विकासन्युज

नववर्ष २०८० मा लुकेका अपराधीको भण्डाफोर हुने

काठमाडौं । आजदेखि नववर्ष २०८० सुरुआत भएको छ । यो वर्ष ज्योतिष शास्त्रअनुसार कस्तो हुन्छ भनी यसका विज्ञसँग गरिएको प्रश्नका आधारमा तयार पारिएको सामग्री यहाँ प्रस्तुत गरिएको छ । नववर्ष २०८० मा राजनीतिक क्षेत्रमा असहिष्णुता र उग्रता बढ्ने ग्रहयोग देखिएको वाल्मीकि विद्यापीठ फलित ज्योतिषका सहप्राध्यापक डा माधवप्रसाद पाण्डेय बताउँछन् । प्रतिस्पर्धात्मक राजनीतिमा मात्र नभई राज्य व्यवस्था सञ्चालनमा समेत असहिष्णु र उग्र प्रवृत्ति देखा पर्ने भएको छ । नयाँ वर्षको पहिलो महिना वैशाखमा केही कठोर एवं अलोकप्रिय निर्णयको ग्रहयोग देखिएको उनले बताए । ‘यस्ता निर्णय राष्ट्रको दूरगामी हितका दृष्टिले आवश्यक पनि ठानिएला, आर्थिक वर्षको अन्त्य सम्ममा केही सकारात्मक परिणाम पनि देखा पर्छ, नयाँ आर्थिक वर्षको सुरूआतसँगै अस्तव्यस्तताको स्थिति आउने सम्भावना छ, राष्ट्रप्रमुख एवं सरकारप्रमुख दुवैले असमञ्जस्यता, अलमल र असहज परिस्थितिको सामना गर्नुपर्ने ग्रहयोग देखिन्छ’, उनले भने । भदौ महिनादेखि सरकारको सबैभन्दा ठूलो घटक दलको नेतालाई तुलनात्मकरूपमा सहज परिस्थिति निर्माण हुनेछ । प्रतिपक्षका लागि पुससम्मै विग्रह र आन्तरिक फुटको अवस्थाको ग्रहयोग देखिएको छ । राजनीतिक अस्थिरता र किचलो नै यो वर्षको विशेषता हुने भएको छ । नेपाल राष्ट्र र सरकार प्रमुख दुवै अत्यधिक दबाबमा रहनेछ । दृश्य अदृश्य विदेशी चलखेल र दबाब बढ्ने ग्रहगोचरीय अवस्था छ । नयाँ रोगव्याधीका कारण जनस्वास्थ्यमा समस्या देखिने अवस्था छ । नेपाली आकाश थप असुरक्षित रहेको अनुभूति हुने योग यो वर्ष पनि देखिएको ज्योतिषी पाण्डेय फलित शास्त्रीय विश्लेषण छ । अनावृष्टिका कारण दुर्भिक्षका लक्षणसमेत देखिन सक्ने ग्रहयोग २०८० सालमा देखिएको छ । लुकेका अपराधीको भण्डाफोर हुने वर्ष ज्योतिषी पोखरेलका अनुसार यो वर्षभरि हरेक धार्मिक कार्यमा उच्चारण गरिने पिङ्गल संवत्सर एकादश युगको पहिलो संवत्सर हो । वृष्टिः समाद्ये प्रमुखे अर्थात् यो वर्ष परेको संवत्सर नामक वर्षमा सम वृष्टि हुन्छ अर्थात् वर्षा न कम, न ज्यादा, आवश्यकतानुसार हुने ज्योतिष एवं वास्तुविद् शिव पोखरेल बताउँनुछन् । संवत्सरको स्वामी देवता अग्नि भएकाले वर्षभरि जनमानसले अग्नि देवताको पूजा वा यज्ञ गर्नाले सम्पत्ति सुख समृद्धि हुने वेदमा उल्लेख गरिएको छ । प्रभवादि ६० संवत्सरमध्ये यो पटक परेको पिङ्गल संवत्सरमा गाईआदि दूधारु पशुहरुको हानी, वाहनहरुको नाश, कम वर्षा र शासकहरुमा अचानक सङ्कट उपस्थित हुनाले द्वन्द हुने योग देखिएको उनी बताउँछन् । संवत्सरको अगाडि यदि बृहस्पति राम्रो राशिमा गोचर गरिरहेको छ, अस्त छैन, स्वच्छ विम्बवाला छ, कुनै ग्रहका साथ युति विशेषतया गूढ युति नगरेको छ र बलवान् सुस्थित ग्रहबाट दृष्ट छ भने भनिएका शुभ फल अधिक मात्रामा हुन्छ र अशुभ फल सीमित नै रहन्छ । यसको विपरीत स्थिति हुँदा अशुभता धेरै बढ्न सक्ने मानिने ज्योतिषी पोखरेलको भनाइ छ । यो वर्ष वैशाख ९ गते बृहस्पति रेवतीबाट अश्विनी नक्षत्रमा तथा मिनबाट मेषमा सर्ने र वैशाख १९ गते अश्विनी नक्षत्रमा उदय हुन्छ । वैशाख ९ गतेदेखि कात्तिक १३ गतेसम्म आकाश मण्डलमा राहु बृहस्पतिको युतिद्वारा चाण्डाल योगको सृजना भएको देखिनु शुभ होइन । गएको वर्ष २०७९ सालमा शनि राजा भए पनि पूरै वर्षभरि नै बृहस्पति शुभ मानिने आफ्नो स्वराशि मीनमा भ्रमण गरिरहेको अवस्था थियो । यसले सकारात्मक फल दिएको थियो । यस वर्ष संवत्सरमुख मङ्गलबार परेको हुनाले दुर्घटनाहरू हुन सक्छन् भनेर ज्योतिष शास्त्रका ग्रन्थमा सङ्केत गरिएको छ । यो पटक बृहस्पति उदय हुँदा र संवत्सर परिवर्तन हुँदा पनि संवत्सर पुरुषको खास अङ्गहरु मानिने नक्षत्रमा कुनै पनि पापग्रहको भ्रमण नहुनु यो वर्षका लागि शुभ प्रभाव मान्न सकिन्छ । विगतका वर्षमा संवत्सर पुरुषको खास अङ्गमा अशुभ फलदायक मानिने ग्रहले भ्रमण गरेको अवस्था थियो । बुध राजा भएको वर्ष मायावी, ढोंगी, पाखण्डी, ठग र छलकपट गर्ने मानिसको हाउभाउ रहन्छ । अनौठो कर्म गर्ने, गायन विद्यामा निपूर्ण, नागरिक जन, चित्रकार र लेखकको वृद्धि हुन्छ । गणितवेत्ता र युद्ध कुशल व्यक्तिहरू उन्नति गर्दछन् । राष्ट्र प्रमुखको व्यवहारमा परस्पर अनपेक्षित परिवर्तन आउने हुन्छ । वार्ताकारहरू संवाददाता, पत्रकारको वृद्धि, पशुपाल, कृषि र व्यापारको वृद्धि हुन्छ । वेदहरूको प्रचार हुन्छ,कानूनको यथासम्भव पालना हुन्छ, धार्मिक कानूनको पालना गरिन्छ । अध्यात्मविद्या र योगविद्याको प्रचार, दण्डनीति, तर्कशास्त्रको पनि प्रचार हुन्छ । विदग्ध, सभा चतुर, हास्यप्रिय व्यक्तिहरू अभिनेताहरू दूतहरू, कविहरू, विद्वान, बालक, नपुंसक, तकनीकी विशेषज्ञ, ठूला पुलको नजिक बसोबास गर्ने र पर्वतीय व्यक्तिको हृदयमा विशेष सन्तुष्टि रहने हुन्छ । नयाँ–नयाँ औषधिको खोजी हुन्छ । भारतीय विद्वान् ज्योतिषाचार्य डा सुरेशचन्द्र मिश्रको संवत्सर संहितामा उल्लेख भएअनुसार बुध राजा भएको वर्ष लुकेका अपराधीको भण्डाफोर हुन्छ । गीतकार, सङगीतकार, अभिनेता, विद्वान्को गैरकानुनी गतिविधिको खुलासा हुने उनी बताउँछन् । असार १६ गतेदेखि भदौ १ गतेसम्म शनि र मङ्गल आमुन्नेसामुन्ने १८० डिग्रीको अन्तरमा परस्पर पूर्ण दृष्टिमा रहेका छन् । भदौ १ गतेदेखि मङ्गलको अष्टम पूर्ण दृष्टि राहुमाथि तथा असोज १६ गतेदेखि कात्तिक १३ गतेसम्म मङ्गल र राहु आमुन्ने सामुन्ने १८० डिग्रीको अन्तरमा परस्पर पूर्ण दृष्टिमा रहेर अङ्गारक योगको सिर्जना भएको छ । विसं २०८० को चैत महिनाभरि मीन राशिमा राहु र सूर्यको सहयुति तथा कुम्भ राशिमा शनि र मङ्गलको सहयुति भएको देखिने हुनाले चैतमा पूरै विश्वको विभिन्न देशहरूमा सङ्घर्षमय अवस्था रहन सक्छ । अर्को वर्ष मङ्गल राजा एवं शनि मन्त्री हुनाले २०८१ सालको सुरूमै पनि त्यति राम्रो ग्रहयोग नरहेको ज्योतिषी पोखरेल बताउँछन् । रासस

राष्ट्रपतिद्वारा सात सय २८ मानपदवी प्रदान

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका सात सय २८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले एक जनालाई नेपाल रत्न, तीन जनालाई राष्ट्र गौरव, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, १४ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री, १६ जना सुकीर्तिमय राष्ट्रदीप, एक सय ६५ जनालाई सुप्रबल जनसेवाश्री, छ जनालाई कीर्तिमय राष्ट्रदीप, तीन सय १६ जनालाई प्रवल जनसेवाश्री, एक जनालाई राष्ट्रदीप र दुई सय पाँच जनालाई जनसेवाश्री प्रदान गरे । राष्ट्रपति पौडेलले नेपाल रत्न पूर्वप्रधानमन्त्री स्व कोइरालालाई प्रदान गरे । राष्ट्र गौरव राजनीतिज्ञ स्व जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् स्व सत्यमोहन जोशीलाई प्रदान गरे । सुप्रसिद्ध प्रबल जनसेवाश्री डा जगमान गुरुङलाई प्रदान गरियो । समारोहमा व्यवसायी, संस्कृतिविद्, कलाकार, पत्रकार, समाजसेवी, खेलाडी, प्रशिक्षक, निजामती, जङ्गी, चिकित्सक, विदेशी नागरिकलगायतलाई मानपदवी प्रदान गरिएको मन्त्रिपषिद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असोज ३ गते संविधान दिवसका दिन उक्त विभूषणको घोषणा गरेका थिए । नेपालको संविधानको धारा २७७ को उपधारा १ मा राष्ट्रपतिले राज्यका तर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्ने उल्लेख छ । रासस

नयाँ विमानथलहरूको सञ्चालन, सयौँ विमान खरिदसँगै भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश

एजेन्सी । नयाँ विमानथलहरूको सञ्चालन, विमान कम्पनीहरूबाट एकैपटक सयौँ विमान खरिदको ‘अर्डर’, लाखौँ यात्रीको भारतीय विमानस्थलबाट दैनिक आगमन एवम् प्रस्थानसँगै उड्डयन उद्योगको विस्तार, बढ्दो विश्वसनीयता र प्रतिष्ठाले भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश गरेको छ । नयाँ विमानस्थलहरू द्रुत गतिमा उद्घाटन भइरहेका छन्भने एयरलाइन्सहरूले सयौँ को सङ्ख्यामा विमानहरू अर्डर गरिरहेका छन् । नागरिक उड्डयनको। क्षेत्रमा भएको यो विस्तारले भारत विश्वकै अग्रणी उड्डयन केन्द्र बन्न तयार भएको देखाएको छ जसले देशको गौरव र गरिमालाई पनि बढाएको छ । कुनै देशको हवाई यात्रुको मात्रा र चापलाई त्यसको अर्थतन्त्रको स्वास्थ्यको अनौपचारिक मापनका साथै त्यो देशका नागरिकको क्रयशक्तिको प्रतिबिम्बको रूपमा लिन सकिन्छ । धेरैभन्दा धेरै यात्रीको पहिलो रोजाइ विमान बनिदिँदा त्यो देशको बलियो अर्थव्यवस्थालाई सङ्केत गर्छ । भारतको सुदृढ आर्थिक आधार र नीतिका कारण यो सम्भव भएको हो । बिस्तारै उठेको उड्डयन क्षेत्रले अहिले गतिमात्र लिएको छैन उच्चतम उचाइमा उडान गरिरहेको छ । देशको उड्डयन क्षेत्रमा अचानका भएको वृद्धि र यात्रीको चापलाई दृष्टिगत गरी टाटा सन्सको नेतृत्वमा एयर इन्डियाले गत महिना चार सय ७० वटा बोइङ र एयरबस विमान खरिदका ऐतिहासिक सम्झौता गर्नुले भारत अब उड्डयनको स्वर्ण युगतर्फ उन्मुख भएको देखाउँछ । झण्डै एक सय अर्ब अमेरिकी डलरको यो सम्झौतामा आर्थिक उन्नयनको दिशामा उकालोतिर लम्केको भारतलाई देखाएको छ भने विश्वभरका यात्रीका आवश्यकता पूरा गर्ने बृहत् विमानका विस्तृत शृङ्खलालाई समावेश गरेको छ । बोइङ र एयरस्पेससँगको ती सम्झौताले भारतको आर्थिक विकासलाई सुपरिचत गराएको छ किनकी यसअघि विश्व नागरिक उड्डयनको क्षेत्रमा यति ठूला सम्झौता भएका थिएनन् । एयर इन्डिया र बोइङबीच भएका सम्झौतालाई अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइस अमेरिकी अर्थतन्त्र र आफ्नो देशका कामदारका लागि मात्र नभई भारतका जनताका लागि पनि अवसर भएको बताउँछन् । अमेरिका र भारतबीच साझा हित र मूल्यमा आधारित सुदृढ आर्थिक सम्बन्धलाई एयर इन्डिया र बोइङबीचको सम्झौताले अझ सबल एवम् सुदृढ बनाएको उनी बताउँछन् । भारत हवाई सेवाको उदीयमान बजारमा विस्तारै रुपान्तरण भइरहेको छ । यसलाई सबैले आशावादी भएर हेरेका छन् । कोरोना महामारीपछि पनि केही सुस्ताएको उड्डयन बजार पुनः गतिशील भएको छ । गतवर्षदेखि गति लिएको उड्डयन क्षेत्रमा अघिल्लो वर्षको तुलनामा सन् २०२० र २०२१ को तुलानामा गत वर्ष ४३ प्रतिशत अर्थात् १२ करोड ३० लाखले हवाई यात्रा गरेका थिए । बजार तथा उपभोक्ता तथ्याङ्क विशेषज्ञ ‘स्ट्याटिस्टा’ ले आर्थिक वर्ष २०२२ मा भारतीय विमानस्थलबाट २२ करोड अन्तर्राष्ट्रिय यात्री आफ्ना गन्तव्यमा गएका अभिलेख राखेको छ । भारतमा करिब चारसय विमानस्थल र एयर स्ट्रिप छन् । तीमध्ये सन् २०२२ को अन्त्यमा सञ्चालनमा आएका हुन् । भारतीय उड्डयन क्षेत्रले सामान्य रूपमा भारतीय आर्थिक वृद्धिसँग समानान्तर हुने प्रक्षेपण गरिएको छ । जुन आगामी एक दशकमा प्रमुख विश्व अर्थतन्त्रहरूमध्ये सबैभन्दा द्रुत गतिमा बढ्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि हालै संसालाई नै पछि पार्दै भारत दिगो आर्थिक विकासको मार्गमा अघि बढ्ने प्रक्षेपण गरको छ । हवाई भाडा घटाउने, बजेट एयरलाइन्सको फ्लीटमा द्रुत विस्तार र भारतमा लगातार बढ्दो मध्यम आय समूहजस्ता सरकारका सक्रिय उपायहरूले भारतीय उड्डयन क्षेत्रको सफलतामा ठूलो योगदान गरेको छ । उदार उड्डयन नीतिका कारण भारत विश्वको सबैभन्दा सस्तो हवाई बजारको पनि बनेको छ । खाडी राष्ट्रका विमान कम्पनीले जमाएको प्रभुत्व भारतीय वायु सेवाले चुनौती दिने विशेषज्ञहरूको ठम्म्याइ छ । उनीहरूका अनुसार भारतीय विमान अब विश्वव्यापी रूपमा सबैभन्दा मनपर्ने वाहक बन्न सक्छन् । हरेक दिन एक हजार आठ सय उडान गर्ने सबैभन्दा ठूलो आन्तरिक वायुसेवा कम्पनी इन्डिगोले पनि आफ्नो फ्लीटमा नयाँ विमान ल्याउने तयारी गरेको छ । पाँच सभभन्दा बढी विमान आपूर्तिको अर्डर दिइएको छ जुन चाँडै इन्डिगो फ्लीटमा सामेल हुनेछन् । इन्डिगोले आफ्नो सेवालाई अझ विस्तार गर्न हाल सञ्चालमा रहेका बाहेक थप पाँच सय वटा विमान खरिद गर्न लागेको जानकारी इन्डिगोको इन्टरनेशनलका बजार प्रमुख विनय मल्होत्रा बताउँछन् । दैनिक एक हजार आठसय उडानमध्ये दश प्रतिशत अन्तर्राष्ट्रिय रुटमा हुने गरेका बताउँदै उनले ती भारतीय उपमहाद्वीप र वरपरका केही देश बाहेक टर्कीएको इस्तानबुलसम्म सेवा भइरहेको जनाएका छन् । ग्लोबल एभिएशन एडभाइजरी एण्ड रिसर्च अर्गनाइजेशनले गरेको भारतीय उड्डयन प्रवृत्तिको विश्लेषणमा अन्तर्राष्ट्रिय हवाई यात्रुको मात्रामा तीव्र गतिमा वृद्धि हुने देखिएको छ । उक्त सङ्गठनले सन् २०२९÷३० मा ११ करोड ५० लाखदेखि १२ करोड ५० लाखसम्म पुग्ने अनुमान गरेको छ । घरेलु बजार पनि निकट भविष्यमा धेरै गुणा यात्री बढ्ने प्रक्षेपण गरिएको छ । सरकारको ‘उडे देशका आम नागरिक योजना’ ले भारतका मध्यम वर्गलाई हवाई यातायातमा आकर्षित गर्न र हवाई यात्री ठूलो योगदान गरेको छ, जुन केही हदसम्म सफल पनि भएको छ । गोवामा ग्रेनफिल्ड अन्तर्राष्ट्रिय विमानस्थलको हालै उद्घाटन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विश्वको तेस्रो ठूलो हवाई बजार बनेको उल्लेख गर्दै ‘उडे देशका आम नागरिक’ योजनाले मध्यम वर्गको उडानको सपनालाई कसरी पूरा गरेको अध्ययनको विषय भएको बताए । भारतीय एयरपोर्ट्स अथोरिटी अफ इन्डियाले एक दशकभन्दा कम अवधिमा दर्जनौं एयरपोर्ट आन्तरिक हवाई सेवा सञ्जालमा थपेको छ भने निर्माणाधीन विमानस्थललाई निर्धारित समयमै पूरा गर्न अहोरात्र काम गरिरहेको छ । आन्तरिक विमानस्थलको वृद्धिसँगै आन्तरिक हवाई यात्रीको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ । निकट भविष्यमा विश्वस्तरका विशाल विमानस्थल बनाउने लक्ष्यका साथ भारत अघि बढेको छ । वार्षिक एक करोड २० लाख यात्रीलाई सेवा प्रदान गर्ने गरी आगामी वर्षभित्र नोएडा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने अपेक्षा गरिएको भारतीय विमानस्थल प्राधिकरणका अध्यक्ष सञ्जीव कुमारले बताएका छन् । भारतको उड्डयन उद्योग सारा विश्वका लागि आशाको किरण बनेको उल्लेख गर्दै उनले विमानस्थल र विमानको सङ्ख्या बढेसँगै भारत उड्डयन स्वर्णिम युगतर्फ अग्रसर भएको बताएका छन् । रासस

नयाँ वर्षदेखि मौलाकाली केबलकार सञ्चालनमा, ५ मिनटमै मन्दिर पुग्न सकिने

गैँडाकोट । नवलपुरको गैँडाकोटमा आजदेखि मौलाकाली केबलकार सञ्चालनमा आएको छ । नयाँवर्षको अवसर पारेर आज बाट सेवा सुरु गरिएको मौलाकाली केबलकार ब्यवस्थापन विभागका प्रमुख अभिषेक विक्रम शाहले जानकारी दिए । आज बिहान विहान ६ वजेदेखि केबलकार सञ्चालनमा आएको हो । केबलकारको बटम स्टेशनबाट गैँडाकोट नगरपालिका वडा नं। ६ निवासी सय वर्षीया बृद्धा सरस्वती कंडेल र टप स्टेशनबाट नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले पहिलो यात्रुका रुपमा यात्रा गरेका थिए । केवलकार मार्फत मौलाकाली मन्दिरसम्म ५ मिनेटमै पुग्नसकिनेछ। करिब दुई किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । हाल केबलकारले दुइतर्फी मूल्य ५५० रुपैयाँ कायम गरिएको शाहले जानकारी दिए । उनका अनुसार केबलकारले ३ देखि ४ फिटसम्मका बालबालिकाका लागि ३३०, विद्यार्थीहरुको लागि ४१५ जेष्ठ रुपैयाँ नागरिकहरुको लागि ४१५ रुपैयाँ र फरक क्षमता भएकाहरुको लागि २७५ रुपैयाँको टिकट दर राखिएको छ । केबलकारले ८० वर्षमाथिका बृद्धबृद्धा र ३ फिटभन्दा कमका बच्चाबच्चीहरुको लागि निशुल्क सेवा दिने जनाएको छ ।

नयाँ वर्षमा पर्यटकले भरिभराउ कुश्माबजार

पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो । नयाँ वर्ष प्रारम्भको बेला भएकाले दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् । गर्मीयाम सुरु भएसँगै कालीगण्डकीमा जलयात्राको यामसमेत सुरु भएको छ । नयाँ वर्षमा पर्यटकको सङ्ख्या बढेसँगै कुश्माबजारका होटल भरिभराउ हुन थालेका छन् । एक साताअघिदेखिनै होटल बुकिङ हुन थालेको सञ्चालकको भनाइ रहेको छ । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्मा बजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् । चैतदेसैँ तथा गार्मीयामको समयमा हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने तथा उपल्लो मुस्ताङ र कोरल्ला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि जिल्ला सदरमुकाममा चहलहपल बढ्न थालेको हो । मुस्ताङ जाने दर्शनार्थी र अन्य पर्यटकले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल, कपिलवस्तुलगायतका क्षेत्रवाट शैक्षिक सङ्घ संस्था, सहकारी संस्था, विभिन्न सामुदायिक सङ्घ संस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउने क्रम बढ्दो रहेको उनले बताए । कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ म्याग्दीतर्फ समेत जाने गरेको होटल व्यवसायीको भनाइ छ । पहिल्ला केही दिनयता सदरमुकामका सुविधा सम्पन्न मानिने बन्दना, बेन्जुु, माउन्टेन भ्यू, फ्रेण्डली, धौलागिरि, मुस्ताङ, ओरियन्ट, ड्रागनलगायतका होटल भरिभराउ रहेको सञ्चालकले बताएका छन् । यता बञ्जीजम्प र जीपलाइनमा समेत एक हप्ताअघिदेखिनै टिकट बुक भइरहेको सञ्चालकले बताएका छन् । अन्य दिनभन्दा शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाको दिनमा पर्यटकको चाप बढी हुने गरेको छ । यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्य मात्रामा आउन थालेको होटल व्यवसायी सञ्चालक राजु कार्कीले बताए । आन्तरिक पर्यटकको चाप अत्यधिक भएसँगै सवारी पार्किङको समस्या देखिएको छ । रासस

गुणस्तर शिक्षकका लागि बालबालिकालाई सरकारी विद्यालयमा पढाउँदै

बागलुङ । बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् । बिहीबार बागलुङ नगरपालिका–९ तित्याङमा वडा भेला आयोजना गरेर अभियानको थालनी भएको हो । भेलामा सहभागीले सामुदायिक विद्यालय बचाउन र गुणस्तर सुधारका लागि शिक्षकका बालबालिका आफ्नै विद्यालयमा पढाउनुपर्ने निर्णय गरे । पहिलो चरणमा शिक्षक र जनप्रतिनिधिका बालबालिकालाई आफ्नै सामुदायिक विद्यालयमा पढाउने र क्रमशः सार्वजनिक पदमा बसेकाका बालबालिकालाई पनि सामुदायिक विद्यालयमा ल्याउने तयारी उनीहरुको छ । वडाध्यक्ष राजु थापाले पहिला म र हामीबाटै सुरु गरेपछि सबैका बालबालिका सामुदायिक विद्यालयमा पढाउन सकिने धारणा राखे । उनले विद्यालयको भौतिक पूर्वाधार निर्माण, मर्मत र अन्य काम भए वडाध्यक्षको नाताले काम गर्ने भन्दै विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने र गुणस्तरीय शिक्षा दिने काममा शिक्षकले थालनी गर्नुपर्ने उनको धारणा थियो । ‘मैले के काम गर्नुपर्छ गर्छु, तर शिक्षक र जनप्रतिनिधिका छोराछोरी यहीँ पढाऔँ’, थापाले भने, ‘हामीले नै सदरमुकाम वा बोर्डिङमा पठाइयो भने सर्वसाधारणका छोराछोरी के भनेर भर्ना गराउने ?’ वैशाख २ गतेदेखि नै बालबालिका भर्ना अभियान चल्ने भएकाले त्यसअघि आम भेला गरेर अभियान चलाउने घोषणा गरेको उनले बताए । दुई साताअघि वडा शिक्षा समितिले यो निर्णय गरेर अभिभावक र सरोकारवालाको भेला गरिसकेको हो । तित्याङमा १० सामुदायिक विद्यालय छन् । बिहीबारको वडा भेलामा पुगेका उपप्रमुख राजु खड्काले शिक्षकले चाहेमा शिक्षाको गुणस्तर सुधार गर्न सक्ने भन्दै शिक्षकलाई तालिम र प्रविधि हस्तान्तरणमा नगरपालिकाले सहयोग गर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले वडा शिक्षा समितिको निर्णयको स्वागत गर्दै अब नगरपालिकालाई पनि नैतिक बाध्यता परिसकेको भन्दै अब नगरस्तरमा पनि यस्तै निर्णय हुनुपर्ने धारणा राखे । वडाध्यक्ष राजु थापाको अध्यक्षतामा बिहिबार भएको वडा भेलामा सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, नगर शिक्षा समितिका सदस्य गोपालकुमार शर्मा, सामुदायिक विद्यालय सङ्घ गण्डकी प्रदेशका अध्यक्ष टीकाराम खड्कासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापक र शिक्षक अभिभावक सङ्घका पदाधिकारीले वडाको निर्णयको स्वागत गर्दै सबै सरकारी कर्मचारीलाई आफ्ना बालबालिका ल्याउने वातावरण बनाउन आग्रह गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले वैधता दिनका लागि नगरको निर्णय चाहिने भए पनि वातावरण बनाएर सामुदायिक विद्यालय जोगाउने अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । शिक्षकबाट सुरु गरेको अभियान सरकारी कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिसम्म पु¥याउन सकेमा बन्द हुनै लागेका विद्यालय बचाउन सकिनेसमेत सहभागीको धारणा थियो । रासस

शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुगे पाठ्यपुस्तक

जुम्ला । हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने भएका हुन् । आवश्यक पाठ्यपुस्तक जिल्लामा आइपुगेको जुम्लास्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए । कक्षा १ देखि १० सम्मका करिब सात सय थान पाठ्यपुस्तक आइसकेका छन् । जिल्लाको हिमा र तातोपानी गाउँपालिकाको मागअनुसार पाठ्यपुस्तक पुगेको उनको भनाइ थियो । यही वैशाख ३ गतेदेखि हिमा गाउँपालिकामा पाठ्यपुस्तक पुग्ने भएको छ । तातोपानी गाउँपालिकाले पनि पुस्तक माग गरेको छ । अरू स्थानीय तहबाट पनि माग आउन थालेको र थप पुस्तक पनि आउने काम भइरहेको सञ्चालक खड्काले जानकारी दिए । अहिले छ हजार एक सय थान पाठ्यपुस्तक जिल्लामा पुगेको जिपी स्टेसनरीका सञ्चालक गणेश रोकायाले बताए ।सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्ष्य गरेर पुस्तक आएको छ । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्यपुस्तक आइपुग्दैनथ्यो । यो वर्ष समयमै पाठ्यपुस्तक आएकाले विद्यार्थीलाई सहज हुने देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै पुस्तक छापेकाले चाँडै पुस्तक ल्याउन सकिएको यहाँका स्टेसनरी सञ्चालकले बताए । स्थानीय पुस्तक तथा स्टेसनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालिसकेका छन् । जिल्लामा कूल एक सय ८४ सामुदायिक विद्यालयमा करिब ४० हजार हाराहारीमा विद्यार्थी सङ्ख्या रहेको शिक्षा समन्वय इकाइले जनाएको छ । हिमाली जिल्लाहरूमा फागुनदेखि विद्यालय सञ्चालनमा आएपछि पाठ्यपुस्तक नपुग्दा विद्यार्थीहरूको पढाइमै असर परेको थियो । मतपत्र समयमै पुग्ने तर विद्यार्थीका लागि किताब नपुग्नाको कारणबारे जिल्लाका सांसदले सांसदमै आवाजसमेत उठाएका थिए । स्थानीय सरकारबाट किताब पुगअपुग भएको सन्दर्भमा केही जानकारी नआएको यहाँका सामुदायिक विद्यालयले जनाएका छन् । जुम्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै जुम्लामा पनि सोही अनुसार शैक्षिक कार्यक्रम लागू हुने भएको हो । विसं ०७९ माघ ६ गतेको मन्त्रिस्तरीय निर्णयबाट सबै जिल्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु गर्ने सरकारको तयारी छ तर अघिल्ला वर्षमा हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । हिमाली जिल्लाले पुस १० देखि माघ २५ गतेसम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका थिए । रासस

जनकपुर जयनगर रेल सेवा आजबाट दिनको ४ पटक सञ्चालन हुने

काठमाडौं । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चार पटक रेल आवत जावत हुने भएको छ । हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रबारदेखि दिनको चार पटक आवत जावत गर्दै सेवा बिस्तार गरेको हो । यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चारपटक आवत जावत गर्नेगरी सञ्चालनमा आउने भएको हो । रेल्वेका महाप्रवन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी पाँच बजे प्रस्थान गर्नेछ । यो सेवा बिस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ । यसअघि एक पटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र अनावयश्क भीडभाड हुने गरेको थियो । साथै महाप्रवन्धक झाले बिजलपुरासम्म रेल सेवा बिस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी गराउँदै बाँकी अधुरा कामहरु छिट्टै पूरा गरेर आफूहरुलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताए । उनले चाँडै नै बिजलपुरासम्म रेल सेवाको बिस्तारको लागि प्रयासरत रहेको बताए । उनले थप एक यात्रुवाहक र एक कार्गो गरी दुई रेल सरकारसँग माग गरेको जाेड दिए । उनले अब सहज र सुलभ रेलसेवा उपब्ध हुने बताए । यसअघि १० बजे जनकपुरधामबाट हिँड्ने रेल साढे ११ बजे जयनगर पुग्ने र पुनः ३ बने जनकपुरधामका लागि छुट्ने समय तालिकाका कारण यात्रुलाई किनमेल र भारतिी बजारमा किनमेलका लागि समेत समय अभाव हुने गरेको थियो । महाप्रवन्धक झासहित भारतीय प्राविधिकहरुको टोली समेत मिलेर रेल अगाडिको लिकमा नारिवल फोड्दै सेवा बिस्तारको शुभारम्भ गरिएको छ ।