विकासन्युज

उद्योग वाणिज्य महासंघको निर्वाचन शुरु

काठमाडौं । उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई) को नयाँ नेतृत्व चयनका लागि निर्वाचन शुरु भएको छ । मंगलबारबाट शुरु भएको महासंघको ५७औँ साधारणसभा अन्तर्गत नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ । मतपत्रमा भएको विवादका कारण दुई घण्टा ढिलो गरेर मतदान शुरु भएको हो । महासंघको निर्वाचनमा २ हजार बढी मतदाताले मतदान गर्दैछन् । साधारणसभाले एक जना वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष र ६४ जना कार्यसमिति सदस्य चयन गर्नेछ ।

एक हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको तथ्यांक अनुसार बुधबार सुनको मूल्य तोलामा एक हजारले बढेको हो । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ८ सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १० हजार दुईसय ५० रूपैयाँ कायम भएको छ । महासंघका अनुसार बुधबार चाँदीको मूल्य समेत बढेको छ । आज चाँदीको मूल्य १५ रूपैयाँले बढेर प्रतितोला एक हजार ४ सय ५० रूपैयाँ कायम भएको हो ।

ट्राफिक प्रहरीले किन चिन्दैन नागरिक एपको लाइसेन्स ?

काठमाडौं । ‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ २०७७ साल माघ २ गते ‘नागरिक एप’ सार्वजनिक गरिएको थियो । नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो । एप सञ्चालनमा आएको दुई वर्ष बितिसक्दा समेत भनिएजस्तो सेवा प्रवाह नभएको उपभोक्ताको गुनासो छ । जसको एउटा उदाहरण हो सवारी चालकको लाइसेन्स । गत असारमा नै नागरिक एपमा लाइसेन्स लिंक गर्न सकिने व्यवस्था गरिएको थियो । एपमा लाइसेन्स देखिएको ९ महिना बितिसक्दा समेत ट्राफिक प्रहरीले लाइसेन्सलाई मान्यता दिन सकेको छैन । ट्राफिकले सवारीसाधनको चिट काट्दा नागरिक एपमा भएको लाइसेन्स देखाउँदा नचिन्ने भन्दै भौतिक रुपमै लाइसेन्स माग्ने गरेको छ । तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरु भने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देखाउँदा ट्राफिक प्रहरीले मान्नुपर्ने बताउने गरेका छन् । मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले ट्राफिक प्रहरीलाई नागरिक एपमा रहेको सवारी लाइसेन्सलाई नै मान्यता दिन पत्राचार गरिएको बताउँछन् । ‘हामीले सम्बन्धित निकायलाई पत्राचार समेत गरिसकेका छौँ, केही प्राविधिक कारण देखाइएको छ, अब छिट्टै नागरिक एपमा नै भएको लाइसेन्सलाई ट्राफिक प्रहरीले मान्यता दिन्छ’, उनले भने । यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्राई भने केही प्राविधिक कारण ट्राफिक प्रहरीले नागरिक एपमा देखाइएको लाइसेन्सलाई मान्यता नदिएको बताउँछन् । ‘यातायात व्यवस्था विभागले दिएको लाइसेन्सको विवरण मात्र एपमा देखिन्छ, तर ट्राफिक प्रहरीले विभिन्न समयमा गरेका कारवाहीको विवरण एपमा नदेखिँदा समस्या भएको भनिएको छ’, उनले भने, ‘ट्राफिक प्रहरीले प्रयोग गर्ने एमआईएसलाई नागरिक एपमा लिंक गर्नका लागि छलफल सुरु भएको छ, अब केही समयपछि मान्य हुनेछ ।’ उनले एमआईएसलाई प्रविधिलाई नागरिक एपमा लिंक गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई जानकारी गराइसकिएको भन्दै उनले छलफलकै क्रममा रहेको बताए । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागबीच समन्वय नहुँदा उपभोक्ताले दुख पाउने गरेको क्यान फेडेरेशनका महासचिव चिरन्जिबी अधिकारी बताउँछन् । ‘सरकारी सबै सेवा एउटै एपबाट भन्दै नागरिक एप सञ्चालनमा ल्याईएको हो, यसमा सरकारको करोडौ रकम खर्च भएको छ, तर खर्च अनुसारको सेवा उपभोक्ताले पाउँन सकेनन्’, उनले भने, ‘दुई सरकारी निकायबीच समन्वय नहुदा आम उपभोक्ताले दुख पाउने मात्र काम भयो ।’ ट्राफिक प्रहरी भन्छ : सवारीसँग सम्बन्धित कागजात साथमै राख्नुपर्छ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयल भने सवारी साधनसँग सम्बन्धित सबै कागजात आफूसँगै राख्नुपर्ने बताउँछ । प्रहरी कार्यालयले केही समय अगाडि सार्वजनिक सूचना नै जारी गर्दै नागरिक एपमा भएका कागजातलाई मान्यता नदिने भन्दै कागजात आफुसँगै राख्नुपर्ने जनाएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३१ बमोजिम कुनै पनि सवारी चालकले चालक अनुमतिपत्र प्रहरी वा यातायात निरीक्षकले जाँचबुझको सिलसिलामा हेर्न खोजेमा देखाउनुपर्ने व्यवस्था छ । सोही ऐनको दफा ६० मा पाँच पटकभन्दा बढी सवारी नियम उल्लङ्घन गर्ने चालकको सवारी चालक अनुमतिपत्र अधिकारप्राप्त अधिकारीले ६ महिनासम्मका लागि निलम्बन गर्नसक्ने व्यवस्था छ’, कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । निलम्बनमा रहेको सवारी चालक अनुमतिपत्र सम्बन्धी जानकारी नागरिक एपबाट नहुने भएकाले सवारी नियम उल्लंघन गरेमा कारबाही गर्न अनिवार्य सक्कल कागजात लिएर मात्र २४ घण्टे पुर्जी जारी गरिन्छ । नागरिक एपमा हेरेकै आधारमा २४ घण्टे पुर्जी जारी गर्न नमिल्ने भएकाले सवारी चालकले सवारी चालक अनुमतिपत्र लगायत सवारीसँग सम्बन्धित कागजात अनिवार्य रुपमा साथमै राखी सवारीसाधन चलाउनु पर्ने व्यवस्था छ । नागरिक एप हालसम्म ८ लाखभन्दा बढी नेपालीले प्रयोग गरिरहेका छन् । सो एपमा नागरिकता, स्थायी लेखा नम्बर (पेन), पासपोर्टको विवरण, सवारी दर्ता प्रणाली, सवारी चालक अनुमतिपत्रको विवरण, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषलगायतका विभिन्न विवरण र सेवा यस एपबाट प्राप्त गर्न सकिन्छ ।

नबिल बैंकले सार्वजनिक गर्यो २०८० सालको क्यालेन्डर

काठमाडौं । ‘जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्धनप्रति दायित्वबोध’ मुख्य नाराका साथ नबिल बैंकले नयाँ वर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाका साथ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य लगायत नायब प्रमुख कार्यकारी अधिकृत द्वय विनय कुमार रेग्मी तथा भूपेन्द्र पाण्डेले भित्ते पात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन्। नबिल क्यालेन्डरमा नेपाली बाह्र महिनाको मौसम तथा प्राकृतिक सौन्दर्यलाई दर्साउने फोटोहरू राखिएको छ भने संवर्धनको लागि आह्वान गरिएको छ । ढकमक्क फुलेका लालीगुराँसका मनोरम दृश्य, स्वतन्त्र उड्ने चराचुरुङ्गीहरूदेखि सुन्दर हिमालहरू, लोपोन्मुख हिम चितुवाका फोटोहरू प्रयोग गरिएको छ । बैंकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग तस्बिरहरूको लागि सहकार्य गरेको थियो । क्यालेन्डरमा जलवायु परिवर्तन सम्बन्धी सचेतना राखिनुको विषयमा प्रकाश पार्दै नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले भने, ‘जलवायु परिवर्तनलाई बैंकिङ लगायत सबै क्षेत्रबाट गम्भीरता पूर्वक ध्यान पुर्याउन जरुरी छ ।’ उनले थपे, ‘जलवायु क्षेत्रमा उपयुक्त लगानी गरी यस संसारलाई सबैको लागि बाच्न योग्य बनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो । ’ नबिल बैंकको यस कदमले सम्पूर्ण बैंकका कर्मचारी, सरोकारवाला, ग्राहक वर्ग, सञ्चालक समिति लगायत सम्पूर्ण जनतामा जलवायु परिवर्तन सम्बन्धी सचेतना फैलाउन र जीवनशैलीमा स–साना परिवर्तन गर्न अभिप्रेरित गर्ने सिइओ ढुंगानाको भनाइ छ । नबिलले दिगो बैंकिङको अवधारणालाई आत्मासाथ गरी आएको र वातावरण प्रति सदैव जिम्मेवार रहेको उनले बताए । नयाँ वर्षको सुरुवातसँगै भित्तेपात्रो देशै भरका आफ्ना शाखाहरूबाट कर्मचारी, ग्राहक, सरोकारवाला सबैमा पुर्याउने योजना बैंकको छ । बैंकले केही तस्बिरको सौजन्यका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) प्रति बैंक आभारी रहेको सिइओ ढुंगानाले बताए । नबिलले हालसालै हरित गृह ग्यास विसर्जन सम्बन्धी रिपोर्ट पनि सार्वजनिक गरेको थियो ।

निर्वाचनको बेलामा मात्रै जन्मकुण्डली पढ्ने पूर्व अध्यक्ष होइन म-चण्ढिराज ढकाल

चण्डिराज ढकाल, पूर्व अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ तपाई उद्योग वाणिज्य महासंघको तेस्रो उपाध्यक्ष भएदेखि सक्रियता एकनाश छ । चुनावी माहोलमा महासंघका अध्यक्ष वा वरिष्ठ उपाध्यक्षको कुनै एक उम्मेदवारलाई खुलेरै सपोर्ट गर्नुहुन्छ । तपाइले समर्थन गरेको उम्मेदवार सधैं जितेका पनि छन् । तपाइले समर्थन गरेको उम्मेदवारले जित्तुको आधार के हो ? कुनै तात्विक जादु केहीमा पनि छैन । उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दा उद्योगी व्यवसायीका समसामयिक समस्या, संस्थाको गतिविधि बुझ्न सक्ने उम्मेदवारलाई समर्थन गर्छु । महासंघको हैसियतलाई उभ्याउन सक्छ की सक्दैन भनेर गहन अध्ययन गर्छु । महासंघलाई दरीलो बनाएर राज्य पछिको ठूलो सञ्जाल भएको संस्थाको रुपमा उभ्याउन सक्ने व्यक्ति नेतृत्वमा पुग्नुपर्छ । नेतृत्वमा पुग्ने व्यक्तिले संस्थालाई दरो, सचिवालय सुदृढ र संस्थामा आवद्ध सदस्यहरुको अभिभावकत्व लिन सक्ने क्षमता हुनुपर्छ । विशेषगरी साना मझौला र ठूला उद्योगीको समसामयिक मुद्दालाई उद्योग वाणिज्य महासंघका तर्फबाट सक्रिय उपस्थिति गराउन सक्नुपर्छ । राज्य सत्ता, स्थानीय निकाय, सहकार्य गर्ने एजेन्सी, दातृराष्ट्रका विभिन्न निकायसँग सहकार्य गरेर अघि बढ्न सक्ने नेतृत्वले महासंघ चलाउन सक्छ । साथै सम्भावनालाई आन्तरिक पहिचान गरेर पूर्वाधार विकास, रोजगारी सिर्जना गर्ने, उद्योगी व्यवसायीको क्षमता अभिवृद्धि गर्न सक्ने चेम्बरको अभियानलाई शसक्त स्थापित गर्न सक्नुपर्छ । यदि महासंघको नेतृत्व गर्न शसक्त आधार देखेपछि मैले समर्थन गर्छु । मैले समर्थन गरेको नेतृत्वलाई तल्लो तहका उद्योमी व्यवसायीसम्म पस्किने प्रयास गर्छु । उद्योगी व्यवसायीहरुको कार्यक्रममा सधैं जाने र आउने गर्छु । देशभरीका उद्योगी व्यवसायीलाई समय समयमा भेट्ने गरेको छु । जिल्ला/नगरका समस्या, स्रोत र आधारलाई अगाडि बढाइरहेको हुन्छु । महासंघलाई दरिलो बनाउन उद्योगी व्यवसायीसँग नजिक हुने गरेको छु । महासंघको हरेक जिम्मेवारी र नेतृत्वको लागि जिम्मेवारीपूणर् ढंगले मेरो भावना, इच्छालाई बुझेर उद्योगी व्यवसायी नेतृत्वायी भूमिकामा पुर्याउन सहयोग गर्छन् । महासंघले उद्योगी व्यवसायीलाई परिचित गराएको छ । महासंघले व्यवसायिक मात्रै नभएर राज्यका विभिन्न निकाय, विभिन्न क्षेत्रमा चिनाएर काम गर्ने वातावरणको स्थिति बनेको छ । महासंघले उद्योगी व्यवसायीलाई एउटा ब्यानर र प्याटर्नको रुपमा सहयोग गर्न मद्दत पुर्याएको छ । महासंघमा रहेर उच्च संस्थाका रुपमा चिनाउन सफल भए । संस्थाभित्र बसेर आफ्नो परिचयलाई शसक्त बनाए । यहि क्षेत्रमा रहेर निरन्तर उद्योगी व्यवसायीहरुको भावनालाई सहजता कायम गरे । उद्योगी व्यवसायीहरुको काम गर्नपर्छ भन्ने मनस्थिति बनाएको छु । कतिपय विषयमा चुप्पचाप (साइलेन्ट) बस्छु भन्दा पनि समस्यामा परेका बेला नेतृत्वभन्दा पनि मेरो खोजी गर्नुहुन्छ । महासंघको नेतृत्वले काम गर्न नसकेपछि मलाई सम्झिनु हुन्छ । जिल्लामा कुनै समस्या पर्यो भने फोन गरेर सहयोग माग्नु हुन्छ । म पनि उद्योगी व्यवसायीसँग फोनलाई रेस्पोन्स गरेर संवाद गर्छु । मेरो क्षमताले भ्याएसम्म उहाँहरुका समस्या समाधान गर्न पहल गरेको छु । त्यसैल पनि उद्योगी व्यवसायीहरुसँग म ‘किप इन टच’ बस्छु । उद्योग व्यवसाय सञ्चलानमा देखिएका समस्या, वर्तमान आवश्यकता र वस्तुस्थितीसँग जानकारी राख्ने भएकाले उद्योगी व्यवसायीले नेतृत्व चयन गर्दा मेरो अनुरोधलाई आत्मसाथ गर्नुहुन्छ । मेरो अनुरोधलाई स्वीकार गरी परिणाममुखी नतिजा दिनुहुन्छ । म उद्योगी व्यवसायी साथीहरुसँग हिजो, आज र भोलि पनिसँगै हुनेछु । तपाईले जिताएका महासंघको नेतृत्व को को हुन् ? कुश कुमार जोशीबाहेक म पछि अध्यक्ष भएकाहरु सबैलाई मैले निर्वाचनमा विजयी गराउन मद्दत गरेको हुँ । सुरज बैद्य, प्रदिपजंग पाण्डे, पशुपति मुरारका, भवानी राणा, शेखर गोल्छा र चन्द्र ढकाल महासंघको अध्यक्ष बन्नु भयो । यी सबै पात्रहरुले नेतृत्वमा पुग्नका लागि मसँग सहकार्य गर्नुएको हो । उहाँहरुको आफ्नो क्षमता पनि थियो । उहाँहरुले पनि प्रयास गर्नु भएको हो । तर, यी सबैलाई मैले इमानदारिकताका साथ अगाडि बढाउन चाहेको हुँदा आर्शीर्वाद र नेतृत्वमा पुग्ने माहोल बनेको हो । अहिले उमेशलाल श्रेष्ठलाई अगाडि बढाएका छौं । उहाँले पनि १ सय प्रतिशत चुनाव जित्नु हुन्छ । उमेशलालले चुनाव जित्ने आधार के छन् ? पछिल्लो समय उद्योग वाणिज्य महासंघ नेतृत्व विहीन भएका महशुस हुन्छ । महासंघको इतिहासमा अभिभावक नपाएको महशुस अहिले भएको छ । निजी क्षेत्र प्रताडित र तड्पिरहेको छ । केही साथीहरुले आत्मदाह र आत्महत्या गरेका छन् । आन्तरिक र बाह्य चुनौति बढेका छन् । व्यवसाय बन्द गरेर सडकमा आन्दोलन गर्नुपर्ने स्थिति आएको छ । देशको अर्थतन्त्र नाजुक बनेको छ । सबै वर्ग समुदाय अहिलको यो चपेटामा परेको छ । यी समस्यासँग जुध्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । अहिलेको वास्तविकता अध्ययन गर्दा राजनीतिक संस्कार भएको व्यक्ति आवश्यक छ । राजीतिक संस्कार भएको तर राजनीतिक नगर्ने निष्ठावान र प्रतिवद्ध भएर काम गर्नसक्ने व्यक्ति चाहिएको छ । निजी क्षेत्रका तमाम सवाललाई राज्य सत्ता र प्रत्यक्ष परोक्ष सरोकार राख्ने एजेन्सीसँग टेबलमा बसेर तर्कसंगत प्रस्तुत गर्न सक्ने व्यक्ति अहिलेको आवश्यकता हो । उमेशलाल श्रेष्ठ कम्युनिष्ट पार्टीका पहिलो महासचिव पुष्पलाल श्रेष्ठ र साहाना प्रधानको छोरा र पहिलो शहिद गंगलाल श्रेष्ठको भतिजो हुनु हुन्छ । उहाँ राजनीतिक परिवारमा जन्मिनु भएको हो । उहाँमा राजनीतिक संस्कार छ तर राजनीति गर्नु हुन्न । यदि उहाँ राजनीतिमा लाग्नु भएको भए प्रधानमन्त्री बन्ने लाइनमा हुनुहुन्थ्यो । उहाँले राजनीति नगरिकन व्यवसाय विस्तार गरेर फर्मास्यूटिकल्समा एक नम्बर उद्योगीका रुपमा स्थापित गर्नु भएको छ । महासंघका हिजोका गतिविधिमा उहाँले आफूलाई प्रस्ट रुपमा प्रस्तुत गर्नु भएको छ । उहाँमा पनि केही अवगुण हुन सक्छन् तर आजको दिनमा उद्योगी व्यवसायीको नेतृत्वमा जुन खाँचो छ, त्यो खाँचोलाई उहाँले केही हल गर्न सक्नु हुन्छ । त्यसैले पनि उमेशजीको जित शुनिश्चित छ । पहिलो चरणमा नै उहाँले ५७/६१ प्रतिशत मत ल्याएर जित्नु हुन्छ । महासंघको निर्वाचनमा हुने तपाईको दौडधूप यो अन्तिम हो कि आगामी वर्ष पनि लाग्नु हुन्छ ? जीवन एउटा पद्धति हो । त्यो पद्धति भित्र सक्रिय जीवन बिताइरहेको अवस्थामा अन्तिम र सेकेण्ड लास्ट भन्न सकिँदैन । हिजोका दिनमा मसँग सहकार्य गरेका र सहभागी भएका सहयोद्धा साथीहरु नेतृत्वमा आउने परिस्थिती बन्यो र मेरो भूमिका महत्वपूणर् हुन्छ भने आगामी चुनावमा पनि सक्रिय हुन्छु । राम्रो नेतृत्वदायी भूमिका निर्वाह गरेर महासंघको हैसियत उच्च बनाउन सक्ने, उद्योगी व्यवसायीहरुको अपेक्षा र भरोशालाई केन्द्र बनाउन सक्ने व्यक्ति नेतृत्वमा आएपछि आनन्दले बस्ने सोच बनाएको छु । त्यसपछि सक्रिय भएर अघि नबढ्ने सोच बनाएको छु । महासंघका पूर्व अध्यक्षहरु मौन बसेको पाइन्छ, तपाई सधैं किन सक्रिय लाग्नु हुन्छ ? पूर्व अध्यक्षहरु सबैजना सक्रिय हुनुहुन्छ । उमेशजीलाको टिममा विनोदजी, सुरज बैद्य सक्रिय हुनु हुन्छ । अन्जनको टिममा महेशलाल प्रधान, आनन्द गुल्मी, कुशजी लाग्नु भएको छ । उहाँहरु निर्वाचनको बेलामा मात्रै सक्रिय हुनुहुन्छ । निर्वाचनको बेलामा मात्रै जन्मकुण्डली पढ्न खोज्नु हुन्छ । तर, मान्छेहरुले जन्मकुण्डी पढ्दैनन् । उद्योगी व्यवसायी साथीहरुसँग निर्वाचन बाहेक अरुबेला सक्रिय हुनुहुन्न । मैले कसैलाई गाली पनि गरेको छैन । तर, उहाँहरु चण्ढि ढकाललाई गाली गरेर भोट माग्नु हुन्छ । चुनावबाहेकका समयमा देशभरीका साथीहरुलाई बोलाएर समस्या बुझ्नु पर्यो, समस्या समाधान गर्न तिर पहल चाल्नुपर्यो, कहिलेकाँही कोही व्यवसायी काठमाडौंमा आउँदा समस्या बुझ्ने प्रयास गर्नुपर्यो । उहाँहरुले उपत्यका बाहिरबाट कोही व्यवसायी आउनु भयो भने भेट नि गर्न मान्नु हुन्न, एक कप चिया/कफी खुवाउनु हुन्न । । निर्वाचनको ५/७ दिन अघि मात्रै ढ्याङ-ढ्याङ आवाज निकाल्नु हुन्छ । म साथीहरुको समस्यामा सधैं उभिने प्रयास गरेको हुन्छु । त्यसैले चुनावको बेलामा उहाँहरुले मेरो अनुरोधलाई स्वीकार पनि गर्नु हुन्छ । तपाईको समर्थनमा महासंघको नेतृत्व सम्हालेका व्यक्तिमध्ये धेरैले तपाईकै आलोचना गर्नु हुन्छ, किन ? कसले भनेको कुरालाई मान्नु हुन्छ ? ४ जना पूर्व अध्यक्षहरुले गाली गरेको सत्य मान्ने की ४ सय उद्योगी व्यवसायीहरुले गरेको समर्थनलाई सत्य मान्ने हो ? मैले समर्थन गर्दा सहि हो र समर्थन नगरेपछि गाली गर्नु हुन्छ । हामीले महासंघको लागि लायक म्यान्डेटलाई समर्थन गर्छौं । फेरी निर्वाचित भइसकेपछि म आफैं बलियो थिए, मेरो आफ्नै क्षमताले जितेको भनेर घमण्ड देखउँछन् । त्यसले कसैलाई पनि फाइदा गर्दैन । म भन्दा पछि अध्यक्ष भएका व्यक्ति धेरै सक्रिय हुनु पथ्र्यो नि । तर, उहाँहरु किन हराउनु भयो ? कहाँ छ उहाँहरुको भूमिका ? काठमाडौंबाहिर तपाईको प्रभाव बलियो छ । जिल्ला/नगर व्यवसायीहरुले नेताको रुपमा स्वीकार गर्नुहुन्छ । तर, काठमाडौंमा व्यवसायीहरुले महासंघको नेतृत्व अर्थात् ‘किङ मेकर’को रुपमा स्वीकार गर्दैनन्, किन ? व्यक्तिगत रुपमा कसले के भन्छन् भन्नेतिर म जाँदिन । मलाई ‘किङ मेकर’ पनि बन्नु छैन । मलाई बनाउनु पनि पर्दैन । नेतृत्वमा जान चाहेको व्यक्तिलाई मैले समर्थन गर्यो भने चण्ढि ढकाल ‘किङ मेकर’ वा ‘टाइगर जिन्दा हे’ भन्नु हुन्छ । काठमाडौंका व्यवसायीहरुले पनि मलाई समर्थन गरिरहनु भएको छ । सबै मान्छे गुणैगुणले भरिएको हुँदैन । राजनेता भनिएका नेतृत्व माथि पनि टिकाटिप्पणी भइरहेका हुन्छन् भने म त साधारण व्यक्ति हो । मेरो जिम्मेवारी, व्यवसायीको भावना र वस्तुस्थितिलाई सहयोग गर्न तत्पर रहन्छु । उहाँहरुको समस्या समाधान गर्न बचन दिएको छु भने मैले दिएको बचन पनि पुरा गरेको हुन्छु । म जहिल्यै पनि समय सापेक्ष रुपमा निजी क्षेत्रका सवाललाई स्थापित गर्न सक्ने, राज्यसत्तासँग बसेर लबिङ गर्न सक्ने र नीतिगत अवधारणा, निर्देशिका ल्याउदा निजी क्षेत्रको भावनालाई स्थापित गर्न सक्ने नेतृत्व चाहिन्छ भन्ने व्यक्ति हो । सरकारले ल्याउने बजेट सरसर्ती नहेरी महासंघका नेतृत्वको हैसियतले स्वागत गर्छन् । आफैंले बनाएको बजेट जसरी उहाँहरु स्वागत गर्न जानु हुन्छ । दुई दिनपछि बजेटले खतम पार्यो भनेर कराउनु थाल्नु हुन्छ । उहाँहरु ‘सेलिब्रेटी’ बन्न खोज्नुहुन्छ । आफ्नो जिम्मेवारी र भूमिकालाई बिर्सेर ‘सेलिब्रेटी’बन्न थाले । यहि कारण अहिलेका समस्या आएको हो । जिल्ला/नगर, काठमाडौं मात्रै नभएर सबै क्षेत्रका व्यवसायीले मलाई माया गर्नु हुन्छ । महासंघ स्वयंसेवक भएर काम गर्ने संस्था हो तर तपाईको सक्रियताले स्वार्थका लागि लागेको भन्नेपनि पनि छन् । तपाईको स्वार्थ के हो ? मेरो स्वार्थ छ । मैले सपोर्ट गरेको साथी जितोस् भन्ने चाहन्छु । त्यो भन्दा ठूलो स्वार्थ केही छैन । जित्नका लागि प्रतिस्पर्धा वा युद्धमा जानुपर्छ । युद्धमा गएपछि बन्दुकको गोली लाग्छ की भनेर डराउनु हुँदैन । उमेशलाल श्रेष्ठ, दिनेश श्रेष्ठ, हेमराज ढकाल, भरत राज आचार्यले चुनाव जितोस् भन्ने मेरो स्वार्थ हो । टिकाटिप्पणी गर्नेलाई ‘नाच्न नजान्ने आँगन टेडो’ भन्छु । मैले समर्थन गरेका चारै जनाले चुनाव जित्नु हुन्छ । तीन जनाले चुनाव जिति सकेका छन् । एशोसिएटका भरत जी, वस्तुगतका हेमराज ढकाल, जिल्ला नगरका दिनेशजीले चुनाव जिति सक्नु भयो । यदि भरतजीले चुनाव हार्नु भयो भने उहाँको आफ्नै कमजोरी हुनेछ । भोटरको कारणभन्दा पनि आफ्नै कारणले हारेको स्वीकार गर्नपर्छ । आगामी दिनमा उहाँले यसलाई सुधार गरेर अघि बढ्नुपर्छ ।

निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा मन्त्रालयले निजी विद्यालयलाई आफू खुसी शुल्क नबढाउन निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि विद्यार्थी भर्ना गर्दा केही निजी लगानीका विद्यालयले आफू खुसी शुल्क उठाएको भन्ने विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय तहले स्वीकृति गरिदिएको सीमाभित्र रहेर मात्र शुल्क लिन पाउने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढङ्गले सबै अभिभावकलाई जानकारी गराउनुपर्छ । अभिभावकले तोकिएको शुल्कको स्वीकृतिको विषयमा प्रश्न गर्न पाउँछन् ।’ त्यो विषयमा विद्यालय रहेको स्थानीय तहमा गुनासो गर्न पाउने व्यवस्था रहेको भन्दै मन्त्रालयले केही गुनासो भएमा स्थानीय तहमा जानकारी गराउन मन्त्रालयले निर्देशन दिएको छ ।

पर्वत अस्पतालमा ज्वरोका बिरामीका चाप बढ्यो

पर्वत । पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा दैनिक ज्वरोका मात्र दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । ज्वरो, रुघाखोकीलगायत कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले जानकारी दिए । ‘पहिलाभन्दा दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ’, उनले भने । दूषित पानीको प्रयोगका कारण बिरामीको सङ्ख्या बढेको हुनसक्ने डा अधिकारीले बताए । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भए पनि अस्पतालले परीक्षण भने गरेको छैन । अस्पतालका ५६ शय्यामा बिरामीले भरिभराउ छन् । ज्वरो, रुघाखोकी, टाउको दुख्ने, वान्ता आउनेलगायत बिरामीका लक्षण देखिने गरेको छ । मौसम परिवर्तनका समयमा यस्ता बिरामी बढ्ने डा अधिकारी बताउँछन् । जिल्लामा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या पनि बढ्दै गएको छ । पन्ध्र शय्याको अस्पताललाई स्तरवृद्धि गरी ५० शय्याको बनाइएको हो । जनशक्ति अभावको समस्या रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीको भनाइ छ । पर्वत अस्पताल मात्र होइन यहाँका निजी अस्पताल, क्लिनिक र ग्रामीण क्षेत्रका स्वास्थ्यचौकीमा समेत बिरामीको सङ्ख्या बढेको बताइएको छ । रासस

ढाका कुमारको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्ने

काठमाडौं । प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्ने भएको छ । पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको छ । ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । आइतबार रास्वपाका सांसाद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रकम मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले अनुशासन समितिमार्फत् छानबिन गरेको थियो । २ करोड मागेको अडियो श्रेष्ठकै रहेको पुष्टि भएमा रास्वपाले सांसद र पार्टीको साधारण सदस्यबाट उनलाई हटाउने बताइएको छ ।