विकासन्युज

नयाँ वर्षमा पर्यटकले भरिभराउ कुश्माबजार

पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो । नयाँ वर्ष प्रारम्भको बेला भएकाले दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक पर्यटक भित्रिने गरेका छन् । गर्मीयाम सुरु भएसँगै कालीगण्डकीमा जलयात्राको यामसमेत सुरु भएको छ । नयाँ वर्षमा पर्यटकको सङ्ख्या बढेसँगै कुश्माबजारका होटल भरिभराउ हुन थालेका छन् । एक साताअघिदेखिनै होटल बुकिङ हुन थालेको सञ्चालकको भनाइ रहेको छ । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्मा बजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् । चैतदेसैँ तथा गार्मीयामको समयमा हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने तथा उपल्लो मुस्ताङ र कोरल्ला नाकामा घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकका कारण पनि जिल्ला सदरमुकाममा चहलहपल बढ्न थालेको हो । मुस्ताङ जाने दर्शनार्थी र अन्य पर्यटकले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल, कपिलवस्तुलगायतका क्षेत्रवाट शैक्षिक सङ्घ संस्था, सहकारी संस्था, विभिन्न सामुदायिक सङ्घ संस्थाको शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्रमा आउने क्रम बढ्दो रहेको उनले बताए । कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङ म्याग्दीतर्फ समेत जाने गरेको होटल व्यवसायीको भनाइ छ । पहिल्ला केही दिनयता सदरमुकामका सुविधा सम्पन्न मानिने बन्दना, बेन्जुु, माउन्टेन भ्यू, फ्रेण्डली, धौलागिरि, मुस्ताङ, ओरियन्ट, ड्रागनलगायतका होटल भरिभराउ रहेको सञ्चालकले बताएका छन् । यता बञ्जीजम्प र जीपलाइनमा समेत एक हप्ताअघिदेखिनै टिकट बुक भइरहेको सञ्चालकले बताएका छन् । अन्य दिनभन्दा शुक्रबार र शनिबार तथा सार्वजनिक बिदाको दिनमा पर्यटकको चाप बढी हुने गरेको छ । यस वर्षदेखि बाह्य पर्यटकसमेत उल्लेख्य मात्रामा आउन थालेको होटल व्यवसायी सञ्चालक राजु कार्कीले बताए । आन्तरिक पर्यटकको चाप अत्यधिक भएसँगै सवारी पार्किङको समस्या देखिएको छ । रासस

गुणस्तर शिक्षकका लागि बालबालिकालाई सरकारी विद्यालयमा पढाउँदै

बागलुङ । बागलुङ नगरपालिकाका सरोकारवालाले ‘विद्यार्थीलाई सरकारी विद्यालयमा पढाऔँ’ अभियान थालेका छन् । उनीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक विद्यालयमा पढाउने घोषणा गरेका हुन् । बिहीबार बागलुङ नगरपालिका–९ तित्याङमा वडा भेला आयोजना गरेर अभियानको थालनी भएको हो । भेलामा सहभागीले सामुदायिक विद्यालय बचाउन र गुणस्तर सुधारका लागि शिक्षकका बालबालिका आफ्नै विद्यालयमा पढाउनुपर्ने निर्णय गरे । पहिलो चरणमा शिक्षक र जनप्रतिनिधिका बालबालिकालाई आफ्नै सामुदायिक विद्यालयमा पढाउने र क्रमशः सार्वजनिक पदमा बसेकाका बालबालिकालाई पनि सामुदायिक विद्यालयमा ल्याउने तयारी उनीहरुको छ । वडाध्यक्ष राजु थापाले पहिला म र हामीबाटै सुरु गरेपछि सबैका बालबालिका सामुदायिक विद्यालयमा पढाउन सकिने धारणा राखे । उनले विद्यालयको भौतिक पूर्वाधार निर्माण, मर्मत र अन्य काम भए वडाध्यक्षको नाताले काम गर्ने भन्दै विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउने र गुणस्तरीय शिक्षा दिने काममा शिक्षकले थालनी गर्नुपर्ने उनको धारणा थियो । ‘मैले के काम गर्नुपर्छ गर्छु, तर शिक्षक र जनप्रतिनिधिका छोराछोरी यहीँ पढाऔँ’, थापाले भने, ‘हामीले नै सदरमुकाम वा बोर्डिङमा पठाइयो भने सर्वसाधारणका छोराछोरी के भनेर भर्ना गराउने ?’ वैशाख २ गतेदेखि नै बालबालिका भर्ना अभियान चल्ने भएकाले त्यसअघि आम भेला गरेर अभियान चलाउने घोषणा गरेको उनले बताए । दुई साताअघि वडा शिक्षा समितिले यो निर्णय गरेर अभिभावक र सरोकारवालाको भेला गरिसकेको हो । तित्याङमा १० सामुदायिक विद्यालय छन् । बिहीबारको वडा भेलामा पुगेका उपप्रमुख राजु खड्काले शिक्षकले चाहेमा शिक्षाको गुणस्तर सुधार गर्न सक्ने भन्दै शिक्षकलाई तालिम र प्रविधि हस्तान्तरणमा नगरपालिकाले सहयोग गर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले वडा शिक्षा समितिको निर्णयको स्वागत गर्दै अब नगरपालिकालाई पनि नैतिक बाध्यता परिसकेको भन्दै अब नगरस्तरमा पनि यस्तै निर्णय हुनुपर्ने धारणा राखे । वडाध्यक्ष राजु थापाको अध्यक्षतामा बिहिबार भएको वडा भेलामा सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, नगर शिक्षा समितिका सदस्य गोपालकुमार शर्मा, सामुदायिक विद्यालय सङ्घ गण्डकी प्रदेशका अध्यक्ष टीकाराम खड्कासहित विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापक र शिक्षक अभिभावक सङ्घका पदाधिकारीले वडाको निर्णयको स्वागत गर्दै सबै सरकारी कर्मचारीलाई आफ्ना बालबालिका ल्याउने वातावरण बनाउन आग्रह गरेका थिए । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले वैधता दिनका लागि नगरको निर्णय चाहिने भए पनि वातावरण बनाएर सामुदायिक विद्यालय जोगाउने अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । शिक्षकबाट सुरु गरेको अभियान सरकारी कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिसम्म पु¥याउन सकेमा बन्द हुनै लागेका विद्यालय बचाउन सकिनेसमेत सहभागीको धारणा थियो । रासस

शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुगे पाठ्यपुस्तक

जुम्ला । हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने भएका हुन् । आवश्यक पाठ्यपुस्तक जिल्लामा आइपुगेको जुम्लास्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए । कक्षा १ देखि १० सम्मका करिब सात सय थान पाठ्यपुस्तक आइसकेका छन् । जिल्लाको हिमा र तातोपानी गाउँपालिकाको मागअनुसार पाठ्यपुस्तक पुगेको उनको भनाइ थियो । यही वैशाख ३ गतेदेखि हिमा गाउँपालिकामा पाठ्यपुस्तक पुग्ने भएको छ । तातोपानी गाउँपालिकाले पनि पुस्तक माग गरेको छ । अरू स्थानीय तहबाट पनि माग आउन थालेको र थप पुस्तक पनि आउने काम भइरहेको सञ्चालक खड्काले जानकारी दिए । अहिले छ हजार एक सय थान पाठ्यपुस्तक जिल्लामा पुगेको जिपी स्टेसनरीका सञ्चालक गणेश रोकायाले बताए ।सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्ष्य गरेर पुस्तक आएको छ । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि पाठ्यपुस्तक आइपुग्दैनथ्यो । यो वर्ष समयमै पाठ्यपुस्तक आएकाले विद्यार्थीलाई सहज हुने देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै पुस्तक छापेकाले चाँडै पुस्तक ल्याउन सकिएको यहाँका स्टेसनरी सञ्चालकले बताए । स्थानीय पुस्तक तथा स्टेसनरी व्यवसायीले आगामी शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्न थालिसकेका छन् । जिल्लामा कूल एक सय ८४ सामुदायिक विद्यालयमा करिब ४० हजार हाराहारीमा विद्यार्थी सङ्ख्या रहेको शिक्षा समन्वय इकाइले जनाएको छ । हिमाली जिल्लाहरूमा फागुनदेखि विद्यालय सञ्चालनमा आएपछि पाठ्यपुस्तक नपुग्दा विद्यार्थीहरूको पढाइमै असर परेको थियो । मतपत्र समयमै पुग्ने तर विद्यार्थीका लागि किताब नपुग्नाको कारणबारे जिल्लाका सांसदले सांसदमै आवाजसमेत उठाएका थिए । स्थानीय सरकारबाट किताब पुगअपुग भएको सन्दर्भमा केही जानकारी नआएको यहाँका सामुदायिक विद्यालयले जनाएका छन् । जुम्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै जुम्लामा पनि सोही अनुसार शैक्षिक कार्यक्रम लागू हुने भएको हो । विसं ०७९ माघ ६ गतेको मन्त्रिस्तरीय निर्णयबाट सबै जिल्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु गर्ने सरकारको तयारी छ तर अघिल्ला वर्षमा हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । हिमाली जिल्लाले पुस १० देखि माघ २५ गतेसम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका थिए । रासस

जनकपुर जयनगर रेल सेवा आजबाट दिनको ४ पटक सञ्चालन हुने

काठमाडौं । नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चार पटक रेल आवत जावत हुने भएको छ । हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रबारदेखि दिनको चार पटक आवत जावत गर्दै सेवा बिस्तार गरेको हो । यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चारपटक आवत जावत गर्नेगरी सञ्चालनमा आउने भएको हो । रेल्वेका महाप्रवन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी पाँच बजे प्रस्थान गर्नेछ । यो सेवा बिस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ । यसअघि एक पटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र अनावयश्क भीडभाड हुने गरेको थियो । साथै महाप्रवन्धक झाले बिजलपुरासम्म रेल सेवा बिस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी गराउँदै बाँकी अधुरा कामहरु छिट्टै पूरा गरेर आफूहरुलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताए । उनले चाँडै नै बिजलपुरासम्म रेल सेवाको बिस्तारको लागि प्रयासरत रहेको बताए । उनले थप एक यात्रुवाहक र एक कार्गो गरी दुई रेल सरकारसँग माग गरेको जाेड दिए । उनले अब सहज र सुलभ रेलसेवा उपब्ध हुने बताए । यसअघि १० बजे जनकपुरधामबाट हिँड्ने रेल साढे ११ बजे जयनगर पुग्ने र पुनः ३ बने जनकपुरधामका लागि छुट्ने समय तालिकाका कारण यात्रुलाई किनमेल र भारतिी बजारमा किनमेलका लागि समेत समय अभाव हुने गरेको थियो । महाप्रवन्धक झासहित भारतीय प्राविधिकहरुको टोली समेत मिलेर रेल अगाडिको लिकमा नारिवल फोड्दै सेवा बिस्तारको शुभारम्भ गरिएको छ ।

नेपालको स्रोतहरु खेर गइरहेको छ र तिनैबाट बनेका सामग्री आयात भइरहेको छ : पूर्वमन्त्री डा ली

काठमाडौं । सन् १९६० को दशकतिर हालको दक्षिण कोरिया विश्वका सबैभन्दा गरिब राष्ट्रमध्ये एक थियो । नेपालसँग त्यतिबेला समान आयस्तर भएको दक्षिण कोरियाले साढे पाँच दशकमै यति धेरै आर्थिक विकासको फड्को मार्दै एसिया र विश्वकै ठूलो अर्थतन्त्र हुने राष्ट्र भएको छ । नेपालीको प्रतिव्यक्ति आयभन्दा कोरियाली जनताको आय कैयौँ गुणा बढी छ । आर्थिक विकासमा फड्को मार्नुको मुख्य कारण राजनीतिक नेतृत्वको दूरदर्शिता, कामप्रति जनताको निष्ठा र राष्ट्रिय भाव नै भएको दक्षिण कोरियाका पूर्वमन्त्री डा ली नाम की बताउँछन् । कोरियन सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झन्डै चार दशक कार्य गरेका पूर्वमन्त्री लीले देशको विकास हुन त्यहाँको बलियो र दूरदर्शी नेताको मुख्य भूमिका हुने र कोरिया पनि त्यही कारण आज विश्वको विकसित राष्ट्र बन्न सकेको बताउँछन् । नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्र्याउन सकिने डा लीको भनाइ छ । हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एसोसिएसनका अध्यक्षसमेत रहेका लीले आफ्नो देशले पनि पहिले वैदेशिक सहायता, प्रविधि र लगानी ल्याएर विकास गरेको स्मरण गर्छन् । नेपालको विकासका लागि पूर्वाधार, यातायात र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उनी सीमित स्रोतलाई परियोजना लक्षित लगानीमा जोड दिनुपर्नेमा जोड दिन्छन् । प्रस्तुत छ, गैरअवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को समन्वयमा साताव्यापी नेपाल भ्रमणमा आएका पूर्वमन्त्री लीसँगका गरेका कुराकानीको अंश : छोटो अवधिमै कोरिया समृद्ध हुनुको रहस्य के होला ? उत्तर र दक्षिण कोरियाबीच सन् १९५० देखि १९५३ सम्म लगातार तीन वर्षसम्म चलेको युद्धबाट धेरै स्रोत साधन नष्ट भए भने धेरैको ज्यान गयो । पैतीस वर्षसम्म जापानको उपनिवेशमा रहँदा जापानी सेनाको चरम दमन र शोषण सहनुपरेको थियो । १९४५ मा जापानबाट स्वतन्त्र हुँदा छाएको खुसी १९४८ मा उत्तर र दक्षिण कोरिया विभाजनसँगै फेरि हाम्रा दुःखका दिन सुरु भएका थिए । युद्धपश्चात् व्याप्त गरिबी, अभाव र भोकमरीबाट हाम्रा पुर्खाले नराम्ररी दुःख भोग्नुपरेको थियो । त्यतिबेला अमेरिकाले दिएको मकैको पीठोलाई पानीमा उमालेर खाई भोक टार्नुपरेको थियो । सन् १९५५ ताका नेपालले कोरियालाई खाद्यान्नलगायत सहयोग गरेको सम्झन चाहन्छु । यस्तो अवस्थाबाट कोरियालाई आजको अवस्थामा लैजान तत्कालीन राष्ट्रपति पार्क जङ हीको ठूलो योगदान छ । जनतालाई जसरी पनि भोको राख्ने छैन भन्ने उहाँको अठोट थियो । स्वतन्त्र र स्वाभिमानपूर्वक बाँच्नका लागि आर्थिक अवस्थामा सुधार ल्याउनुपर्छ भन्ने उहाँको दूरदर्शिता नेतृत्व क्षमता र दृढ इच्छाशक्तिले नै कोरियालाई आधुनिक र विकसित राष्ट्रतिर दोर्याउन सफल भयो । देश विकासका लागि राजनीतिक स्थिरता, कुशल र दूरदर्शी राजनीतिक नेतृत्व चाहिन्छ भन्ने कुरा कोरियाले आज पुष्टि गरेको छ । त्यतिबेला उहाँले योजना विभाग बनाएर देशको आवश्यकताअनुसारको योजना तर्जुमा, बजेट व्यवस्था र प्रभावकारी कार्यान्वयनका लागि अनुगमन प्रणालीमा जोड दिनुभयो । मैले त्यही आयोगमा रहेर काम गर्ने अवसर पाएँ । त्यतिबेला हामीहरु चौबिसै घण्टा अफिसमा बसेर विभिन्न योजना बनाउने काम गथ्र्यौं । देश विकास गर्न निर्यातमा जोड दिनुपर्छ भन्ने उहाँको सोच थियो । यसका लागि सडक सञ्जाल विस्तार गर्नुपथ्यो । उहाँकै निर्देशनमा पुसानदेखि सोलसम्मको झन्डै चार सय किमीको सडक डेढ वर्षमा तयार भयो । त्यतिबेला त्यो सडक निर्माण गर्न करिब चार हजार लाख डलर चाहिन्थ्यो तर राज्यसँग थिएन । उहाँले २० हजार नर्सलाई जर्मनमा काम गर्न पठाएर ऋण ल्याई सडक बनाइएको थियो । यसपछि सरकारी र निजी कम्पनीले निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न थाले । राष्ट्रपतिले हरेक महिना बैठक राखेर निर्देशन दिनुहुन्थ्यो । निर्यात गर्ने उद्योगलाई सस्ते ब्याज, कर छुट र विभिन्न सहुलियत दिइएकाले धेरै कम्पनी स्थापना भए । १९७० को दशकमा टेक्सटाइल्सजस्ता साना उद्योगबाट सुरु भएको कोरियाको व्यापार व्यवसाय असीको दशकमा आउँदा फलाम स्टिल, अटोमोबाइल, मेसिनरी सामान र सेमी कन्डक्टर्सका सामानहरुको उत्पादन गरी निर्यात गर्ने सम्म पुगिसकेको थियो भने नब्बेको दशकमा स्टिल, अटोमोबाइल मेसिनरी सामान, सेमी कन्डक्टर्सका सामानहरुका साथै पानीजहाज, इलेक्ट्रोनिक्स, सूचना प्रविधिसम्बन्धी सामग्री निर्यात गर्न थालेको छ । राष्ट्रपति पार्क जङ हीपछिका राष्ट्रपति र सरकारहरुले पनि उहाँका नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएका छन् । कृषिप्रधान देशबाट औद्योगिक राष्ट्र बन्न पुग्यो । यसरी कोरियाले छोटो अवधिमै आफूलाई माथि उठाउन सम्भव भएको हो । राष्ट्रप्रति संवेदनशील एउटा कुशल र दूरदर्शी नेतृत्वले कसरी देशको भविष्य बदल्न सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण कोरियाले दिन सकेको छ । कोरियाको अनुभवका आधारमा नेपालमा आर्थिक विकासको सम्भावना कत्तिको देख्नुहुन्छ ? प्राकृतिक स्रोत साधनका दृष्टिले नेपाल कोरियाभन्दा पनि अथाह सम्भावना भएको मुलुक हो । तर त्यसको उपयोग हुन नसक्दा एकातिर स्रोत साधन खेर जाने र अर्कोतिर तिनैबाट बनेका सामग्रीहरु अन्यत्रबाट आयात गर्नुपर्ने हुँदा दोहोरो नोक्सानी भएको छ । विकासका लागि पूर्वाधार, यातायात र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । यसका लागि सरकारले बाह्य लगानी भित्र्याउन नीतिगत व्यवस्था गर्नाका साथै निजी क्षेत्रलाई सहजीकरण गर्नु जरुरी हुन्छ । नेपालमा कोरियाली लगानी भित्र्याउन सकिने सम्भावना कस्तो रहेको छ ? नेपाल कोरियाको एक असल र पुरानो मित्रराष्ट्र हो । नेपालले कोरियाका जनता भोकभोकै भएको बेला खाद्यान्न पठाएर ठूलो गुन लगाएको छ । नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्र्याएर विकासमा फड्को मार्न सक्नेछ । हरेक हिसाबले सम्भावना भएको नेपालले विकासमा छलाङ लगाउन सक्नेछ । तर यसका लागि उपयुक्त लगानीमैत्री वातावरणको सुनिश्चित हुनुप¥यो । नेपाल विगतमा कमजोर नभए पनि पछिल्ला केही दशकमा राजनीतिक अस्थिरताले गर्दा आर्थिक र विकासमा पछि परेको हो भन्ने मलाई लागेको छ । बजेटलाई सानासाना योजनामा छर्नु हुँदैन । मुख्य प्राथमिकताको योजनामा एकमुष्ट लगानी गरी जतिसक्दो छिटो त्यसलाई सम्पन्न गरेपछि त्यसबाट देशले प्रतिफल पाउँछ । कोरियाले पनि यही नीतिअनुसार निर्यातजन्य उद्योगधन्दाहरुमा लगानी ग¥यो । निजी कम्पनीहरुलाई राज्यले नै ग्यारेन्टी बसेर पनि विदेशमा काम गर्न पठायो । अर्को कुरा विकासका लागि राजनीतिक स्थिरता जरुरत पर्छ । छिटोछिटो राजनीतिक परिवर्तन हुँदा नीतिगत अस्पष्टता रहन्छ र विदेशी लगानी भित्र्याउन गाह्रो हुन्छ । राज्यले योजनामा प्राथमिकीकरण गर्न जान्नुपर्छ । सबै उद्योगलाई राज्यले सेवासुविधा दिन सक्दैन । आयातलाई प्रतिस्थापन गर्ने र निर्यातजन्य उद्योगलाई प्राथमिकता दिनुपर्छ । कोरियाले जस्तै नेपालले पनि समयसापेक्ष कृषिमा आधिनीकीकरण गर्नु जरुरी छ । कृषिमा व्यापक आधुनिकीकरण गरिएकै कारण अहिले कोरिया २.३ प्रतिशत कृषककै उत्पादनले खाद्यान्नमा आत्मनिर्भर बनेको छ । नेपाल भ्रमणमा रहँदा राष्ट्रिय योजना आयोग, लगानी बोर्ड तथा विभिन्न बैंकका प्रमुखहरुसँग भेटवार्ता गर्नुभयो । उहाँहरुसँगको कुराकानीबाट तपाइँ नेपालमा लगानी गर्ने सम्भावना कस्तो देख्नुभयो त ? यसपटकको साताव्यापी नेपाल भ्रमणका क्रममा अर्थमन्त्री, लगानी बोर्डका पदाधिकारीलगायत उच्च सरकारी अधिकारीहरुसँग लगानीका सम्भावनाका बारेमा भेटवार्ता गर्ने अवसर मिल्यो । सो अवसरमा नेपालका लागि कुन कुन क्षेत्रमा के कस्तो सहयोग चाहिएको छ, त्यसका लागि अनुमति दिनुहोस् हामीले विश्वको लगानी र प्रविधिको समन्वय गरेर विकास गर्छौं भनेर भनेको छु । नेपालमा कोरियन प्रविधि र विश्वभर विकसित राष्ट्रले अवलम्बन गरेका विकासको नमूनालाई नेपालमा पनि भित्र्याएर छिट्टै विकास गर्न सकिने सम्भावना रहेको छ । नेपाललाई मोनोरेल, साना किसिमका सहरी रेलका माध्यमबाट पर्यटन र जल तथा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी गर्न सकिन्छ । लगानीको पूर्ण सुरक्षाको पूर्ण सुनिश्चितता भएमा न्यूनतम् २० अर्बदेखि माथिको लगानी ल्याउन सकिन्छ । नेपालबाट हजारौँ युवा कोरियालगायत विश्वका विभिन्न देशमा रोजगारीमा गएका छन्, उनीहरुले पठाएको विप्रेषणबाट देश धनी हुन सक्छ ? सुरुमा कोरियाले पनि यसरी नै आफ्ना देशका युवाहरुलाई विदेश पठाएर नै विदेशी पैसा आर्जन गरेको हो । कोरियनहरु सस्तो श्रमिकका रुपमा सउदी अरब, अफ्रिका तथा तत्कालीन पश्चिम जर्मनीका तेल तथा कोइला खानीहरुमा काम गर्न जाने गर्दथे । त्यहा कोरियनहरुलाई औसतभन्दा कम पारिश्रमिक दिइने र थ्री डी काममा लगाइन्थ्यो । एकातिर देशमा स्रोत साधन र उद्योगधन्दा नभएर रोजगारीका अवसरहरु नहुदा कोरियन युवाहरु विदेसिन बाध्य थिए भने अर्कोतिर कोरियनहरुले विदेशमा अत्यन्त कठिन र जोखिमपूर्ण काम गर्नुपरेको थियो । त्यतिबेला उनीहरुले पठाएको पैसाले देशमा बिस्तारै उद्योगधन्दा स्थापना गरी आज उल्टै विदेशका लाखौँ कामदारलाई ल्याएर रोजगारी दिन सकेका छौँ । भियतनाम युद्धमा अमेरिकाले कोरियालाई सेना पठाउन आग्रह ग¥यो । हामीले ३० हजार सेना पठायौँ तर उनीहरुको तलब अमेरिकाले नै दियो । त्यो रकमले पनि धेरै योजना सम्पन्न भएका थिए । यसरी छोटो अवधिमा रेमिट्यान्सबाट चलेको देशमा रोजगारीका लागि विदेसिएका युवाहरुलाई फिर्ता बोलाएर तिनीहरुलाई स्वदेशमै रोजगारी दिन सफल भएको हो । आज नेपालबाट पनि झन्डै ४० हजारभन्दा बढी कामदार कोरियामा गएका छन् । कोरियामा जाने नेपाली कामदारको सङ्ख्या तेस्रो स्थानमा छ । उनीहरुले कमाएर पठाएको पैसाको सदुपयोग भएको देखिँदैन । राज्यले नै त्यो पैसालाई एकीकृत गरी कुनै उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भने ती कामदारहरुले पनि राम्रो प्रतिफल पाउन सक्छन् । अन्यथा जति नै रेमिट्यान्स आए पनि देश धनी हुन सक्दैन । रासस

नयाँ वर्षमा सनराईज क्यापिटलको लगानी व्यवस्थापन सम्बन्धी योजना

काठमाडौं । नयाँ वर्षको अवसरमा सन्राईज क्यापिटलले वर्तमान पुंँजी बजारको अवस्थालाई ध्यानमा राखी एक योजना सञ्चालनमा ल्याएको छ । आफ्ना ग्राहक वर्गहरुलाई दीर्घकालीन लगानीमा सहभागिता गराउने तथा आकर्षक प्रतिफल उपलब्ध गराउने लक्ष्यसहित लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ एस आई पि पोर्टफोलियो योजनासंचालनमा ल्याएको कम्पनीले जनाएको छ । उक्त योजनामा सहभागी हुने लगाानीकर्ताहरुले निश्चित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्ने हुन्छ । उक्त रकम यस कम्पनीको लगानी व्यवस्थापन विभागमा कार्यरत प्रबन्धक लगायतका दक्ष जनशक्तिद्धारा दीर्घकालीन प्रतिफल प्राप्त हुने व्यवस्थित धितोपत्रहरुको पोर्टफोलियोमा लगानी गरिने जनाइएको छ । यस योजनामा सहभागी हुन चाहने लगानीकर्ताहरुले न्यूनतम ३ लाख लगानी गर्नुपर्नेछ । जसका लागि नियमित समय अन्तरालमा निर्धारित रकम जम्मा गर्नुपर्नेछ भने लगानी अवधि पाँच वर्षको हुनेछ । साना तथा ठूला सबै किसिमका लगानीकर्ताहरुका लागि यो योजना लाभदायि सावित हुने कम्पनीले जनाएको छ ।

‘विपद् व्यवस्थापनमा स्थानीय पालिकाको क्षमता अभिवृद्धि गर्नुपर्छ’

काठमाडौं । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ आएएफआरसी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उच्च पदाधिकारीबीचमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा थप आपसी समन्वय र सहकार्य गर्दै जाने भएका छन् । आएएफआरसीले नेपाल रेडक्रस सोसाइटीमार्फत आफ्नो मानवीय सेवामा सहयोग गर्दै आएको छ । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्ला र प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका बीचमा बिहीबार छलफल भएको थियो । उनीले विपद् व्यवस्थापन गर्न स्थानीय पालिकाहरुको क्षमता अभिवृद्धिमा जोड दिएका थिए । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले आइएफआरसीका मानवीय सेवाका बारेमा जानकारी गराएका थिए भने प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले प्राधिरकणका पछिल्ला गतिविधि प्रस्तुत गरेका थिए । आइएफआरसीले गत माघमा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गरेको थियो । यस परियोजनाका लागि अनुमानित स्वीस फ्रयाक करिब १२ लाख १६ करोड ७८ लाख रुपैयाँ सहयोग भएको उसले जनाएको छ । उसले २०२२ मा नेपाल रेडक्रसलाई ‘डबल क्याबिन’ भएका १० ‘पिकअप गाडि’ हस्तान्तरण गरेको थियो । अर्कोतर्फ आइएफआरसीले कोभिड–१९ प्रतिकार्यमा आफ्नो सहयोग जारी राखेको छ । पछिल्लो समय उसले विशेष गरी कोभिड–१९ को विरुद्धको खोप सर्वसाधारणसम्म पहुँच पुर्याउन रेडक्रस सोसाइटीलाई निरन्तररुपमा सहयोग उपलब्ध गराइरहेको हो । आइएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड–१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी अवधारणाका माध्यमबाट सहयोग गरेको थियो । सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि रोकथामका उपाय, अत्यावश्यक मेडिकल सेवामा सहयोग, सामाजिक आर्थिक प्रभावलाई सम्बोधन र खोप अभियानमा सहयोगजस्ता नेपालमा कोभिड–१९ कार्यसञ्चालनका उसका मुख्य क्षेत्र छन् । अहिले २२ जिल्लामा खोपसम्बन्धी गतिविधिमा नेपाल रेडक्रसलाई सहयोग जारी राखेको नेपालस्थित आइएफआरसी कार्यालयले जनाएको छ । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले भने, ‘सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि कोभिड–१९ प्रतिकार्यमा सहयोग जारी छ । यसका अतिरिक्त विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थितिभन्दा पहिले, त्यस्ता परिस्थितिको अवधिमा र त्यस्ता परिस्थिति सङ्कटासन्न मानिसका आवश्यकताको पूर्ति गर्नका लागि एवं तिनको जीवन सुधार ल्याउनेजस्ता मानवीय सेवाका कार्यक्रम जारी छ । आइएफआरसीको रणनीति २०३० ले १९२ रेडक्रस तथा रेडक्रिसेन्टको सामूहिक महत्वाकाङ्क्षा प्रतिनिधित्व गर्दछ र भविष्यमा लागि सङ्गठनको दूरदृष्टि खाका प्रस्तुत गर्दछ ।’ नेपाल रेडक्रसले आइएफआरसीको सहयोगमा सन् २०२२ मा आफ्ना कार्यक्रम तथा सेवाद्वारा पाँच मुख्य रणनीतिक प्राथमिकतामाथि जोड दिँदै सङ्कटासन्न समुदायलाई मानवीय सहायता उपलब्ध गराएको थियो । यसमा जलवायु तथा वातावरणीय सङ्कटमा १२ हजार दुई सय ५९, विकसित हुँदै जाने सङ्कट तथा विपद्मा एक लाख २२ हजार चार सय ४१, स्वास्थ्य तथा कल्याण तीन लाख चार हजार तीन सय चार, मूल्य, शक्ति तथा समावेशीता १५ हजार एक सय २३ लाभान्वित भएका थिए । सन् २०१५ अप्रिल २५ मा नेपालमा गएको अकल्पनीय ‘गोरखा भूकम्प’पश्चात् आइएफआरसीले भूकम्प प्रभावितको खोज, उद्धार तथा राहत वितरणमा महत्वपूर्ण सहयोग गरेको थियो । साथै उसले भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास निर्माण, स्वास्थ्य, सरसफाइमा सहयोग गरेको थियो । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले भने, ‘नेपालमा आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीसँग घनिष्ठरुपमा मिलेर काम गर्दछ ।’ नेपाल रेडक्रसले मुलुकका सात प्रदेश तथा ७७ जिल्ला शाखा तथा एक हजार पाँच सयभन्दा बढी उपशाखाका माध्यमबाट विपद् पूर्वतयारी, आपत्कालीन परिस्थिति, स्वास्थ्य तथा समावेशीताका क्षेत्रमा सरकारको सहयोगीका रुपमा काम गर्दछ । एक लाख २५ हजारभन्दा बढी सक्रिय स्वयंसेवकले नेपाल रेडक्रसका माध्यमबाट मानवीय हितमा योगदान पुर्याउँदछन् । आवास बनाउन सहयोग आइएफआरसीको आर्थिक सहयोगमा नेपाल रेडक्रसले डोटी, अछाम र बझाङका भूकम्प अतिप्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिरहेको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरगाउँ केन्द्रविन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्पबाट सो गाउँका छ जनाको अकालमा मृत्यु भएको थियो । रासस

नयाँ वर्षमा गाडी किन्दा ११ लाखसम्म नगद छुट, विदेश भ्रमणको पनि सुविधा

काठमाडौं । नयाँ वर्ष २०८० का लागि अटो व्यवसायीले विभिन्न अफर सार्वजनिक गरेका छन् । ग्राहकलाई आफ्ना साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नगद तथा सर्भिसिङमा छुटदुेखि मासिक किस्तामा कार खरिद गर्न सकिने अफर सार्वजनिक गरेका हुन् । सरकारले विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै गाडी लगायतका वस्तुको आयातमा लगाएको प्रतिबन्धका कारण गाडीको बिक्री वितरण न्यून भएको छ । लामो समयदेखि गाडीको बिक्री वितरण राम्रो नभएपछि अटो व्यवसायीहरुले नयाँ वर्षका लागि विभिन्न छुट अफर सार्वजनिक गरेका छन् । ग्राहकलाई गाडीमा आकर्षण गर्न व्यवसायीहरुले नगद छुटदेखि विदेश भ्रमणासम्मका योजना सार्वजनिक गरेका हुन् । चांगन अटोको घोषणाः वैदेशिक भ्रमणदेखि नगद छुट चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित ‘नयाँ साल, साह्रै बबाल’ अफरु सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान अल्सिभन र प्रिमियम पिकअप हन्टर गाडी किन्दा विभिन्न छुट अफर सार्वजनिक गरेको हो । कम्पनीले वैशाख १ गतेदेखि ३१ गतेसम्मका लागि उक्त मोडलका गाडी खरिद गर्दा सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमणको घोषणा गरेको छ । यस्तै, कम्पनीले एप्पलको उत्पादन आइफोन १४, आइवाच र एयरपड्स समेत दिने जनाएको छ । यस्तै, कम्पनीले चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँसम्मको फेस्टिव बोनस तथा स्क्राच कार्ड मार्फत ५० हजार रुपैयाँसम्मको अधिक छुटको घोषणा गरेको छ । यस्तै, कम्पनीले एक्सचेन्च अफर अन्तरगत २ लाख बोनस दिने जनाएकोे छ । हन्डाईको गाडी किन्दा नगद छुटदेखि निशुःक बीमा तथा कर हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना सार्वजनिक गरेको छ । कम्पनीले गाडी खरिदमा ५ लाख रुपैयाँसम्मको नगद छुट, गाडीको निर्माण वर्षको आधारमा २ लाख रुपैयाँसम्मको छुट, नयाँ वर्ष बोनस ८० हजार र एक्सचेन्ज बोनस ८० हजार रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ । यस्तै, कम्पनीले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा समेत दिईने जनाएको छ । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने कम्पनीले जनाएको छ । निशनको गाडी किन्दा ११ लाख छुट नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले निशानको गाडी खरिद गर्दा ११ लाख रुपैयाँसम्म छुट सुविधाको घोषणा गरेको हो । कम्पनीले गाडी खरिदमा अधिकतम ८ लाख रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ भने अधिकतम बोनस २ लाख रुपैयाँ र ३ वर्षसम्म सर्भिस र वारेन्टीको सुविधा दिन जनाएको छ । यस्तै, सजिलो फाइनान्स सुविधा र १ वर्षसम्म निःशुल्क बीमा तथा सवारी करको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले नयाँ वर्षको योजनामा गाडी खरिद गरेमा अधिकतम ११ लाख ७४ हजार रुपैयाँ फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । जिडब्लूएम गाडी किन्दा ५ लाख छुट ग्रेट वाल मोटर नेपालले हर्षमय नव वर्ष २०८० योजना सार्वजनिक गरेको छ । कम्पनीले जिडब्लूएमका विभिन्न प्रकारका गाडीमा ५ लाखसम्म छुट दिने भएको छ । त्यसका साथै, कम्पनीले स्पेशल सेलिब्रेशन डिस्काउन्ट, एक्स्चेन्ज बोनस, एक वर्ष निःशुल्क बीमा र स्पट मूल्याङ्कनको व्यवस्था गरेको छ ।