आइतबार तीन कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज सामान्य अंकले घटेको छ । आज नेप्से २.८० अंकले घटेर १९३१.६८ विन्दुमा पुगेको छ । बजार घटे पनि तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा क्रमशस् आदर्श लघुवित्त वित्तिय संस्था, मोलुङ हाइड्रोपावर कम्पनी र कालिन्चोक दर्शन लिमिटेड रहेको छ । आज आदर्श लघुवित्त वित्तिय संस्थाको प्रतिश सेयर मूल्य १३० रुपैयाँ, मोलुङ हाइड्रोपावरको प्रति सेयर मूल्य १५.५० रुपैयाँ र कालिन्चोक दर्शनको प्रति सेयर मूल्य ५०.१० रुपैयाँले बढेको हो । यस्तै, आज ३० लाख कित्ता सेयर किनबेच हुँदा ९१ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा सोल्टी होटल रहेको छ । यस कम्पनीको आज तीन करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
महालक्ष्मी विकास बैंकद्धारा काठमाडौं सुन्दर बनाउन सहयोग
काठमाडौं । महालक्ष्मी बैंकले काठमाडौं सुन्दर बनाउन सहयोग गरेको छ । फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । महालक्ष्मी बैंकले सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरको छ । बैंकको बानेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो । बानेश्वर शाखाका प्रमुख विकाश रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई सामाग्री हस्तान्तरण गरेका थिए । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
सामाजिक उद्यमशीलतामा नयाँ आयाम
काठमाडौं । सामाजिक उद्यम के हो भन्ने सम्बन्धमा आजसम्म सर्वमान्य परिभाषा छैन विश्वव्यापीरुपमा अवधारणागत अस्पष्टता छ, वा आफ्नै तवरले परिभाषित गर्ने गरिएको पाइन्छ । देश, समाज र परिवेश अनुरुप यसलाई फरकफरक तबरको हेरेको पाइन्छ । तथापि मूलतः नाफा वितरणको आधारमा सामाजिक उद्यम र निजी व्यवसायबीचको फरक छुट्याउन सकिन्छ । सामाजिक उद्यमकोध्येय समाजको विकासमा योगदान गर्नु हो भने निजी व्यवसायको ध्येय आफ्ना सेयरवालाको नाफा वृद्धि गर्नु हो । अर्को शब्दमा भन्ने हो भने सामाजिक उद्यम भन्नाले स्वच्छ प्रतिस्पर्धामा आधारित व्यवसाय, वातावरणमैत्री व्यवसाय र समाजका सिमान्तकृत व्यक्तिलाई सहयोग गर्ने व्यवसाय भन्न सकिन्छ । सामाजिक उद्यम बजारको एक यस्तो अवधारणा हो, जसले व्यवसायवाट हुने नाफाभन्दा त्यसबाट समाजमा परेको प्रभावलाई बढी महत्व दिन्छ । आफूले आर्जन गरेको नाफा समाजका निश्चित वर्ग र समुदाय लाभान्वित हुने गरी खर्चगर्नु नै सामाजिक उद्यम हो । यसले समाजमा कस्तो प्रभाव सिर्जना गरेको छ सोही आधारमा मूल्याङ्कन गर्न सकिन्छ नकि त्यसले आर्जन गरेको नाफाका आधारमा । सामाजिक उद्यमलाई यसका विशेषताको आधारमा पनि बुझ्न सकिन्छ । अरुलाई सहयोग गर्नु, सामाजिक मूल्य सिर्जना गर्नु, सकारात्मक सामाजिक प्रभाव, दिगोपन, मूल्य मान्यतामा आधारित, नवप्रवद्र्धनका विशेषता हुन् । यस्ता संस्थाले पनि आर्थिक आत्मनिर्भर भई दिगोरुपमा संस्था सञ्चालन गर्न सीमित नाफाको उद्देश्य राख्दछन् । तथापि त्यस्तो आर्जित नाफा अरुको हितमा खर्च गर्ने र खासगरी आर्थिक सामाजिक रुपमापछि परेका वा विशेष परिस्थिति परी आकस्मिक समस्यामा परेका व्यक्ति तथा समुदायको हिततर्फ लक्षित गरी खर्च गर्ने गरेको पाइन्छ । समाज विकासक्रमसँगै समाज सुधारका विविध प्रयास हुँदै आएको पाइन्छ । वैदिक धर्म, संस्कृति र परम्परा अध्ययन गर्दा प्राचीनकालदेखि नै ‘परोपकार पुण्याय पापाय परपिडनम्’ जस्ता मूल्य मान्यताले समाजलाई निर्देशित गरी आएको पाइन्छ । आधुनिककालमा खासगरी सन् २००४ पछि चीनमा सामाजिक उद्यमसम्बन्धी नवीन अवधारणा सतहमा आएको हो । त्यसपछि विश्वका अन्य देशमा पनि यसको अभ्यास तीव्र रुपमा हुन थाल्यो । विश्वका केही चर्चित सामाजिक उद्यममा अशोका, ग्रामीण विकास बैंक, व्युटीफूल स्टोर, मलाला फन्ड, सेभेन्थ जेनेरेशन, टोम्स सु, सेफ प्वाइन्ट ट्रष्ट, आइफार्मर, वर्क फर इम्प्याक्ट, इरा ९२, नेष्ट, सिट्टी आदिलाई लिन सकिन्छ । नेपालमा प्राचीन समयदेखि कुनै न कुनै प्रकारले सामाजिक व्यावसायिक संस्था सञ्चालनमा रहेको पाइन्छ । गुठी प्रणालीलाई यस्को उदाहरणको रुपमा लिन सकिन्छ । प्राचीनकाल, मल्लकाल र आधुनिककालमा समाज सुधारका क्षेत्रमा केही न केही कार्यहुँदै आएको पाइन्छ । समाज कल्याण ऐन २०३४ बमोजिम स्थापित समाज कल्याण परिषद्ले सामाजिक कल्याणसँग सम्बन्धित कार्यबाट देशको सर्वाङ्गीण विकासमा टेवा पु¥याउनका लागि सम्बन्धित मन्त्रालय तथा सामाजिक सङ्घ संस्थामार्फत समाज कल्याण कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखेको पाइन्छ । ‘मन, बचन र कर्मले सेवा गरौँं’ भन्ने मूल मन्त्रका साथ स्थापित समाज कल्याण परिषदअन्तर्गत हालसम्म ५० हजार तीन सय ५८ स्थानीय गैरसरकारी संस्था र दुई सय ७० वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था दर्ता भई कार्य गरिरहेका छन् । यी संस्थामध्ये ९५ प्रतिशतभन्दा बढी दातामुखी रहेका छन् । हालैका दिनमा अन्तर्राष्ट्रिय समुदायले गैरसरकारी संस्थालाई गर्ने सहयोगको मात्रा घटाउदै लगेको परिवेशमा आत्मनिर्भर सामाजिक उद्यमको महत्व अझैं बढ्दै जाने देखिन्छ । सामाजिक उद्यमसम्बन्धी अवधारणा नेपालको सन्दर्भमा एक नवीन विषय हो । नेपालमा औपचारिकरुपमा भने यो अवधारणा सन् २००८ तिर सुरु भएको हो । हाल शिक्षा बालस्वास्थ्य, वातावरण संरक्षण, महिला, फरक क्षमता भएका व्यक्ति, सामाजिक समस्या, युवा, विद्यार्थी, बेरोजगारी, गरिबी न्यूनीकरण, कृषिजन्य उत्पादन, नवीनतम् प्रविधि, सीप विकास, हस्तकला, कृषिजस्ता क्षेत्रमा सामाजिक संस्था क्रियाशील रहेको पाइन्छ । नैतिक दृष्टान्त कवितामा कविशिरोमणि लेखनाथ पौड्यालले भन्नुभएको छ, ‘‘मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा, एकता हेर कस्तो छ मौरीको महमा सदा’’ । यसै मान्यताअनुसार सामाजिक उद्यमका क्षेत्रमा सुखावती स्टोर, स्मार्ट पानी (पानीको दिगो व्यवस्थापन), बिरुवा भेन्चर (उद्यमशीलता प्रवद्र्धन परामर्श), बिहानी सोसियल भेन्चर (ज्येष्ठ नागरिक), एक्सन वर्क नेपाल (जोखिममा परेका तथा पिछडिएका समूह), एन्थ्रोपोज (मोतिविन्दु), छहारी सर्भिस (महिला सशक्तिकरण), डोको रिसाइकल (फोहर व्यवस्थापन) जस्ता संस्था क्रियाशील रहेका छन् । त्यसैगरी कम्युनिटी होमस्टे डप कम (पर्यटन प्रवद्र्धन), फ्रेन्डस ह्यान्डीक्राफ्टस (महिला सीप तालिम), हाम्री बहिनी (वातावरण), खालिसिसा (फोहर व्यवस्थापन), मितेरी रिसाइकल (वातावरण, महिला सशक्तीकरण), द लोकल प्रोजेक्ट नेपाल (हस्तकला), जावलाखेल ह्याण्डीक्राफ््ट सेन्टर (हस्तकला, गलैँचा उत्पादन), द भिलेज क्याफे पाटन (महिला सीप विकास, सशक्तीकरण), सिइङ ह्यान्डस क्लिनिक (दृष्टिविहिन सीप विकास), सारङ्गी भेजिटेरियन रेष्टुरेन्ट (गाइने जातिको परम्परागत सीप कला संरक्षण) लाईसमेत लिन सकिन्छ । यसका अलावा यस प्रकारका अन्य संस्थामा हाइयर ग्राउन्ड पाटन (महिला सशक्तीकरण, सीप विकास), द क्याफे विथ नो नेम (बालविकास, सडक बालबालिका), महागुठी क्राफ्ट विथ कनसाइन्स ( महिला तथा बालबालिका), ढुकुटी (आर्ट, क्राफ्ट), केटिएम हाट (हस्तकला सामान, चियालगायत नेपाली उत्पादन बिक्री), तिम्रो कन्सेप्ट (नेपाली ब्रान्डका थरीथरी डिजाइन तथा हस्तकला सामग्री उत्पादन बिक्री) जस्ता संस्थालाई लिन सकिन्छ । किङस कलेजले समेत यस क्षेत्रमा अध्ययन अनुसन्धान कार्य गर्ने गरेको पाइन्छ । त्यसैगरी सम्वृद्धि, आइडिया स्टुडियो, अन्तरप्रेरणा, स्टार्टअपस नेपाल, वन टु वाच, नेक्स्ट, सामर्थ, डोल्मा इम्प्याक्ट फन्ड, रक्स स्टार्टलगायतका करिब ५० सामाजिक कम्पनी नेपालमा विभिन्न क्षेत्रमा क्रियाशील रहेको पाइन्छ । हाम्रो समाजमा पनि दैनिक लाखौँ कमाइ हुने र सम्भ्रान्त जीवन जिउने व्यक्तिदेखि बिहान के खाउँ बेलुका के खाउँ अवस्था भएका तथा दिनभरि अर्काको काम गरी कमाएको थोरै पैसाले गर्जो टार्ने बाध्यता भएका व्यक्ति प्रशस्त छन् । आजसम्म भएका राजनीतिक परिवर्तनले यस्ता आर्थिक सामाजिक दृष्टिले पछाडि परेका र भूइँतहमा रहेका व्यक्तिको जीविकोपार्जनमा अनुभूतिजन्य कार्य भएको पाइँदैन । धनी र गरिबबीचको फासला बढ्दै गएको पाइन्छ । देश विकास, अविकास र परनिर्भरताको क्रममै रुमलिरहेको पाइन्छ । नेपालमा सामाजिक उद्यम वा कम्पनी कसलाई भन्ने यसका आधार के हुन भन्नेबारे स्पष्ट सरकारी नीति नै छैन । स्पष्ट कानुनी प्रबन्ध नै नभएको अवस्थामा सामाजिक उद्यम स्थापना तथा सञ्चालनमा समेत अनेक बाधा अडचन झेल्नुपर्ने अवस्था छ । तथापि, केही उत्साही उद्यमीले साँचो अर्थमा समाज सेवाको उद्देश्यले विभिन्न क्षेत्रमा सुरु गरेका नवीन तथा नवप्रवद्र्धनात्मक व्यवसायले सुखद भविष्यको सङ्केत गरेका छन् । यसको ज्वलन्त उदाहरणको रुपमा सुखावती स्टोरलाई लिन सकिन्छ । वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया रहँदा व्युटीफुल स्टोरमा कामको सिलसिलामा सिकेको ज्ञान, सीप र अनुभवबाट प्रभावित भई उत्साही युवा चिजमान गुरुङको अगुवाइमा परोपकारी भावनाका केही व्यक्ति मिलेर एक गैरनाफामूलक व्यावसायिक सामाजिक कम्पनीको रुपमा सुखावती स्टोर स्थापना भएको हो । यस संस्थाको मुख्य उद्देश्य भनेको मानव कल्याण, रोजगारी सिर्जना र खेर गइरहेको सामग्रीको यथासम्भव पुनः प्रयोग गर्ने संस्कृतिलाई बढावा दिँदै वातावरण संरक्षणमा योगदान दिनु हो । सुखावती स्टोरले शून्य फोहरको अवधारणा कार्यान्वयनमा ल्याएको छ । सुखावतीका काठमाडौं उपत्यकास्थित वनस्थली, नेपालटार वा झम्सीखेलस्थित स्टोरमा दैनिक दुई सुयको हाराहारीमा ग्राहक पुग्ने गरेका र त्यसबाट दैनिक सरदर रु बीस हजारसम्मको कारोबार हुने गरेको पाइन्छ । स्वच्छ, सुखी र सुन्दर संसार निर्माणको परिकल्पनालाई केन्द्रमा राखेर सुखावती स्टोरले गरिब न्यूनीकरण, वातावरण संरक्षण र रोजगारी सिर्जनाका निमित्त दिगोरुपमा सामाजिक उद्यम सञ्चालन गर्ने लक्ष्यलाई व्यवहारमा कार्यान्वयन गरेको छ । ‘रिड्युस, रियुज र रिसाइकल’ तथा पिपुल, प्लानेट र प्रोफिटको सैद्धान्तिक जगमा उभिएर यो संस्थाले एकातिर आर्थिक सामाजिक दृष्टिले पछि परेका वर्गलाई लक्षित गरी उनीहरुको आयआर्जन, रोजगारी, स्वास्थ्य, शिक्षा, जीविकोपार्जनमा यथासम्भव सहयोग गर्दै आएको छ भने अर्कोतिर शून्य फोहर अवधारणालाई व्यवहारमा कार्यान्वयन गरी वातावरण संरक्षणमा समेत टेवा पु¥याएको छ । व्यक्ति र परिवारभन्दा माथि उठेर वसुधैव कुटुम्बकम्को परहितकारी मानवतावादी मर्मलाई आत्मसाथ गर्दै ‘सेवा हि परमो यतो धर्म ततो जयू’ जस्ता सदियौंँदेखि हाम्रो समाजमा विद्यमान नैतिक आध्यात्मिक र सामाजिक संहितालाई मूल मन्त्र मानेर मानव जीवन र जगतको सेवा र संरक्षण कार्यमा यस्ता केही सामाजिक संस्थाको भूमिका उदाहरणीय रहेको छ । यस्ता सामाजिक उद्यमले रोजगारी सिर्जना, गरिबी निवारण, महिला सशक्तीकरण, वातावरण संरक्षणलगायत राष्ट्रिय विकासका विविध क्षेत्रमा महत्वपूर्ण योगदान गर्न सक्ने कुरामा सन्देह छैन । यसका लागि सामाजिक उद्यमको स्थापना, सञ्चालन, विकास, विस्तार, नियमन तथा प्रोत्साहन सम्बन्धमा सरकारले ठोस नीति नै तय गरी अगाडि बढ्नुपर्ने देखिन्छ । (लेखक सामाजिक सेवाको क्षेत्रमा क्रियाशील हुनुहुन्छ)
वैदेशिक ऋणबाट ल्याएको १३ अर्ब अनुत्पादक क्षेत्रमा खर्च, महालेखाले उठायो प्रश्न
फाइल फाेटाे काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सरकारले ती वर्षमा १३ अर्ब बढी रुपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदन अनुसार तीन आर्थिक वर्षमा १३ अर्ब २ करोड ४२ लाख रुपैयाँ खर्च भएको हो । वैदेशिक ऋणबाट उत्पादन वृद्धि र पुँजी निर्माण कार्यक्रम सञ्चालन हुनुपर्नेमा उक्त रकम उनुपात्दक कार्यमा खर्च गरेको भन्दै महालेखाले प्रश्न उठाएको छ । ‘कार्यक्रमबाट मूलतः सडक नाला सफाई गर्ने, विद्यालयको खेलमैदान तथा गोरेटो, घोडेटो बाटो निर्माण तथा ससाना पूर्वाधार निर्माण र सरसफाइ जस्ता कार्य गरेको देखिँदा उत्पादन बृद्धि गरी पुँजी वृद्धि हुने खालका काम भएको देखिँदैन, वैदेशिक ऋणबाट उत्पादन वृद्धि र पुँजी निर्माण कार्यक्रम सञ्चालन हुनुपर्नेमा उनुपात्दक कार्यमा खर्च गरेको अवस्था छ’, प्रतिवेदनमा भनिएको छ, ‘कार्यक्रमको दिगोपना र अपनत्वका लागि स्थानीय तहसँग लागत साझेदारी गरी कार्यक्रम सञ्चालन गर्ने तथा रोजगार व्यवस्थापन सूचना प्रणालीलाई स्तारोन्नती र अद्यावधिक गर्नुपर्नेछ ।’ देशभर रोजगारीका पर्याप्त अवसर सिर्जना गरी उपलब्ध जनशक्तिको उच्चतम उपयोग गर्दै आर्थिक विकासमा योगदान पुर्याउने तथा सबैका लागि न्यूनतम रोजगारी सुनिश्चित गरी सामाजिक सुरक्षाको व्यवस्था गर्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा रहेको छ । सूचिकृत बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा विगत ३ वर्षदेखि हालसम्म १३ अर्ब २ करोड ४२ लाख रुपैयाँ खर्च भएकोमा ६ लाख २१ हजार ७३ जना कार्यक्रममा सहभागी भई औसतमा ४५ दिनको रोजगार प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।
सिबिफिनलाई प्रबल जनसेवाश्री मानपदवी
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) प्रबल जनसेवाश्री मानपदवीबाट विभुषित भएको छ । समग्र राष्ट्रको आर्थिक स्तरोन्नति र बैंकिङ क्षेत्रको सुधार एवं विकासका लागि अघि सारेका नीतिगत सुझाव, खेलेको भूमिका र पु¥याएको योगदानको आधारमा सिबिफिन प्रबल जनसेवाश्री मानपदवीबाट विभूषित भएको हो । संविधान दिवस–२०७९ को अवसरमा घोषणा भएको उक्त मानपदवी नयाँ वर्ष अर्थात् मिति २०८० बैशाख १ गते राष्ट्रपतिको कार्यालयमा आयोजित सुशोभन समारोहमार्फत प्रदान गरिएको थियो । उक्त मानपदवी सिबिफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाहले ग्रहण गरेका थिए । संस्थागतरुपमा पहिलोपटक सो मानपदवी प्रदान गरिएको हो ।
एनसेल प्रिजेन्टसको दरबारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे सम्पन्न
काठमाडौं । नेपाली नयाँ वर्ष अवसरमा शनिबार काठमाडौंको दरवारमार्गमा आयोजित एनसेल प्रिजेन्टस् १६ औं दरवारमार्ग सडक महोत्सव पर्पल स्याटर्डे सम्पन्न भएको छ । ‘नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम’ भन्ने नाराका साथ यो महोत्सव आयोजना गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) ले एनसेलसँग महासंघको विषेश सहकार्य र मुख्य प्रायोजनमा यो महोत्सव आयोजना गरेको हो । संस्कृति, पर्यटन तथा नागरीक उड्यन मन्त्रि सुदन किराती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरवारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेबान) का पदाधिकारीहरुले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए । आन्तरिक पर्यटनलाई प्रवद्र्धन गरि देशको पर्यटन विकासमा टेवा पु¥याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवद्र्धन गर्ने, काठमाडौं महानगरपालिकाभित्रको सांस्कृति प्रवद्र्धन एवं संरक्षणमा सहयोग गर्ने यस महोत्सवको मुल उद्देश्य रहेको थियो । काठमाडौं उपत्यका भित्रका संस्कृति झल्कने प्रस्तुतीका साथ महोत्सवको औपचारिक शुभारम्भ विहान ११ः०० बजे देखि सुरु भएको थियो । गीतसंगितका साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु र महोत्सव आयोजना गरिएको क्षेत्रमा विविध रमाइला गतिविधिहरु सहित यो महोत्सव उत्साहका साथ बेलुका ९ बजेसम्म आयोजना गरिएको थियो । कार्यक्रम सुरु भए देखि बेलुका सम्म १ लाख ५० हजार भन्दा बढि मानिसहरुले महोत्सवमा भाग लिएका थिए । यस महोत्सवमा चर्चित गायकगायिका, कलाकार तथा सांगितिक समुहहरुले आ–आफना प्रस्तुति रहेका थिए । कुटुम्ब, दिपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, पहेलो बत्ति मुनी, त्रिशाला गुरुङ, आविस्कार केसी, रोहित शाक्य, सिङ्क्रोनस, लाहुरे र दि एलिमेन्टस्ले उपस्थित दर्शक तथा आगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । यसका साथै महोत्सवमा शारिरीक रुपमा भिन्न क्षमता भएका उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका वस्तुहरु र महिला उद्यमी सहित हस्तकला उद्यमीहरुबाट उत्पादित वस्तुहरुका पनि प्रर्दशनीमा राखिएका थिए । बालबालिकाका लागि विभिन्न आकर्षक गेमहरु सहित छुट्टै किडस् जोनको विषेश व्यवस्था गरिएको थियो भने विभिन्न नेपाली खानाका परिकारहरु र स्वदेशी उत्पादनहरुको विषेश प्रदर्शन/प्रस्तुतिका स्टलहरु महोत्सवको आकर्षणमा रहेको थियो । यसैगरी महोत्सवमा भिडिओ गेमका पारखीहरुका लागि अनलाइन गेमिङ् प्रतियोगिता पनि संचालन गरिएको थियो । महोत्सवमा आउने सबैकालागि फोटो तथा भिडियो बनाउन टिकटक बुथ र डिजे बुथ पनि राखिएका थिए । महोत्सव काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डको विषेश सहयोगमा आयोजना भएको हो । सह–प्रायोजकमा काल्र्सबर्ग र अन्य सहयोगी संस्थामा कुनु नेपाल र एनडीज् आइसक्रिम रहेका थिए । पछिल्लो पटक देखिएको तरलता संकट लगायत विविध कारणले थलिएको अर्थतन्त्र, पर्यटन व्यवसायलाई कसरी चांडोभन्दा चांडो पुनरुत्थान, नव उत्थानमा लैजान सकिन्छ भनि निरन्तर काम भैरहेको सन्दर्भमा महोत्सवले यो प्रयासमा निकै ठूलो सहयोग गर्ने विश्वास आयोजकहरूको रहेको छ ।
कोरोना बढ्यो : समयमै शतर्कता अपनाउन चिकित्सकको सुझाव
काठमाडाैं । कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाबिरुद्धको खोप लगाउनेहरु संख्या बढ्न थालेको छ । पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढीरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । केही दिन यता नेपालमा दनिक एक सयको हाराहारिमा संक्रमितहरु बढीरहेका छन् । यस बीचमा केही नागरिहरुको कोरोना भाइरसका कारण निधन भएको छ । तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए । उनले कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताए । ‘नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको छ, जसमा आधाभन्दा धेरै नयाँ प्रजातीको रहेका छन्, नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको छ,’ उनले भने । उहाँले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको जानकारी दिए । कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ । डा. पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुले बेलैमा बुस्टर लगाउन पनि आग्रह गर्नुभयो । उनले कोरोना संक्रमणलाई थप विस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिए । उनले बेलैमा स्वास्थ्यका मापदण्डसहित शतर्कता अपनाए थप क्षति व्यहोर्न नपर्ने बताए ।
निगुरो बेचेर मनग्य आम्दानी गर्दै
कावासोती । पूर्वी नवलपरासी कावासोती–११ की मनमाया बोटे दैनिक ३० देखि ७० मुठासम्म निगुरो टिप्छिन् । उनले चैतदेखि साउन, भदौसम्म निगुरो टिपेर आफ्नो छ जना परिवारको खर्च चलाउँदै आएकी छिन् । दैनिक चार सयदेखि छ सय रुपैयाँसम्म आम्दानी हुने उनी बताउँछिन् । मनमायाजस्तै कावासोती–१२ की रीता माझी पनि परिवार पाल्न र छोराछोरीको पढाइ खर्च जुटाउन निगुरो टिप्ने गरेको बताउँछिन् । पूर्वी नवलपरासीको विषेश गरेर चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रको जङ्गलमा निगुरो पाइन्छ । शिख्रौली, पिप्रहर, केउरानी, लौगाई, पिठौली, अमलटारीलगायतका नारायणी नदी नजिकका सामुदायिक वनमा पाइने निगुरो स्थानीय बजारदेखि काठमाडौँका भान्सासम्म पुग्ने गरेको छ । चैत सुरु भएदेखि पूर्वी नवलपरासीका विषेशगरेर मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा डोको बोकेर निगुरो खोज्नेको ताँती लाग्छ । बिहान झिसमिसेमै जङ्गल पसेका महिला तथा बालबालिका डोकोभरि निगुरो बोकेर निस्कन्छन् । स्कुले बालबालिकासमेत बिदामा स्टेशनरीको जोहो गर्न निगुरो टिप्न आउँछन् । वन आसपास बस्दै आएका धेरै बालबालिकाले निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् । विद्यालय पढ्ने बालबालिकादेखि कलेज पढ्दै गरेका किशोर–किशोरीले समेत बिदाको समयमा निगुरो टिप्ने गरेका छन् । दुई दशकदेखि नारायणी नदी आसपासका जङ्गलको निगुरो सङ्कलन गर्दै जिल्लाको कावासोती, दलदले, रजहर, डन्डालगायतका बजारमा लगरे बिक्री गर्दै आएको कावासोती–१२ गैरीकी माया नेपाली बताउँछिन् । गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दुका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा दैनिक तीन–चार सय जनाले निगुरो टिप्दै आएका छन् । धेरै मजदुरले दैनिक निगुरो बेचेर परिवारको खर्च चलाउँदै आएका छन् । यस क्षेत्रबाट दैनिक निगुरो सङ्कलन गरी जिल्ला विभिन्न बजारमा बिक्री गर्न लैजाने गरेको कावासोती–१२ मा रहेको राजरत्न मध्यवर्ती सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद लम्साल बताउँछन् । यहाँबाट स्थानीयदेखि नारायणघाट, काठमाडौंसम्मका व्यापारी निगुरो लैजाने गरेका छन् । स्थानीय बजारमै निगुरोको माग अत्यधिक हुने भएकाले स्थानीय बजार नै प्राथमिकता रहने गरेको मध्यविन्दुकी अनिता माझी बताउँछिन् । माझीका अनुसार कहिले वनबाट टिपेर ल्याएको निगुरो स्थानीय बजार नपुग्दै गाउँघरमा नै सकिन्छन् । निगुरोको माग अत्यधिक हुने गरेको र बजार राम्रो भए पनि जोखिम उठाएर स्थानीयले निगुरो सङ्कलन गर्ने गरेका छन् । वनमा भेटिने एकसिङ्गे गैँडा, बाघको डर मात्रै होइन निकुञ्जको सुरक्षामा खटिएका सुरक्षाकर्मीको त्रास पनि उस्तै हुने कावासोतीका कृष्णबहादुर बोटे बताउँछिन् । विषेशगरेर नारायणी नदी किनारमा रहेका बोटे माझी मुसहरले चैतदेखि साउनसम्म नारायणीमा माछा मार्न अनुमति नपाउँदा निगुरो बेचेर घर चलाउँदै आए पनि वन्यजन्तु र निकुञ्ज प्रशासनको डरको कारणले जोखिम मोलेरै भए पनि निगुरो टिप्ने तथा सङ्कलन गर्दै आएका छ्न् । रासस