विकासन्युज

मोबाइल एक्स्पोमा सबवे सर्फर मोबाइल गेम प्रतिस्पर्धा हुने, स्मार्टफोनको खरिदमा मोबाइल फोन सित्तैमा

काठमाडौं, ३१ भदौ । ललितपुरको लगनखेलस्थित रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले मोबाइल एक्स्पोको अवसर पारेर आफ्ना ग्राहकहरुका विभिन्न किसिमका सेवा सुविधा दिने योजना अनुसार मोबाइल गेम प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । कम्पनीले मोबाइल कम्प्लेक्समा यहि भदौ ३१ गते शुक्रबार र असोज १ गते शनिवार नेपालमा चर्चित मोबाइल गेम सववे सर्फरको प्रतिस्पर्धा गर्न लागेको हो । उक्त गेम शुक्रबार १ बजेदेखि कम्प्लेक्समा शुरु भएको छ । उक्त सववे सर्फर स्मार्टफोन गेम प्रतियोगितामा निःशुल्क सहभागीता लिन सकिने छ भने दुई दिनको अवधिमा सबैभन्दा धेरै स्कोर गर्ने प्रतियोगीलाई स्मार्टफोन उपहार प्रदान गरिने आयोजकले जनाएका छन् । कम्पनीले उक्त गेम प्रतिस्पर्धामा युवाहरुको उल्लेख्य सहभागीता हुने अपेक्षा गरिएको छ । यसका साथै कम्पनीले एउटा स्मार्टफोन किन्दा अर्को मोबाइल सित्तैमा दिने अफर पनि संचालन गरिरहेको छ । कम्पनीले मोबाइल एक्स्पोको अवधिभर विभिन्न ब्राण्डका प्रिमियम स्मार्टफोनहरुको खरिदमा मोबाइल फोन सित्तैमा दिने अफर ल्याएको हो । एउटा स्मार्टफोन किन्दा अर्को फोन सित्तैमा अफरअन्तर्गत ह्वावेको पी ८ लाइट, ह्वावे अनर फोर एक्स, ह्वावे जी सेभेन प्लस, लाभा एक्स एट, सामसंग ग्यालेक्सी एस सिक्स, ग्यालेक्सी एस सेभेन तथा ग्यालेक्सी नोट फाइभ स्मार्टफोन खरिद गरेमा ५ हजार मूल्य बराबरको डिटिसी टच फोन निशुल्क दिईने छ । मोबाइल एक्स्पोको अवसर पारेर न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा ग्राहकले लिनसक्ने छन् । यहि भदौ २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने महोत्सव यस पटक भव्य र आकर्षकरुपमा भईरहेको छ । त्यसैगरी एक्स्पोमा हरेक प्रकारका ग्याजेट्स तथा एसेसरिज उपलब्ध हुनेछन् । कम्प्लेक्समा आधुनिक प्रविधिसहितको मोबाइल रिपेयर सेन्टर पनि संचालनमा छ जहाँ छिटो र ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्ने गरि मोबाइल मर्मत गरिनेछ । मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । मोबाइल एक्स्पोमा हुवावे, जियोनी, सामसुंग, लाभा, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, विनकम, फ्लाई, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।

जलविद्युतको सेयरमा लगानी गर्न शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाउने, सामूहिक जमानतमा सहुलियत व्याजमा जलविद्युत सेयर कर्जा दिने सरकारको घोषणा

काठमाडौं, ३१ भदौ । उर्जा मन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको पानीमा जनताको लगानी कार्यक्रम घोषणा गरेका छन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले जलविद्युत क्षेत्रको विकासका लागि जनताको सेयर लगानीलाई जोड दिने, राष्ट्र सेवक कर्मचारी, शिक्षक, सेना, प्रहरी, संचारकर्मी, मजदुर, सर्वसाधारण जनताको सेयर लगानीबाट साना, मझ्यौला र ठूला परियोजना निर्माण गरिने बताए । आयोजना निर्माण गर्न श्रम सहभागिताबाट पनि सेयर लगानी सुनिश्चितता गर्न सकिने गरि मापदण्ड निर्माण गरिने उनले बताए । ‘नेपालमा भित्रने रेमिट्यान्स तथा बोवाईल कलमा लाग्ने खर्चको निश्चित प्रतिशत रकम जलविद्युतको सेयरमा लगानी गर्ने व्यवस्था गर्न आवश्यक संयन्त्रको विकास गरिने छ’ मन्त्री शर्माले भने–‘यस्तो वित्तीय संरचनाबाट पूर्वका अप्पर अरुण, दूधकोशी, तमोर, मध्य सुनकोशी ३, लाङटाङ तथा पश्चिमका नलसिङगाड, उत्तरगंगा, नौमुरे र तिला १ जस्ता आयोजनाहरु निर्माण कार्य अगाडि बढाइने छ ।’ ती आयोजनाहरुको लागि सरकार मातहतका वित्तीय संस्था, निजी क्षेत्रको वित्तीय संस्था, कल्याणकारी कोषहरुबाट संस्थागत लगानी जुटाउने उनले बताए । १० हजारभन्दा बढी युवाहरुलाई सामूहिक सेयर लगानी गर्ने गरी निश्चित आकर्षक योजना अगाडि बढाउने, शैक्षिक प्रमाणपत्र धितो राखी लिने ऋण जलविद्युत आयोजनामा सेयर लगानी गर्न पाउने व्यवस्था मिलाउने, सामूहिक जमानीमा सहुलियत ऋण दिई सेयरमा लगानी गर्ने व्यवस्था मिलाउने, स्थानीय तहका गाउँ पालिका, नगरपालिका, विद्यालय, स्वास्थ्य चौकीहरुलाई आत्मनिर्भर बनाउन जलविद्युत आयोजनाको सेयरमा लगानी गर्न पाउने व्यवस्था गर्ने उनले बताए । लोडसेडिङ अन्त्य दुई वर्षभित्र उर्जा मन्त्री शर्माले लोडसेडिङको अन्त्य दुई वर्षमा हुने बताए । ‘वर्तमान लोडसेडिङको अवस्थालाई कम गर्दै दुई वर्षभित्र पूर्ण रुपमा अन्त्य गर्नेछौं’ उनले भने । दुई वर्षभित्र विद्युत प्राधिकरण र यसका सहायक कम्पनी मार्फतका जलविद्युत आयोजनाबाट ८५० मेगावाट, निजी प्रवद्धकहरुबाट करिव ४०० मेघावाट विद्युत उत्पादन हुने, सौर्य, जैविक लगायतका स्रोत र क्याप्टिभ उत्पादनबाट २०० मेगावाट गरी जम्मा १४५० मेगावाट विजुली उत्पादन हुने उनले बताए । यस अवधिमा भारतबाट करिव ६०० मेगावाट विजुली आयात गरिने उनले बताए । दीर्घकालिन योजना उर्जा मन्त्री शर्माले दीर्घकालिन रुपमा नेपाललाई विद्युत उर्जामा आत्मनिर्भर बनाउन २०८२ सालसम्ममा १० हजार मेगाबाट क्षमताको विद्युत उत्पादनका आयोजनाहरु निर्माण गरिसक्ने र करिव ३० हजार मेगावाट क्षमताको आयोजनाहरुको अध्ययन सम्पन्न गर्ने दीर्घकालिन योजना सुनाए । १० हजार ८ सय मेगावाट क्षमताको चिसापानी आयोजनालाई सार्कस्तरीय परियोजनाको रुपमा विकास गर्ने उनले भनाई छ ।

‘सुपथ मूल्यका बिक्री कक्ष’ भोलिदेखि सञ्चालन हुने

काठमाडौं, ३१ भदौ । भोलिदेखि उपत्यकामा चाडपर्वलाई लक्षित गरी ‘सुपथ मूल्यका बिक्री कक्ष’ सञ्चालन हुने भएको छ । नेपाल खाद्य संस्थान, नेसनल ट्रेडिङ र साल्ट ट्रेडिङ लिमिटेडले संयुक्त रुपमा बिक्री कक्ष सञ्चालन गर्न लागिएको खाद्य संस्थानका प्रवक्ता पवनकुमार कार्कीले जानकारी गराए । उनका अनुसार उपत्यकाका थापाथली, सिंहदरबार, रामशाहपथ, बल्खु, टेकु, कोटेश्वर, नारायणथान, जोरपाटी, भक्तपुर, जावलाखेल र नख्खुमा पनि बिक्री कक्ष राखिने भएको हो । भोलिदेखि सुरु हुने बिक्री कक्ष छठ पर्व (कात्तिक २१ गते)सम्म सञ्चालन हुने छ । ती कक्षमा खाद्य संस्थानका चामल १२ हजार ६०० क्विन्टल, गहुँ ५०० क्विन्टल, सिमी २०० क्विन्टल र फापर २०० क्विन्टल बिक्रीका लागि राखिने र प्रत्येक सामानमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइने प्रवक्ता कार्कीले बताए । रासस

प्रभुको ‘प्रभु–लक्की सेभेन’ उपहार असोज १ गते देखि लागु

काठमाडौं, ३१ भदौ । प्रभु मनि ट्रान्सफर प्रालीले नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वको अवसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि ग्राहकरुलाई लक्षित गरि उपहार कार्यक्रम घोषणा गरेका छ । कार्यक्रमको नाम ‘प्रभु–लक्की सेभेन’ रहेको छ । उक्त कार्यक्रम आगामी असोज १ गते देखि कात्तिक २० गते सम्म लागु हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार विदेशबाट नेपालमा पैसा पठाउँदा प्राप्त हुने संकेत नम्वरलाई लक्की ड्र मा समावेश गरी भाग्यशाली विजेता ग्राहकहरु छानिने छन् । हरेक साता विजेता ग्राहकहरुको नाम कम्पनीको वेवसाईट वा अनलाइन न्यूज पोर्टलहरु मार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी गराएको छ । तोकिएको उपहार नेपालमा पैसा बुझ्ने आफन्तजनलाई प्रदान गरिने छ । उपहारहरु मध्ये बम्पर उपहारमा यामाहाको सालुटो बाइक –१ र यामाहाको रे–जेठ स्कूटी–१ रहेका छन् । त्यस्तै हरेक हप्ता एक/एक थान एलइडी टि.भि, डिसहोम र मोवाईल सेट प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै, हरेक दिन सात जनालाई एनसिएल वा एनटिसीको २०० रुपैयाँको रिचार्ज कार्ड उपलब्ध गराउने कम्पनीले बताएको छ ।

माफियाको जस्तो ब्यवहार नगर्न पत्रकारलाई गभर्नरको सुझाव

काठमाडौं, ३१ भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक परिवर्तनको लडाइ लामो समयसम्म चलेकोले आर्थिक विकास र समृद्धिको मुद्दा पछाडि परेको बताएका छन् । २०४६ सालको राजनीतिक परिवर्तन पछि पनि राजनीतिक अधिकारको लडाइ नसकिएको र २०६२÷६३ को आन्दोलन पछि प्राप्त राजनीतिक अधिकार संस्थागत गर्न समय लागेकोले आर्थिक मुद्दा आझेलमा परेका बताएका हुन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १७ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै महराले यस्तो बताएका हुन् । उनले नेपाली राजनीतिको साँचो अन्यत्र भएको चर्चा चल्ने गरेको बताउदै अर्थतन्त्र संचालनको साँचो पनि अन्यत्रै भएको आफूलाई महसुस भएको पनि बताए । ‘नेपाली राजनीतिको साँचो अन्यत्र छ भनेर राजनीतिक बृत्तमा चर्चा हुन्छ, म अर्थमन्त्री भएपछि के महसुस गरेको छु भने नेपाली अर्थतन्त्रको साँचो पनि नेपालीको हातमा रहेनछ, अर्थतन्त्रको साँचो वास्तबिक रुपमा नेपालीको हातमा ल्याउन हामीले धेरै मेहेनत गर्नुपर्ने मैले देखेको छु,’ महराले भने । आफूहरु एकात्मक र सामन्तवादी अर्थब्यवस्था भत्काएर वास्तविक प्रतिस्पर्धात्मक अर्थब्यवस्था संचालन गर्न लागिपरेको पनि उनले दाबी गरे । अर्थब्यवस्था वास्तविक रुपमा नेपालीको हातमा ल्याउन र वास्तविक प्रतिस्पर्धात्मक अर्थब्यवस्था लागू गर्नको लागि छुट्टै नीतिको आवश्यकता रहेको पनि उनले बताए । ‘नेपाली अर्थब्यवस्थालाई वास्तविक रुपमा प्रतिस्पर्धात्मक रुपमा अगाडि बढाउन र नेपालीको हातमा ल्याउन एउटा नीति नै आवश्यक देखियो, अर्थमन्त्रालय अहिले यही नीति बनाउन लागेको छ,’ महराले भने । गभर्नरको गुनासो कार्यक्रममा अर्थमन्त्री भन्दा अगाडि आफ्नो भनाइ राखेका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले भने आर्थिक पत्रकारको भूमिकालाई लिएर गुनासो गरे । पत्रकारको क्षमता अभिबृद्धिका लागि राष्ट्र बैंक र ब्यक्तिगत रुपमा आफू लागिपरेपनि आर्थिक पत्रकारले आचार संहिता विपरितका कार्य गर्दा आफूलाई हिनताबोध भएको उनको गुनासो छ । ‘पत्रकारिता सवैभन्दा संबेदनशील पेशा हो, राज्यको चौथो अंगको मान्यता दिएको छ भन्नुको अर्थ देशप्रतिको जिम्मेवारी र दायित्व अत्यन्तै धेरै छ भन्ने हो, निहित स्वार्थपूर्तिका लागि माफियाको जस्तो ब्यवहार पत्रकारले गर्न मिल्दैन, कसैलाई धम्क्याएर असुली गर्ने मनसायले प्रेरित समचारवाट हामी जस्ता मान्छे विचलित हुदैनौं, बरु त्यस्ता गतिविधिलाई नोटिसमा लिन्छौं, आत्मसम्मान प्राप्त हुने गरी पत्रकारिता गर्नुस्, कसैले दबाब दिएर आत्मसम्मानमा चोट पुर्याउने गरी काम गर्न लगाउछ भने पेशा परिवर्तन गर्नुस्, पत्रकार आचार संहिताको पालना गर्नुस्,’ गभर्नर डा. नेपालले भने । डा. नेपालले आर्थिक विषय बस्तु प्रति आफ्नो धारणा राखेनन् । उनीभन्दा पहिला बोलेको सेजनका संस्थापक अध्यक्ष प्रतिक प्रधानले आर्थिक पत्रकारको लागि आचार संहिता आवश्यक भएको भनाइ  राखेका थिए । सोही विषयलाई उठाउदै उनले पत्रकारको भूमिका मार्गदर्शकको रुपमा हुनुपर्ने भन्दै यस्तो बताएका हुन् ।

हकर बाल क्लबका विधार्थीलाई आईएमईको प्रोत्सान

काठमाडौं, ३१ भदौ । आईएमई लिमिटेडले बाल दिवस २०७३ को अवसरमा बालमन्दिर अन्तर्गत हकर क्लबका अनुशासित विधार्थी सौरभ खानलाई ५००० रुपैयाँको चेक सहित प्रोत्सान गरेको छ । बृहस्पती विद्या सदनको प्राङ्गणमा बुधबार आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी एवं नेपाल सरकारका उधोग मन्त्री नमिन्द्र राज जोशी र आईएमई लिमिटेड अन्तर्गत एडुपे परियोजना प्रमुख माधव कटुवालले उक्त चेक सामुहिक रुपमा हस्तान्तरण गरेका थिए ।

एनबी इन्स्योरेन्सको १४औं शाखा रुपन्देहीको भैरहवामा

काठमाडौं, ३१ भदौ । एनबी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १४औं शाखा रुपन्देही जिल्लाको भैरहवामा शुक्रबारदेखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका सदस्य प्रतापजङ्ग पाण्डेले गरेका हुन् । शाखाको उद्घाटन कार्यक्रममा संचालक पाण्डेले कम्पनीले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देश भरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । उनका अनुसार कम्पनीले हालसम्म १४ वटा शाखा, ५ वटा सम्पर्क कार्यालय तथा ११ वटा सेवा काउण्टरहरुबाट सेवा ग्राहीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले हालै १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी गरी चुक्ता पूँजी २७ करोड रुपैयाँ पुर्याएको जानकारी दिएका छन् । कम्पनीले यसरी नै थप शाखा खोलेर आफनो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै सेवा प्रदान गर्ने श्रेष्ठले बताए । कम्पनीले आर्थिक वर्ष २०७२।०७३ मा करिब २६ हजार बीमालेखहरुबाट ३५ करोड रुपैयाँ भन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । साथै, इन्स्योरेन्सले सो अवधिमा करिब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, आर्थिक वर्ष २०७३।०७४ को प्रथम २ महिनामा करिब ८ हजार बीमालेखहरुबाट करिब १० करोड बीमशुल्क आर्जन गर्न सफल भएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

नेरुडे लघुवित्तले ३० प्रतिशत लाभांश दिने

काठमाडौं, ३१ भदौ । नेरुडे लघुवित्त विकास बैंकले लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरि सो मात्रामा लाभांश दिने निर्णय गरेको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो मात्रामा लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले सो मात्रामा लाभांश पाउने छन् । हाल कम्पनीको चुक्ता पूँजी १८ करोड रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी २१ करोड ६० लाख रुपैयाँ पुग्ने छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर २२३० रुपैयाँमा कारोबार भएको छ ।