विकासन्युज

एनआईसी एशिया बैंकले धितोमा रहेको घरजग्गा र सवारी साधन बेच्दै

काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा राखिएको सवारी साधन र घरजग्गा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितोमा राखिएका सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकले ऋणी हेटौडास्थित शिवशक्ति स्टोर्सका प्रोप्राइटर तथा जमानीकर्ता आदित्य ना. कुशवाहाको नाममा दर्ता कायम रहेको घरजग्गा बिक्री गर्ने भएको हो । हेटौडा उपमहानगरपालिका ५ स्थित कित्ता नम्बर ४६५६, ४६४८ र ४६५२ को क्रमशः ०-०-१४-०, ०-१-६.५-० र ०-०-३.५-० बिघा घरजग्गा र शिवशक्ति स्टोर्सको स्वामित्वमा रहेका मालसामान बिक्री गर्नेछ । यस्तै, भक्तपुर नगरपालिका ४ स्थित गोरखनाथ सुनचाँदी ज्वेलर्स ट्रेडर्सका प्रोप्राइटर कान्छा लगुनको नाममा रहेको कोभ्रेको पनौति ८ मा रहेको कित्ता नम्बर ६६२ र ७४२ को क्रमशः ५४०.५३ र १२७.१६ रोपनी क्षेत्रफल भएको घरजग्गा बिक्री गर्ने भएको हो । साथै, गोरखनाथ सुनचाँदी ज्वेलर्स ट्रेडर्सको स्वामित्वमा रहेका मालसामान पनि बिक्री गर्नेछ । यस्तै, रुपन्देशीको बिन्दास ग्रुपका सञ्चालक तिलक प्रसाद भुसाल तथा जमानीकर्ता यज्ञप्रसाद भुसालको नाममा दर्ता कायम रहेको कित्ता नम्बर ३६२ र १४९२ को क्रमशः १३०३.७० र १०१.५८ वर्गमिटर क्षेत्रफल भएको घरजग्गा बिक्री गर्नेछ । यस्तै, साविक चन्दननाथ गा.वि.स.६ स्थित न्यू कनकासुन्दरी होटल एण्ड रेष्टुरेण्टका सञ्चालक काली बहादुर बुढाकी पत्नि दुधकला बुढाको नाममा रहेको कित्ता नम्बर ४४७ को ७८.५० वर्गमिटर क्षेत्रफल भएको घरजग्गा लिलामीमा बिक्री गर्नेछ । यस्तै, नवलपरासी देवचुली नगरपालिका १३ का सन्तोष पौडेलको बा १५ च ९२५० नम्बरको डटसन रेडि मोडलको सवारी साधन बिक्री गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ३५ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।

नेप्सेमा ५ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ५ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत चैत २६ गते आइतबारदेखि चैत ३० गते बिहीबारसम्म ङादी ग्रुप पावर, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी, पोखरा फाइनान्स, यूनियन लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । ङादी ग्रुप पावरको ४.७५ प्रतिशत बोनस वापतको ८ लाख ३९ हजार ४८२.२२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २.४० प्रतिशत बोनस वापतको २ लाख ३० हजार ८२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २.४० प्रतिशत बोनस सेयर र ५.२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, पोखरा फाइनान्सको ४ प्रतिशत बोनस वापतको ४ लाख १६ हजार ३६७.९२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, यूनियन लाइफ इन्स्योरेन्सको ८.९७ प्रतिशत बोनस वापतको १९ लाख २८ हजार ५५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई ८.९७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यस्तै, महालक्ष्मी विकास बैंकको ४ प्रतिशत बोनस वापतको १६ लाख ४ हजार ३५३.३१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

दोल्ती पावरको आईपीओ खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत २८ गतेदेखि बिक्री खुला गरेको आईपीओमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिने आज बैशाख ३ गते अन्तिम दिन हो । कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ७२ हजार ९७२ कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ लाख ७ हजार २९८ कित्ता वैदेशिक रोजगारीमा रहेको नेपाली र ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ । बाँकी १२ लाख ७१ हजार ८६१ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् कम्पीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयरमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

एमसीएको खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)नेपालको बैंक खाता परामर्शदाताबाट चलाइनु गठन आदेश विपरीत रहेको महालेखा परीक्षकको ६०औँ प्रतिवेदनले औल्याएको छ । बिहीबार सार्वजनिक भएको महालेखा परीक्षकको प्रतिवेदनले मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति गठन आदेश, २०७४ को व्यवस्थासँग बाझिने गरी परामर्शदाताले खाता चलाएको उल्लेख छ । गठन आदेशमा रहेको व्यवस्था र नेपाल सरकार तथा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको कार्यक्रम कार्यान्वयन सम्झौताको व्यवस्था फरक–फरक हुँदा यस्तो अवस्था देखिएको हो । ‘एमसीए नेपाल विकास समितिले गर्ने खर्चको भुक्तानीका लागि छुट्टै परामर्शदाताबाट सेवा लिई अन्तिम भुक्तानीका लागि चेक तयार गरी हस्ताक्षर गर्ने कार्यसमेत परामर्शदाताबाटै भएको छ, गठन आदेश र सम्झौतामा भएको व्यवस्था बाझिएको देखिन्छ,’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनअनुसार एमसीएको खाता तथा कोष सञ्चालन कार्यकारी निर्देशक र लेखा प्रमुखको संयुक्त दस्तखतबाट सञ्चालन हुनुपर्नेमा परामर्शदाताबाट भइरहेको छ । ‘मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति गठन आदेश, २०७४ को दफा १० मा समितिको आफ्नो एउटा छुट्टै कोष हुने र सो कोषमा नेपाल सरकारबाट प्राप्त रकम, एमसीसीमार्फत सम्झौता अवधिभर प्राप्त हुने रकम, नेपाल सरकार र एमसीसीले सहमति जनाएका अन्य रकम जम्मा गरी कोष कार्यकारी निर्देशक र लेखा प्रमुखको संयुक्त दस्तखतबाट खाता सञ्चालन हुने उल्लेख छ,’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ, ‘तर नेपाल सरकार र एमसीसीबीच भएको कार्यक्रम कार्यान्वयन सम्झौताको धारा ३.१ मा खाता सञ्चालनका लागि वित्त प्रतिनिधि (फिस्कल एजेन्ट) को हस्ताक्षर आवश्यक पर्ने उल्लेख छ, यसबाट गठन आदेश र सम्झौतामा भएको व्यवस्था बाझिएको देखिन्छ ।’ एमसीएको फिस्कल एजेन्टका रुपमा अमेरिकी कम्पनी डिटी–ग्लोबलले काम गरिरहेको छ । एमसीए नेपालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट यो कम्पनीलाई फिस्कल एजेन्टका रुपमा छानेको थियो । एमसीए नेपालका कर्मचारीबाटै गर्न सकिने कामका लागि समेत फिस्कल एजेन्ट नियुक्त गरिँदा त्यसले खर्च बढाएको पनि महालेखाको प्रतिवेदनमा जनाइएको छ । एमसीए नेपालअन्तर्गतका कार्यक्रममा एमसीसीबाट खर्च गरिनुपर्ने १५ करोड ९१ लाख ९३ हजार रुपैयाँ बराबर नेपाल सरकारको खाताबाट खर्च भएको देखिएकाले यसलाई शोधभर्ना गरिनुपर्ने पनि महालेखाको प्रतिवेदनमा उल्लेख छ । ‘नेपाल सरकारले बेहोर्ने खर्च विद्युत् लाइन विस्तार आयोजनामा मात्र खर्च गर्ने सम्झौतामा उल्लेख भए पनि सडक मर्मत तथा सम्भार परियोजनामा १ करोड २६ लाख २० हजार रुपैयाँ र कार्यक्रम व्यवस्थापन तथा प्रशासनमा १४ करोड ६५ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ,’ महालेखाले भनेको छ, ‘मिलेनियम च्यालेन्ज कर्पोरेसनबाट खर्च गर्नुपर्ने रकम नेपाल सरकारबाको स्रोतबाट खर्च भएकाले उक्त रकम शोधभर्ना प्राप्त गर्नुपर्दछ ।’

बूढीगण्डकी आयोजनाको निर्माण कार्य छिट्टै अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी जलाशययुक्त आयोजना आगामी आर्थिक वर्षदेखि निर्माण सुरु हुने बताएका छन् । गोरखाको पालुङटार नगरपालिकामा महटार युवा क्लबको आयोजनामा सुरु भएको फुटबल प्रतियोगिताको उद्घाटनमा सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि देशको आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको थालनी गरिने बताए । ‘गोरखा जिल्लाका लागि मात्र होइन, राष्ट्रका निम्ति अत्यन्त ठूलो योगदान पुर्याउने बूढीगण्डकी परियोजनालाई अर्को वर्षदेखि निर्माण अघि बढाइएको छ, बेनीघाट आरुघाट रुइला भञ्ज्याङ सडक निर्माण गरी चीनसँगको नाका खोल्नका लागि समेत सरकारले प्रस्ताव गरिरहेको छ,’ उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार जनताले अनुभूति गर्ने गरी विकास निर्माणका कामअघि बढाउन प्रतिबद्ध रहेकोसमेत बताए । राजनीतिक परिवर्तनलाई जोगाउँदै सम्बृद्ध नेपाल बनाउनु अहिलेको सरकारको उद्देश्य रहेको उनको भनाइ छ । ‘अहिले प्राप्त राजनीतिक परिवर्तनलाई जोगाउने, यो परिवर्तनलाई माध्यम र साधन बनाएर नेपाललाई विकसित र सम्बृद्ध देश बनाउँदै जनताले परिवर्तनको अनुभूति गर्ने गरी काम गर्ने अहिलेको सरकारको अभिभारा हो भन्नेमा सरकार स्पस्ट छ,’ उनले भने । लामो सङ्र्घषपछि ठूलो बलिदानीका साथ युगान्तकारी राजनीतिक परिवर्तन भएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले संविधानको पूर्ण कार्यान्वयनका लागि आर्थिक र सामाजिक परिवर्तनमा तीव्रता दिनु आवश्यक रहेको औँल्याए। सबै जनताले परिवर्तनको प्रतिफल प्राप्त गर्नसक्ने र अनुभूति गर्ने गरी देशलाई विकास र सम्बृद्धिको दिशामा लैजानुपर्ने उनको भनाइ छ । ‘देश बनाउने र विकास सम्बृद्धिको प्रतिफल आम जनताले उपयोग गर्न पाउने गरी काम गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट छ,’ उनले भने ।

गोरखाको पालुङटारलाई औँद्योगिक क्षेत्रको रुपमा विकास गरिने

काठमाडौं । गोरखाको पालुङटार नगरपालिकालाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिने भएको छ । पालुङटार नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक नीति, कार्यक्रम तथा बजेट साथै भू–वर्गीकरण कार्यक्रम तर्जुमाको विषयमा काठमाडौँमा आयोजित कार्यक्रममा केन्द्र र प्रदेश सरकारको सहकार्यमा पालुङटारको अवण्डादेखि बगरसम्मको क्षेत्रलाई विशेष औद्योगिक क्षेत्रको रुपमा विकासका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बताइएको हो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जनताको चाहना र आवश्यकतालाई समावेश गरेर आगामी आवको बजेट तर्जुमा गर्नुपर्ने बताए । उनले पालुङटारमा सञ्चालन गरिने ठूला विकासका आयोजनालाई केन्द्रीय सरकारको सहयोग हुने बताए । गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले उत्पादनमूलक क्षेत्रमा बजेट विनियोजन गर्न आग्रह गरे । नेपाली कांग्रेसका नेता एवम् गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डेले पालुङटार नगरपालिकाभित्र रहेका प्रमुख पर्यटकीय गन्तव्यको पहिचान गरी पर्यटनको विकास गर्नुपर्ने बताए । उनले नगरपालिकाभित्र भूवर्गीकरण वैज्ञानिक ढङ्गले गर्नुपर्नेमा जोड दिए । विपद् व्यवस्थापन विज्ञ डा.कृष्णचन्द्र देवकोटाले पालुङटारभित्रको भू–वर्गीकरण गर्दा विपद्को बाटोलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन, उपप्रमुख बन्दना पाण्डेले नगरपालिकाले निश्चित समयमा नीति तथा कार्यक्रम निर्माण गर्ने, बजेट बनाउने र कार्यान्वयन गर्ने बताए । पालुङटारको विकासमा केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक रहेको उनीहरुले बताएका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले चालु आवमा पालुङटार नगरपालिकाले ८० प्रतिशतभन्दा बढी वजेट खर्च गरिसकेको बताए ।

ढाकाकुमारमाथि रास्वपाले गरेको कारबाहीबारे संसद् सचिवालयले अध्ययन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ । सो पार्टीले समानुपातिक सांसद श्रेष्ठलाई गएको चैत ३० गते सांसदबाट निष्कासित गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा भएको व्यवस्थाअनुसार सङ्घीय सचिवालयले रास्वपाले श्रेष्ठमाथि गरेको कारबाही कानुनसम्मत छ कि छैन भनेर अध्ययन गर्न लागेको जनाइएको छ । सचिवालयले आइतबारदेखि अध्ययन गरेर सो बारेको यथार्थ सभामुखलाई जानकारी गराउने सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले बताए । उनका अनुसार राजनीतिक दलसम्बन्धी ऐनले जे–जे व्यवस्था गरेको छ, साधारण सदस्यबाट निष्कासन गर्नका लागि जुनविधि प्रक्रिया अपनाउनुपर्छ भनिएको छ, सो सम्बन्धी प्रक्रिया पूरा गरेको छ कि छैन भनेर अध्ययन गरिनेछ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४, ३५ र ३६ मा संसद् सदस्यले दल त्याग गरेमा वा निष्कासन गरेमा त्यसको सूचना संसद्मा दिनुपर्ने र सो सूचना दर्ता भएको १५ दिनभित्र सभामुखले प्रतिनिधि सभाको बैठकमा वाचन गरेर जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ । संसद् नचलेको बेला छ सभामुखले सूचना पार्टीमा सूचना टाँस गरेर जानकारी गराउनुपर्नेछ । गत चैत ३० गते ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको पत्र रास्वपाले आयोगमा पठाएको थियो । आगामी वैशाख १४ गतेभित्र उनीमाथि गरिएको कारबाही प्रक्रियागत रुपमा ठिक भए सभामुखले स्थान रिक्तताको जानकारी गराउने सङ्घीय सचिवालयले जनाएको छ । सभामुखले सदनमा स्थान रिक्तताको जानकारी गराएपछि निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका कुनै एक उम्मेदवारलाई प्राथमिकता क्रम अनुसार छनौट भएका व्यक्तिलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने बताइएको छ । रास्वपाले भने समानुपातिक सूचीमा रहेका विन्दवासिनी कङ्साकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रु दुई करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो ।

स्वीस राजदूतावासले भक्सवागन ब्राण्डको कार बेच्दै

काठमाडौं । स्वीटजरल्याण्ड (स्वीस)राजदूतावासले सवारी साधन बिक्री गर्ने भएको छ । नेपालस्थित स्वीस राजदूतावासले सवारी साधान लिलामीमा बिक्री गर्ने भएको हो । राजदूतावासले सन् २०११ मा बनेको ५३-सीडी-२२ नम्बरको भक्सवागन कम्पनीको सवारी बिक्रीमा राखेको हो । सो सवारी साधन खरिद गर्न इच्छुकले एकान्तकुना स्थित स्वीस राजदूतावासमा सम्पर्क गर्नुपर्नेछ । दूतावासका अनुसार सवारी साधन जहाँ जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गर्ने जनाएको छ । उक्त सवारी खरिद गर्न इच्छुकले सोमबारसम्म आवेदन पेश गर्नुपर्ने जनाएको छ ।