
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बेला आएको बताएका हुन् । नेपाली काँग्रेस मकवानपुर–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुक संकटमा रहेको बेला सरकारले त्यसलाई महशुस गरेर परिणाम दिने गरी काम गर्नुपर्ने स्पष्ट पारे ।
‘प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, चाहे त्यो प्रदेशको मन्त्री होस्, चाहे त्यो नगरको मेयर होस् वा चाहे त्यो वडाध्यक्ष होस्, चाहे त्यो देशमन्त्री, प्रधानमन्त्री होस्, उसको सोच्ने तरिका भनेको नेपालमा अहिले महाविपत्ति आएको छ, संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनु पर्दछ, ऊसलाई भ्याईनभ्याई हुनु पर्दछ, त्यो अप्ठ्यारो उसले महशुस गर्न सक्नु पर्दछ, अनिमात्रै परिणाम दिन सकिन्छ, यो सरकारमा बस्ने साथीहरुले गर्ने काम हो, हामी अहिले सरकारमा छौं’, महामन्त्री थापाले भने ।
महामन्त्री थापाले सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जानेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो । सरकारले राम्रो काम गर्दै गए ३/४ महिना भित्रै मुलुक सम्हालिँदै जाने उनको भनाई थियो । उनले भने, ‘काँग्रेस सरकारमा छ, तपाई हामी सबैले मेहनत गरेर निर्वाचित भएर प्रदेशको सरकारमा, संघको सरकारमा पुगेका छौं, यहाँ बसेर हामीले परिणाम दिने हो, यसमा हामीले ठिक ढंगले काम गर्न सक्यौ भने अवको ३/४ महिना भित्रमा फेरी देशमा सबै कुरा सम्हाल्न नसकिने भएको पनि होइन, स्थिति ठिक छैन, असहज छ, राम्रोसँग सम्हालेनौ भने बिग्रदै जान्छ । ठिक ढंगले सुझबुझपूर्ण ढंगले सम्हाल्दै गयौ भने फेरी सम्हालिँदै जान्छ ।’
महामन्त्री थापाले २०८० सालमा नेपाली काँग्रेसलाई सुद्धिकरण र सुदृढीकरण गर्नका लागि सिंगो पार्टी पंक्ति लाग्नुपर्ने पनि बताए । उनले २०८० सालको जेष्ठ अन्तिम साता नेपाली काँग्रेसको नीति अधिवेशन हुने तयारी भईरहेको उल्लेख गर्दै त्यसमा पार्टीको सुदुढीकरण र सुद्धिकरणका लागि व्यापक छलफल गर्न पनि पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । महामन्त्री थापाले ‘पुरानो जति सडेगलेको र नयाँ जति राम्रो’ भन्ने भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।
उनले भने, ‘मेरो खाली तपाईहरुलाई यति मात्रै आग्रह हो–कि अहिले पुरानो जति सडेगलेको, नयाँ जति राम्रो भन्ने भ्रमपूर्ण नाराका साथमा जुन खालको गिजोल्ने प्रयास नेपालको राजनीति र नेपाली समाजमा भईरहेको छ, २०८० साललाई निर्वाचन प्रणालीमा सुधारका लागि बहस सुरु गरौं, हामी जेष्ठको अन्तिम साता दिन काँग्रेसको नीति सम्मेलन गर्ने तयारी गर्दैछौं, त्यसमा व्यापक रुपमा छलफल गरौं र, यो साललाई काँग्रेसको सुद्धिकरण र काँग्रेसको सुदृढीकरणको लागि प्रयोग गरौं ।’
महामन्त्री थापाले कुनै पनि पार्टीले एकल सरकार बनाउने अवस्था नरहेको भन्दै निर्वाचन प्रणाली सुधारका लागि संविधान संशोधन गर्नुपर्नेमा पनि जोड दिए ।