विकासन्युज

जनवरीको अडियो अहिले सार्वजनिक गरेर षड्यन्त्र गरियो : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् । बुधबार साँझ उनका बारेमा निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेका बेला रास्वपा मुख्यालयमा श्रेष्ठले पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् । उनले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको बताए । ‘यो विषयमा म अदालत गइसकेको छु र छिट्टै क्लिनचिट ल्याएर आउने छु,’ उनले भने । उनले अहिले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य पनि नरहेको बताउँदै आफ्नो कारणले पार्टीलाई परेको असरप्रति क्षमा पनि मागेका छन् ।

चांगन अटोले ल्यायाे बबाल अफर, वैदेशिक भ्रमणदेखि ४० हजारसम्मकाे छुट

काठमाडौं । चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी ुनयाँ साल, साह्रै बबाल अफरु सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान अल्सिभन र यसै चांगनको प्रिमियम पिकअप हन्टर लिन ईच्छुक ग्राहकको लागि आकर्षक अफरहरु सार्वजनिक गरेको हो । कम्पनीको अनुसार यो अफर वैशाख १ गतेदेखि ३१ गतेसम्मको लागि लागु हुनेछ । यस अफर अन्तर्गत ग्राहकले चांगनको कुनै पनि सवारी साधनको खरिदमा सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन आइफोन १४, आइवाच र एयरपड्स जित्न सक्नेछन् । यसका साथै चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँसम्मको फेस्टिव बोनस तथा स्क्राच कार्ड मार्फत ५० हजार रुपैयाँसम्मको अधिक छुट पाउन सक्नेछन् । साथसाथै, ग्राहकले आफ्नो कुनै पनि ब्राण्डको साधन साट्न चाहे थप २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् । चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकवर्गहरुलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात र २ दिनको लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ ।

यी हुन् महासंघको निर्वाचनमा पक्का जित्ने एक दर्जन व्यवसायी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्य समिति चयनका लागि मतदान सम्पन्न भएको छ । बुधबार १० बजेबाट सुरु भएको मतदानमा ४ बजे नसकिएपछि दुई घण्टाका लागि थप गरिएको थियो । २ घण्टा थप भएको समयमा निर्वाचन सकिएको छ । महासंघको वस्तुगत र जिल्ला नगर संघतर्फको मतदान तोकिएको समय अगावै सम्पन्न भएपनि एसोशिएटका लागि भने ६ बजेसम्मका लागि समय तोकिएको छ । विगतका वर्षहरुमा दुइटा समूहबीच प्रतिस्पर्धा हुने गरेको भएपनि यस पटक भने तीन वटा प्यानलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी मैदानमा छन् । महासंघको तीन वटा समूहको वस्तुगत र जिल्लानगरमा तीन/तीन जना उपाध्यक्षहरु प्रतिस्पर्धामा भएपनि एशोसिएट तर्फको उपाध्यक्षमा भने दुई जना प्रतिस्पर्धामा छन् । एशोसिएट उपाध्यक्ष पदका लागि जोत्सना श्रेष्ठ र भरत राज आचार्यबीच प्रतिस्पर्धा हुनेछ । आचार्य उमेश र अञ्जनका साझा उम्मेदवार हुन् भने ज्योत्सना संघई समूहबाट चुनावी मैदानमा छिन् । यी दुई उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएपनि एसोशिएटतर्फको सदस्यमा भने १३ जनाको जित सुुनिश्चित जस्तै देखिन्छ । एसोसिएटतर्फको १९ सदस्य पदका लागि २९ जनाले उम्मेदवारी दिएका छन् । एशोसिएट सदस्यमा अम्बिका पौडेल, अविनाश बोहरा, आनन्द कुमार अग्रवाल (बगडिया), उज्वल कुमार श्रेष्ठ, ऋषी अग्रवाल (चैनवाला), कृष्णलाल महर्जन, गोपाल खनाल, चन्द्र प्रसाद ढकाल, चिराग गोयल, जुना माथेमा, डा. रामशरण थपलिया, देशबन्धु बस्नेत र निराजन बहादुर चलाउनेले उम्मेदवारी दिएका छन् । यस्तै, प्रवलजंग पाण्डे, बाबुकाजी कार्की, भरत रानाभाट, मनोज पौडेल, मुकुन्द प्रसाद तिमिल्सिना, रतनलाल केडिया, राज्यलक्ष्मी महर्जन शाक्य,राजेश कुमार अग्रवाल, रामशरण भण्डारी, शक्ति कुमार बेगानी, शुसिल थापा, शैलेन्द्र गुरागाईं, सन्दीप कुमार अग्रवाल, शुनिल नारायण श्रेष्ठ, हरिप्रसाद पाठक र हेमन्त गोल्छाले पनि एसोशिएट सदस्यका लागि उम्मेदवारी दिएका छन् । एसोसिएटतर्फको १९ पदका लागि २९ जनाले उम्मेदवारी दिए पनि १३ जनाको जित भने सुनिश्चित भएको धेरैले अनुमान गरेका छन् । २९ जनामध्ये १३ जनाको नाम सबै प्यानलमा छन् । तीनवटै समूह आ–आफ्नो प्यानल अगाडि सारेर सदस्यहरु पनि छुट्याएका छन् । १३ जना उम्मेदवारको नाम तीनवटै समूहमा छ । त्यसैले पनि उनीहरुको जित सुनिश्चित जस्तै भएको हो । जित सुनिश्चत हुनेमा अम्बिका पौडेल, आनन्द कुमार अग्रवाल, गोपाल खनाल, डा. रामशरण थपलिया, मनोज पौडेल, शुसिल थापा, शैलेन्द्र गुरागाईं, शुनिल नारायण श्रेष्ठ, हेमन्त गोल्छा, अविनाश बोहरा, देशबन्धु बस्नेत, पवलजंग पाण्डे र राजेश कुमार अग्रवाल देखिएका छन् । यस्तै, १३ जनाको जित सुनिश्चित हुँदा ६ जना बाँकी रहन्छन् । त्यसमा पनि ६ जनाको नाम दुइटै प्यानलमा देखिन्छ । दुइटै प्यानलमा पर्नेहरुमा जुना माथेमा, भरत राना भाट, बाबुकाजी कार्की, उज्वल कुमार श्रेष्ठ, कृष्णलाल महर्जन र रामशरण भण्डारी छन् । यी ६ जनाले पनि जित्ने सम्भावना बढी देखिन्छ ।

चरम आर्थिक सङ्कटतर्फ उन्मुख हुँदै पाकिस्तान

एजेन्सी । अन्तरराष्ट्रिय मुद्रा कोष आईएमएफले चरम आर्थिक सङ्कटतर्फ उन्मुख भएको पाकिस्तानलाई तत्काल वित्तीय समस्याबाट पार लगाउने लक्षण नदेखिएको बताउँदै अमेरिकी अर्थशास्त्री आतिफ मियाले इस्लामावादलाई एउटा बृहत् आर्थिक ‘प्याकेज’ आवश्यक भएको बताएका छन् । पाकिस्तानको सबैभन्दा निकटको मित्र एवम् हितचिन्तक साउदी अरबले प्रधानमन्त्री शेहबाज सरिफ र उनका दाई नवाज सरिफलाई इद मनाउन आमन्त्रण गरे पनि त्यसले दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याउन मद्दत गर्ने तर आर्थिक सहायता प्राप्त हुन नसक्ने टिप्पणी अर्थशास्त्री मियाले गरेका छन् । साउदी युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरबले गत वर्ष तेलको मूल्यमा उच्च वृद्धि भएका बेला व्यापार गरेर कमाएको अतिरिक्त पाकिस्तानका निम्ति उपयोग हुनेमा आर्थिक विश्लेषकहरूले आशङ्का व्यक्त गरेका छन् । विश्लेषक मुसर्रफ जैदीले द न्युज इन्टरनेशनलमा ‘पाकिस्तानले साउदी सहायता प्राप्त गर्ने सम्भावना धेरै कम छ, कथंकदाचित सहयोग भएमा त्यो अस्थायी राहत मात्र हुने’ लेखेका छन् । विश्लेषक जैदीका अनुसार अर्थशास्त्री मियाले भनेजस्तो बृहत् आर्थिक प्याकेज पाकिस्तानलाई प्रदान गर्ने अवस्थामा साउदी छैन । विकास एवम् आर्थिक सहायताका ढाँचा परिवर्तन भएका छन् । साउदी शासकहरू पाकिस्तानका अभिजात वर्ग, सैन्य र नागरिकलाई निःशर्त आर्थिक सङ्कटबाट मुक्त गर्ने चाहना पनि गर्दैनन् । रासस

प्रभु बैंकका ग्राहकले दराजमा सपिङ गर्दा १ हजार रुपैयाँसम्म छुट पाउने

काठमाडौं । प्रभु बैंकले आफ्ना भिजा कार्डवाहाक ग्राहकलाई नयाँ वर्षको छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग सम्झौता गरेको छ । यस योजना चैत २८ गतेबाट लागु भइसेकेको छ । यस सम्झौतामा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् । यो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखी १४ सम्म डेबिट कार्ड मार्फत प्रीपेमेन्टमा ८ प्रतिशत वा अधिकतम ७५० रुपैयाँ बराबरको छुट पाउनेछन भने क्रेडिट कार्ड मार्फत १० प्रतिशत वा अधिकतम १ हजार रपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, ग्राहकहरुले २०२३ अप्रिल १५ देखी २० सम्म २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सकृय गर्नुपर्नेछ ।

नेपाली सेनाद्धारा गोरखा-जितगढी पदयात्रा सुरु

  काठमाडौं । नेपाली सेनाले नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यका साथ आजदेखि गोरखा–जितगढी पदयात्रा सुरु गरेको छ । मुलुकका ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्गलगायतका धरोहरको संरक्षण‚ सम्वद्र्धन र प्रवद्र्धन गर्न यस्ता पदयात्रा र कार्यक्रमले ठूलो योगदान पुर्याउने विश्वास लिइएको छ । पश्चिम पृतनापति उपरथी दीपककुमार बाँनियाले शुभारम्भ गरेको पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच वटा गण तथा गुल्मका झण्डा समेटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सेनाका सबैभन्दा पहिलो खडा भएका गण तथा गुल्ममा श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज गण हुन् । पदयात्रामा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोसाक तथा परम्परागत बाजागाजा सहितको टोली सहभागी छन् । पदयात्रामा गोरखाबाट सहभागी फौजले तनहुँमा तैनाथ फौजलाई सतीघाटमा, तनहुँमा तैनाथ फौजले पाल्पामा तैनाथ फौजलाई केलादीघाटमा र पाल्पामा तैनाथ फौजले रुपन्देहीमा तैनाथ फौजलाई नुवाकोटगढीमा झण्डा हस्तान्तरण गर्नेछ । पदयात्रा गोरखा दरबारदेखि रुपन्देहीको जितगढीसम्म करिब २०७ किमि को दुरीमा आयोजना हुने सेनाले जनाएको छ । गोरखा नगरपालिका ६ स्थित गोरखा दरबारबाट सुरु भएको पदयात्रा बुटवलस्थित जितगढी पुगेर वैशाख ७ गते समापन हुनेछ । सोही दिन सेनाद्वारा मर्मत भइरहेको जितगढीको प्रतिमा बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम छ । रासस

अन्तरिक्षमा पहिलो मानव उडानको स्मरणमा कसमोनट दिवस

काठमाडौं । हरेक वर्ष आज कै दिन अर्थात् अप्रिल १२ तारिखमा मनाइने कसमोनट दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सन् १९६१ अप्रिल १२ मा रसियाको स्पेस वैज्ञानिक युरी गागारिनले पहिलो मानव अन्तरिक्ष उडान गरेको स्मरणमा यो दिवस मनाइँदै आइएको हो । आजका दिनलाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान भएको दिनका रूपमा लिइन्छ । उक्त दिवसका अवसरमा आज यहाँ रसियन हाउस अफ काठमाडौँ, नेपाल फिजिकल सोसाइटी र नेपाल साइन्स ओलमपियडले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा नेपालमा अन्तरिक्ष क्षेत्रमा भइरहेका कामबारे प्रदर्शनी गरियो । ‘द स्क्वायड अफ चेञ्जमेकसर्’का संस्थापक सुशीलदेव भट्टराईले अन्तरिक्षमा पहिलो पटक मानिसले पाइला टेकेकोबारे चर्चा गर्दै अन्तरिक्ष विज्ञानबारे जानकारी दिन प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने, ‘भविष्यमा यस विषयमा हाम्रा विद्यार्थीलाई रुचि बढाउन पनि हामीले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छौँ ।’ ‘प्रदर्शनीमा दुई सय विद्यार्थीलाई अन्तरिक्षसम्बन्धी जानकारी गराउनाका साथै रकेट विज्ञान र भूउपग्रह स्याटेलाइट बनाउने तालिम तथा खगोलशास्त्रबारे जानकारी गराउँदै आएका छौँ’, भट्टराईले भने । सन् २०१९ मा बनेको नेपालको पहिलो भूउपग्रह ‘नेपाली सेट–१’ र यस वर्ष बनेको ‘मुनाल’ स्याटेलाइटलगायत अन्तरिक्ष सम्बन्धी सामग्रीहरुको नमूना प्रदर्शनीमा राखिएको छ । रासस

कोरोनाबाट थप एक जनाको मृत्यु, १२१ नयाँ संक्रमित

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट बुधबार गप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप एक जनाको मृत्यु भएको जनाएको हो । मन्त्रालयका अनुसार बुधबार १२१ जना नयाँ संक्रमित थपिएको छ । देशभरि ६२० जनाको पीसीआर परीक्षण गर्दा ५८ र १७५७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै ८१ जना कोरोनामुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ । मंगलबार वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मंगलबार दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छ जनामा सङ्क्रमण देखिएको थियाे ।