ढकमक्क अलकापुरी नगरी (फोटो फिचर)
काठमाडौं । आदिकवि भानुभक्त आचार्यले ‘आलकापुरी कान्तिपुरी नगरी’ कविता त्यसै लेखेका थिएनन् । उनले कान्तिपुर अर्थात अहिलेको काठमाडौंप्रति मोहित भएरै त्यो कविता लेखेका थिए । हो, त्यो कान्तिपुरले फेरि जवानीको रुप देखाएको छ । वसन्त ऋतुमा अलकापुरी नगरी ढकमक्क छ । धुँवाधुलो र प्रदूषण त छँदैछ तर त्यसमा वसन्त ऋतुका आगमनमा रंगीचंगी फूल र हरियालीले संघीय राजधानी काठमाडौंलाई मनमोहक बनाएको छ । काठमाडौं उपत्यकाका सडक किनारमा फुलेका फूलहरुले जो कोहीलाई पनि मोहित पार्छ । डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले । बोकी ल्यायो बकुल वनको वास मिठो हावाले ।। डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेँली । गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली ।। राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको यो वैशाख कविताको अंशले काठमाडौंको वैशाखको फूलैफूलको शहरलाई चरितार्थ गर्छ । नदीका किनार, सडकका छेउ, घरका प्रवेश द्वार, मठ मन्दिर जताततै फूलैफूलले ढाकेको छ । वसन्त ऋतु अर्थात् वनस्पतिहरूले काँचुली फेर्ने ऋतु । शिशिर र गृष्मबीचको यो ऋतुलाई ऋतुराज पनि भनिन्छ । काठमाडौंका सडक र किनारमा सवारी र पैदलयात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन् । अधिकांश वनस्पतिहरूले पाउला फेर्ने भएकाले यो ऋतु हरियाली त हुन्छ नै ढकमक्क फुलेको फूलहरूले झनै सौन्दर्य बढाउँछ । वसन्त ऋतुको शुरुवात भएसँगै यतिखेर राजधानी पनि परिवर्तन भएको भान हुन्छ । सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर सडकको सौन्दर्यता बढाएको छ । राजधानी काठमाडौंका सडक पेटीमा फुलेका चेरी र आरु फूलको दृश्यले कम आनन्द महशुस हुँदैन । सडकमा हिँड्ने यात्रु लोभ लाग्दा फूलहरुसँग रमाइरहेका हुन्छन् । काठमाडौंका सडकहरुमा यतिबेला विभिन्न प्रजातिका फूलहरु फुलेका छन् । यसले पदयात्रीलाई थप आनन्दित बनाएको छ । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल
प्रवासी नेपालीले आँफै बसेको देशबाट मतदान गर्न पाउने व्यवस्था गरिन्छ – प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई आँफै बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको शुक्रवार भएको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘यसबाट लाखौं प्रवासी नेपालीहरु लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुपर्दैन ।’ प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए । ‘बैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई पुग्ने संकलन हुनु आफैंमा अर्थतन्त्र सुधारको संकेत हो’, उनले भने । उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आवद्धता श्रमिकको सुरक्षा भएको बताए । उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताए । उनले भने, ‘संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी हो । हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ग्यारेन्टी गर्ने चुनौति छ, अर्थतन्त्रमा परेको अप्ठ्यारो अहिलेको होइन, पहिले देखि नै हो, यसमा म आएपछि सुधार भइरहेको छ, नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक संकेत देखियो, संचिति बढेको छ । राजश्व संकलनमा उल्लेखित सुधार भएको छ । बैंकको ब्याज दरमा सुधार गर्न मेरो पहलमा ब्याज घट्ने क्रम सुरु भएको छ ।
सजिलो इभी फाइनान्सिको लागि बिवाइडी र एनएमबि बीच सम्झौता
काठमाडौं । बिवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपाल स्थित आधिकारिक बिक्रेता साईमेक्स इंक प्रा.लि. ले विद्युतीय सवारीका लागि एनएमबि बैंक संग रणनीतिक बैंक वित्तिय सम्झौताको घोषणा गरेको छ । यो साझेदारीले नेपाली उपभोक्ताहरुलाई प्रतिस्पर्धी वित्तीय विकल्पहरु प्रदान गरेर बिवाइडीका इभी गाडी खरिद गर्न सजिलो बनाउने लक्ष्य राखेको छ । साइमेक्स इंक प्रा.लि. का प्रबन्ध निर्देशक यमुना श्रेष्ठ भन्छिन् ‘विश्वभरका मानिसहरुलाई दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ । एनएमबि बैंकसँगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।’ बिवाइडी बिभिन्न मोडलहरुका विद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका विद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन । नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागसँगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवद्धृन गर्न मद्दत गर्नेछ । एनएमबि बैंकले ५ वर्षसम्मका लागि १२.४९ प्रतिशत निश्चित दरमा अनी त्यसपछि २ वर्षसम्म सामान्य दरमा ८० प्रतिशत इभी फाइनान्सिङ गर्ने भएको छ । साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी अट्टो थ्री ( रु ६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने बिवाइडी अल–इ न्यू सिक्स (रु. ५९ लाख) मा बजारमा उपलब्ध गराउँदैछ । केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी अट्टो थ्री रु. १२.९८ लाख र बिवाइडी अल–इ न्यू सिक्स मात्र रु ११.८० लाखमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
एन आई सी एशिया बैंकका संस्थापक अध्यक्ष अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्रदान
काठमाडौं । यस एन आई सी एशिया बैंक लिमिटेडका संस्थापक अध्यक्ष तथा हालका प्रमुख सल्लाहकार तथा प्रतिष्ठित उद्योगी व्यवसायी जगदीश प्रसाद अग्रवाललाई ‘सुप्रबल जनसेवाश्री’ विभूषण प्राप्त गरेका छन्। संविधान दिवसको अवसरमा गत असोज ३ गतेका दिन घोषित उक्त सम्मानित विभूषण बैशाख १ गते शुक्रबार राष्ट्रपतिको कार्यालय, राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रदान गरेका हुन् । ६ दशकदेखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा खटिदै एक सफल उद्योगी व्यवसायीको स्थापित भएका अग्रवालले कुशल व्यवसायिक रणनीतिकार एवम् उत्कृष्ट व्यवस्थापकको रुपमा चिनिन्छन् । उनी एनआइसी एशिया बैंकको पूर्व अध्यक्ष हुनुको साथै हाल विशाल गु्रपको अध्यक्ष पनि रहेका छन्। उनले मैनावती स्टिल इन्डष्ट्रिज, कमला आइरन एण्ड स्टिल इन्टरनेसल प्रालि, कमला रोलिङ मिल्स प्रालि तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा पनि भूमिका निर्वाह गर्दै आएका छन् ।
संस्कृत विद्या वैज्ञानिक छ : महासचिव मोहन वैद्य ‘किरण
दाङ । नेकपा (माओवादी क्रान्तिकारी)का महासचिव मोहन वैद्यले आर्दशवाद र भौतिकवादको विषयमा चर्चा भइरहँदा संस्कृत विज्ञानले अघि सारेका विषय वैज्ञानिक रहेको बताएका छन्। उनले भने, ‘संस्कृत विद्याभन्दा सबै कर्मकाण्डी भन्ने भ्रम छ, यो अकाट्य कर्मकाण्डा हो भन्ने बुझाइ छ, त्यो बिल्कुलै गलत हो, संस्कृत भनेको आदर्शवाद हो भौतिकवाद पनि हो, यसको महत्व र गरिमा नबुझ्दा धेरैलाई गलत भ्रम परेको हो ।’ नेपाल समाजमा परम्पराका निरन्तरता रहेको हुँदा यसमा नवीनता तिर पनि जानुपर्ने अवस्था रहेको आवश्यकता औँल्याए । आफ्नी आमा जानका वैद्य पोखरेलको शत वर्ष प्रवेशको अवसरमा आयोजित अभिनन्दन कार्यक्रमलाई शुक्रबार घोराहीमा सम्बोधन गर्दै उनले संस्कृत विद्याका बारेमा बुझाइ स्पष्ट नहुँदा धेरैलाई कर्मकाण्डी भन्ने भ्रम रहेको जिकिर गरे । देश र समाज रुपान्तरणको अभियानमा लामो समयदेखि होमिने तागत र हौसला ९७ वर्षीया आमा जानका वैद्यबाट आफूले पाएको बताउँदै महासचिव वैद्यले संस्कृत विद्यामा धेरै कुरा प्रमाणित र वैज्ञानिक रहेको विश्वास व्यक्त गरे । उनले संस्कृत भाषाका बारेमा राम्रो ज्ञान नहुँदा पनि बुझाइमा समस्या भएको बताउँदै यसका जानकारले पनि गलत प्रयोग गर्न खोज्दा समस्या भएको हुन सक्ने तर्क गरे । ‘हामीले बोल्ने अङ्ग्रेजी, हिन्दी, उर्दु, मैथिली भाषामा पनि थुप्रै विद्या हुन्छन्, यसमा ज्ञान हुन्छन्, त्यसैगरी, संस्कृत विद्यामा पनि विज्ञान छ, ज्योतिष छ, गणित छ, सबै चिज छ, त्यसैले संस्कृत विद्या वैज्ञानिक छ’, उनले भने, ‘हिजोको पूर्खाले गरेको काम आजको भौतिकवादी कुरा हो, तर, यसमा कतिपय संस्कृतका विद्वानले संस्कृत कुराका पुराना कुरालाई मात्रै उठान गरेर गलत अभ्यास गरे, यसमा पनि नवीन कुरा छ, विज्ञान छ, आदर्शवाद छ, भौतिकवाद, द्वन्द्ववाद छ भन्ने कुरा बुझाउन जरुरी छ ।’ उनले नेपालमा युग सुहाउँदो संस्कृति रुपान्तरणको अभियानमा सबै सकारात्मक रुपमा अघि बढ्नुपर्ने बेला आएको बताए । जीवित रहँदासम्म आफ्ना आमाबुवालाई राम्ररी हेरचाह, रेखदेख नगर्ने, मरेपछि श्राद्ध गर्नुभन्दा बाँच्दासम्म सम्मान गर्न जरुरी रहेको उनको भनाइ छ । उनले आफ्ना पितृलाई सम्मान गरेर नयाँ संस्कृतिको जग बसाल्न खोजेको बताउँदै परम्परागत संस्कृतिले विकृति निम्त्याएको हुँदा नवीन संस्कृतिको अभ्यासको थालनी आफूहरुले गरेको बताए। ठूलो मान्छे होइन असल मान्छे बनाउन आफ्ना सन्तानलाई सिकाउने काम जानका वैद्यले गरेको कार्यक्रमका वक्ताको भनाइ थियो । सामाजिक, सांस्कृतिक शैक्षिक आन्दोलनका लागि छोराहरूलाई शिक्षाको ओज दिएर आमाले दायित्व पूरा गरेको उनीहरूको भनाइ थियो । साबिक ढिकपुर–७ अस्परी निवासी हाल घोराही–१५ रतनपुर निवासी जानका वैद्य पोख्रेलका ७ भाइ छोरा र १ छोरी छन् । जसमध्ये मोहन वैद्य जेठा छोरा हुन् ।
आर्थिक मन्दी र बैंकको ऋणका कारण विस्थापित हुँदै नेपालगञ्जका होटल व्यवसायी
नेपालगञ्ज । आर्थिक मन्दी र बैंकको ऋणका कारण नेपालगञ्जका व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको उनीहरूले गुनासो गरेका छन् । होटेल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष रङ्गबहादुर खड्काले प्रवल सम्भावना रहेको व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको बताए । उनका अनुसार व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको छ । एकातिर आम्दानी बढ्नुको साटो घट्दै गइरहेको र अर्कोतिर लगानी गर्ने वातावरण नभएकाले व्यवसायी दिनप्रति दिन मर्कामा पर्न थालको खड्काले बताए । नेपालगञ्जमा साना, मझौला र ठूला गरेर सात सय होटेल व्यवसायी छन् । तीमध्ये पाँच सय व्यवसायीले मात्र नवीकरण गरेका छन् । अध्यक्ष खड्काले भने, ‘नेपालगञ्जको ठूलो होटेल व्यवसायीमध्ये एक जना विस्थापित हुनुभयो, कोभिड पछि विस्तारै उहाँको व्यापार घट्दै गयो । होटेल चल्न छाडेपछि आम्दानी हुने कुरै भएन । आम्दानी नभएकै कारण उहाँले भाडा तिर्न नसकेर अहिले विस्थापित नै हुनुभयो ।’ उनले यस्तै अवस्था रहे अबको केही महिनापछि धेरै व्यवसायी विस्थापित हुन सक्ने आँकलन गरे। विगत २५ वर्षदेखि होटेल व्यवसायीका रुपमा चिनिँदै आउनुभएका खड्काले पहिलाको तुलनामा ४० प्रतिशतले व्यवसायमा कमी आएको बताए। ‘मैलै विगत २५ वर्षदेखि यही व्यवसाय गर्दै आएको छु, योभन्दा पहिला कहिल्यै यस्तो भएको थिएन, अहिले मैले मासिक होटेल भाडा ६६ हजार तिर्ने गरेको छु, मेरो आम्दानी दिनप्रति दिन घट्दै गइरहेको बेला कसरी भाडा तिर्ने ?’ व्यवसायी खड्काले व्यवसायीलाई माथि उठाउन नेपाल सरकारले बैंकसँग सहकार्य गरेर बढेको ब्याजदर घटाइ दिने व्यवस्था गर्न आवश्यक रहेको बताए । साथै उनले आर्थिक मन्दि चलिरहेकै समयमा घरबेटीले पनि घर भाडा बढाउनुको साटो भाडा घटाइ दिए व्यवसायीलाई धेरै राहत हुने तर्क गरे। नेपालगञ्जका होटेल व्यवसायी मात्र नभई यहाँका साना ठूला सबै व्यापारी पनि बैंकले ऋण प्रवाह नगर्दा लगानी थप्न नसकेको भन्दै उनीहरू मर्कामा परेका छन् । नेपालगञ्जका मुख्य बजार क्षेत्रमा दिनप्रति दिन सटर खाली हुन थालेका छन् । कोभिड–१९ को मारमा परेका व्यापारी गत फागुन महिनादेखि यता झनै मारमा पर्न थालेका हुन् । गोदाम र पसलमा लाखौँका सामान स्टक छन् तर कारोबार ठप्प हुँदै गइरहेको हुनाले आफू मारमा परेको व्यापारी बताउँछन् । व्यापार सुक्दै गएपछि निकै सस्तो मूल्यमा पसल तथा रेस्टुरेण्ट बिक्री गर्न खोज्दा पनि किनीदिने मान्छे भेट्न नसकिएको गुनासो गर्दै होटल व्यवसायी रामु सेन्चुरी भन्छन्, ‘दुई वर्षदेखि होटल बेच्नका लागि ग्राहक खोज्दा पनि पाइएको छैन, अहिलेको समयमा पसल किन्ने ग्राहक भेटाउनु पनि ठूलो चमत्कारै हो जस्तो लाग्न थालेको छ ।’ यसै प्रसङ्गमा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले साना लगानीका व्यवसायीलाई दिने भनिएको कम ब्याजदरको ऋण पाउने कार्यविधिसमेत बन्न नसकेको बताए । कोभिड–१९ र त्यसपछि उत्पन्न भएको आर्थिक सङ्कटले नेपालगञ्जको अर्थतन्त्र धराशयी बनाएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । ‘लगानी नगरिरहेको बैंकले चर्को ब्याजदरसहित ऋण तिर्न ताकेता गरिरहन्छन् । यो कुराले हामी व्यापारी निकै नै मर्कामा परेका छौँ, व्यापार सुक्दै गएका बेला यस्तो कुरा झेल्नुभन्दा पसल नै बिक्री गर्न उचित लागेर धेरै व्यापारी विस्थापित भई सकेका छन्’, उनले बताए । सङ्घका महासचिव चीरञ्जीवी ओलीले सरकारका तर्फबाट मर्कामा परेका व्यवसायीलाई देखिने गरी कुनै राहत पुग्न नसकेको बताए। उनले व्यापारी मर्कामा पर्नुको कारण केवल बैंकको ब्याज तिर्न नसकेर मात्र नभई सरकारले पूँजीगत खर्चलाई द्रूत गतिमा अघि बढाउन नसकेको उल्लेख गरे । आर्थिक मन्दीकै कारण नेपालगञ्जमा २० प्रतिशत भाडाका सटर बन्द भएको उनको भनाइ छ । महासचिव ओलीले ‘आर्थिक ईको सिस्टम’ लाई चाँडोभन्दा चाँडो अघि बढाएर व्यापारीलाई राहत दिन सरकारलाई आग्रह गरे । नेपालगञ्जमा नौ हजारको हाराहरीमा व्यापारी रहेका छन् भने नवीकरण जम्मा १२ सयले मात्र गरेका छन् । रासस ।
नयाँ वर्षमा एनएमबि बैंकले ल्यायो सजिलो क्युआर कर्जा
काठमाडौं । एनएमबि बैंकले नयाँ बर्षमा एनएमबि सजिलो क्युआर कर्जाको शुरुवात गरेको छ । बैंकका अनुसार आर्टिफिसियल ईन्टेलिजेन्समा आधारित आन्तरीक प्रविधिको विकास गरी बैंकको क्युअार प्रणालीमा आवद्ध साना, मझौला तथा घरेलु उद्यमकाे कर्जा प्रदान गरिनेछ । साथै, आकश्मिक वित्तीयलाई ध्यानमा राखी २ लाख रुपैयाँसम्मको एनएमबि सजिलो क्युआर कर्जा प्रदान गरिने कम्पनीले जनाएकाे छ । अर्थतन्त्रमा वास्तविक रुपले विद्युतीय कर्जा प्रणालीको बिस्तार गर्ने, कर्जा प्रक्रियालाई सरलीकृत गर्ने र कर्जाको लागत कम गर्ने उदेश्यका साथ शुरु गरिएको यस कर्जाबाट ग्राहकहरुको ब्यवसायलाई आवश्यक आकश्मिक वित्तीय आवश्यक्ता पूरा गर्नेछ । साथै, बैंकले प्राथमिकतामा राखेको डिजिटाईजेशनको लक्ष्य प्राप्तिमा कोशेढुंङ्गा सावित हुने बिश्वास लिएको छ । एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
कोरियन पूर्वमन्त्री ली र कृषि विकास बैंकबीच छलफल, वैदेशिक लगानी बैंकमार्फत ल्याउने
काठमाडौं । दक्षिण कोरियन पूर्वमन्त्री डा. ली नाम की र एनआरएनएका अध्यक्ष विनोद कुँवरले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइयो) गोबिन्द गुरुङसँग विदेशी लगानी भित्राएर नेपालका विभिन्न क्षेत्रको विकास गर्ने बारे छलफल गरेका छन् । बिहिबार रामशाहपथस्थित बैंकको केन्द्रीय कार्यालयमा भएको छलफलमा सहकार्य गर्न सकिने आधार रहेको निष्कर्ष निकालेका छन् । गैर आवसीय नेपाली संघ (एनआरएनए) को पहलमा कोरियाका पूर्वमन्त्री डा. ली नेपालका सरकारी तथा नीजि आर्थिक क्षेत्रका निकायहरुसँग एक सातादेखि भेटघाट र छलफलमा रहेका छन् । कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसियसनका अध्यक्ष समेत रहेका डा. लीले बिहिबार सिईयो गुरुङसँग वैदेशीक लगानी कृषि विकास बैंकमार्फत परिचालन गर्नेबारे विशेष छलफल गरेका थिए । डा. लीले विशेष गरेर सर्वसाधारण आम नागरिकले सेवा र सुविधा प्राप्त गर्ने र सरकारी नियन्त्रण भएका परियोजनामा आफूहरुको लगानी गर्ने बताए । आफूहरुले हाइड्रो तथा सोलार पावर प्लान्ट, एयरपोर्ट, पब्लिक पोर्ट, अस्पताल तथा रिसर्च सेन्टर, विश्वविद्यालय, लजिस्टिक, मोनो रेल, राजमार्ग निर्माणका साथै आम जनताले प्रतयक्ष लाभ पाउने ठूला परियोजनामा लगानी गर्न इच्छुक रहेको बताए । जसमा न्यूनतम २० अर्बदेखि माथिको लगानी ल्याउन सक्ने तर लगानी पूर्ण सुरक्षाको सुनिश्चिता हुनुपर्ने आफ्नो मुख्य सर्त रहेको बताए । सिईयो गुरुङले आफू नेतृत्वको बैंकलाई लीले प्रस्ताव राखेजस्तै ठूलो रकमको आवश्यकता भएको तर कतिपय कानुनी तथा अन्तर्राष्ट्रि मौद्रीक नीतिका कारण केही जटिलता रहेको बताए । आफूहरुसँग ठूलाठूला आयोजनाहरु पाइपलाईनमा बसेको र लगानीको खोजिमा रहेको बताउँदै निकट भविश्यमा लगानी सुनिश्चिततासहित सहकार्य गर्नसकिने धारणा राखे । छलफलका क्रममा एनआरएनएका अध्यक्ष कुँवरले दक्षिण कोरियालगायताका विश्वका विकसित देशहरुले सुरुमा विदेशी लगानीको भरभूर सदुपयोग गरेको बताउँदै, नेपालले पनि त्यही गर्न सक्ने धारणा राखे । सो भेटघाटमा संघकी महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापा, चीफ फाइनान्स अफिसर प्रेमकुमार श्रेष्ठ, विजनेस क्रेडिट डिपार्टमेन्ट हेड सुदिपकुमार दाहाल र पीडी इन्जीनियरिङका डाइरेक्टर देब गुरुङले विदेशी लगानी ल्याएर नेपाली जनजीवन उकास्न सबैले कोशिष गर्नु पर्ने धारणा राखे ।