विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकले उपेन्द्र देवकोटा मेमोरियलका कर्मचारीलाई १५ लाखसम्म सरल कर्जा दिने

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र उपेन्द्र देवकोटा मेमोरियल नेशनल ईष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साईन्सेस् अस्पतालबीच सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । बैंक र अस्पतालबीच अस्पतालका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने विषयमा सम्झाैता भएकाे हाे । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अस्पतालमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई अस्पतालको सिफारिसमा बैंकले अधिकतम १५ लाख रुपैंयासम्म प्रवाह गर्ने छ । बैंकले आधार दरमा प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ८.६० प्रतिशत रहेको छ । सम्झौता अनुसार अस्पतालका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ ।

सहकारी डुबाएर सरकारी बैंकको अध्यक्ष, स्वामित्व बिनै नेतृत्वको लाभ

काठमाडौं । नेपाली अर्थतन्त्र अहिले सकारात्मक अवस्थामा छैन । अर्थतन्त्रमा आएको सकसको प्रत्यक्ष प्रभाव बैंक तथा वित्तीय संस्थासँगै सहकारीमा पनि परेको छ । सहकारीमा कतिपय वाह्य कारणले समस्या सिर्जना भइरहेको छ भने कतिपय संस्थामा नेतृत्वको नियतले पनि समस्या आइरहेको छ । यस्तै, नेतृत्वको नियतले समस्या आएको संस्था हो गतिशील बचत तथा ऋण सहकारी संस्था । ललितपुुरको लगनखेलमा रहेको गतिशील बचत तथा ऋण सहकारी संस्था अहिले संकटको अवस्थामा छ । बचतकर्ताले बचत गरेको पैसा फिर्ता पाउन सकेका छैनन् । सहकारीका बचतकर्ताले ५ हजार रुपैयाँ पनि फिर्ता गर्न सकेको छैन ।  हुन त धेरै संस्थाहरु तरलताको संकटमा छन् । तर, देशका अधिकांश ठूला भनिएका सहकारीहरु नेतृत्वको अब्बलता र व्यवस्थापकीय कौशलताले स्वस्थ किसिमले सञ्चालन भइरहेका छन् । ती संस्थाहरुलाई कुनै समस्या छैन । बचकर्ताले निरन्तर पैसा जम्मा गरिरहेका छन् भने ऋणाीहरुले निर्वाद रुपमा ऋण लिइरहेका छन् । तर, नेतृत्वको नियत खराब भएका सहकारीहरु भने अहिले ठूलो संकटमा छन् । यस्तै, नियत भएको नेतृत्व गतिशील बचत तथा ऋण सहकारी संस्थामा देखिएको छ । गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् डा. बलराम पाठक । अहिले उनले गतिशिल सहकारी छोडेर सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकको नेतृत्व सम्हालिरहेका छन् । उनी राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष हुन् । उनले सहकारीलाई समस्यामा पारेर राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बने । तर, सहकारीको अध्यक्ष भने उनले छोडेका छैनन् । उनले विकास थापालाई कार्यवाहक अध्यक्षको रुपमा अगाडि सारेर राष्ट्रिय बैंकको अध्यक्ष बन्न पुगे । सहकारीका बचतकर्ताको रकम घरजग्गामा लगानी गरेर उनले सहकारीका लगानीकर्ताको रकम दुरुपयोग गरेका छन् । अहिले घरजग्गा क्षेत्रमा एक किसिमको मन्दी सिर्जना हुँदा सो सहकारीको रकम घरजग्गामा डुबेको हो । गत असारसम्मको तथ्यांक अनुसार कुल ९ करोड २८ लाख ४४ हजार रुपैयाँ सेयर पुँजी रहेको यस सहकारीको कुल पुँजी भने १८ करोड ४४ लाख ९३ हजार रहेको देखिएको छ । असार मसान्तसम्मको तथ्यांक अनुसार सहकारीमा ५.८३ प्रतिशत मात्रै तरलता अनुपात छ । तर, त्यो अहिले घटेको छ । यो सहकारीले अधिकांश लगानी व्यापारमा गरेको देखिएको छ । सहकारीले घरजग्गामा १ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ लगानी गरेको छ भने गाडीमा ६८ लाख ५८ हजार, मुद्दति रसिद धितो कर्जामा ३ करोड ५१ लाख २ हजार र कर्मचारीलाई ७ लाख ८ हजार रुपैयाँ कर्जा लगानी गरेको प्रतिवदेनले देखाउँछ । संस्थाको कुल पुँजी तथा दायित्व भने २ अर्ब ७६ करोड ४ लाख ९ हजार रुपैयाँ छ । संस्थामा बचतकर्ताको कुल २ अर्ब २६ करोड ५७ लाख ३ हजार रुपैयाँ निक्षेप छ । गत आर्थिक वर्षको असार मसान्तसम्म सहकारीले सवा २ अर्ब रुपैयाँ लगानी गरेको छ । सहकारी विभागले पनि अहिले अधिकांश सहकारीमा संस्थाको नेतृत्व तथा अध्यक्षले आफुखुसी ऋण लगानी गर्ने, ऋण लगानी गर्दा विना प्रकृया आफू र आफन्तमा मात्रै असुरक्षित ऋण लगानी गर्ने र अनुत्पादक क्षेत्रमा लगानी गर्नाले समस्या सिर्जना भएको बताएको छ । सोही परिपाटी गतिशिल सहकारीमा पनि देखिएको हो । सर्वसाधारणको रकम डुबाउने तिनै पाठकलाई सरकारले सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त गरेको थियो । उनी अहिले पनि सहकारीको अध्यक्षका रुमा छन् । उनले सहकारीमा राजीनामा दिएपनि स्वीकृत हुन सकेको छैन । अर्को अध्यक्ष सहकारीको वार्षिक साधारणसभाले नै चयन गर्नु पर्ने हुन्छ । यसअघि बीमा संस्थानको संचालक समेत भइसकेका पाठक पाटन क्याम्पसमा पार्ट टाइम पढाउने गरेका पनि छन् । पुरानो घर चितवन भएका उनी अहिले ललितपुरमा बस्छन् । उनी गत वर्षको कात्तिकमा बैंकको अध्यक्षमा नियुक्त भएका थिए । सरकारले सरकारी बैंकको अध्यक्षमा आफुलाई चाहेको व्यक्तिलाई अध्यक्ष बनाउन पाउँछ । विशेष गरेर सरकारका कर्मचारीहरु अध्यक्षका लागि सरकारी बैंकमा आउँछन् । तर, पाठक न कुनै सरकारी निकायमा काम गरेको नत उनको कुनै सेयर स्वामित्व राष्ट्रिय वाणिज्य बैंकमा छ । जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनी माओवादी केन्द्रको कोटामा राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष बनेका थिए । वाणिज्य बैंकमा सञ्चालकलाई समितिको बैठकले बोर्ड अध्यक्ष चयन गर्ने व्यवस्था छ । त्यसपछि मात्र नेपाल राष्ट्र बैंकका गभर्नरले शपथ गराउने कानुनी प्रक्रिया छ । राष्ट्रिय वाणिज्य बैंकभित्र पनि उनले आफ्नो व्यक्तिगत स्वार्थको लागि बढी निर्णय गराउने प्रवृति बढेको स्रोतको भनाइ छ । हुनत गतिशील सहकारीमा पनि पाठकको बढी सेयर छैन । उनको यो सहकारीमा १ प्रतिशत पनि सेयर स्वामित्व छैन । संस्थामा सेयर स्वामित्व बिनै नेतृत्व पाउने अवसर पाठकले पाइरहेका छन् ।

वार्षिकोत्सवमा नर्भिकले एकसाता सबै स्वास्थ्य प्याकेजमा छुट दिने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ । देशमा गुणस्तरीय र विश्वस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले थापाथलीस्थित अस्पताल क्षेत्रबाट प्रभातफेरि कार्यक्रमको सुरुवात गरेको थियो । त्रिपुरेश्वर, भद्रकाली, माइतीघर हुँदै प्रभातफेरि पुनः नर्भिक अस्पतालमै आएर टुंगिएको थियो । प्रभातफेरिमा नर्भिक अस्पतालका उच्च व्यवस्थापनका अधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । प्रभातफेरिमा सहभागीहरुले विभिन्न स्वास्थ्यसँग सन्देशमूलक नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए । नर्भिकले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गर्दै भव्यतापूर्वक मनाइरहेको छ । भोलि(सोमबार) अस्पताल परिसरमै वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम पनि राखिएको छ । यसैबीच, नर्भिक अस्पतालले ३० औं वार्षिकोत्सवका अवसरमा विभिन्न अफरहरु पनि सार्वजनिक गरेको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा बैशाख १ गतेदेखि बैशाख ८ गतेसम्म एकसाताका लागि ३० प्रतिशत छुटको घोषणा गरिएको छ । यसैगरी, लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आइभिएफ(फर्टिलिटी प्याकेज) ३० दिनका लागि ३० प्रतिशत छुट, म्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट समेत उपलब्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालले पत्रकार परिवारका लागि समेत विशेष हेल्थ प्याकेज ल्याइने यसअघि नै घोषणा गरिसकेको छ । वार्षिकोत्सवकै अवसर पारेर अस्पतालले काठमाडौं भित्र र बाहिर गरी ४ वटा विशेष स्वास्थ्य शिविर समेत आयोजना गर्दैछ ।

मुगुमा पहिलो पटक अदालती विवाह

मुगु । मुगुमा पहिलो पटक अदालती विवाह कोर्ट म्यारिज भएको छ । यसअघि परम्परा, धर्म, सस्कृति तथा रितीरिवाजअनुसार विवाह हुँदै आएकोमा पहिलो पटक अदालतीमार्फत कानुनी प्रक्रिया पूरा गरी विवाह भएको हो । सोरु गाँउपालिका–७ सिपगाँउका ७० वर्षिय प्यारीलाल काफ्ले र खत्याड गाँउपालिका–४ जिउका गाँउका ४२ वर्षिय जानकी रोकायाबीच आज जिल्ला अदालत मुगुमा विवाह भएको हो । आफूहरुबीच २८ वर्षको फरक भए पनि आफू कसैको दबाब तथा लोभमा नपरेको जानकी रोकायाले बताइन् । विवाहको कानुनी प्रक्रिया पूरा गरी जिल्ला न्यायाधीश दिलकुमार वर्देवाले विवाहित जोडीलाई प्रमाणपत्र प्रदान गरे । न्यायाधीश वर्देवाले जिल्लामा पहिलो पटक अदालती विवाह भएको जानकारी दिए । काफ्लेकि श्रीमतीको २०७७ असोज १८ मा निधन भएको थियो भने रोकायाले गत पुस ४ मा श्रीमानसँग सम्बन्धविच्छेद गरेका थिए । दुवै जनाको सहमति र साक्षीहरुको उपस्थितीमा अदालती विवाह सम्पन्न भएको जिल्ला अदालत मुगुका श्रेष्तेदार गोविन्द आचार्यले बताइन् । सत्तरी वर्षको उमेरमा अदालती विवाह गरेपछि गमगढी बजारमा नयाँ जोडी हेर्नेको भिड लागेको थियो । रासस

एनएमबि बैंकको दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौं । एनएमबि बैंकको दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ । बैंकले शनिबार बबरमहलबाट शुरु भई पाटन दरबार स्क्वायरसम्म पुगि समापन हुने दसौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त गरिमामय समारोहको आयोजना गरिएको बैंकले जनाएको छ । एनएमबि बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा पाटन संग्रहालयमा बैंकका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु, ललितपुर उद्योग वाणिज्य संघका सदस्यहरु, नेपाल हस्तकला महासंघका सदस्यहरु, रोटेरी क्लब अफ पाटन हेरिटेजका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ६०० जनाको सहभागितामा एनएमबि भवन, बबरमहल, काठमाडौं देखी प्ले कार्ड सहित पाटन संग्रहालयमासम्म पुगी हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा ललितपुर महनगरपालिकाका मेयर चिरि बाबु महर्जन उपस्तिथ थिए । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ ४ लाख ९० हजारको सहयोगका साथैेपाटन संग्रहालयलाई डस्टविनहरु समेत हस्तान्तरण गरेको छ । सोही प्रकारको कार्यक्रम प्रदेश १, २, ४, ५, ६ र ७ मा समेत गरीएको छ । बैंकले प्रदेश १ मा ब्रम्हनन्द पुल देखी बाराहक्षेत्र मन्दिर सम्म, मधेष प्रदेशमा लाहान शाखा देखी दुर्गा मन्दिर, गण्डकी प्रदेशमा चिप्लेढुङ्गा शाखा देखी केधारेश्वर मन्दिर, लुम्बिनी प्रदे्रशमा ट्राफिक चोक शाखा देखी कालिका मन्दिरसम्म र कर्णाली प्रदे्रश र सुदूर पश्चिम प्रदेशमा सुर्खेत शाखा देखी काक्रेबिहार मन्दिर, धनगढी शाखा देखी शिवपुरी धाम मन्दिर र महेन्द्रनगर शाखा देखी सिद्धनाथ मन्दिर सम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले स्वागत मन्तव्य दिएका थिए । नेपाल हेरिटेज सोसाईटीकी अध्यक्ष अम्बिका श्रेष्ठ, उक्त सोसाइटीकै सदस्य धर्म शाक्य र ललितपुर महनगरपालिकाका मेयर चिरि बाबु महर्जनले सम्पदा संरक्षणको महत्वको बारे प्रकाश पार्दै वक्तव्य दिएका थिए भने एनएमबि बैंकका सञ्चालक समितिका सदस्य उत्तम भ्लोनले धन्यवाद व्यक्त गरेका थिए । विगत २७ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू, १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल टेलिकमले रोजिरोटी खोसेको भन्दै निष्कासित कर्मचारीद्वारा धर्ना

काठमाडौं । नेपाल टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै विरोध प्रदर्शन भएको छ । आइतबार दिउँसो टेलिकम बाहिर निष्कासित कर्मचारीहरुले विरोध प्रदर्शनसहित धर्ना दिएका हुन् । उनीहरुले लामो समयसम्म काम गरेका कर्मचारीहरुलाई सरकारी निकायले स्वेच्छारी ढंगबाट हटाएको भन्दै पुनःबहालीको माग गरेका छन् । प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदर्शनकारी भीमबहादुर खड्काले नेपाल टेलिकममा कार्यरत २१७ जना प्राविधिक सहायकहरुलाई टेलिकमले स्वेच्छारी हटाएको र पुनः बहालीको माग गर्दै आन्दोलनमा उत्रिनुपरेको बताए । ‘१५ वर्ष लामो समयसम्म टेलिकममा काम गरेका कर्मचारीहरुलाई हटाउनु भनेको उनीहरुको रोजीरोटी खोस्नु हो, कर्मचारीहरुको पुनः बहाली नगरीकन आन्दोलन बन्द गर्दैनौं,’ उनले भने । रोजगारीको ग्यारेन्टीको विषय संविधानको हक भएको उल्लेख गर्दै रोजगारी गरिरहेको कर्मचारीलाई सरकारी निकयाले निकाल्नु गलत भएको उनले बताए । ‘लिखित माग सम्बोधन नभएपछि बाध्य भएर धर्ना दिनुपरेको हो,’ उनले भने । उनीहरुले निस्काषित कर्मचारीहरु पुनःबहाली गर्, सबैखाले ठेकदारी प्रथाको अन्त्य गर्, स्वेच्छाचारिताको अन्त्य गर्, संसारका मजदुर एक हौँ लगायतका नारा लगाएर प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले टाउकोमा कालोपट्टीसमेत बाँधेर नेपाल टेलिकमको विरोध जनाएका थिए ।

सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशकविरुद्ध ६९ करोडकाे भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा नौजनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार उनीहरूविरुद्ध ६९ करोड माग दाबी गर्दै मुद्दा दायर गरिएको हो । निर्देशक पौडलसहित सीडीआई इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक बिल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका निर्देशकसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । आयोगले पौडलविरुद्ध ६९ करोड आठ लाख ८१ हजार आठ सय ५४ माग दाबी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि बनेका तथा हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार नौ सय ४५ माग दाबी गरिएको छ । त्यस्तै, सहायक निर्देशक तथा तत्कालीन सुरक्षण मुद्रण केन्द्रका प्रतिनिधि तथा हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार आठ सय २७ बिगो माग दाबी गरिएको छ । तत्कालीन सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हाल राष्ट्रिय समावेशी आयोगमा कार्यरत मणिकमान महर्जनविरुद्ध तीन करोड ४४ लाख ६८ हजार सात सय २९ माग दाबी गरिएको छ । हाल लेखा अधिकृतबाट अवकाश पाएका तत्कालीन सुरक्षण मुद्रण केन्द्रका रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख ९४ हजार दुई सय ८९, तत्कालीन सुरक्षण मुद्रण केन्द्र तथा हाल जिल्ला समन्वय समिति काठमाडौँमा कार्यरत शाखा अधिकृत शिरिष उपाध्यायविरुद्ध ४० करोड एक लाख ३९ हजार सात सय ३६ माग दाबी आयोगले गरेको छ । इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्धक निर्देशक रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख ९६ हजार नौ सय २१, मेपटेक विल्डिङ् सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख ४२ हजार तीन सय ६८ र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौँविरुद्ध आठ लाख ६९ हजार ९७ माग दाबी गरिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मिलेमतो गरी कमिसन लिएर ठेक्का दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा अस्वाभाविक लागत राखेर मिलेमतोमा खरिद गरी करोडौँ घोटाला गरिएको पुष्टि भएपछि मुद्दा दायर गरेको प्रवक्ता दाहालले जानकारी दिए ।

आजदेखि नयाँ शैक्षिक सत्र शुरु, १० गतेसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुग्ने

काठमाडौं । नयाँ वर्ष २०८० सँगै नयाँ शैक्षिक सत्र आजदेखि शुरु भएको छ । नयाँ वर्षको पहिलो दिन शुक्रबार र २ गते शनिबार सार्वजनिक बिदा भएको हुँदा नयाँ शैक्षिक सत्रको शुरुवात आजदेखि शुरु भएको हो । आजदेखि देशभरका सामुदायिक, निजी र गुठी अन्तर्गतका सम्पूर्ण विद्यालयहरुले विद्यार्थीको नयाँ भर्ना लिएर पठनपाठन शुरुवात गर्दैछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १ गते नै एक सूचना प्रकाशित गरेर विद्यालय जान उमेर पुगेका विद्यार्थीहरुलाई विद्यालय भर्ना गरेर शिक्षा सम्बन्धी मौलिक अधिकार कार्यान्वयन गराउन जिल्लास्थित शिक्षा समन्वय इकाई, स्थानीय तह र विद्यालय अनुरोध गरेका छन् । शैक्षिक सत्र २०८० को भर्ना अभियान कार्यक्रम बैशाख महिनाभित्र नै सञ्चालन गर्न र नयाँ विद्यार्थीलाई भर्ना गरी स्वागत गरेर निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन मन्त्रालय र केन्द्रले अनुरोध गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीका अनुसार अहिलेसम्मको तथ्यांकमा विद्यालय जाने उमेरका बालबालिका मध्ये ९७.१ प्रतिशत मात्रै विद्यार्थी विद्यालय भर्ना भएको र बाँकी २.९ प्रतिशत बालबालिका विद्यालय बाहिर नै रहेका छन् । अहिलेको भर्ना अभियानमा बाहिर छुटेका विद्यार्थीलाई पनि भर्ना गर्ने प्रयत्न हुने उनले बताए । इतिहासमा पहिलोपल्ट समयमा नै विद्यार्थीले पुस्तक पाउने नयाँ शैक्षिक सत्रमा देशभरका विद्यार्थीले इतिहासमा पहिलोपटक समयमा नै पुस्तक पाउने भएका छन् । विगतमा शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक दिन नसकेको जनक शिक्षा सामग्री कम्पनी लिमिटेडले नयाँ शैक्षिक सत्रमा भने समयमा नै सबै विद्यार्थीको हातमा पुस्तक पुर्याउन सफल हुने जनाएको छ । जनक शिक्षाका प्रवन्ध निर्देशक अनिलकुमार झाले अहिलेसम्म पहाडी र हिमाली भूगोलका ५६ वटा जिल्लामा पुस्तक पुगिसकेको र बाँकी जिल्लामा १० गतेसम्म पुर्याउने बताए । उनका अनुसार पहाडका बाँकी जिल्ला र तराईका जिल्लामा बैशाख १० गतेसम्म पुस्तक पुर्याउनेगरी केन्द्रले काम गरिरहेको छ । जनक शिक्षाले सबै जिल्लामा बिक्रेता मार्फत नै पुस्तक बिक्री गरेको छ । विद्यालयको पुस्तक बिक्री गर्दा बिक्रेतालाई नौ प्रतिशत कमिसन र ढुवानी भाडा उपलब्ध गराउने व्यवस्था गरिएको निर्देशक झाले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा पुस्तक ढुवानी गर्दा बिक्रेताले ढुवानी खर्च पाउँदैनन भने हुम्ला जिल्लामा ढुवानी गर्दा सबैभन्दा धेरै ६८ प्रतिशत सम्म कमिसन प्राप्त गर्छन् । छपाई मेसिन थपिएको, उत्पादन क्षमता वृद्धि भएको, कागज आपूर्तिमा सहज भएको, आवश्यक जनशक्ति करारमा लिइएको र २४ सै घण्टा काम गर्ने वातावरण मिलाइएकाले समयमा नै आवश्यक पुस्तक छापेर वितरण गर्न सफल भएको निर्देशक झाले विकासन्युजलाई बताए ।