राष्ट्र बैंकले स्वीकृति नदिँदा चैतमा वार्षिक साधारण सभा गर्न सकेनौं : नेष्डो समृद्ध लघुवित्त
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि चैतमा वार्षिक साधारण सभा गर्न नसकेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले बताएको छ । एजिएम क्लियरेन्सका लागि राष्ट्र बैंकमा वित्तीय विवरण पठाएपनि स्वीकृति नपाउँदा चैत मसान्तसम्म वार्षिक साधारण सभा गर्न नसकेको लघुवित्तले बताएको हो । लघुवित्तको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले ७३.६८ प्रतिशत लाभांश वितरण घोषणा गरेको थियो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत बोनस सेयर, २० प्रतिशत नगद र ३.६८ प्रतिशत कर प्रयोजनका लागि गरी कूल ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकको स्वीकृतिपश्चात् मात्रै लघुवित्तले वार्षिक साधारणसभा बोलाउनेछ ।
आठाैं पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रचण्ड, तीन बजे सपथ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौंपटक मन्त्रिपरिषद् विस्तार गर्दैछन् । गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले यसअघि सातौँ पटक मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् । उनले आठौँ पटक आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन । मन्त्रिपरिषद् विस्तार सँगै नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका नेतो एनपी साउदलाई परराष्ट्र मन्त्रीको रुपमा तीन बजे शपथ ग्रहण गर्ने जनाईएको छ । ५ वटा मन्त्रालय खाली रहेकोमा परराष्ट्र मन्त्रीको मात्र आइतबार सपथ हुनेछ भने बाँकी ४ वटा मन्त्रालय खाली रहेनछन् । गत चैत १७ गते सातौँ पटक मन्त्रिपरिषद् विस्तार पछि प्रधानमन्त्री प्रचण्डले ५ वटा मन्त्रालय आफैं सम्हालेका थिए । आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् । प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ । तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।
आणविक भट्टी बन्द गर्दै जर्मनी आणविक शक्तिबाट बाहिरियो
एजेन्सी । जर्मनीले शनिबारदेखि आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गर्ने भएको छ र आणविक शक्तिबाट बाहिरिने भएको छ । धेरै पश्चिमा देशहरूले आफ्नो उत्सर्जन कम गर्न आणविक ऊर्जामा आफ्नो लगानी बढाइरहेका बेला जर्मनीले आफ्नो आणविक युगको अन्त्य गरेको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रले सन् २००२ देखि नै आणविक उर्जाशक्तिलाई अन्त्य गर्न खोजिरहेको थियो । तर सन् २०११ मा जापानमा फुकुशिमा आणविक विपत्तिपछि पूर्व चान्सलर एन्जेला मर्केलले चरणबद्ध रूपमा यसलाई तीव्रता दिएकी हुन् । युक्रेनको चेर्नोबिलजस्ता शीतयुद्धको द्वन्द्व र आणविक विपत्तिको डरले शक्तिशाली आणविक विरोधी आन्दोलन भएको देशमा बहिर्गमनको निर्णय लोकप्रिय हुनेछ । ‘आणविक ऊर्जाको जोखिम अन्ततः अनियन्त्रित छ’, वातावरणमन्त्री स्टेफी लेम्केले भने। उनले यसै हप्ता देशमा जी–७ को बैठकअघि दुर्घटनाग्रस्त जापानी प्लान्टको भ्रमण गरेका थिए । तर सस्तो ग्याँस आयातलाई अन्त्य गरेको रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण उत्पन्न चुनौती र उत्सर्जनमा छिटो कटौती गर्नुपर्ने आवश्यकताले जर्मनी आणविक ऊर्जाबाट फिर्ता हुन ढिलाइ गर्न स्थानीय विश्लेषकहरूले आह्वान गरेका थिए । आणविक विरोधी आन्दोलनको केन्द्रमा रहेको ग्रीनपीसले बर्लिनको ब्रान्डेनबर्ग गेटमा एक उत्सव पार्टी आयोजना गरेको छ । ‘अन्तमा, आणविक ऊर्जा इतिहासको हो, यो अप्रिल १५ लाई सम्झने दिन बनाऔं’, ग्रीनपीसले भनेको छ । यसैबीच, कन्जरभेटिभ दैनिक एफएजेडले आफ्नो शनिबारको संस्करणमा ‘धन्यवाद, आणविक ऊर्जा’ शीर्षकमा हेडलाइन बनाएको छ र यसलेले वर्षौंदेखि आणविक शक्तिले देशलाई ल्याएको फाइदाहरू सूचीबद्ध गरेको छ ।
प्रभु लाइफले चामुण्डा माईको जात्राका गर्यो सहयोग
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले काभ्रेको नालामा हुने चामुण्डा माई जात्रालाई सहयोग गरेको छ । विगत २० वर्ष देखि नेपाली नयाँ वर्षका अवसरमा आयोजना हुने रथ जात्रालाई प्रभु लाइफ इन्स्योरेन्सले सहयोग गरेको हो । प्रत्यक्ष रुपमा जात्रामा सहभागी हुनेहरुका लागि प्रभु लाइफका तर्फबाट टिसर्ट प्रदान गरी सहयोग गरिएको थियो । प्रभु लाइफले स्थानीय समुदायहरुसँग सहकार्य गर्दै यस्ता जात्रा, पर्व एवं संस्कृतीको जगेर्नामा सहयोग गर्दै आइरहेको कम्पनीले जनाएको छ । हाम्रा मौलिक जात्रा, पर्वहरु हाम्रा सम्पत्ती एवं पहिचान हुन्, त्यसैले यस्ता कार्यमा हातेमालो गर्न पाउनु गर्वको विषय हो, कम्पनीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । जात्रा समिति संयोजक रविनसन श्रेष्ठले प्रभु लाइफले जात्रालाई विशेष सहयोग गरी जात्रा, महोत्सवलाई महत्वका साथ लिएकोमा हार्दिक धन्यवाद व्यक्त गरे । विगतमा भक्तपुरकै जात्रालाई मानेर आएकोमा २० वर्ष अघिबाट नालामा आफ्नै जात्रा सुरु गरिएको संयोजक श्रेष्ठले बताए । नालामा रहेका नेवार समुदायलाई समेटेर जात्रा सुरु गरिएको र हाल यो जात्राले छुट्टै पहिचान एवं महत्व बोकेको छ, संयोजक श्रेष्ठले थपे ।
‘म भ्रष्ट भए यो दुनियामा कोही पनि ईमान्दार व्यक्ति छैन’ : मुख्यमन्त्री केजरीवाल
एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफु भ्रष्ट नभएको बताएका छन् । शनिबार मुख्यमन्त्री केजरीवालले आफुलाई इमान्दार भएको दावी गर्दै भने, ‘यदि अरविन्द केजरीवाल भ्रष्ट भए यो संसारमा इमानदार कोही पनि छैन ।’ राष्ट्रिय राजधानीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘भोलि उनीहरू (सीबीआई अधिकारी) ले मलाई बोलाएका छन् र म अवश्य जान्छु । तर भाजपाले सीबीआईलाई मलाई पक्राउ गर्न आदेश दिएको छ भने सीबीआईले पक्कै पनि उनीहरूको निर्देशन पालना गर्नेछ ।’ केजरीवालले ट्वीटरमा भन्नुभएको छन्, ‘केन्द्रीय अनुसन्धान ब्युरो र इन्फोर्समेन्ट डाइरेक्टरेटका अधिकारीहरूविरुद्ध ‘झुटो बयान दिएको र अदालतमा झूटो प्रमाण पेश गरेको’ आरोपमा उपयुक्त मुद्दा दायर गरिनेछ, हामी सीबीआई र ईडीका अधिकारीहरूविरुद्ध झूटो बयान दिएको र अदालतमा झूटो प्रमाण पेश गरेकोमा उपयुक्त मुद्दा दायर गर्नेछौं ।’ ‘मलाई सीबीआईले बोलाइएको छ, म पक्कै पनि यसको सम्मान गर्नेछु, मेरो पत्रकार सम्मेलन पनि त्यसैमा केन्द्रित छ’, आम आदमी पार्टी (आप) का अध्यक्षसमेत रहनुभएका केजरीवालले भने । यसअघि पत्रकार सम्मेलनमा केजरीवालले दिल्ली विधानसभामा भ्रष्टाचारविरुद्ध बोलेको दिनदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले बोलाउने लाइनमा आफू रहेको आफूलाई थाहा भएको दाबी गरेका थिए । पत्रकारसँग कुरा गर्दै उनले भने, ‘मदिरा नीतिको छानबिनमा केन्द्रीय निकायहरूले हामीविरुद्ध अदालतमा झूट बोलिरहेका छन्, पक्राउ परेकाहरूलाई यातना दिइँदैछ, उनीहरूमाथि हामीलाई नेल लगाउन दबाब सिर्जना भइरहेको छ’, उनले भने, ‘सीबीआईले मनीष सिसोदियामाथि रक्सी नीतिको मुद्दामा झुटो आरोप लगाएको छ, झूटो बयान लिन मानिसहरूलाई पिटिएको छ, एजेन्सीहरूले प्रमाणका लागि मानिसहरूलाई यातना दिइरहेका छन्, भ्रष्टाचार उन्मूलनका लागि यो ठूलो नीति थियो ।’ सीबीआईले केजरीवाललाई अप्रिल १६ मा एजेन्सीसमक्ष उपस्थित हुन बोलाएको छ । आम आदमी पार्टी (आप) का नेताहरू पनि केजरीवाललाई सोधपुछका लागि सीबीआईसमक्ष उपस्थित गराइने बताएका छन् । दिल्लीका पूर्व उपमुख्यमन्त्री तथा केजरीवालका प्रमुख सहयोगी मनिष सिसोदिया आबकारी नीति प्रकरणमा अनियमितता गरेको आरोपमा जेलमा छन् । सिसोदियालाई ईडी र सीबीआईले दिल्लीमा आबकारी नीति को निर्माण र कार्यान्वयन मा कथित अनियमितता संग सम्बन्धित एक मामला को जारी अनुसन्धानका क्रममा गिरफ्तार गरेको थियो । सीबीआईले सिसोदियालाई २६ फेब्रुअरीमा गिरफ्तार गरेको थियो । पछि मार्च ९ मा ईडीले तिहाड जेलमा घन्टौंको सोधपुछपछि उनले अवैध धन्धा चलाएको आरोपबारे थप अनुसन्धान चलाइने बताएको थियो ।
जुम्लामा धान खेती भन्दा यर्सा टिपेर तेब्बर आम्दानी हुने
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलोमा मार्सी धानको खेती घट्दै गइरहेको छ । विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने छुमचौर जिउलोमा अहिले मार्सी धानखेती विस्तारै घटेको पातारासी गाउँपालिका–३ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए । यहाँका कतिपय किसानले जौँ, गहुँ, मकै, आलु रोप्ने गर्छन् । कतिपयले खेत बाँझै राख्ने गरेका छन् । खेतमा कालीमार्सी धान रोप्दा रोग–कीरा लाग्ने र बाली निकै कम हुने भएपछि कालीमार्सीको खेती गर्न छाडिएको जनाइएको छ । उनले भने, ‘धानखेतीका लागि प्रशस्त पानी छ । सिँचाइ कुला पनि खेतसम्मै पुगेका छन् । तर महिनौँदेखि मेहनत गरेर रोपिएको कालीमार्सी धान घर भित्र्याउने समयमा रोग–कीराको सङ्क्रमण हुने र असिना पानीले झारिने गर्दा यहाँका किसान कालीमार्सी धान रोप्ने चासो नदिएका हौँ ।’ पछिल्लो समय उत्पादनमा गिरावट आउन थालेपछि कालीमार्सी खेती गर्न छाडिएको छ । कालीमार्सी धानको आफ्नै पहिचान छ । तर पहिचानले खान लाउन पुग्दैन । धान लगाउन पर्याप्त धान उत्पादन पनि हुन जरुरी रहेको पातारासी–२ का ६२ वर्षीय गोर्खे बुढाले बताए । समुद्री सतहबाट दुई हजार आठ सय ५० मिटरको उचाइ रहेको छुमचौर जिउलोमा मार्सी धानखेती हुने गरेको पातारासी गाउँपालिका कृषि शाखाका प्रमुख रुपक बुढाले जानकारी दिए । कालीमार्सी धानखेती संरक्षण गर्नका लागि पालिकाले आवश्यक सहयोग गरेको छ । किसानलाई उत्पादनमूलक क्षेत्रमा जोड्नका लागि विभिन्न क्षमता अभिवृद्धिका तालिमसमेत दिएको छ । किसानले उत्पादन गरेको धान बजारीकरण हुनसकेको छैन । केही किसानले खेतमा धानको सट्टा अर्को बाली लगाउँदै आएका छन् । यो वर्षबाट पूरै छुमचौर जिउलोमा धानखेती गरिने कृषि शाखाका प्रमुख बुढाको भनाइ छ । कृषि शाखाले पनि सो जिउलोको धानखेतीमा लगानी गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । किसानका अनुसार धान उब्जनी कम हुन थालेपछि धान सिजनमा यहाँका अधिकांश बालबालिका र युवायुवती यार्सा सङ्कलनका लागि पाटनतिर जाने गरेका छन् । जिउलोमा धान पाक्न आठ महिना लाग्छ तर त्यसको सट्टामा पाटनमा यार्सा टिप्न जाँदा एक महिनामै तेब्बर आम्दानी हुन्छ । यार्सा टिप्न गएपछि पाटनमा एक घर परिवारले एक महिनामा न्यूनतम ५० हजार रुपैयाँदेखि एक लाखसम्म कमाउँछन् । एक महिनाको कमाइले वर्षभरको रोजीरोटी सहजै व्यवस्था हुने देखिएपछि जिउलोमा मेहनत गर्नुभन्दा पाटनमा गएर यार्सा टिप्नु नै सहज हुने पातारासीका किसान बताउँछन् । कृषि अनुसन्धान केन्द्र जुम्लाले पनि कालीमार्सी धान निकै पुरानो भएकाले रोग प्रतिरोधी मार्सी धानको अनुसन्धान भइरहेको जनाएको छ । जिल्लाका आठवटै स्थानीय तहमा यहीँ जेठ महिनाको पहिलो सातादेखि खेतमा मार्सी धानको रोपाइँ हुने गरेको छ । यो याममा खेतमा किसानले जोँखेती गरेका छन् । रासस
एनआईसी एशिया बैंकले धितोमा रहेको घरजग्गा र सवारी साधन बेच्दै
काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा राखिएको सवारी साधन र घरजग्गा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितोमा राखिएका सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकले ऋणी हेटौडास्थित शिवशक्ति स्टोर्सका प्रोप्राइटर तथा जमानीकर्ता आदित्य ना. कुशवाहाको नाममा दर्ता कायम रहेको घरजग्गा बिक्री गर्ने भएको हो । हेटौडा उपमहानगरपालिका ५ स्थित कित्ता नम्बर ४६५६, ४६४८ र ४६५२ को क्रमशः ०-०-१४-०, ०-१-६.५-० र ०-०-३.५-० बिघा घरजग्गा र शिवशक्ति स्टोर्सको स्वामित्वमा रहेका मालसामान बिक्री गर्नेछ । यस्तै, भक्तपुर नगरपालिका ४ स्थित गोरखनाथ सुनचाँदी ज्वेलर्स ट्रेडर्सका प्रोप्राइटर कान्छा लगुनको नाममा रहेको कोभ्रेको पनौति ८ मा रहेको कित्ता नम्बर ६६२ र ७४२ को क्रमशः ५४०.५३ र १२७.१६ रोपनी क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने भएको हो । साथै, गोरखनाथ सुनचाँदी ज्वेलर्स ट्रेडर्सको स्वामित्वमा रहेका मालसामान पनि बिक्री गर्नेछ । यस्तै, रुपन्देशीको बिन्दास ग्रुपका सञ्चालक तिलक प्रसाद भुसाल तथा जमानीकर्ता यज्ञप्रसाद भुसालको नाममा दर्ता कायम रहेको कित्ता नम्बर ३६२ र १४९२ को क्रमशः १३०३.७० र १०१.५८ वर्गमिटर क्षेत्रफल भएको घरजग्गा बिक्री गर्नेछ । यस्तै, साविक चन्दननाथ गा.वि.स.६ स्थित न्यू कनकासुन्दरी होटल एण्ड रेष्टुरेण्टका सञ्चालक काली बहादुर बुढाकी पत्नि दुधकला बुढाको नाममा रहेको कित्ता नम्बर ४४७ को ७८.५० वर्गमिटर क्षेत्रफल भएको घरजग्गा लिलामीमा बिक्री गर्नेछ । यस्तै, नवलपरासी देवचुली नगरपालिका १३ का सन्तोष पौडेलको बा १५ च ९२५० नम्बरको डटसन रेडि मोडलको सवारी साधन बिक्री गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
नेप्सेमा ५ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत चैत २६ गते आइतबारदेखि चैत ३० गते बिहीबारसम्म ङादी ग्रुप पावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, पोखरा फाइनान्स, यूनियन लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । ङादी ग्रुप पावरको ४.७५ प्रतिशत बोनस वापतको ८ लाख ३९ हजार ४८२.२२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस वापतको २ लाख ३० हजार ८२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २.४० प्रतिशत बोनस सेयर र ५.२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, पोखरा फाइनान्सको ४ प्रतिशत बोनस वापतको ४ लाख १६ हजार ३६७.९२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, यूनियन लाइफ इन्स्योरेन्सको ८.९७ प्रतिशत बोनस वापतको १९ लाख २८ हजार ५५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यस्तै, महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस वापतको १६ लाख ४ हजार ३५३.३१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।