सुरक्षण मुद्रण कोषका कार्यकारी निर्देशकविरुद्ध ६९ करोडकाे भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घोटाला गरेको अभियोगमा नौजनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । उनका अनुसार उनीहरूविरुद्ध ६९ करोड माग दाबी गर्दै मुद्दा दायर गरिएको हो । निर्देशक पौडलसहित सीडीआई इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालि, मेपटेक बिल्डिङ सर्भिसेस प्रालि, परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका निर्देशकसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । आयोगले पौडलविरुद्ध ६९ करोड आठ लाख ८१ हजार आठ सय ५४ माग दाबी गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि बनेका तथा हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार नौ सय ४५ माग दाबी गरिएको छ । त्यस्तै, सहायक निर्देशक तथा तत्कालीन सुरक्षण मुद्रण केन्द्रका प्रतिनिधि तथा हाल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कार्यरत रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार आठ सय २७ बिगो माग दाबी गरिएको छ । तत्कालीन सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हाल राष्ट्रिय समावेशी आयोगमा कार्यरत मणिकमान महर्जनविरुद्ध तीन करोड ४४ लाख ६८ हजार सात सय २९ माग दाबी गरिएको छ । हाल लेखा अधिकृतबाट अवकाश पाएका तत्कालीन सुरक्षण मुद्रण केन्द्रका रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख ९४ हजार दुई सय ८९, तत्कालीन सुरक्षण मुद्रण केन्द्र तथा हाल जिल्ला समन्वय समिति काठमाडौँमा कार्यरत शाखा अधिकृत शिरिष उपाध्यायविरुद्ध ४० करोड एक लाख ३९ हजार सात सय ३६ माग दाबी आयोगले गरेको छ । इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्धक निर्देशक रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख ९६ हजार नौ सय २१, मेपटेक विल्डिङ् सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख ४२ हजार तीन सय ६८ र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौँविरुद्ध आठ लाख ६९ हजार ९७ माग दाबी गरिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा मिलेमतो गरी कमिसन लिएर ठेक्का दिएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गर्दा अस्वाभाविक लागत राखेर मिलेमतोमा खरिद गरी करोडौँ घोटाला गरिएको पुष्टि भएपछि मुद्दा दायर गरेको प्रवक्ता दाहालले जानकारी दिए ।
आजदेखि नयाँ शैक्षिक सत्र शुरु, १० गतेसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुग्ने
काठमाडौं । नयाँ वर्ष २०८० सँगै नयाँ शैक्षिक सत्र आजदेखि शुरु भएको छ । नयाँ वर्षको पहिलो दिन शुक्रबार र २ गते शनिबार सार्वजनिक बिदा भएको हुँदा नयाँ शैक्षिक सत्रको शुरुवात आजदेखि शुरु भएको हो । आजदेखि देशभरका सामुदायिक, निजी र गुठी अन्तर्गतका सम्पूर्ण विद्यालयहरुले विद्यार्थीको नयाँ भर्ना लिएर पठनपाठन शुरुवात गर्दैछन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १ गते नै एक सूचना प्रकाशित गरेर विद्यालय जान उमेर पुगेका विद्यार्थीहरुलाई विद्यालय भर्ना गरेर शिक्षा सम्बन्धी मौलिक अधिकार कार्यान्वयन गराउन जिल्लास्थित शिक्षा समन्वय इकाई, स्थानीय तह र विद्यालय अनुरोध गरेका छन् । शैक्षिक सत्र २०८० को भर्ना अभियान कार्यक्रम बैशाख महिनाभित्र नै सञ्चालन गर्न र नयाँ विद्यार्थीलाई भर्ना गरी स्वागत गरेर निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन मन्त्रालय र केन्द्रले अनुरोध गरेका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीका अनुसार अहिलेसम्मको तथ्यांकमा विद्यालय जाने उमेरका बालबालिका मध्ये ९७.१ प्रतिशत मात्रै विद्यार्थी विद्यालय भर्ना भएको र बाँकी २.९ प्रतिशत बालबालिका विद्यालय बाहिर नै रहेका छन् । अहिलेको भर्ना अभियानमा बाहिर छुटेका विद्यार्थीलाई पनि भर्ना गर्ने प्रयत्न हुने उनले बताए । इतिहासमा पहिलोपल्ट समयमा नै विद्यार्थीले पुस्तक पाउने नयाँ शैक्षिक सत्रमा देशभरका विद्यार्थीले इतिहासमा पहिलोपटक समयमा नै पुस्तक पाउने भएका छन् । विगतमा शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक दिन नसकेको जनक शिक्षा सामग्री कम्पनी लिमिटेडले नयाँ शैक्षिक सत्रमा भने समयमा नै सबै विद्यार्थीको हातमा पुस्तक पुर्याउन सफल हुने जनाएको छ । जनक शिक्षाका प्रवन्ध निर्देशक अनिलकुमार झाले अहिलेसम्म पहाडी र हिमाली भूगोलका ५६ वटा जिल्लामा पुस्तक पुगिसकेको र बाँकी जिल्लामा १० गतेसम्म पुर्याउने बताए । उनका अनुसार पहाडका बाँकी जिल्ला र तराईका जिल्लामा बैशाख १० गतेसम्म पुस्तक पुर्याउनेगरी केन्द्रले काम गरिरहेको छ । जनक शिक्षाले सबै जिल्लामा बिक्रेता मार्फत नै पुस्तक बिक्री गरेको छ । विद्यालयको पुस्तक बिक्री गर्दा बिक्रेतालाई नौ प्रतिशत कमिसन र ढुवानी भाडा उपलब्ध गराउने व्यवस्था गरिएको निर्देशक झाले बताए । उनका अनुसार काठमाडौं उपत्यकामा पुस्तक ढुवानी गर्दा बिक्रेताले ढुवानी खर्च पाउँदैनन भने हुम्ला जिल्लामा ढुवानी गर्दा सबैभन्दा धेरै ६८ प्रतिशत सम्म कमिसन प्राप्त गर्छन् । छपाई मेसिन थपिएको, उत्पादन क्षमता वृद्धि भएको, कागज आपूर्तिमा सहज भएको, आवश्यक जनशक्ति करारमा लिइएको र २४ सै घण्टा काम गर्ने वातावरण मिलाइएकाले समयमा नै आवश्यक पुस्तक छापेर वितरण गर्न सफल भएको निर्देशक झाले विकासन्युजलाई बताए ।
तेस्रोपटक मन्त्री बने एनपी साउद
काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउद तेस्रोपटक मन्त्री बनेका छन् । आइतबार उनी पराष्ट्रमन्त्री नियुक्त भएका हुन् । उनी यसअघि शिक्षा राज्यमन्त्री र सिँचाइमन्त्री बनेका थिए । पराष्ट्रमन्त्री नियुक्त भएका साउदले आइतबारै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
उपत्यकामा मेलम्चीको दैनिक १२ करोड लिटर पानी वितरण
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मेलम्चीको पानी दैनिक १२ करोड उपभोक्तालाई वितरण गर्न थालेको छ । मेलम्ची नदीबाट दैनिक १७ करोड पानी ल्याइएकामा दैनिक पाँच करोड लिटर पानी पाइप परीक्षणका लागि र बाँकी उपभोक्ताको घरघरमा वितरण भइरहेको जनाइएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले दैनिक १२ करोड लिटर पानी उपभोक्ताले प्रयोग गरिरहको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिए । बाँकी पानी कति क्षेत्रफलमा परीक्षण गर्ने सोही आधारमा खपत हुने उनले बताए । प्रमुख शाक्यले भने, ‘परीक्षणका लागि प्रयोग भएको बाहेक पानी उपभोक्ताको धारामा पठाइएका छौँ ।’ उपभोक्ताको घरमा दुई दिनको फरकमा पानी वितरण गरिरहेको लिमिटेडले जनाएको छ । ‘कुनै क्षेत्रमा पानी राम्रो आइरहेको छ भने कतै राम्रो नआएको गुनासो आइरहेको छ । पानी नपुगेका र धाराबाट कम झर्ने ठाउँमा पुगेर समस्या समाधान गर्दै पानी पठाइरहेका छौँ’, उनले भने। पहिले भित्रि बस्तीमा पानी नआउने भनी गुनासो आएकामा अहिले त्यो समस्या समाधान गरी नियमित पानी वितरण गरिएको प्रमुख शाक्यको भनाइ थियो । मुख्य लाइनबाट भित्र भने पानीको पाइप उपभोक्तको घरसम्म नपुगेकाले पानी वितरण हुन नसकेको उनले बताए । केही ठाउँमा धारा बिग्रिएको, जाम भएको वा बीचमा छुटिएको गुनासो आएकाले मर्मत गरी नयाँ पाइप जडान पश्चात् पानी वितरणको तयारी भइरहेको प्रमुख शाक्यले जानकारी दिए । उनले भने, ‘क्षेत्रगत समस्या अहिले छैन कुनैकुनै घरमा भने अझै समस्या हुनसक्छ । समाधान गरेर पानी नियमित वितरणका लागि काम गर्नेछौँ ।’ उनका अनुसार भक्तपुर नगरपालिकाका विभिन्न स्थानबाट गुनासो आइरहेको छ । लिमिटेड र नगरपालिकाबीच समाधानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । नगरपालिकाले पाइपका लागि खन्ने र पुर्ने कामका लागि खर्च बेहार्ने र लिमिटेडले पाइप तथा आवश्यक अन्य सामग्रीको खर्च बोहोर्ने गरी सहकार्य भएको प्रमुख शाक्यले बताए । यस आर्थिक वर्षमा गत पुसदेखि उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको हो । हिउँदको समयमा उपत्यकामा खानेपानीको समस्या हुने गरेकामा मेलम्चीको पानी आउन थालेपछि उपत्यकावासीलाई सहज भएको छ । रासस
स्मार्ट डोकोले ल्यायो आमाको मुख हेर्ने दिनको अफर, ५८ प्रतिशतसम्म छुट
काठमाडाैं । इ-कमर्श एप स्मार्ट डोकोले आमाको मुख हेर्ने दिन को अफर सुरु गरेको छ । १९ अप्रिलसम्म चल्ने यस अफरमा ग्राहकहरुले विशेष छुट, गिफ्ट ह्याम्पर र रोमाञ्चक उपहारहरू पाउन सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरूले स्मार्टडोको वेबसाइट र एपमा मार्फत खरिद गरी ५८ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यसका साथै ६ जना भाग्यशाली ग्राहकले २५ सय रुपैयाँको भौचर, पाल्चा नेवारी किचेन, डी लाइफस्टाइल र मामाअर्थबाट उपहार र पेन्ट ल्यावबाट आमारछोरी सलोन भौचर जित्न सक्नेछन् । ग्राहकहरूले ७५० रुपैयाँभन्दा माथिको अर्डरको लागि रिङरोड भित्र ‘फ्री डेलिभरी’ को फाइदा पनि लिन सक्नेछन् । ग्राहकहरूले काठमाडौं उपत्यका बाहिर नेपालका सबै ७७ जिल्लामा फास्ट डेलिभरीको मजा लिन सक्नेछन् । स्मार्ट डोकोमा ५० हजारभन्दा पनि बढी सामानहरु उपलब्ध छन, जसमा बेबी केयर, इलेक्ट्रोनिक्स, किराणा समान, स्वास्थ्य, कोभिड र डेंगु आवश्यक वस्तुहरू, सौन्दर्य, घरका सामाग्रीहरु किन्न सकिन्छ ।
वर्ष २०७९ : प्रणालीमा थपियो ५०० मेगावाट बिजुली
काठमाडौं । आर्थिक समृद्धिको आधारस्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारमा सरकार र निजी क्षेत्रले काँधमा काँध मिलाउँदै कामलाई गति दिएका कारण सकारात्मक नतिजा निस्कन थालेको छ । वर्ष, २०७९ हालै हामीबाट बिदा भएको छ । वर्षदिनभरीमा मुलुकको प्रणालीमा झण्डै पाँच सय मेगावाट बिजुली थप भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रणालीमा बिजुली थप हुने क्रम क्रमशः वृद्धि भएको छ । यही अवस्था कायम रहे आगामी असार मसान्तसम्म मुलुकको कूल जडित क्षमता करिब तीन हजार मेगावाट बराबर पुग्नेछ । आन्तरिक खपतमा वृद्धि गर्दै ऊर्जा निर्यातमार्फत आर्थिक उपार्जन गर्न सरकारले प्रभावकारी पहल गरिरहेको छ । प्राधिकरणका अनुसार हालसम्म दुई हजार छ सय ८९ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिइसकेको छ । आगामी असारसम्म थप १५ आयोजना निर्माण सम्पन्न हुनेछ । त्यसमा प्राधिकरणका सहायक कम्पनीले निर्माण गरेका आयोजना समेत छन् । सो वर्षभरी नै कूल १९ वटा आयोजना पूर्ण रुपमा सञ्चालनमा आए । त्यस्तै, नौ वटा आयोजना परीक्षणको अन्तिम चरणमा पुगेका छन् । ती आयोजनाको बिजुली समेत प्रणालीमा जोडिसकेको छ । यो वर्ष प्रणालीमा जोडिएको जलविद्युत् परियोजनामध्ये निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा ठूलो आयोजना हो सोलुखोला दूधकोशी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको आयोजना साहस ऊर्जाले निर्माण गरेको हो । सो आयोजनाले गत फागुन १७ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको हो । प्रणालीमा जलविद्युत् आयोजनाका अलावा सौर्य परियोजनासमेत जोडिएका छन् । गतवर्ष चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीलगायतका आयोजना प्रणालीमा जोडिदा त्यसले मुलुकको ऊर्जा क्षेत्रमा नै रणनीतिक परिवर्तन गरिदिएको थियो । वर्षायाममा पूर्णरुपमा बिजुलीमा आत्मनिर्भर बनेको मुलुक क्रमशः हिउँदमा समेत सहज अवस्थामा पुग्न लागेको छ । निर्माणका क्रममा रहेका तीन हजार दुई सय ८० मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा छन् । ती सबै आयोजना निर्माण सम्पन्न हुँदा प्रणालीमा झण्डै सात हजार मेगावाट बराबर बिजुली पुग्नेछ । प्राधिकरणले आगामी वर्षायाममा झण्डै एक हजार दुई सय मेगावाट बराबरको बिजुली बिक्रीका लागि तयारी गरिरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान)का अनुसार निजी क्षेत्रले प्रवद्र्धन गरेका केही आयोजना हाल परीक्षण उत्पादनको क्रममा छन् । ती आयोजनाले प्राधिकरणका कर्मचारीको उपस्थितिमा १५ दिन परीक्षण उत्पादन गरेपछि व्यावसायिक उत्पादन सुरु गर्नेछन् । बेनी हाइड्रोपावरले प्रवद्र्धन गरेको माथिल्लो सोलु खोला जलविद्युत् आयोजनाको परीक्षण अन्तिम चरणमा छ । कम्पनीका प्रबन्ध निर्देशक गणेश कार्कीका अनुसार आयोजनाको बिजुली प्रणालीमा जोडिइसकेको र केही दिनभित्रैमा व्यावसायिक उत्पादन सुरु हुनेछ । माथिल्लो सोलु १९ दशमलव आठ मेगावाट क्षमताको आयोजना हो । प्राधिकरणका अनुसार सङ्खुवासभाको माया खोला १४ दशमलब नौ मेगावाट क्षमताको आयोजनाले परीक्षण उत्पादन सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्दैछ । यस्तै रुकुमको रुकुमगाड पाँच मेगावाट, सिन्धुपाल्चोकको घट्टेखोला झण्डै एक मेगावाट पनि व्यावसायिक उत्पादन थाल्दैछ । लमजुङको सुपर दोर्दी ‘ख’ ५४ मेगावाट, नवलपरासीको सौर्य परियोजना दुई मेगावाट पनि प्रणालीमा जोडिसकेको छ । त्यस्तै, मोरङको छ दशमलब आठ मेगावाट र बाँकेमा आयोजनास्थल रहेको १० मेगावाट क्षमताको सौैर्य परियोजनाको बिजुली पनि प्रणालीमा जोडिएको छ । परीक्षण उत्पादन भइरहेको अधिकांश आयोजनाबाट बिजुली प्रणालीमा आइरहेकाले प्राधिकरणलाई बिजुली व्यवस्थापनमा सहज भइरहेको छ । प्राधिकरणका अनुसार १० मेगावाट क्षमताको मकरीगाड आयोजनाले पनि यसैवर्ष व्यावसायिक उत्पादन सुरु गरेको हो । दार्चुलामा आयोजनास्थल रहेको सो आयोजनाले सुदूरपश्चिम प्रदेशको बिजुली व्यवस्थापनमा सहयोग पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षको अन्त्यसम्म रसुवागढी, साञ्जेन र मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न सम्वद्ध निर्माण व्यवसायीलाई यसअघि नै निर्देशन दिइसकेका छन् । ती आयोजना सार्वजनिक–निजी साझेदारीमा निर्माण भइरहेका छन् । कूल एक सय ११ मेगावाट क्षमताको रसुवागढी, माथिल्लो र तल्लो साञ्जेन ५७ मेगावाट र एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा जोडिएपछि त्यसले थप सकारात्मक प्रभाव पार्नेछ । वर्ष २०७९ मा प्राधिकरणले चार सय २५ मेगावाट बराबरको बिजुली भारत निर्यात गरेको थियो । प्राधिकरणले बिजुली निर्यातबाट मात्रै चालु आवमा रु आठ अर्ब ४४ करोड बराबरको आम्दानी गरेको छ । यसवर्ष बर्खामा बढी हुने एक हजार दुई सय मेगावाट बिजुली निर्यात गर्ने तयारी भइरहेको छ । यस्तै, वर्ष २०७९ मा भारतसँग ऊर्जा व्यापारका लागि महत्वपूर्ण संवाद भएको थियो । बङ्गलादेशमा पनि प्रारम्भिक रुपमा ५० मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भएको छ । न्यू बुटवल गोरखपुर चार सय केभी क्षमताको प्रसारण लाइन निर्माणको प्रक्रिया अगाडि बढेको छ । त्यस्तै, सरकारले एक हजार दुई सय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अगाडि बढाएको छ । केही ठूला आयोजना निर्माणका लागि भारतीय कम्पनीले चासो देखाएका छन् । कूल सात सय ५० मेगावाट क्षमताको पश्चिम सेती र चार सय ५० मेगावाट क्षमताको सेती नदी– ६ आयोजनामा भारतीय कम्पनी एनएचपीसीले निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा क्षेत्रमा क्रमशः वैदेशिक लगानी आकर्षित भइरहेको छ । यस्तै, आन्तरिक रुपमा स्वदेशी लगानीकर्ताले नै एक हजार पाँच सय ५३ मेगावाट बराबरका आयोजना निर्माणमा लेजाने तयारी गरिरहेको इपानका कार्यकारी सदस्य प्रकाश दुलालको भनाइ छ । निर्माणधीन र निर्माणमा जाने तयारीमा रहेका आयोजनाको कूल क्षमता मात्रै चार हजार आठ सय ३४ मेगावाट बराबर छ । त्यस्तै, झण्डै ९६ दशमलव पाँच प्रतिशत घरधुरीमा बिजुली पुगेको छ । यस आधारमा हेर्दा गत वर्ष नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि महत्वपूर्ण वर्षको परिचय बनाएर हामीबाट बिदा भएको छ । रासस
आइतबार तीन कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेन्ज सामान्य अंकले घटेको छ । आज नेप्से २.८० अंकले घटेर १९३१.६८ विन्दुमा पुगेको छ । बजार घटे पनि तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्ने कम्पनीमा क्रमशस् आदर्श लघुवित्त वित्तिय संस्था, मोलुङ हाइड्रोपावर कम्पनी र कालिन्चोक दर्शन लिमिटेड रहेको छ । आज आदर्श लघुवित्त वित्तिय संस्थाको प्रतिश सेयर मूल्य १३० रुपैयाँ, मोलुङ हाइड्रोपावरको प्रति सेयर मूल्य १५.५० रुपैयाँ र कालिन्चोक दर्शनको प्रति सेयर मूल्य ५०.१० रुपैयाँले बढेको हो । यस्तै, आज ३० लाख कित्ता सेयर किनबेच हुँदा ९१ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा सोल्टी होटल रहेको छ । यस कम्पनीको आज तीन करोड ८९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
महालक्ष्मी विकास बैंकद्धारा काठमाडौं सुन्दर बनाउन सहयोग
काठमाडौं । महालक्ष्मी बैंकले काठमाडौं सुन्दर बनाउन सहयोग गरेको छ । फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो । महालक्ष्मी बैंकले सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरको छ । बैंकको बानेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका वडा नं ३२, सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । काठमाडौं महानगरपालिका वडा नं ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मद्दत पुर्याउने उद्देश्यले बैैंकले उक्त सहयोग प्रदान गरेको हो । बानेश्वर शाखाका प्रमुख विकाश रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई सामाग्री हस्तान्तरण गरेका थिए । ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंकका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरु सम्पन्न भएका छन् । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।