विकासन्युज

पर्यटकीय गतिविधि बढाउन चितवनमा प्याराग्लाइडिङ सुरु

चितवन । चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ । हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ सुरु गरिएको कम्पनीका अध्यक्ष विजयबहादुर घलेले जानकारी दिए । भरतपुर महानगरपालिका–२९ चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान थालिएको हो । यहाँ जङ्गल सफारीका लागि अत्यधिक पर्यटक आउने गरेका छन् । समुद्री सतहबाट एक हजार दुई सय मिटर अग्लो स्थानबाट उडान गर्न लागिएको हो । यसबारे तीन वर्ष अध्ययन गरिएको थियो । एक सय २० किलोभन्दा कम तौल भएको अवस्थामा मात्र प्याराग्लाइडिङ उडान भर्न सकिने उनले जानकारी दिए । चितवनको चौकीडाँडाबाट प्याराग्लाइडिङ उडान भरेर देवघाट गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारमा अवतरण गरिनेछ । कम्पनीका सञ्चालक शालिक दबाडीले पर्यटकका लागि नयाँ गन्तव्यको खोजी गर्ने क्रममा प्याराग्लाइडिङ सुरु गरिएको बताए। यस क्षेत्रमा निकट भविष्यमा रोप साइक्लिङ, बन्जीजम्पजस्ता गतिविधि गर्ने योजना रहेको उनको भनाइ छ । दबाडीले भने, ‘चौकीडाडाँमा चौकीडाँडा रिसोर्टसमेत निर्माण गरेर यहाँको पर्यटन प्रवद्र्धनमा काम गर्ने योजना छ ।’ कम्पनीले उडानका लागि कविलास डाँडाबाट समेत अनुमति पाएको छ । प्याराग्लाडिङ उडानका लागि प्रति व्यक्ति रु आठ हजार शुल्क तोकिएकामा हाललाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । दैनिक ४५ जनासम्मलाई उडाउन सकिने दबाडीको भनाइ छ । नेपाल प्याराग्लाइडिङ सङ्घका महासचिव शैलेन्द्र राउतले नागबेली सडक र त्रिशूली नदीमाथिको उडानले पर्यटक आकर्षित हुने बताए । प्याराग्लाइडिङ चालक सञ्जय गौतमले यहाँ उडानका लागि उपयुक्त हावा र स्थान रहेको बताए। नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट नौ किलोमिटर उत्तर र जुगेडीबाट पाँच किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जिल्ला आउने पर्यटकका लागि फरक अनुभव लिने गरी भरतपुरमा प्याराग्लाइडिङ सुरु भएको बताए । सबै खालका पर्यटक रमाउन सक्ने गरी भरतपुरमा पर्यटन प्रवद्र्धनको काम भइरहेको उनको भनाइ छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउन गइरहेको उल्लेख गर्दै उनले पर्यटकको बसाइ लम्ब्याउने किसिमका गतिविधि गर्न जरुरी रहेको बताए ।

जापानी प्रधानमन्त्रीमाथि स्मोक बमद्वारा आक्रमण

एजेन्सी । प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रमणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनाबी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् । प्रधानमन्त्रीमाथि कुनै चोटपटक नलागेको तथा उनलाई सुरक्षितरूपमा सकुशल कार्यक्रमस्थलबाट निकालिएको छ । प्रतिनिधिसभाको उपनिर्वाचनको समर्थन गर्ने कार्यक्रममा मन्तव्य व्यक्त गर्न मञ्चमा पुग्न लागेका प्रधानमन्त्रीमाथि आक्रमण भएको हो । आक्रमणको आशङ्कामा प्रहरीले घटनास्थलबाट एक जनालाई नियन्त्रणमा लिएको छ । यद्यपि प्रहरीले यसलाई पुष्टि गरे पनि थप जानकारी दिएको छैन । एक जना प्रत्यक्षदर्शीका अनुसार एक युवकले प्रधानमन्त्रीलाई लक्ष्य गर्दैै केही फ्याकेको देखेको तथा केही क्षण मै धुँवाको मुस्लो ठूलो आवाजमा त्यो वस्तु विष्फोट भएको थियो । बम विष्फोटपछि कार्यक्रमस्थलबाट सर्वसाधारण भागेका दृश्य एनएचकेको प्रसारणमा देखिन्छ ।

वर्षमान पुनको दाईको घरमा गोली चलाउने व्यक्ति उनकै छिमेकी आफन्त

काठमाडौं । शुक्रबार राति नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनको दाईको बालुवाटारस्थित घरमा गोली चलाउने व्यक्ति उनकै छिमेकी आफन्त भएको खुलेको छ । साथै उनी कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको समेत खुलेको छ । गोली चलाउँदा घाइले भएकी पुनको आमा तिर्थमाली पुनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने गोली चलाउने व्यक्ति प्रकाश पुनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

शताब्दी पुरुष जोशी पत्नीको निधन

काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको आज बिहान उपचारको क्रममा निधन भएको छ । सय वर्ष पुग्नुभएकी राधादेवीको शनिबार बिहान ललितपुरको किस्ट अस्पतालमा निधन भएको जोशीका भतिजा अजरमानले जानकारी दिनुभयो । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि चैत १६ गते किस्ट अस्पतालमा भर्ना गरिएको थियो । यसअघि असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको पनि किस्ट अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।

सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० हुँदै

काठमाडौं । सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा आगामी वैशाख ४ गतेदेखि कोशी प्रदेशबाट डिजिटल प्रदेश संवाद कार्यक्रम सुरू हुँदैछ । डिजिटल प्रदेश संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल हुनेछ । हरेक प्रदेशमा २ जना बिषय बिज्ञबाट कार्यपत्र प्रस्तुतिको कार्यक्रम रहेको छ भने प्रदेश सरकारका मन्त्रि र मुख्यमन्त्रिको सहभागितामा प्यानल सेसन संचालन हुनेछ । संवादमा सम्बन्धित प्रदेशको डिजिटल अवस्था, आगामी दिनमा लिनुपर्ने नीति तथा कार्ययोजना बारे पनि महत्त्वपूर्ण बहस हुने आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले जानकारी दिए । यस वर्ष ‘फोस्टरिङ डिजिटल्ली सक्षम प्रदेश’ नारा सहित आयोजना हुन लागेको संवाद कार्यक्रममा प्रदेश डिजिटल रुपान्तरणको कति सक्षम छ भन्ने बिषयमा केन्द्रित हुनेछ । गत वर्ष पनि आइसीटी फाउन्डेसन नेपालले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद आयोजना गरेको थियो । यस वर्ष पनि वैशाख ४ गते कोशी प्रदेशको राजधानी विराटनगरमा डिजिटल कोशी संवाद आयोजना हुनेछ । त्यस्तै वैशाख ६ गते मधेश प्रदेशको राजधानी जनकपुरमा डिजिटल मधेस संवाद र वैशाख ८ गते बागमती प्रदेशको राजधानी हेटौडामा डिजिटल बागमती संवाद आयोजना हुनेछ । त्यसपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बैशाखको अन्तिम साता डिजिटल प्रदेश संवाद हुने जनाइएको छ । यस वर्ष गण्डकी प्रदेशको पोखरामा प्रदेश संवादको समापन हुने आयोजकले जनाएको छ । सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित एक पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ । आयोजकले ग्रान्ड प्रोग्रामको रुपमा जुन तेस्रो साता काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना गर्ने जानकारी दिएको छ । गत वर्षदेखि प्रदेश सहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो । सातै प्रदेशमा आयोजना हुने कार्यक्रम र सहभागिताको लागि डिजिटल संवादको वेबसाइटमा गएर पनि हेर्न सकिनेछ । सहभागिताको लागि आफ्नो नाम दर्ता गरेमा निशुल्क सहभागी हुने अवसर प्राप्त हुनेछ ।

ढकमक्क अलकापुरी नगरी (फोटो फिचर)

काठमाडौं ।  आदिकवि भानुभक्त आचार्यले ‘आलकापुरी कान्तिपुरी नगरी’ कविता त्यसै लेखेका थिएनन् । उनले कान्तिपुर अर्थात अहिलेको काठमाडौंप्रति मोहित भएरै त्यो कविता लेखेका थिए । हो, त्यो कान्तिपुरले फेरि जवानीको रुप देखाएको छ । वसन्त ऋतुमा अलकापुरी नगरी ढकमक्क छ । धुँवाधुलो र प्रदूषण त छँदैछ तर त्यसमा वसन्त ऋतुका आगमनमा रंगीचंगी फूल र हरियालीले संघीय राजधानी काठमाडौंलाई मनमोहक बनाएको छ । काठमाडौं उपत्यकाका सडक किनारमा फुलेका फूलहरुले जो कोहीलाई पनि मोहित पार्छ । डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले । बोकी ल्यायो बकुल वनको वास मिठो हावाले ।। डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेँली । गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली ।। राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको यो वैशाख कविताको अंशले काठमाडौंको वैशाखको फूलैफूलको शहरलाई चरितार्थ गर्छ । नदीका किनार, सडकका छेउ, घरका प्रवेश द्वार, मठ मन्दिर जताततै फूलैफूलले ढाकेको छ । वसन्त ऋतु अर्थात् वनस्पतिहरूले काँचुली फेर्ने ऋतु । शिशिर र गृष्मबीचको यो ऋतुलाई ऋतुराज पनि भनिन्छ । काठमाडौंका सडक र किनारमा सवारी र पैदलयात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन् । अधिकांश वनस्पतिहरूले पाउला फेर्ने भएकाले यो ऋतु हरियाली त हुन्छ नै ढकमक्क फुलेको फूलहरूले झनै सौन्दर्य बढाउँछ । वसन्त ऋतुको शुरुवात भएसँगै यतिखेर राजधानी पनि परिवर्तन भएको भान हुन्छ । सडकको वरिपरि रहेको चेरी र आरु ढकमक्क फुलेर सडकको सौन्दर्यता बढाएको छ । राजधानी काठमाडौंका सडक पेटीमा फुलेका चेरी र आरु फूलको दृश्यले कम आनन्द महशुस हुँदैन । सडकमा हिँड्ने यात्रु लोभ लाग्दा फूलहरुसँग रमाइरहेका हुन्छन् । काठमाडौंका सडकहरुमा यतिबेला विभिन्न प्रजातिका फूलहरु फुलेका छन् । यसले पदयात्रीलाई थप आनन्दित बनाएको छ । तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल

प्रवासी नेपालीले आँफै बसेको देशबाट मतदान गर्न पाउने व्यवस्था गरिन्छ – प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई आँफै बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको शुक्रवार भएको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘यसबाट लाखौं प्रवासी नेपालीहरु लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुपर्दैन ।’ प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए । ‘बैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई पुग्ने संकलन हुनु आफैंमा अर्थतन्त्र सुधारको संकेत हो’, उनले भने । उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आवद्धता श्रमिकको सुरक्षा भएको बताए । उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताए । उनले भने, ‘संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी हो । हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ग्यारेन्टी गर्ने चुनौति छ, अर्थतन्त्रमा परेको अप्ठ्यारो अहिलेको होइन, पहिले देखि नै हो, यसमा म आएपछि सुधार भइरहेको छ, नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक संकेत देखियो, संचिति बढेको छ । राजश्व संकलनमा उल्लेखित सुधार भएको छ । बैंकको ब्याज दरमा सुधार गर्न मेरो पहलमा ब्याज घट्ने क्रम सुरु भएको छ ।

सजिलो इभी फाइनान्सिको लागि बिवाइडी र एनएमबि बीच सम्झौता

काठमाडौं । बिवाईडी अटो इन्डष्ट्रीज कम्पनी लिमिटेडको नेपाल स्थित आधिकारिक बिक्रेता साईमेक्स इंक प्रा.लि. ले विद्युतीय सवारीका लागि एनएमबि बैंक संग रणनीतिक बैंक वित्तिय सम्झौताको घोषणा गरेको छ । यो साझेदारीले नेपाली उपभोक्ताहरुलाई प्रतिस्पर्धी वित्तीय विकल्पहरु प्रदान गरेर बिवाइडीका इभी गाडी खरिद गर्न सजिलो बनाउने लक्ष्य राखेको छ । साइमेक्स इंक प्रा.लि. का प्रबन्ध निर्देशक यमुना श्रेष्ठ भन्छिन् ‘विश्वभरका मानिसहरुलाई दिगो र किफायती यातायात समाधानहरु प्रदान गर्न प्रतिबद्ध छ । एनएमबि बैंकसँगको यो साझेदारीले हामीलाई बिद्युतीय सवारीलाई नेपालमा उपभोक्ताहरु माझ थप पहुँचयोग्य बनाउँन मद्दत गर्नेछ ।’ बिवाइडी बिभिन्न मोडलहरुका विद्युतीय सवारी साधनहरु उत्पादन गर्ने अग्रणी बिश्वव्यापी निर्माता हो । यसका विद्युतीय सवारी साधनहरु विश्वसनीयता, सुरक्षा र कार्यसम्पादनका लागि परिचित छन । नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागसँगै यस साझेदारीले दिगो तथा गतिशिल समाधानहरु अपनाउन प्रवद्धृन गर्न मद्दत गर्नेछ । एनएमबि बैंकले ५ वर्षसम्मका लागि १२.४९ प्रतिशत निश्चित दरमा अनी त्यसपछि २ वर्षसम्म सामान्य दरमा ८० प्रतिशत इभी फाइनान्सिङ गर्ने भएको छ । साईमेक्सले नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी अट्टो थ्री ( रु ६४.९० लाख), नेपालमा सबैभन्दा लामो रेन्ज प्रदान गर्ने बिवाइडी अल–इ न्यू सिक्स (रु. ५९ लाख) मा बजारमा उपलब्ध गराउँदैछ । केवल २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकहरुले अब भर्खरै लन्च गरिएको नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी अट्टो थ्री रु. १२.९८ लाख र बिवाइडी अल–इ न्यू सिक्स मात्र रु ११.८० लाखमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।