उपनिर्वाचनको पर्यवेक्षण गर्न ६ संस्थाले पाए अनुमति
काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ । पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेस भएका सातवटा निवेदनमाथि निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम छ संस्थाले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति जारी गरी जानकारी दिए । आयोगको यही चैत २८ गतेको बैठकबाट निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासङ्घ नेपाल, विश्व उपभोक्ता महासङ्घ नेपाल, पूर्व न्यायाधीश फोरम नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल छन् । ती संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाइ सिफारिश भई आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइनेछ । बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ । रासस
किसान लघुवित्तको लाभांशसँगै एफपीओ जारी गर्ने प्रस्ताव पारित, चुक्ता पुँजी ६४ करोड नाघ्ने
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ७.३६८४२ प्रतिशत लाभांश पारित भएको छ । काठमाडौंको बुढानिलकण्डमा सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभाले चुक्ता पुँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.३६८४२ प्रतिशत नगद लाभांश पारित गरेको हो । बोनस सेयर जारी पश्चात संस्थाको चुक्ता पुँजी ५० करोड ४३ लाख पुग्ने कम्पनीका अध्यक्ष लोकराज शर्माले बताए । सभाले थप सार्वजनिक सेयर (एफपीओ) निष्काशन गर्ने प्रस्तावलाई समेत सभाले सर्वसम्मतिले पारित गरेको छ । हाल कायम रहेको संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर स्वामित्वमा संशोधन गर्ने निर्णय गर्दै सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । बोनस सेयर र थप सार्वजनिक निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी करिब ६४ करोड २३ लाख रुपैयाँ पुग्ने देखिन्छ । सो सभाले अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने गाभिने कार्यका लागि बाटो खुला गर्न गाभ्ने गाभिने प्रस्तावलाई पनि पारित गरेको छ । धनगढी, कैलालीमा केन्द्रीय कार्यालय रहेको किसान लघुवित्त वित्तीय संस्थाको कर्पोट कार्यालय काठमाडौंको बुढानिलकण्ठमा रहेको छ । हाल कम्पनीले १३७ वटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ कम्पनीको साधारण सभाले आर्थिक वर्ष ०७८/७९ को संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, २०७९ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु, आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरिक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
थानकोट–चित्लाङ सडक खण्ड स्तरोन्नति भएन
काठमाडौं । काठमाडौंलाई हेटौँडासँग जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट–चित्लाङ सडक खण्डअन्तर्गत पहिले ट्रयाक खुलेका धेरै खण्डको स्तरोन्नति हुन सकेको छैन । काठमाडौंर्फको सडक खण्ड स्तरोन्नति गर्नुपर्ने भए पनि दैनिक धेरै सवारीसाधनको आवागमन हुने गरेकाले दुई किलोमिटरबाहेक अन्यत्र स्तरोन्नतिको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण स्तरोन्नतिको काम अगाडी बढ्न नसकेको काठमाडौंस्थित सडक डिभिजन कार्यालयले जनाएको छ । काठमाडौंबाट जाने सडक ट्रयाक खुलेर कटिङमात्र गरिएको छ । ‘ठाउँ–ठाउँमा कहिलेकाहीँ मर्मत हुने गरेको भए पनि स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ । सडक डिभिजनसँग स्तरोन्नतिका लागि बजेट छैन’, कार्यालयका इञ्जिनियर नेत्र पौडेलले भने । बल्खुबाट फर्पिङ हुँदै हेटौँडातर्फ निर्माण भइरहेको छ । यहाँ गाडीको चाप बढी हुँदा मर्मत गरिएका सडक पनि चाँडो बिग्रिरहेको उनको भनाइ थियो । थानकोटबाट साढे दुई किमी कालोपत्र गरिएको छ । त्यहाँबाट छ किमी काठमाडौंसम्म सडक बिग्रिएको छ । मोड बढी हुनाका साथै बाटोको ग्रेड पनि बढी भएकाले मर्मत गरिएका सडक बिग्रिरहेको जनाइएको छ । चित्लाङको दुई किमी कालोपत्र भइरहेको छ । थानकोटतर्फ धेरै स्थानमा बाटो बिग्रिएकाले स्तारोन्नतिमा समस्या भइरहेको छ । गत वर्ष चित्लाङ बजारबाट थानकोटतर्फको दुई किमी सडक कालोपत्रका लागि ठेक्का भएको थियो । अहिले भइरहेको स्तरोन्नतिको काम चालु आवमा सकिने इञ्जिनियर पौडेलले जानकारी दिए । थानकोट–चित्लाङ सडकलाई गणेशमान सिंह मार्ग नामकरण गरिएको छ । मकवानपुरतर्फ पनि विभिन्न खण्डमा सडक मर्मत भइरहेको छ । रासस
लोक सेवाले माग्यो खरिदारका लागि ठुलो संख्यामा कर्मचारी
काठमाडौं । जगिर खोज्नेहरुको लागि खुसिको खबर छ । लोक सेवाले देशभरका लागि २४४ जना खरिदार माग गरेको हाे । लोक सेवा आयोगले देशभरका विभिन्न कार्यालयबाट प्राविधिक तथा स्वास्थ्य सेवा क्षेत्रमा चौथो तह खरिदारमा २४४ जना कर्मचारी माग गरेको छ । आयोगले आज सूचना जारी गर्दै देशभरका लोकसेवा कार्यालयबाट खरिदार पदका लागि कर्मचारी माग गरेको हो । उक्त्त सूचनाअनुसार लोकसेवा आयोग धनकुटा कार्यालयले ३३ जना कर्मचारी माग गरेको छ । त्यसैगरी, इलाम कार्यालयले १२ जना, खोटाङ कार्यालयले १५ जना, जलेश्वर कार्यालयले १२ जना, काठमाडौं कार्यालयले ५४ जना, हेटौंडा कार्यालयले १५ जना, पोखारा कार्यालयले १० जना र बाग्लुङ कार्यालयले ८ जना कर्मचारी माग गरेका छन् । त्यसैगरी, लोक सेवा आयोग बुटवल कार्यालयले १८ जना, दाङ कार्यालयले १८ जना, सुर्खेत कार्यालयले १० जना, जुम्ला कार्यालयले ७ जना, दिपायल कार्यालयले १० जना र महेन्द्रनगर कार्यालयले २२ जना कर्मचारी माग गरेका छन् । आयोगअनुसार परिक्षा लिखित, प्रयोगात्मक र अन्तवार्ता हुनेछ । आवेदनका लागि आयोगले ५ सय रुपैयाँ दस्तुर तोकेको छ । त्यसका समावेशी समूहतर्फक थप आवेदन बुझाउने उम्मेदवारको हकमा थप समूह प्रत्येकका लागि १५० रुपैयाँ लाग्नेछ । इच्छुक व्यक्तिले वैशाख १९ गतेसम्ममा दिन सक्नेछन् । त्यसमा दोब्बर दस्तुर तिरेर भने वैशाख २५ गतेसम्ममा आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
होहल्ला भएपछि रोकियो महासंघको मतदान
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको जारी मतदान रोकिएको छ । जिल्ला नगरका मतदाता तथा समर्थक एसोसिएटको मतदान स्थलमा होहल्ला गर्न आएपछि मतदान अवरुद्ध भएको हो । होहल्ला भएपछी मतदान रोकिएको हो ।अहिले प्रहरीले भिडलाई तितरबितर बनाउदै छ । केहिबेरमा पुनः सुरु गर्ने तयारी छ । बुधबार बिहान ८ बजेदेखि हुने भनिएको मतदान मतपत्रमा भएको विवादका कारण दुई घण्टा ढिलो गरेर मतदान शुरु भएको थियो। महासंघको निर्वाचनमा २ हजार बढी मतदाताले मतदान गर्दैछन् । साधारणसभाले एक जना वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष र ६४ जना कार्यसमिति सदस्य चयन गर्नेछ ।
विजनेशमा ब्रेक लागेपछि बैंकहरुले घटाए ब्याज, २० महिनापछि एकल अंकमा झर्यो
काठमाडौं । २० महिनापछि वाणिज्य बैंकहरुको ब्याजदर एकल अंकमा झरेको छ । नेपाल बैंकर्स संघले बुधबार ब्याजदर घटाउने निर्णय गरेसँगै २० महिनापछि एकल अंकमा ब्याजदर झरेको हो । बैंकहरुले बैशाख महिनाका लागि ब्याजदर घटाउने निर्णय गरेका हुन् । वाणिज्य बैंकहरुले बैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपमा १.०१ प्रतिशत घटाएर ९.९९ प्रतिशतमा झारेको हो । वाणिज्य बैंकका सीईओहरुको छाता संगठन नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको अध्यक्ष सुनिल केसीेले विकासन्युजलाई जानकारी दिए । बैशाखमा बैंकहरुले ब्यक्तिगत तर्फको मुद्दती निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत तर्फको मुद्दती निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन् । यस्तै, साधारण बचत खातामा भने न्यूनतम ५.४० प्रतिशतदेखि ७.४० प्रतिशत प्रतिशतसम्म ब्याजदर निर्धारण गर्ने भएका छन् । यसअघि २० महिना अर्थात् २०७८ असोजमा दोहोरो अंकमा ब्याजदर पुगेको थियो । तरलतामा चाप पर्न थालेपछि २० महिनाअघि १० प्रतिशत हाराहारीमा ब्याजदर पुगेको थियो । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले बैंकको ब्याजदर उच्च हुँदा कर्जा विस्तारमा ब्रेक लागेपछि निक्षेपमा घटाउनु परेको बताए । पछिल्लो सम्म बैंकहरुमा तरलता सहज भएपनि कर्जा विस्तार हुन नसकेको उनको भनाइ छ । ‘तरलता सहज भएको छ, सीडी रेसियो पनि कम्फर्टेबल छ, एकाध बैंक तलमाथि छन् भनेपनि प्राय सहज नै छ, ब्याजदरलाई बजारले चलाउने हो, अहिले सहज भएकाले ब्याजदर घट्यो, फेरी टाइट भएपछि पुनः बढ्न सक्छ,’ उनले भने । यदि कर्जा विस्तार बढ्दै गएर टाइट अवस्थामा पुगेपछि ब्याजदर पुन बढ्न सक्ने उनले बताए । बैंकिङ्ग क्षेत्रमा तरलतामा चाप पर्दा ब्याजदर बढ्ने र सहज भएको बेला घट्ने बजारको नियम रहेको उनको भनाइ छ । ‘ब्याजदरलाई बजारमा छोड्नु पर्छ, हल्लाखल्ला गर्नुभन्दा बजारलाई छोड्दा राम्रो हुन्छ, ब्याजदरमा अंकुश लगाउन हुँदैन,’ उनले भने, ‘राष्ट्र बैंकको निर्देशन अनुसार बैंकको प्रिमियम घटाउन दबाब छ, एभरेष्ट बैंकले १/२ प्रतिशत प्रिमियम घटाइसकेको छ, कर्जाको ब्याजदर अटोमेटिक घट्छ ।’
कांग्रेसका नेता जोशी भन्छन् : अब वार्ता सकियो
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता सकिएको बताएका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै जोशीले कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र गरेको भन्दै आजदेखि वार्ता समाप्त भएको घोषणा गरेका हुन् । ‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ, आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । जोशी समूहले तनहुँ–१ को उपनिर्वाचनमा आफ्ना कार्यकर्तालाई स्वतन्त्र भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको थियो । विज्ञप्ती जारी गर्दै उनले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम रहेको बताएका छन् । चैत १९ मा कांग्रेसले गरेको निर्णयलाई पनि जालझेलपूर्ण र आफूहरूलाई अपमान गर्ने खालको दस्ताबेज रहेको ठहर गरेको वक्तव्यमा उल्लेख गरे । कांग्रेसले चैत १९ गते केन्द्रीय कार्यसम्पादन समितिबाट जोशी लगायतका नेता कार्यकतामाथिको कारबाही फुकुवाको निर्णय गरेको थियो । जोशीले सत्य, न्याय र सामाजिक समृद्धिका लागि आफूहरूको लडाइँ नसकिएको पनि बताए ।
महालक्ष्मी विकास बैंकद्धारा अनाथालयलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकका विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोगका कार्यक्रमहरु सम्पन्न गरेका छन् । यसैबीच बैंकको टिकापुर शाखाद्वारा टिकापुर नगरपालिका वडा नं १ कैलालीमा अवस्थित जालवा देवी सेवा समितिलाई आठ थान सिसि क्यामरा हस्तान्तरण गरेको छ । मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावित चोरी, निकासी तथा अन्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ । टीकापुर शाखाका प्रमुख पदम बहादुर कठायत र टीकापुर नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष मोहन बि.क.ले सयुक्त रुपमा जालवा देवि सेवा समितिका अध्यक्ष हर्क बहादुर रावललाई सामाग्री हस्तान्तरण गरेका हुन् । त्यसैगरी बैंकको महेन्द्रनगर शाखाद्वारा समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामाग्री तथा अन्य आवश्यक सामाग्राी हस्तान्तरण कार्यक्रम सञ्चालन गरेको छ । अनाथालयमा रहेका २६ बालबालिकाको आधारभुत आवश्यकता परिपुर्ति गर्नका लागि बैंकले आनाथालयलाई उक्त सहयोग गरेको हो । महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कन्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सयुक्त रुपमा समाज कल्याण अञ्चल बाल अनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई सामाग्री हस्तान्तरण गरेका हुन् । बैंकको डडेलधुरा शाखाद्वारा अमरगढी नगरपालिका वडा नं ८ मा अवस्थित उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न हस्तान्तरण गरेको छ । विद्याश्रममा अध्ययनरत ३० बटुकहरुको दैनिक आधारभुत आवश्यकता पुरा गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले विद्याश्रमलाई उक्त सहयोग प्रदान गरेको जनाएको छ । सुदुरपश्चिम प्रदेशका नायव प्रदेश प्रबन्धक तथा डडेलधुर शाखाका प्रमुख चेत पाण्डेले उग्रतारा वेद विद्याश्रमका प्राचार्य प्रेमराज भट्टलाई सामाग्री हस्तान्तरण गरेका हुन् । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बैंकले जनाएको छ ।