विकासन्युज

रविले चुनाव हार्छन्, नक्कली राष्ट्रवाद र अवसरवादी चरित्रबाट चितवन-२ मुक्त हुन्छ : नेता बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले निर्वाचन हार्ने दावी गरेका छन् । लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको जिकीर थियो । शनिबार काठमाडांैमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको पनि बताए । नेता बस्नेतले युवा र लोकप्रिय भएकाले सो निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढि रहेको समेत बताए । सो चुनावमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुने उनको बुझाई थियो । नेता बस्नेतले भने, ‘चितवन २ का जनताले यो नक्कली राष्ट्रवाद, यो अवसरवादी चरित्र, यो पब्लिक कम्जवसन्शनका लागि गरिने कुराहरुबाट चितवन २ मुक्त हुुन्छ, त्यहाँ नेकपा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुुन्छ, र, रविजी त्यसलाई पछ्याउनु हुन्छ । सम्भव हिजो कृष्णभक्त पोखरेलले राम्रो काम गरेको हुनाले र आज रामप्रसाद न्यौपाने एउटा नयाँ युवाहरुको बीचमा पपुलर व्यक्ति हामीले उठाएका छौं, त्यस अनुसार युवाहरुलाई राजनीतिमा ल्याउनु पर्छ भन्ने मान्यता पनि छ, उहाँको सम्भावना निकै बलियो छ, कमजोर छैन भन्ने मलाई लाग्दछ, चितवनका जनताले रविजीलाई जिताउदैनन् ।’

सरकारले महाविपत्तिमा झैं काम गर्नुपर्छ, ३/४ महिनामा देश सम्हालिन्छ : महामन्त्री थापा

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् । नेपाली काँग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महशुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे । ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस्, चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस्, चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस्, उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ, संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनु पर्दछ, ऊसलाई भ्याईनभ्याई हुनु पर्दछ, त्यो अप्ठ्यारो उसले महशुस गर्न सक्नु पर्दछ, अनिमात्रै परिणाम दिन सकिन्छ, यो सरकारमा बस्ने साथीहरुले गर्ने काम हो, हामी अहिले सरकारमा छौं’, महामन्त्री थापाले भने । महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो । सरकारले राम्रो काम गर्दै गए ३/४ महिना भित्रै मुलुक सम्हालिँदै जाने उनको भनाई थियो । उनले भने, ‘काँग्रेस सरकारमा छ, तपाई हामी सबैले मेहनत गरेर निर्वाचित भएर प्रदेशको सरकारमा, संघको सरकारमा पुगेका छौं, यहाँ बसेर हामीले परिणाम दिने हो, यसमा हामीले ठिक ढंगले काम गर्न सक्यौ भने अवको ३/४ महिना भित्रमा फेरी देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन, स्थिति ठिक छैन, असहज छ, राम्रोसँग सम्हालेनौ भने बिग्रदै जान्छ । ठिक ढंगले सुझबुझपूर्ण ढंगले सम्हाल्दै गयौ भने फेरी सम्हालिँदै जान्छ ।’ महामन्त्री थापाले २०८० सालमा नेपाली काँग्रेसलाई सुद्धिकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताए । उनले २०८० सालको जेष्ठ अन्तिम साता नेपाली काँग्रेसको नीति अधिवेशन हुने तयारी भईरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदुढीकरण र सुद्धिकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले भने, ‘मेरो खाली तपाईहरुलाई यति मात्रै आग्रह हो–कि अहिले पुरानो जति सडेगलेको, नयाँ जति राम्रो भन्ने भ्रमपूर्ण नाराका साथमा जुन खालको गिजोल्ने प्रयास नेपालको राजनीति र नेपाली समाजमा भईरहेको छ, २०८० साललाई निर्वाचन प्रणालीमा सुधारका लागि बहस सुरु गरौं, हामी जेष्ठको अन्तिम साता दिन काँग्रेसको नीति सम्मेलन गर्ने तयारी गर्दैछौं, त्यसमा व्यापक रुपमा छलफल गरौं र, यो साललाई काँग्रेसको सुद्धिकरण र काँग्रेसको सुदृढीकरणको लागि प्रयोग गरौं ।’ महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए ।

बिटक्वाइनको मूल्यमा भारी उछाल, ३० हजार डलर नाघ्यो

एजेन्सी । लामो समयसम्म ओरालो लागेको बिटक्वाइनको मूल्यमा पछिल्लो समय भारी उछाल देखिएको छ । केही अमेरिकी बैंकहरुमा देखिएको संकटसँगै उकालो लागेको बिटक्वाइनको यात्रा शनिबार ३० हजार चार सय ६६ डलर पुगेको छ । अमेरिकी फेडरल रिजर्बले बैंकिङ ब्याजदर वृद्धिको प्रकृयालाई रोक्ने अनुमान गरिएकोले लगानीकर्ताहरुले जोखिमपूर्ण क्षेत्रमा लगानी गर्न थालेका छन् । सोही कारणले बिटक्वाइनको पछिल्लो समय खरिद बिक्री बढ्दा मूल्य बढेर ३० हजार डलर नाघेको हो । शुक्रबार जारी गरिएको अमेरिकी ननफार्म पेरोल रिपोर्टले अमेरिकी अर्थतन्त्रमा अझै धेरै लचिलो अवस्था रहेको संकेत गरेको छ । पछिल्लो महिनामा देखिएको बैंकिङ संकटलाई लिएर ब्याजदरमा फेडरल रिजर्ब बैंक नरम बन्न सक्ने अनुमान गर्दै लगानीकर्ताहरु क्रिप्टोतर्फ आकर्षित भएका हुन् ।

बिस्केट जात्रामा सिन्दुरले रङ्गियो मध्यपुरथिमि

भक्तपुर । हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर टोल–टोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भीडमा रमाएका देखिन्थे । आज मध्यपुरथिमिका बासिन्दालेसुथसिया अर्थात् बिहानीको जात्रा हर्षोल्लासपूर्वक मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोल–टोलका देवता विराजमान खट जात्रा गरी टोल–टोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणमा २६ देवी–देवता विराजमान खटलाई ल्याएर मन्दिरको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा नाच्दै, अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् । थिमिमा मात्र मनाइने यो जात्रामा एक–अर्कालाई सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजामा नाच्दै हात–हातमा चिराग बाल्दै खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्यरूपमा मनाउने परम्परा छ । केही वर्षयता भने २६ खटमात्रै जात्रामा सहभागी हुने गरेका छन् । जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको हो । जात्रा सुरु भएपछि पमाहरू हात–हातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीको खट ल्याएर जात्रा मनाइएको छ । थिमिमा ३२ खट सहभागी रथ बोकेर गराई परम्परागतरूपमा मनाउने गरिन्छ । अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक स्थानमा खट जात्राका साथ सिन्दुर जात्रा मनाइएको छ । यसमा थिमिको बालकुमारी, दक्षिण बाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोल–टोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ । जात्रामा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन रहेको छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक–अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले यसलाई सिन्दुर जात्रा पनि भनिएको हो । बालकुमारीबाट परम्परागतरूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिएको थियो । परम्पराअनुसार देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ । अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ । यस वर्ष वैशाख २ गते शनिबार परेकाले यहाँको खटसहितको जात्रालाई शङ्खधर चोक हुँदै सूर्यविनायक नगरपालिका–५ स्थित दक्षिण बाराही मन्दिरमा समेत लगिएको छ । धेरै वर्षपछि वैशाख २ गते शनिबार परेकाले जात्रालाई दक्षिण बाराही मन्दिर लगेर परिक्रमा गरेर फर्काइएको मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। वैशाख २ गते शनिबार पर्दा कुनै निष्ट नहोस् भनेर दक्षिण बाराहीमा समेत जात्रा लगिने परम्परा रहेको स्थानीय बताउँछन् । आजको जात्रा मध्याह्नसम्म चल्ने र यो जात्रा समापन भएपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । जात्राको कांग्रेस नेता प्रकाशमान सिंह, इन्द्र बानियाँ र पार्टीका जिल्ला सभापति दुर्लभ थापा, माओवादी केन्द्रका नेता लीलामणि पोखरले, शशि श्रेष्ठ, देवेन्द्र श्रेष्ठ र डिपी ढकाल तथा विभिन्न नगरपालिकाका नगरप्रमुख एवं उपप्रमुख, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले अवलोकन गरेका थिए । रासस ।

पोखराका होटलमा ९० प्रतिशत पर्यटक, व्यवसायी खुसी

पोखरा । नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरा र आसपास गरी यहाँ ठूला–साना गरी लगभग एक हजार दुई सय होटल सञ्चालनमा छन् । उनले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको उनले बताए । ‘नयाँ वर्षका कारण यतिखेर लेकसाइडका होटल लगभग शतप्रतिशत भरिएका छन्’, उनले भने, ‘लेकसाइडमात्र नभई पोखरा र आसपासका होटलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ ।’ नयाँ वर्षको अघिल्लो दिन चैत ३० गते र वैशाख १ गते लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए। नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल वर्षेनी बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।

नेपाल वायुसेवा निगमले भैरहवाबाट दिल्ली र क्वालालम्पुर उडान गर्ने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भैरहवाबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान सञ्चालन गर्ने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमले आगामी जेठ दोस्रो सातादेखि ती दुवै गन्तव्यमा नियमित उडानको तयारी गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुर सिधा उडानका लागि प्रक्रिया सुरु गरिएको छ । त्यस प्रयोजनका निम्ति दुवै मुलुकसँग उडान अनुमतिको आवश्यक प्रक्रिया अगाडि बढाइएको हो । उनले जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी, बजारीकरणलगायत कार्यलाई तीव्रता दिई कर्यप्रारम्भ गरिएको उल्लेख गरे । दुवै गन्तव्यमा सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढाइएको र बजारको मागअनुसार उडान बढाउँदै लगिने प्रवक्ता पौडेलले बताए । ‘दुई मुलुक र इनरुट पर्ने आवश्यक उडान अनुमतिका निवेदन दिइसकेका छौँ, अनुमति आउनासाथ बुकिङ खुला गरिनेछ’, उनले भने । भैरहवाबाट उडानका लागि निगमका वाणिज्य विभागका उपनिर्देशक सन्तोष पाण्डेको नेतृत्वमा स्पेशल टास्क फोर्स गठन गरिएको छ । निगमले हाल दुवै गन्तव्यमा काठमाडौँबाट भने नियमित उडान गरिरहेको छ । नेपालको विश्वप्रसिद्ध गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने गरी निगमको उडान सेवा सुरु भएपछि लुम्बिनी भ्रमणमा आउने बौद्धमार्गी यात्रुहरूलाई थप आकर्षित गर्न विशेष प्याकेजको व्यवस्था गरिने निगमले जनाएको छ । विसं २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको थियो । यो विमानस्थल भएर बौद्ध धमावलम्बीको बाहुल्यता भएका मुलुकहरू श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, कम्बोडिया, भियतनाम, लाओसलगायत मुलुकमा हवाई सञ्जाल विस्तार गरी ती मुलुकबाट बढीभन्दा बढी पर्यटक आकर्षण हुने अपेक्षा गरिएको थियो । उक्त विमानस्थलबाट अहिले अन्तर्राष्ट्रियतर्फ कुवेतको जजिरा एयरले उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले अघिल्लो वर्ष छोटो समय चार्टर्ड उडान गरेको थियो । भैरहवामा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सले उडानका लागि चासो देखाए पनि उडान सञ्चालन हुनसकेको छैन । रासस ।

एक जोर जुत्ताको मूल्य २८ करोड

एजेन्सी । सायद तपाईंले नेपाली बजारमा झण्डै पाँच सय रुपैयाँदेखि २०/२५ हजार रुपैयाँ सम्म पर्ने जुत्ताहरु देख्नुभएको छ होला । तर, विश्वमा एक जोर यस्तो जुत्ता छ, जसको मूल्य नेपाली २८ करोड पर्छ । यो कुनै सामान्य जुत्ता होइन, यसलाई विशेष व्यक्तिले मात्रै लगाउने गर्छन् । यो जुत्ता बास्केटबलका महान खेलाडी माइकल जोर्डनको हो, उनले सन् १९९८ भएको एनबीएको फाइनल खेलमा यो जुत्ता लगाएका थिए । अहिले यो जुत्तालाई लिलामी बिक्रीमा राखिएको छ । सो क्रममा यो जुत्ताको मूल्य २.२ मिलियन डलर सम्म पुगेको थियो । बिबिसीबाट ।

व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरणको उमेर बढाइयो

एजेन्सी । व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ । राष्ट्रपति इमानुएल म्याक्रोँले निवृत्तिभरण प्राप्तिको उमेर वृद्धिसम्बन्धी कानुनमा आज बिहान हस्ताक्षर गरेसँगै त्यो आगामी सेप्टेम्बरदेखि लागू हुनेछ । देशको शीर्ष संवैधानिक परिषद्ले पेन्सन पाउने उमेर ६४ वर्ष हुनुपर्ने प्रस्तावित कानुनलाई अनुमोदन गरेको केही घण्टामै राष्ट्रपतिले त्यसमा हस्ताक्षर गरेका हुन्। उनले विद्यमान निवृत्तिभरण प्रणालीलाई ध्वस्त हुनबाट जोगाउन त्यसमा सुधार गरिएको बताएका छन् । परिषद्ले जनमत सङ्ग्रहका लागि विपक्षीबाट भएको मागलाई अस्वीकार गरे पनि प्रस्तावित कानुनका केही त्रुटी औँल्याएको छ । परिषद्को निर्णयप्रति असहमति जनाउँदै प्रदर्शनककारीले आगो बालेर विरोध गरेका छन् । प्रहरीले एक सय १२ जनालाई पक्राउ गरेको छ । पेन्सन सुधार योजनाविरुद्ध देशका विभिन्न भागमा १२ दिनसम्म प्रदर्शन भएका थिए । कर्मचारी युनियनहरूले विरोधका कार्यक्रमलाई निरन्तरता दिने बताउँदै यही वैशाख १८ गते अर्थात् मे दिवसका दिन सडकमा आउन मजदुरहरूलाई आह्वान गरेका छन् ।