काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले पार्टीलाई उपनिर्वाचनमा हराउन आफ्नो अडियो सार्वजनिक गरिएको बताएका छन् ।
बुधबार साँझ उनका बारेमा निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेका बेला रास्वपा मुख्यालयमा श्रेष्ठले पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।
उनले उक्त अडियोमा सत्यता नरहेको र इडिटिङ गरेर बनाएको बताए । ‘यो विषयमा म अदालत गइसकेको छु र छिट्टै क्लिनचिट ल्याएर आउने छु,’ उनले भने ।
उनले अहिले आफू राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य पनि नरहेको बताउँदै आफ्नो कारणले पार्टीलाई परेको असरप्रति क्षमा पनि मागेका छन् ।