्रालयलाई नै फिर्ता पठाउने निर्णय गरेको प्रवक्ता यज्ञ भट्टले जानकारी दिए । ‘मर्मत गर्न नसक्दा एम्बुलेन्स एक वर्षदेखि थन्किएको थियो’, उनले भने, ‘पालिकासँग जोड्ने सबै सडक कच्ची छन्, ती सडकमा एम्बुलेन्स सञ्चालन गर्न कठिनाइ भयो, अनि फिर्ता गर्ने निर्णयमा पुग्यौँ ।’ डिलासैनीले रेडक्रस केन्द्रीय कार्यालयसँग नयाँ एम्बुलेन्सको माग गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तीन वर्षअघि प्रदेशका १६ स्वास्थ्य संस्था तथा अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।

मध्यपहाडी लोकमार्ग : २५ वर्ष बित्दा पनि अधिकांश सडक कालोपत्र हुन सकेन

ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन् । करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर–अक्षते क्षेत्रमा भने धमाधम काम भइरहेको छ । माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन । लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का दिएको छ । दुई खण्डमा कालोपत्रका लागि २०७२/७३ मा सम्झौता भएको थियो । हालसम्म १२ किलोमिटर सडक कालोपत्र भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ । बिहुँ र अक्षते खण्डको काम गर्ने असारसम्म छ । बिहुँमा सुस्त गतिमा काम हुँदा समयमै सकिने अवस्था छैन । बागलुङदेखि खहरेसम्म केही समय अघि सडक कालोपत्र गरिएको थियो भने हाल खहरेदेखि अक्षतेसम्म काम भइरहेको छ । उक्त खण्डमा चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ । ‘हिउँदमा धुलो र बर्खामा हिलो घरभित्र पस्छ’, बागलुङ नगरपालिका–३ खहरेका जङ्गबहादुर कार्कीले भने–’सडकमा पानी हाल्दाहाल्दैमा अधिकांश समय बित्छ ।’ माथिल्लो खण्डमा कामलाई तीव्रता दिन स्थानीयले माग गरेका छन् । सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक बित्नै लाग्यो । पटक–पटक म्याद थप गर्ने गरिएको छ । निर्माण कम्पनीको ढिलासुस्तीले काम सम्पन्न हुन नसकेको स्थानीय वीरबहादुर विकले बताए । ‘सडक छेउछाउ घर बनाउने क्रम बढे पनि धुलो र हिलोले सास्ती भएको छ’, उनले भने । लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटर क्षेत्र मध्ये बागलुङ खण्ड एक सय ४२ किलोमिटर लामो छ । निसीखोला क्षेत्रमा दुई वर्ष अघि सडक कालोपत्र भइसकेको छ । घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक एक दशक अघि नै कालोपत्र गरिएको थियो । उक्त खण्डको हाल मर्मतसम्भार हुँदैछ । असार मसान्तसम्म सबै काम सम्पन्न हुने लोकमार्ग आयोजना कार्यालय, पर्वतका सूचना अधिकारी मिलन श्रेष्ठले बताए । ‘काम नसकिए ठेक्का रद्द हुन्छ’, उनले भने । रासस

९ महिना कोसिस गर्दा पनि संघीय सरकारले समन्वय गर्न चाहेन : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालन्द्र शाह९बालेन० ले ९ महिना कोसिस गर्दा पनि संघिय सरकारले समन्वय गर्न नचाहेको बताएका छन् । सोमबार सामाजिक संजाल फेसबुकमार्फत एक लामो स्टाटस लेख्दै बालेनले संघीय सरकारकारुपमा रहेको सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस बताएका हुन् । ‘पटक पटकको कोशिसपछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ,’ उनी लेख्छन् । ‘स्थानीय समस्याहरु स्थानीय तहमा नै समाधान हुन सकून् । संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस् । देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौँ आइरहनु पर्ने अवस्था छ, त्यो नहोस्,’ उनी थप लेख्छन् । असमन्वयकारी भुमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको उनले बताएका छन् । यस्तै, उनले संघिय सरकारको मातहतमा रहेको १४ वटा मन्त्रालयले समन्वय नगर्दा अघि नबढेको कामहरु सार्वजनिक पनि गरेका छन् । १. गृह मन्त्रालय  अव्यवस्थित बस्ति व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी – ३ मन्त्रीसँग पटक पटक पहल, सहमति भएर माइन्युट समेत भइसकेको तर कार्यान्वयन नभएको । २. परराष्ट्र मन्त्रालय विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन गर्न पत्राचार ३. शिक्षा मन्त्रालय सरकारी विद्यालयको लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा – दुई मन्त्रीसँग विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको । ४. स्वास्थ्य मन्त्रालय सरकारी अस्पताल सरसफाइ, बिमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तल्ला भत्काउने आदेशको पालना, राष्ट्रिय एम्बुलेन्स (१०२) को काठमाडौँ उपत्यकाभरी सेवा दिनलाई बजेट व्यवस्थापन – दुई मन्त्रीसँग विभिन्न चरणमा पहल गरिएको । ५. पर्यटन तथा नागरिक उड्ययन एयरपोर्टको नक्सा पास, एयरपोर्टको बर्खाको पानीले गर्दा पेप्सीकोला क्षेत्र डुबानको समाधान, एयरपोर्टमा रहेको नेपाल संबत् सुरु भएको ठाउँमा मूर्ति र पार्क बनाउन पहल – दुई मन्त्रीलाई पटक पटक पहल गरिएको । ६. अर्थ मन्त्रालय ५२ बर्षदेखि तिनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुअब्जा दिन आनाकानी, महानगरले पाउनु पर्ने घरबहाल कर नेपाल सरकारले उठाएकोबारे, याङ्री र लार्के खोलाको पानी मेलम्चीमा जोडेर १२ महिना नै काठमाडौमा मेलम्चीको पानी ल्याउने कार्यक्रम – २ मन्त्रीसँग पटक पटक पहल ७. सहरी विकाश  खोला कोरीडोर, खोला सरसफाइ, खोलामा फोहोर प्रशोधन प्लान्ट, अन्डर पास, बन्चरेमा लिचेडको व्यवस्थापन, माटो क्यापिङको व्यवस्थापन अनि साईटको ग्यास पाईपको व्यवस्थापन, वैकल्पिक बाटोको व्यवस्थापन, काठमाडौमै फोहोर ब्यबस्थापन गर्न कानुन र जग्गा – ४ मन्त्रीसँग पटक पटक पहल । ८. भौतिक यातायात  रिङरोड बिस्तार, उपत्यका यातायात प्राधिकरण गठन – दुई मन्त्रीहरूसँग पटक पटक पहल । ९. सूचना तथा सञ्चार ISP र टेलिकमबिच एकिकृत पुर्वाधार सञ्चालनबारे जसले गर्दा देशभर पोलमा तार व्यवस्थापन गर्न सकियोस् – २ मन्त्रीसँग पहल १०. ऊर्जा मन्त्रालय सडक बत्ति अव्यवस्थित रहेकोलाई व्यवस्थापनमा सहयोग – २ मन्त्रीसँग पहल ११. खानेपानी मेलम्चीको पानी र पाइप व्यवस्थापन, KUKL को उचित व्यवस्थापन पहल – २ मन्त्रीसँग पटक पटक पहल १२. भूमिसुधार मन्त्रालय सहकारी नियमावली, सहकारी कानुन, सार्वजनिक जग्गा संरक्षण – मन्त्रीसँग पटक पटक पहल १३. सङ्घीय मामिला तिनकुने विवाद पहल, कर्मचारी सरुवा – दुई मन्त्रीसँग पटक पटक पहल १४. कृषि मन्त्रालय मल खरिद तथा उपत्यकामा आउने तरकारीको परिक्षण – मन्त्रीसँग पटक पटक पहल