
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई आँफै बसेको देशबाट मताधिकार गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको शुक्रवार भएको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले भने, ‘यसबाट लाखौं प्रवासी नेपालीहरु लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुपर्दैन ।’ प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह थपेको जनाउँदै बैदेशिक रोजगारीको सुधारको लागी सरकारले धेरै काम गरिसकेको र अझै थप गर्ने बताए ।
‘बैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्सले विदेशी मुद्रा सञ्चिती ११ महिनालाई पुग्ने संकलन हुनु आफैंमा अर्थतन्त्र सुधारको संकेत हो’, उनले भने । उनले सामाजिक सुरक्षा कोषमा प्रवासी नेपालीको आवद्धता श्रमिकको सुरक्षा भएको बताए । उनले राज्यका सबै निकायलाई राम्रोसँग परिचालन गरेर राजस्वमा उल्लेख्य सुधार भएको उल्लेख गर्दै आफू प्रधानमन्त्री बनेपछि सार्वजनिक सहकारी र निजी क्षेत्रको समन्वयलाई अगाडि बढाउन र निजी क्षेत्रलाई आर्थिक विकास निर्माणमा परिचालन गर्न जोड दिएको बताए ।
उनले भने, ‘संविधान निर्माण गर्ने र देशलाई अहिलेको अवस्थामा ल्याउने प्रमुख शक्ति माओवादी हो । हामीलाई विकासको गति पैदा गर्ने र रोजगारी ग्यारेन्टी गर्ने चुनौति छ, अर्थतन्त्रमा परेको अप्ठ्यारो अहिलेको होइन, पहिले देखि नै हो, यसमा म आएपछि सुधार भइरहेको छ, नेपालको अर्थतन्त्रको समस्या समाधानका लागि तीन महिनामै सकारात्मक संकेत देखियो, संचिति बढेको छ । राजश्व संकलनमा उल्लेखित सुधार भएको छ । बैंकको ब्याज दरमा सुधार गर्न मेरो पहलमा ब्याज घट्ने क्रम सुरु भएको छ ।