विकासन्युज

लघुबीमा कम्पनीलाइ यी ११ शर्त पालना गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई ६ महिनाभित्र सम्पूर्ण भौतिक संरचना तयार गर्न निर्देशन दिएको छ । बुधबार ११ बुँदे शर्त तथा निर्देशन जारी गर्दै बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त लघुबीमा कम्पनीहरुले अनुमति पाएको ६ महिनाभित्र लघुबीमा व्यवसाय गर्न मुख्य कार्यालयको सम्पूर्ण संरचना तयारी गर्न भनेको हो । प्राधिकरणका अनुसार इजाजतपत्र प्राप्त गरेको मितिले बढीमा ६ महिनाभित्र लघुबीमा व्यवसाय सञ्चालन गर्नको लागि भौतिक पूर्वाधार सहित बीमकको मुख्य कार्यालय रहने स्थानमा सम्पूर्ण भौतिक संरचना कायम गरी सोको विवरण प्राधिकरणमा पेश गर्नु पर्नेछ । यस्तै, व्यवसाय सञ्चालन गर्नका लागि प्राधिकरणले तोकेको योग्यता पुरा गरेका व्यक्तिहरु मध्येबाट कम्तीमा जोखिमाङ्कन विभाग, पुनर्बीमा विभाग, दावी विभाग प्रमुखको रुपमा कार्य गर्ने व्यक्तिको नियुक्ति गरी प्राधिकरणलाई जानकारी दिनु पर्ने प्राधिकरणले जनाएको छ । यस्तै, कर्मचारी सेवा, शर्त बिनियमावली, आर्थिक प्रशासन विनियमावली, जोखिमाङ्कन, ग्राहक सेवा, बजार प्रर्वद्धन र पुनर्वीमा सम्बन्धी दिग्दर्शन, जोखिमको पुनर्बीमा गर्ने योजना सहितको पुनर्बीमकसंग गरिएको पुनर्बीमा सम्झौता वा पुनर्बीमकले बीमकको जीवन बीमा व्यवसाय अन्तर्गतको दायित्वको पुनर्वीमा गर्न मञ्जुर रहेको प्रमाण प्राधिकरणमा पेश गर्नु पर्नेछ । यस्तै, लघु बीमकले सञ्चालन गर्न पाउने बीमा व्यवसायको किसिम र प्रकार प्राधिकरणले जारी गरेको लघु बीमा निर्देशिन, २०७९ बमोजिम हुनुपर्ने प्राधिकरणले जनाएको छ । यस्तै, लघुबीमाको पहुँच तथा समावेशीकरणमा जोड दिँदै बीमा गर्ने प्रचलनलाई प्रवर्धन गर्ने उद्देश्यले बीमा प्रवर्धन नीति, लघुबीमा व्यवसायको लागि प्रयोगमा ल्याउने अन्तर्राष्ट्रिय निकायले मान्यता दिएको सफ्टवेयर जडान गरेको र सोको सेवा प्रदायक (भेण्डर)सँग सम्झौता गरेको पत्र, आफ्नो सम्पत्ती तथा दायीत्वको आर्थिक लेखाजोखा गर्न एक्चुअरी नियुक्त गरी सोको प्रमाण पेश गर्नुपर्ने प्राधिकरणले बताएको छ । यस्तै, सम्पत्ती शुद्धिकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण ऐन २०६४ को दफा ७ त को उपदफा (१) बमोजिम सम्पत्ती शुद्धिकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति, प्रकृया तथा कार्यक्रम, प्राधिकरणबाट जारी भएको लघुबीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ को दफा १० को उपदफा (३) बमोजिम र लघुबीमकले बीमा व्यवसाय सञ्चालन गर्दा बीमा ऐन, नियमावली, प्राधिकरणबाट जारी भएका र हुने सम्पूर्ण निर्देशन पालना गर्ने कबुलियतनामा र अन्य शर्त तथा अवस्थाका हकमा बीमा ऐनको दफा २९ को उपदफा (५) बमोजिम हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर बाँडफाँट

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गते आइतबारदेखि २२ गतेसम्म निष्काशन गरेको आईपीओ बिहीबार बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट भएको हो । कम्पनीको आईपीओ १२ लाख ८१ हजार ४०२ योग्य आवेदकबाट एक अर्ब ३८ करोड ३३ लाख ११ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ३३ हजार ११० कित्ता सेयरको लागि आवेदन परेको छ । कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट न्युनतम १० कित्ताको दरले सेयर वितरण भएको छ । त्यस अनुसार योग्य आवेदक मध्ये १ लाख ३३ हजार ७३० जनाले मात्रै १० कित्ता सेयर पाएका छन् । त्यसमध्ये पनि २ जनालाई थप एकरएक कित्ता सेयर पाएका छन् । कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता सेयर निष्काशनमा ल्याएको हो । त्यस मध्ये १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँ आयोजना प्रभावित स्थानिय बासिन्दालाई र निष्काशन गरिसकेको छ । त्यसमध्ये ३ प्रतिशत अर्थात ८० हजार ७० कित्ता सेयर सामुहिक लगानी कोषका योजनाहरुको लागि र २ अर्थात ३२ हजार २८ कित्ता सेयर कर्मचारीहरुलाई सुरक्षित गरी बाँकी रहेको १३ लाख ३७ हजार ३०२ कित्ता सेयर सर्वसाधारणको लागि वितरण गरेको हो ।

लो बिडलाई निरुत्साहित गर्न निर्माण व्यवसायीलाई मन्त्री गुरुङको सुझाव

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले समयमा गुणस्तरीय कार्य गरी ‘लो बिड’ लाई निरुत्साहित गर्न निर्माण व्यवसायीलाई अनुरोध गरेकी छिन् । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले निर्माण व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाइन् । निर्माण उद्योगसँग शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालयले प्रत्यक्ष सरोकार राख्ने भएकाले दुवै मन्त्रालयको सहकार्यमा निर्माण उद्योगको विकासका लागि नीतिगत निर्णय गरिने जानकारी मन्त्री गुरुङले दिइन् । निर्माण व्यवसायीको ठूलो भुक्तानी रोकिएकोतर्फ सङ्केत गर्दै मन्त्री गुरुङले समस्या समाधानका लागि पहल गर्ने बताइन् । सार्वजनिक खरिद ऐन संशोधन गर्दा निर्माण व्यवसायीलगायत सरोकारवाललाई संलग्न गराइने उनको भनाइ थियो । निर्माण व्यवसायीलाई क्षमताभन्दा बढी काम नलिन उनले सुझाव दिइन् । महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावली पटकपटक संशोधन भए पनि निर्माण व्यवसायीको समस्या समाधान हुन नसकेको जानकारी गराए । मूल्य समायोजन नहुँदा व्यवसायी मारमा परेको भन्दै अध्यक्ष सिंहले समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरे । कोभिड कहर, निर्वाचन, चाडपर्व, खानी तथा नदीजन्य सामग्रीको उत्खननमा लगाइएको रोक, भुक्तानी अभावका कारण व्यवसायीले समयमै काम गर्न नसकेकोतर्फ अध्यक्ष सिंहले मन्त्री गुरुङको ध्यानाकर्षण गराए । सम्पूर्ण आयोजनाको एकमुष्ट रूपमा २०८१ असार मसान्तसम्म म्याद थपका लागि अध्यक्ष सिंहले माग गरे । विसं २०८१ असार मसान्तसम्म पनि कार्य सम्पन्न नहुने आयोजनाको ठेक्का सम्झौता सार्वजनिक खरिद ऐन नियमबमोजिम सुविस्ताको आधारमा अन्त्य गर्न सकिने अध्यक्ष सिंहको प्रस्ताव थियो । भेटमा महासङ्घका सल्लाहकार यक्षध्वज कार्की, वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (ए.डी), महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव शिवहरि घिमिरे, कार्यसमिति सदस्य दानबहादुर खड्का, जनकराज तिमल्सिना, विष्णुप्रसाद लामिछाने, विनोद भट्टराई, महासङ्घका कार्यालय प्रमुख प्रेमसिंह ऐरलगायत सहभागी थिए ।

माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुरु

काठमाडौं । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । यो सेवा सुचारु भए संगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगाएत स्मार्ट क्युआर नेटवर्कमा आवद्ध मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन् । रेमिट्याप वालेट मार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् । इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनन्सीयल स्वीच मार्फत कारोबारको भुक्तानी तथा फर्स्यौट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो हुन्छ ।

महासंघ निर्वाचनः मतदान सकियो, आजै मतगणना गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान सम्पन्न भएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदसहित एशोसिएट तर्फको उपाध्यक्ष पदका लागि मतदान सम्पन्न भएको हो । बुधबार १० बजेबाट सुरु भएको मतदान ६ बजे सम्पन्न भएको हाे । ४ बजे नसकिएपछि एशोसिएट तर्फको उपाध्यक्ष पदका लागि २ घण्टा समय थप गरिएको थियो । महासंघको वस्तुगत र जिल्ला नगर संघतर्फको मतदान तोकिएको समय अगावै सम्पन्न भएको हाे । निर्वाचन समितिका अनुसार महासंघको वस्तुगत तर्फको १२३ वटा मतदाता रहेकोमा सबै मत खसेका छन् भने जिल्लारनगरतर्फ ११७ मतदाता रहेकोमा सम्पूर्ण मत खसेका छन् । दुवै संघमा शत प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिएका छन् । एशोसिएट तर्फ भने १ हजार १३२ मत खसेको पौडेलले बताए । उनका अनुसार एशोसिएटतर्फ १ हजार ७४८ मतदाता रहेको छन् । निर्वाचन समितिका अनुसार एशोसिएटतर्फ ५५ प्रतिशत मात्रै खसेको हो । मंगलबार सुरु भएको महासंघको ५७ औँ वार्षिक साधारणसभामा नेतृत्व चयनका लागि बुधबार ढिलागरी मतदान शुरु भएको थियो । महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी मैदानमा छन् । कूल ६४ पदका लागि ११६ जनाले उम्मेदवारी दिएका छन् । जसमा जिल्ला नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी दिएका हुन् । महासंघको जिल्ला नगरको उपाध्यक्षमा तीन जना, वस्तुगत उपाध्यक्षमा तीन जना र एशोसिएट उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । जिल्ला नगर उपाध्यक्षका लागि सुरकृष्ण उपाध्याय, अरुणराज सुमार्गी र दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन, मनिषलाल प्रधान र हेमराज ढकाल र एशोसिएट उपाध्यक्षका लागि जोत्यसना श्रेष्ठ र भरत राज आचार्यले उम्मेदवारी दिएका हुन् । यस्तै, महासंघको जिल्ला नगर संघको १८ सदस्यका लागि ३२ जना, वस्तुगत संघको १४ सदस्यका लागि २८ जना र एशोसिएटतर्फ १९ सदस्यका लागि ३० जना गरी कूल ९० जनाको उम्मेदवारी परेको छ । महासंघको विधान अनुसार प्रत्येक प्रदेशबाट एकरएक जना सदस्य हुन पाउने व्यवस्था छ । जसमा लुम्बिनी प्रदेशबाट निर्विरोध निर्वाचित भइसकेका छन् भने अन्य प्रदेशमा निर्वाचन हुने भएको छ । सुदूरपश्चिम प्रदेशबाट २ जना, कर्णाली प्रदेशबाट ३ जना, गण्डकी प्रदेशबाट २ जना, बाग्मती प्रेदशबाट २ जना, कोशी प्रदेशबाट ३ जना र मधेश प्रदेशबाट २ जनाले उम्मेदवारी दिएको पौडेलले बताए । मतदान सम्पन्न भएपछि आजै मतगणना सुरु गरिने भएको छ । मतगणना अघि बढाउन मुख्य निर्वाचन अधिकृतले छलफलका लागि सर्वपक्षिय बैठक बोलाएका छन् । मुख्य निर्वाचन अधिकृतले मतगणना प्रक्रिया अघि बढाउन वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षका उम्मेद्वार, वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्षलाई छलफलका लागि बोलाएका हुन् ।

बैंकको कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुग्यो : मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकको ऋण ब्याजदरको वृद्धिका कारण स्वदेशी उद्योग धराशायी अवस्थामा पुगेको टिप्पणी गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले बैंकले तरलताको अभाव देखाएर वृद्धि गरिएको ब्याजदरका कारण उद्यमी लुक्न, उद्योग बन्द गर्न र पलायन हुनुपर्ने अवस्था आएको बताए । मुख्यमन्त्री कार्कीले साना उद्यमीले जग्गा उपलब्ध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराटनगरमा भण्डारगृहको निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले साना उद्योगले बजारीकरणका लागि आफ्नो उत्पादन गणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै बलियो प्याकेजिङका लागि आवश्यक पर्ने औजारलगायतका सामग्री सरकारले उपलब्ध गराउने बताए । उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले दीर्घकालीन कृषि नीति ल्याउन विज्ञसँग छलफल गरी आवश्यक सुझाव सङ्कलन गरेको बताउँदै कृषिउपज आयात नियमन गरी विषादीलगायत आवश्यक जाँचकोे लागि क्वारेण्टाइन कार्यालय थप गर्नुपर्नेमा जोड दिए । महासङ्घका मोरङ अध्यक्ष चेतन निरौला, केन्द्रीय उपाध्यक्ष मुकेश उपाध्याय, महिला उद्यमी समितिकी प्रदेश अध्यक्ष शिवा उपाध्यायलगायतले साना उद्योगलाई प्रवद्र्धन गर्न सरकारले आवश्यक नीति, कानुन बनाइ सहयोग गर्नुपर्नेमा जोड दिए । सो अवसरमा रोजगारी, सीप प्रदान गर्ने नरेश खत्री, सायदा तवसुम, तुलसी ढकाल र यमुना पोखरेललाई सम्मान गरिएको छ । मोरङ जिल्लामा चार हजार एक सय साना उद्योगमा रु चार अर्ब लगानी भएको छ भने २५ हजारले रोजगारी प्राप्त गरेका छन् ।

माधव नेपाललाई योगेशको प्रश्न : होसमा हुनुहुन्छ कि हुनुहुन्न ?

काठमाडौं। नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद विघटन हुँदैछ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका हुन् । उनले अध्यक्ष नेपालको बोलि शंकास्पद रहेको पनि बताए । उनले नेपाल दुरुस्त भएर बोलेको जस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्न समेत गरे । ‘जुन पार्टी प्रतिपक्षमा छ, त्यो पार्टीले कसरी संसद विघटन गर्छ रु उहाँले के भन्दै हिँड्नुभएको छ रु सपना देख्नुभएको छ कि रु विपनामा हुनुहुन्छ कि रु होसमा हुनुहुन्छ कि रु हुनुहुन्न कि ?,’ उनले भने । ‘उहाँ जत्तिको १५ वर्ष एउटा ठूलो पार्टीको नेतृत्व गरेको मान्छेले, प्रधानमन्त्री भइसकेको मान्छेले, यति अनुभवी राजनीतिज्ञले त्यस्तो बोलेको देख्दा यो एक, डेढ वर्षमा उहाँ धेरै बदलिनु भएछ,’ उनले थपे ।

नेपालको पूर्वाधार विकासमा लगानी जुटाउने प्रयासमा अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत र विश्व बैंक दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन रेजरबीच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्तामा डेभलपमेन्ट पोलिसी रिभ्यू (डिपीसी) को प्रभावकारिता र कार्यान्वयनका विषयमा छलफल भएको थियो । आगामी जुन महिनामा नेपालमा डिपीसी पुनरावलोकनका सम्बन्धमा पनि थप छलफल हुने भएको छ । विश्व भौतिक पूर्वाधार विकासका लागि विश्व बैंकको नेपालमा धेरै ठूलो लगानी छ, यसलाई अझ कसरी वृद्धि र प्रभावकारी कार्यान्वयन गराउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो । विशेष गरी पूर्वाधार विकासमा विश्व बैंकको सहयोगलाई नेपालमा अझ बढी कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रस्ताव अर्थमन्त्री डा. महतले राखेका थिए । विश्व बैंकले नेतृत्व गरिरहेको माथिल्लो अरुणमा थप लगानीकर्ता पनि विश्व बैंकले नै खोज्ने भएकाले यस विषयमा छलफल भएको थियो । माथिल्लो अरुण आयोजना सम्पन्न गर्ने विषयमा छलफल हुनुका साथै अन्य पूर्वाधार विकासमा पनि विश्व बैंकको सहयोग के कस्तो रहन्छ भन्ने विषयमा मन्त्री डा. महतले चासो राखेका थिए । मन्त्री डा, महतको चासोमा क्षेत्रीय उपाध्यक्ष रेजरबाट सकारात्मक जवाफ आएको सचिवालयले जनाएको छ ।