बैंकिङ क्षेत्रको जागिर चुनौतीपूर्ण : पूर्व गभर्नर नेपाल
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपालले व्यवस्थापन विषयको अध्ययन र बैंक तथा वित्तीय संस्थामा रोजगारी निकै चुनौतीपूर्ण रहेको बताएका छन् । राष्ट्रपतिका आर्थिक सल्लाहकारसमेत रहेका पूर्वगभर्नर नेपालले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसनको प्रभावले चुनौती थपिएको उल्लेख गरे । उडान शैक्षिक केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले क्रिप्टोकरेन्सी (डिजिटल करेन्सी)को प्रभाव बढेकाले यो क्षेत्रमा चुनौती थपिँदै गएको बताए । ‘बैंकिङ क्षेत्रको जागिर संसारमा सबैभन्दा चूनौतीपूर्ण बनेको छ, बङ्गलादेशको बैंकबाट फ्लटहरुले डिजिटलको माध्यमबाट पैसा निकालेको घटना होस् वा अन्य किसिमका गतिविधि किन नहुन्, चूनौतीपूर्ण बनिरहेको छ,’ उनले भने । उनले कुनै पनि क्षेत्रमा व्यावसायिक सफलताका लागि अध्ययन र व्यावसायिक योजना जरुरी रहेको खाँचो औँल्याए । आफ्नो क्षमता आफैले उजागर गर्नसके विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन कठिनाइ नहुने उनको भनाइ छ । ‘क्षमतावान विद्यार्थीलाई नेपालको कुनै पनि क्षेत्रमा जागिर पाउन अप्ठ्यारो छैन तर, त्यसका लागि कोही पनि सबै कुरामा जान्ने हुँदैनन् भन्ने मान्यतालाई आत्मसात गरेर अध्ययनको कामलाई अघि बढाउनुपर्छ,’ उनले भने ।
नेशनल माइक्रोफाइनान्सको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज बैशाख ३ गते अन्तिम दिन रहेको छ । लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात् बैशाख ४ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज बैशाख ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम हुने सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन् । लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँको १५ प्रतिशत अर्थात् ८ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले लाभांश पारित गर्न बैशाख १५ गते बिहान ११ बजे, धादिङ्ग क्रिक रिसोर्ट, धादिङ्गबेशीमा नवौं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको सभाले नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्बन्धी सम्पूण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्नेछ ।
राष्ट्रपतिबाट होटल संघ नेपालका अध्यक्ष तथा प्रथम उपाध्यक्ष सम्मानित
काठमाडौं । होटल संघ नेपालका अध्यक्ष सृजना राणा सुप्रबल जनसेवा श्री पदकबाट सम्मानित भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट २०८० वैशाख १ गते राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान गरेवापत यस पदक प्रदान गरिएको हो । महिला सशक्तिकरण तथा समाजसेवमा समेत सेवा गर्दै आइकी राणा अन्नपूर्ण ग्रुप अफ होटलकी सञ्चालक हुन् । यसैगरी, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह विकास रत्न पदकबाट सम्मानित भएका छन् । शाहले मुलुकको पर्यटनमा उल्लेख्य योगदानका साथै अन्तर्राष्ट्रिय जगतमा मुलुकको रैथाने खानाको प्रवद्र्धन समेत गर्दै आएका छन् ।
रविले चुनाव हार्छन्, नक्कली राष्ट्रवाद र अवसरवादी चरित्रबाट चितवन-२ मुक्त हुन्छ : नेता बस्नेत
काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले निर्वाचन हार्ने दावी गरेका छन् । लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको जिकीर थियो । शनिबार काठमाडांैमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको पनि बताए । नेता बस्नेतले युवा र लोकप्रिय भएकाले सो निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढि रहेको समेत बताए । सो चुनावमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुने उनको बुझाई थियो । नेता बस्नेतले भने, ‘चितवन २ का जनताले यो नक्कली राष्ट्रवाद, यो अवसरवादी चरित्र, यो पब्लिक कम्जवसन्शनका लागि गरिने कुराहरुबाट चितवन २ मुक्त हुुन्छ, त्यहाँ नेकपा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुुन्छ, र, रविजी त्यसलाई पछ्याउनु हुन्छ । सम्भव हिजो कृष्णभक्त पोखरेलले राम्रो काम गरेको हुनाले र आज रामप्रसाद न्यौपाने एउटा नयाँ युवाहरुको बीचमा पपुलर व्यक्ति हामीले उठाएका छौं, त्यस अनुसार युवाहरुलाई राजनीतिमा ल्याउनु पर्छ भन्ने मान्यता पनि छ, उहाँको सम्भावना निकै बलियो छ, कमजोर छैन भन्ने मलाई लाग्दछ, चितवनका जनताले रविजीलाई जिताउदैनन् ।’
सरकारले महाविपत्तिमा झैं काम गर्नुपर्छ, ३/४ महिनामा देश सम्हालिन्छ : महामन्त्री थापा
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् । नेपाली काँग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महशुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे । ‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस्, चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस्, चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस्, उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ, संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनु पर्दछ, ऊसलाई भ्याईनभ्याई हुनु पर्दछ, त्यो अप्ठ्यारो उसले महशुस गर्न सक्नु पर्दछ, अनिमात्रै परिणाम दिन सकिन्छ, यो सरकारमा बस्ने साथीहरुले गर्ने काम हो, हामी अहिले सरकारमा छौं’, महामन्त्री थापाले भने । महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो । सरकारले राम्रो काम गर्दै गए ३/४ महिना भित्रै मुलुक सम्हालिँदै जाने उनको भनाई थियो । उनले भने, ‘काँग्रेस सरकारमा छ, तपाई हामी सबैले मेहनत गरेर निर्वाचित भएर प्रदेशको सरकारमा, संघको सरकारमा पुगेका छौं, यहाँ बसेर हामीले परिणाम दिने हो, यसमा हामीले ठिक ढंगले काम गर्न सक्यौ भने अवको ३/४ महिना भित्रमा फेरी देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन, स्थिति ठिक छैन, असहज छ, राम्रोसँग सम्हालेनौ भने बिग्रदै जान्छ । ठिक ढंगले सुझबुझपूर्ण ढंगले सम्हाल्दै गयौ भने फेरी सम्हालिँदै जान्छ ।’ महामन्त्री थापाले २०८० सालमा नेपाली काँग्रेसलाई सुद्धिकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताए । उनले २०८० सालको जेष्ठ अन्तिम साता नेपाली काँग्रेसको नीति अधिवेशन हुने तयारी भईरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदुढीकरण र सुद्धिकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । उनले भने, ‘मेरो खाली तपाईहरुलाई यति मात्रै आग्रह हो–कि अहिले पुरानो जति सडेगलेको, नयाँ जति राम्रो भन्ने भ्रमपूर्ण नाराका साथमा जुन खालको गिजोल्ने प्रयास नेपालको राजनीति र नेपाली समाजमा भईरहेको छ, २०८० साललाई निर्वाचन प्रणालीमा सुधारका लागि बहस सुरु गरौं, हामी जेष्ठको अन्तिम साता दिन काँग्रेसको नीति सम्मेलन गर्ने तयारी गर्दैछौं, त्यसमा व्यापक रुपमा छलफल गरौं र, यो साललाई काँग्रेसको सुद्धिकरण र काँग्रेसको सुदृढीकरणको लागि प्रयोग गरौं ।’ महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए ।
बिटक्वाइनको मूल्यमा भारी उछाल, ३० हजार डलर नाघ्यो
एजेन्सी । लामो समयसम्म ओरालो लागेको बिटक्वाइनको मूल्यमा पछिल्लो समय भारी उछाल देखिएको छ । केही अमेरिकी बैंकहरुमा देखिएको संकटसँगै उकालो लागेको बिटक्वाइनको यात्रा शनिबार ३० हजार चार सय ६६ डलर पुगेको छ । अमेरिकी फेडरल रिजर्बले बैंकिङ ब्याजदर वृद्धिको प्रकृयालाई रोक्ने अनुमान गरिएकोले लगानीकर्ताहरुले जोखिमपूर्ण क्षेत्रमा लगानी गर्न थालेका छन् । सोही कारणले बिटक्वाइनको पछिल्लो समय खरिद बिक्री बढ्दा मूल्य बढेर ३० हजार डलर नाघेको हो । शुक्रबार जारी गरिएको अमेरिकी ननफार्म पेरोल रिपोर्टले अमेरिकी अर्थतन्त्रमा अझै धेरै लचिलो अवस्था रहेको संकेत गरेको छ । पछिल्लो महिनामा देखिएको बैंकिङ संकटलाई लिएर ब्याजदरमा फेडरल रिजर्ब बैंक नरम बन्न सक्ने अनुमान गर्दै लगानीकर्ताहरु क्रिप्टोतर्फ आकर्षित भएका हुन् ।
बिस्केट जात्रामा सिन्दुरले रङ्गियो मध्यपुरथिमि
भक्तपुर । हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर टोल–टोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत जात्राको भीडमा रमाएका देखिन्थे । आज मध्यपुरथिमिका बासिन्दालेसुथसिया अर्थात् बिहानीको जात्रा हर्षोल्लासपूर्वक मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोल–टोलका देवता विराजमान खट जात्रा गरी टोल–टोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणमा २६ देवी–देवता विराजमान खटलाई ल्याएर मन्दिरको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा नाच्दै, अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् । थिमिमा मात्र मनाइने यो जात्रामा एक–अर्कालाई सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजामा नाच्दै हात–हातमा चिराग बाल्दै खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्यरूपमा मनाउने परम्परा छ । केही वर्षयता भने २६ खटमात्रै जात्रामा सहभागी हुने गरेका छन् । जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको हो । जात्रा सुरु भएपछि पमाहरू हात–हातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीको खट ल्याएर जात्रा मनाइएको छ । थिमिमा ३२ खट सहभागी रथ बोकेर गराई परम्परागतरूपमा मनाउने गरिन्छ । अहिले थिमि क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक स्थानमा खट जात्राका साथ सिन्दुर जात्रा मनाइएको छ । यसमा थिमिको बालकुमारी, दक्षिण बाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोल–टोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ । जात्रामा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन रहेको छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक–अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले यसलाई सिन्दुर जात्रा पनि भनिएको हो । बालकुमारीबाट परम्परागतरूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिएको थियो । परम्पराअनुसार देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ । अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यो परिक्रमा गरी क्रमैसँग सुगां द्यो, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ । यस वर्ष वैशाख २ गते शनिबार परेकाले यहाँको खटसहितको जात्रालाई शङ्खधर चोक हुँदै सूर्यविनायक नगरपालिका–५ स्थित दक्षिण बाराही मन्दिरमा समेत लगिएको छ । धेरै वर्षपछि वैशाख २ गते शनिबार परेकाले जात्रालाई दक्षिण बाराही मन्दिर लगेर परिक्रमा गरेर फर्काइएको मध्यपुरथिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। वैशाख २ गते शनिबार पर्दा कुनै निष्ट नहोस् भनेर दक्षिण बाराहीमा समेत जात्रा लगिने परम्परा रहेको स्थानीय बताउँछन् । आजको जात्रा मध्याह्नसम्म चल्ने र यो जात्रा समापन भएपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने नगरप्रमुख श्रेष्ठले जानकारी दिए । जात्राको कांग्रेस नेता प्रकाशमान सिंह, इन्द्र बानियाँ र पार्टीका जिल्ला सभापति दुर्लभ थापा, माओवादी केन्द्रका नेता लीलामणि पोखरले, शशि श्रेष्ठ, देवेन्द्र श्रेष्ठ र डिपी ढकाल तथा विभिन्न नगरपालिकाका नगरप्रमुख एवं उपप्रमुख, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिले अवलोकन गरेका थिए । रासस ।
पोखराका होटलमा ९० प्रतिशत पर्यटक, व्यवसायी खुसी
पोखरा । नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन् । कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । पोखरा र आसपास गरी यहाँ ठूला–साना गरी लगभग एक हजार दुई सय होटल सञ्चालनमा छन् । उनले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको उनले बताए । ‘नयाँ वर्षका कारण यतिखेर लेकसाइडका होटल लगभग शतप्रतिशत भरिएका छन्’, उनले भने, ‘लेकसाइडमात्र नभई पोखरा र आसपासका होटलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ ।’ नयाँ वर्षको अघिल्लो दिन चैत ३० गते र वैशाख १ गते लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए। नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल वर्षेनी बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन् ।