विकासन्युज

बालबालिकालाई फर्स्ट हुनैपर्छ भनेर मानसिक चिन्ता दिनु हुँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकाहरुलाई पहिलोको पछाडि दौडाउनु नहुने बताएका छन् । बुधवार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाहरुलाई पहिलोको पछाडि दौडाएर चिन्ता थुपार्नु नहुने बताएका हुन् । उनले बालबालिकाहरुलाई सानै कक्षामा पहिलो हुनुपर्छ भनेर दबाब दिइ चिन्ता पैदा गर्दा बालबालिकाहरुको मनस्थितिमा नकारात्मक प्रभाव पार्ने बताए । उनले बालबालिकाहरुलाई जीवन रमाइलो छ र जीवनमा अझै धेरै कुरा सिक्न बाँकी छ भन्ने कुराका सिकाउन जरुरी रहेको बताए । ‘मलाई त तनाव छ, यसो बच्चाहरुलाई हेर्छु, मेरो ६ कक्षामा, ४ कक्षामा पढ्ने बच्चालाई तनाव छ, होमवर्क नसकेको तनाव कहिले के तनाव ? अब त्यो ४ कक्षाको बच्चालाई त जीवन भनेको रमाइलो हुन्छ, लाइफमा यो भन्दा पछि नयाँ कुरा सिक्नुपर्छ भन्ने हुन्छ । दौडिने कुरा सिकाउनुपर्छ तर दौडिँदै गर्दा लड्यो भने थचक्क बस्नु हुँदैन, फेरि उठ्नुपर्छ भनेर सिकाउनु पर्छ । सधैँ दौडेर फर्स्ट हुनुपर्छ भनेर सिकाउनु भएन । पहिलोको पछाडि दौडिन सिकाउनु हुँदैन । कहिले काहीँ सेकेण्ड भएँ भनेर पनि चिन्ता हुन्छ, पहिलो हुन नसिकाउने भन्ने होइन तर त्यसकै पछि दौडाउनु हुँदैन । पहिलोको आशक्त बनाउनु भएन । काम गर्ने हो, नतिजा नियन्त्रणमा छैन भन्ने हो ।’ महामन्त्री थापाले भने । महामन्त्री थापाले विद्यार्थीहरुले आफ्नो सकेको अध्ययन गर्नमा ध्यान दिनुपर्ने पनि बताए ।

रोकिएको उद्योग वाणिज्य महासङ्घको मतदान पुनः शुरु, बेलुका ४ बजेसम्म हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । आज बिहान ८ बजे मतदान शुरु भएको केही समयमै हल्ला भएपछि रोकिएको मतदान प्रक्रिया अहिले फेरि शुरु भएको निर्वाचन अधिकृत रमणकुमार कर्णले जानकारी दिए । “गैर मतदाता र बाहिरका व्यक्तिले हल्ला गरेपछि केहीबेर मतदान प्रक्रिया प्रभावित भएको थियो । अहिले शान्तिपूर्ण रुपमा चलिरहेको छ”, कर्णले भने । बिहान ८ बजे शुरु भएको निर्वाचन बेलुका ४ बजेसम्म चल्नेछ । निर्वाचनले आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षसहित कार्यकालका लागि नयाँ नेतृत्व चुँनिदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासङघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्व सम्हाल्दै छन् भने वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिष्पर्धा भइरहेको छ । संघई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ रहेका छन् । अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् साथै उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार छन् । एसोशिएटतर्फको उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ प्यानल र उमेशलाल श्रेष्ठ प्यानलबाट संयुक्त उम्मेदवारका रुपमा भरतराज आचार्य रहेका छन् । महासङ्घ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक-एक जना सदस्य रहन्छन् । जसका लागि कोशी प्रदेश सदस्यमा टङ्कप्रसाद दुलाल, नरेन्द्र कुमार खड्का र तारानाथ घिमिरेले उम्मेदवारी दिएका छन् । मधेश प्रदेश सदस्यका लागि विजय कुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारीपरेको छ । साथै बागमती प्रदेशबाट कृष्णप्रसाद अवाल र सबिन श्रेष्ठले उम्मेदवारी दिनुभएको छ भने गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल, कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जंगबहादुर मल्लको उम्मेदवारी छ । संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टिकाराज ढकालको उम्मेदवारी छ । उनीहरुमध्ये एकजना निर्वाचित हुनेछन् । वस्तुगत संघतर्फको सदस्यमा २८ जनाको उम्मेदवारी परेकामा १४ जना निर्वाचित हुनेछन् । त्यस्तै जिल्ला नगर सङ्घ सदस्यमा ३२ जनाको उम्मेदवारी परेको छ । जसमा १८ जना निर्वाचित हुनेछन् । एशोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ । महासङ्घकाअनुसार जिल्ला नगर समूह र वस्तुगत सङ्घ समूहका लागि एउटा-एउटा मतदान केन्द्र तोकिएको छ भने एशोसिएटतर्फ तीनवटा मतदान केन्द्र तोकिएका छन् । जिल्ला नगर समूहका सबै पदका लागि रातो रङको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रङको मतपत्र र एशोसिएट समूहका सबै पदका लागि सेतो रङको मतपत्र बनाइएको छ । प्रदेश सदस्य र संस्थापक समूह सदस्य पदको मतपत्र पहेलो रङको छ । रासस

नवनियुक्त ७४ जना कर्मचारीलाई १४ दिने तालिम दिँदै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नवनियुक्त ७४ जना कर्मचारीलाई पूर्व सेवाकालिन तालिम दिइरहेको छ । बैंकले काठमाडौंमा बुधबारबाट चौध दिने पूर्व सेवाकालिन तालिम शुरु गरेको हो । बैंकले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशकालागि छनौट भएका प्रशासन सेवाका नवनियुक्त सहायक ७४ जना कर्मचारीहरुलाई तालिम दिन लागेको हो । तालिमको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कर्मचारीले दश पाँचको जागिर मात्र नगरेर व्यवसायिक ढङ्गबाट काम गरेरमा ग्राहकहरु सन्तुष्ट भई संस्थाको उत्पादकत्व वृद्धि हुने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउँदै ग्राहकको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ७४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । त्यस्तै, कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी, मानव संशाधन विभागका उपप्रमुख हरिवावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६६ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ्ग, क्युआर कोड सेवा, पीओएस सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आईपीएस, स्मार्ट क्युआर टेलर (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने यूएसएसडी मोबाईल बैंकिङ्गका सेवाहरु समेत सञ्चालनमा रहेका छन् ।

जेनेसिस इभेन्टसको ‘सपनाको घर’ क्यलन सार्वजनिक

काठमाडौं । जेनेसिस इभेन्टसको क्यलन सार्वजनिक भएको छ । जेनेसिस इभेन्टसको पहिलो प्रस्तुति रहेको ‘सपनाको घर’ क्यलन सार्वजनिक भएको हो । उक्त गीतमा नव गायक आरोहण श्रेष्ठको शब्द, रचना तथा गायनमा तयार भएको गीतको म्युजिक भिडीयोमा नायिका नम्रता सापकोटा तथा नायक शिशिर शिवाकोटीको अभिनय रहेको छ । प्रेम कथामा आधारीत म्युजिक भिडियोमा रोशन मर्हजन र अनिष तामाङ्गको छायांकन रहेको छ । इलाम, झापा र काठमाडौंका मनोरम दृश्यहरु समावेश गरिएको गीतमा बज्र क्रियशनका कोबिद बज्र र बिकेश बज्रको संगीत रहेको छ । म्युजिक भिडियोलाई निर्देशक नारायण प्रधानले निर्देशन गरेका हुन ।

मन्त्रालयले सबै अस्पताललाई भन्यो : कोरोना सङ्क्रमित बढ्न थाले, तयारी अवस्थामा बस्नु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको भेरियन्ट सङ्क्रामक रहेकाले अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिएको जानकारी दिए । ‘कोरोना भाइरसको नयाँ भेरियन्टले धेरै जनालाई सङ्क्रमण सार्ने गर्ने सम्भावना छ,’ उनले भने, ‘सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेका छौं ।’ मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । कोरोना सङ्क्रमणका कारण बुधबार एक जनाको निधन भएको छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पताललाई तयारी अवस्थामा राखिएको बताए । उनले चिकित्सक, सघन उपचार कक्ष (आइसियु), भेन्टिलेटर र अक्सिजनलाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबारे सचेत रहँदै आफूृहरु तयारी अवस्थामा रहेको जानकारी दिए । ‘अहिले ने आत्तिनुपर्ने अवस्था छैन तर सजग भने हुनुपर्छ,’ उनले भने, ‘सङ्क्रमणको सम्भावित जोखिम नहोस् भनेर तयारी अवस्थामा रहेका छौं ।’ अस्पतालमा एक जना भेन्टिलेटर र दुई जना कोरोना सङ्क्रमित सघन उपचार कक्ष (आइसियु)मा उपचाररत रहेको उनले जानकारी दिए । बुधबार मात्रै देशभर एक सय छ जना नयाँ सङ्क्रमित देखा परेका थिए । हाल काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् । महाशाखाले नेपाल प्रवेश हुने सीमा नाकामा कडाइ गरिएको जनाएको छ । सीमा नाकाबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण सुरु गरिएको छ । रासस

रामपुरका महिलालाई आलु चिप्स बनाउन भ्याइनभ्याई, भन्छन् : गृहिणीलाई यो व्यवसाय राम्रो छ

रामपुर । घरायसी कामधन्दामा मात्रै सीमित रहने महिलाहरु आयमूलक कार्यमा सक्रिय हुन थालेका छन् । साँझबिहान घरको कामधन्दा सकाएर दिउँसोको समय सदुपयोग गर्दै आम्दानीको स्रोत जुटाउन महिलाको अग्रसरता बढ्दो छ । रामपुर नगरपालिकाका महिलाहरु हिजोआज आयमूलक क्षेत्रमा सक्रिय हुँदै गएका छन् । यहाँका महिलाहरु आलु चिप्स बनाउने र बजारमा बिक्री गर्न व्यस्त बनेका छन् । रामपुर नगरपालिका–६ मा विजयपुर चिप्स उत्पादन लघुउद्यम व्यवसाय समूहमार्फत आलु चिप्स उत्पादन भइरहेको छ । बिमलादेवी ढकाल, गीता अधिकारी, बिमला गैरे, देवी अधिकारी, निर्मला पोखरेल, सरिता पोखरेलले समूहमा मिलेर चिप्स तयार पारिरहेका छन् । अहिले नयाँ आलु उत्पादन लिएपछि आलु चिप्स बनाउन भ्याइनभ्याइ रहेको समूहका अध्यक्ष बिमलादेवी ढकाल बताउँछन् । ‘सीप जानेपछि महिलाकै सक्रियतामा व्यावसायिक रुपमा उद्योग थालिएको छ, यो क्षेत्रमा नयाँ व्यवसाय भएकाले सबैले हौसला दिएका छन्, चिप्सले बजार पाएको छ’, उनले भने । व्यावसायिक चिप्स उत्पादन गर्ने उद्योग रहेकाले यहाँ चिप्स उत्पादन प्रविधि अवलोकन गर्न तथा प्रविधि सिक्न, खरिद गर्न जाने गर्दछन् । यसले महिलाहरुमा व्यवसायमा उत्साह थपिएको छ । समूहले गत भदौदेखि चिप्स बनाउन थालेको हो । अहिलेसम्म छ क्विन्टलभन्दा बढी चिप्स तयार भएको छ । समूहमा महिलाहरु मिलेर काम गरेपछि दिन बितेको पत्तो नभएको बताउँछन् देवी अधिकारी । उनी भन्छन्, ‘बिहान–साँझ घरकै कामले व्यस्त भइन्छ, दिउँसो खाली समय चिप्स बनाउन थालेपछि धेरै सदुपयोग भएको छ, हामीजस्ता गृहिणी महिलाका लागि यो व्यवसाय राम्रो रहेछ, प्रशस्त जग्गा छन्, आलु फलाएर चिप्स बनाएर बिक्री गरियो भने अरूको निर्भर रहनु परेन ।’ उत्पादन स्थानीय बजारमा अहिले खपत भइरहेको छ । स्थानीयमा बजार राम्रो लिएको हुँदा धेरै सहज भएको छ । उत्पादन बढाएर रामपुर बजार मात्र नभई अन्यत्र बजारमा पठाउने तयारी भइरहेको निर्मला पोखरेलले बताए । अन्य बजारमा उत्पादन भएको चिप्सको तुलनामा यहाँको चिप्स स्वास्थ्यका लागि हित गर्ने, दैनिकजसो उत्पादन हुने हुँदा उपभोक्ताले ताजा चिप्स उपभोग गर्न पाइरहेको गीता अधिकारी बताउँछन् । दुई वर्षअघि यहाँका महिलाले रामपुर नगरपालिकामार्फत गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीपमूलक तालिम पाएपछि व्यावसायिक उत्पादन सुरु गरेका हुन् । ग्राहकको चाहनालाई दृष्टिगत गर्दै प्रति प्याकेट (साइजअनुसार) २०, ३०, ४० र ५० रुपैयाँमा धमाधम बिक्री भइरहेको छ । व्यावसायिक उत्पादनका लागि चिप्सबाट धेरै फाइदा लिन सकिने विमला गैरेले बताए । अहिलेलाई रामपुरका विभिन्न बजारका पसलका व्यापारीसँग समन्वय गरेर बिक्री भइरहेको छ । रामपुर क्षेत्रमा हुने विभिन्न कार्यक्रममा साथमा लिएर महिलाहरुले चिप्स बिक्री गर्छन् । चिप्स बनाउन नगरपालिकाले आलुको बोक्रा फाल्ने, काट्ने, सुकाउने, जमाउने मेसिनलगायत विभिन्न सामग्री सहयोग गरेको छ । नयाँ व्यवसाय भएकाले धेरैबाट प्राप्त साथ, सहयोग र हौसलाले महिलाहरु उत्साहित छन् । हावा भर्ने मेसिन, मिक्चर, रङ्गीन प्लास्टिक अति आवश्यक रहेको हुँदा स्थानीय सरकार या विभिन्न निकायसँग सहयोगको अपेक्षा महिला समूहले लिएको छ । महिलाले घरमै आफैँले उत्पादन गरेको आलुबाट चिप्स बनाइरहेका छन् । घरकै उत्पादन भएकाले पनि लगानी धेरै गर्नु परेको छैन । अहिलेसम्मको आम्दानी समूहले केही व्यवसायमा लगानी गरेको छ भने केही बचतसमेत गरेको जनाएको छ । कृषिजन्य उत्पादनलाई वडाले प्राथमिकता दिँदै आलु पकेट क्षेत्रका रुपमा रामपुर नगरपालिका–६ लाई आलु पकेट क्षेत्रका रुपमा विकास गर्दै गएपछि महिलाले व्यावसायिक चिप्स उत्पादनमा आकर्षित भएको वडाध्यक्ष दिवाकर देवकोटा बताउँछन् । समूहभित्रका महिलाबाट उत्पादित ३० क्विन्टल आलुको चिप्स तयार हुन बाँकी नै छ । रामपुर क्षेत्रमा आलुको उत्पादन राम्रो हुने भएकाले पनि आलु खरिदमा समस्या छैन । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममार्फत नगरपालिकाभित्रका १० वटै वडामा फरक फरक खालको सीपमूलक तालिम सञ्चालन गरिएको बताए । तालिमपश्चात् महिलाले व्यावसायिक रुपमा काम सुरु गरिरेको र अब पुनर्ताजगी तालिम दिने तथा प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनी बताउँछन् । रामपुरमा उत्पादन भएका सामग्री बिक्री वितरणको व्यवस्थापनका लागि बजार नजिकै एउटा कोसेलीघर तयार पारेर एकै ठाउँबाट बिक्री वितरण गर्ने व्यवस्था गर्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउँछन् । ‘तालिम लिइसकेपछि महिलाले उत्साहजनक रुपमा काम गरिरहनुभएको छ’, उनले भने, ‘महिलालाई आयआर्जनको क्षेत्रमा हौसला बढाउने र उत्पादित सामग्रीको बजारीकरणको कार्य नगर सरकारले सहयोग गर्नेछ, यहाँ उत्पादन भएका वस्तु पोखरामा खुलेको पाल्पा हाउसमा लगेर बिक्रीका लागि प्रक्रिया भइरहेको छ ।’ रामपुरको उत्पादनले बजार थेग्न सकिन्छ । स्थानीय उत्पादनलाई रामपुर नगरपालिकाले बजारीकरणको प्रबन्ध गरिदिने भएको छ । रासस

चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी

काठमाडौं । चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बुधबार बिहान उक्त रिसोर्टमा आगो लागेको हो । आगलागीबाट कति क्षति भयो भन्ने बारेमा भने हालसम्म एकिन भइसकेको छैन ।