काठमाडौं । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता सकिएको बताएका छन् । बुधबार एक विज्ञप्ती जारी गर्दै जोशीले कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र गरेको भन्दै आजदेखि वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।
‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ, आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
जोशी समूहले तनहुँ–१ को उपनिर्वाचनमा आफ्ना कार्यकर्तालाई स्वतन्त्र भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको थियो । विज्ञप्ती जारी गर्दै उनले तनहुँका मतदाताहरू कसलाई मतदान गर्ने भन्ने विषयमा आफ्नो मताधिकार प्रयोग गर्न सक्षम रहेको बताएका छन् ।
चैत १९ मा कांग्रेसले गरेको निर्णयलाई पनि जालझेलपूर्ण र आफूहरूलाई अपमान गर्ने खालको दस्ताबेज रहेको ठहर गरेको वक्तव्यमा उल्लेख गरे ।
कांग्रेसले चैत १९ गते केन्द्रीय कार्यसम्पादन समितिबाट जोशी लगायतका नेता कार्यकतामाथिको कारबाही फुकुवाको निर्णय गरेको थियो । जोशीले सत्य, न्याय र सामाजिक समृद्धिका लागि आफूहरूको लडाइँ नसकिएको पनि बताए ।