विकासन्युज

मतपत्रमा विवाद हुँदा उद्योग वाणिज्य महासंघको मतदान ढिला

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को मतदान केही ढिला हुने भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ८ बजेबाट सुरु हुने भनिएको मतदान सुरु हुन अझै केही समय लाग्ने भएको हो । प्रज्ञा प्रतिष्ठानका कर्मचारीले हल खोल्न ढिला गरेका कारण मतदान ढिला भएको मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिएपनि मतपत्रमा विवाद हुँदा मतदान ढिला भएको हो । मतपत्रमा विवाद भएपछि मतदान सुरु हुन अघि सर्वपक्षीय बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि मात्र मतदान सुरु हुने र यसको लागि अझै एक घण्टा लाग्ने बताइएको छ ।

‘उत्पादनमूलक क्षेत्रमा गरिने लगानीको ब्याज अनुत्पादकको भन्दा ५ प्रतिशत कम हुनुपर्छ’

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंक तथा वित्तीय संस्थामा रकम हुँदाहुँदै पनि लगानी गर्ने वातावरण बन्न नसकेको बताएका छन् । सिबिफिनद्वारा मङ्गलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले बैंकमा पर्याप्त रकम भए पनि कर्मचारीको मनोवल खस्किएको र लगानी डुब्ने डरले नयाँ लगानी गर्न वित्तीय संस्था डराइरहेको उल्लेख गरे । ‘अहिले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको मनोवल खस्किएको छ । लगानी डुब्ने डरले लगानी गर्न डराइरहेका छन् । सङ्गठित हिसाबले ऋण नतिर्ने वातावरण सिर्जना गरिरहेका छन्, यो गलत हो भन्ने कुरा प्रष्ट पार्नु जरुरी छ,’ अध्यक्ष गोल्यानले भने, ‘उत्पादनमूलक क्षेत्रमा गरिने लगानीमा लिइने ब्याजदर अनुत्पादक क्षेत्रमा गरिने लगानीमा लिइनेभन्दा दुईदेखि पाँच प्रतिशत कम हुनुपर्छ ।’ अहिले आयात बढेर विलासिताका वस्तु खरिदमा रकम बाहिरिने डरले ब्याजदर घटाउन डराउनुपरेको उनको भनाइ थियो । ‘ब्याजदर बढी हुँदा बैंकमा पैसा बढी थुप्रिने भयो । अर्कोतर्फ व्यवसायीले अहिलेको ब्याजदर धान्न सक्ने अवस्था छैन । त्यसकारण ब्याजदर घट्नु अनिवार्य छु,’ अध्यक्ष गोल्यानले भने । उनले साना जलविद्युत्मा आधारित ऊर्जा क्षेत्रमा बैंकिङ क्षेत्रबाट दुई खर्ब लगानी भएको उल्लेख गर्दै अब आर्थिक समृद्धिमा जोड दिने गरी नीति–निर्माण गरिनुपर्नेमा जोड दिए । अध्यक्ष गोल्यानले उद्योगले ऋणको ब्याज तिर्न नसकिरहेको र निरन्तर यही ब्याजदर धान्न नसकिने भएकाले वैशाखदेखि नै ब्याजदर घटाइनुपर्ने बताए । चाहिनेभन्दा बढी लगानी सिमेन्ट र छडमा भएको जिकिर गर्दै उनले अन्य क्षेत्रमा लगानी बढाउनुपर्ने बताए । सिबिफिनका सचिव पुष्पशरण मल्लिकले ब्याजदर कम राख्नका लागि बैंक तथा वित्तीय संस्थाले एक वर्षभन्दा कमको मुद्दति बचतलाई निरुत्साहित गर्नुपर्ने बताए । ‘ब्याजदर कम कायम गर्न लागत कम हुनुपर्छ । यसका लागि एक वर्षभन्दा कम अवधिको मुद्दति बचतलाई निरुत्साहित गर्नु आवश्यक छ,’ उनले भने । सिबिफिन कार्यसमिति सदस्य महेन्द्रकुमार गोल्यानले विदेशी मुद्रा सञ्चिति घट्दा तरलता अभाव र तरलता अभाव हुँदा ब्याजदर बढ्ने बताए । उनले अहिले आन्तरिक र बाह्य समस्याका कारण तरलता अभाव भएको उल्लेख गर्दै सरकारले निजी क्षेत्रको महत्वपूर्ण भूमिकालाई आत्मसाथ गरेर समस्या समाधानमा लाग्नुपर्ने बताए । रासस

सिन्धुलीमा कार दुर्घटना : ४ भारतीय नागरिकको मृत्यु

सिन्धुली । गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३ गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२: ३० बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेका छन् । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए । राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन । ‘त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ’, उनले भने । शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताए । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन । रासस

बैतडीमा जिप दुर्घटना : बझाङका एकै गाउँका ६ जनाको मृत्यु

बैतडी । जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी बझाङको एकै गाउँका छ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५ बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नंको जिप मङ्गलबार राति ११ बजे दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका छन् । बाह्र जना सवार जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो । जिप चालक फरार छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । रासस

महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै, तीन प्यानलमा कडा प्रतिस्पर्धा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुने भएको छ । बुधबार बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुने मुख्य निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए । महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल चैत ३० गतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् । त्यसैले महासंघको अर्को कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदमा ३ जना उम्मेदवार मैदानमा उत्रिएका छन् । उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका हुन् । निर्वाचन अधिकृतका अनुसार महासंघको कार्यसमिति सदस्यमा ४ जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । बुधबार एक जना वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयनका लागि मतदान भइरहेको बताइएको छ । जिल्ला नगर उद्योग वाणिज्य संघ समूह तर्फ एक उपाध्यक्ष र १८ सदस्य पदको लागि निर्वाचन हुँदैछ । यसतर्फ १२१ संस्थाका प्रतिनिधिले मतदान गर्छन् । यस समूहको उपाध्यक्षमा वर्तमान उपाध्यक्ष दिनेश श्रेष्ठ, कार्यसमितिका सदस्यद्वव अरुणराज सुमार्गीं र सुर कृष्ण बैद्य प्रतिस्पर्धा गर्दैछन् । बस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकाल, मनिसलाल प्रधान र सुकुन्तलाल हिराचन प्रतिस्पर्धा गर्दैछन् । १२३ बस्तुगत संघ सदस्य मतदाता रहेकोमा उनीहरुले कार्यसमितिको लागि १४ जना सदस्य, उपाध्यक्ष र बरिष्ठ उपाध्यक्षलाई मतदान गर्नेछन् । एशोसिएट तर्फ भने भरतराज आचार्य र ज्योत्सना श्रेष्ठबीच प्रतिस्पर्धा हुँदैछ । करिव १७६० मतदाता रहेको यो समूहबाट उपाध्यक्षसहित १९ जना कार्यसमिति सदस्य निर्वाचित हुनेछन् । बरिष्ठ उपाध्यक्षको लागि भने दोस्रो चरणमा मतदान हुने आँकलन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतमा भन्दा बढी मत पाउनुपर्ने विधानमा व्यवस्था छ । पहिलो चरणमा विजयी घोषण गर्न नसकेमा सबैभन्दा बढी मत पाउने दुई उम्मेद्वारबीच भोलि निर्वाचन गरिने महासंघको निर्वाचन आयोगले जनाएको छ ।

एक सहकारी संस्थाले सवारी साधन बेच्दै, कति छ मूल्य ?

  काठमाडौं । स्पर्श बचत तथा ऋण सहकारी संस्थाले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । सहकारी संस्थाले आफ्नो नामको गैह्र बैंकिङ्ग सम्पत्ति रुपमा रहेको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको हो । यातायात व्यवस्था कार्यलय एकान्तकुना ललितपुरमा दर्ता कायम रहेको सुजुकि कम्पनीको बा १० च ५४८७ नम्बर सेतो रङको मारति सुजुकि कार्गो भ्यान बिक्री गर्ने भएको हो । उक्त गैह्र बैंकिङ्ग सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति र फर्म तथा कम्पनीले १५ दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त गैह्रबैंकिङ्ग सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अबस्थामा गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गरिने सहकारीले बताएको छ । सहकारीका अनुसार २ लाखमा नघट्ने गरी खुला बोलपत्र पेश गर्नुपर्नेछ । लिलाम बढाबढमा बोलपत्र पेश गर्दा कबोलेको रकमको १० प्रतिशत रकम बैंक खातामा जम्मा गर्नुपर्नेछ । जस्को बढि बोल कोबोल रकम हुन्छ सोहि व्यक्तिलाई गाडि पास गरिदिइने सहकारीले जनाएको छ । स्पर्श बचत तथा ऋण सहकारी सस्थाको केन्द्रिय कार्यालय ठमेल भगवानवाहाल २६, काठमाण्डौंमा रहेको छ ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-३ मा आवेदन दिने समय थप

काठमाडौं । सिद्धार्थ क्यापिटलले चैत २६ गतेदेखि बिक्री खुला गरेको सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ मा आवेदन दिने समय लम्बिएको छ । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम–३ मा बैशाख १० गतेसम्म आवेदन दिन सकिने भएको हो । क्यापिटलले १० वर्ष अवधिको १२ अर्ब रुपैयाँ बराबरको बन्दमुखी योजना बिक्री गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड इकाई बिक्री गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १ करोड २० लाख इकाई कोष प्रबद्र्धक सिद्धार्थ बैंकलाई, ५ प्रतिशत अर्थात् ६० लाख इकाई कोष व्यवस्थापक सिद्धार्थ क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो । क्यापिटलको फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म खरिद गर्न सकिनेछ । क्यापिटलको फण्डमा पूर्ण आवेदन नपरेको हुँदा बैशाख १० गतेसम्म आवेदन दिन समय लम्बिएको छ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । सो फण्डमा लगानीकर्ताले स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

११ प्रतिशत ब्याज पाइने महालक्ष्मी विकास बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं । महालक्ष्मी विकास बैंकले आज चैत २९ गतेदेखि १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत महालक्ष्मी डिबेन्चर २०८९’ बिक्री गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्य दरका १० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो । सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि सम्पूर्ण कित्तासम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा छिटोमा बैशाख ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो समयमा पूर्ण आवेदन नपरेमा आवेदन दिने समय २०८० बैशाख १३ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस रेडिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम रहेको संकेत गर्दछ ।