विकासन्युज

साढे दुई लाख कित्ता सेयर बेच्दै कामना सेवा विकास बैंक

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आजदेखि साढे २ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो । बैंकले संस्थापक सेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको २ लाख ४४ हजार ९५४ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकल जनाएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ । बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।

आरबिबि मर्चेन्ट बैंकिङ्गले बैशाख १७ गतेदेखि म्युचुअल फण्ड बिक्री गर्दै

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिङ्गले बैशाख १७ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने आरबिबि म्युचुअल फण्ड २ को अवधि १० वर्ष रहेको छ । यो एक बन्दमुखी योजना हो । क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्री गर्ने भएको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ८० लाख इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक र बाँकी १० करोड २० लाख इकाईका लागि सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । क्यापिटलको उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा बैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयमा पूर्ण आवेदन नपरेमा बैशाख ३१ गतेसम्म आवेदन भर्न समय थप गरिनेछ । उक्त फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट फण्डको इकाई खरिद गर्न सक्नेछन् ।

रवि लामिछानेका गाडी चालक ३ तलाबाट खसेर गम्भिर घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक घाइते भएका छन् । सभापति लामिछानेका सवारी चालक दिलबहादुर थापा चितवनको भरतपुरस्थित घरको ३ तला माथिबाट तल खसेर घाइते भएका हुन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा बिहान ४ बजे भाडामा लिएको घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिएका थिए । थापाको टाउको र खुट्टामा चोट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अहिले उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेसमा उपचार भैरहेको प्रहरीले बताएको छ । उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका थिए ।

सूचना प्रविधिमा लगानी गरे सरकारले सहजीकरण गर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको समृद्धिको आधार सूचना प्रविधि बन्न सक्ने भएकाले गैरआवासीय नेपालीहरुलाई लगानी गर्न आग्रह गरेकी छिन् । अमेरिकास्थित नेपाली दूतावास र विश्व बैंकले आयोजना गरेको ‘कनेक्टिङ नेपाल विथ ग्लोबल डिजिटल इकोनोमी’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । मन्त्री शर्माले नेपालको विकासमा सूचना प्रविधि विज्ञहरु तथा ब्यवसायीहरुको सहयोगवाट देशको अर्थन्त्रलाई नयाँ उचाईमा पुर्याउन, रोजगारी सिर्जना गर्न, यस क्षेत्रमा बजारको मागअनुसार अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय जनशक्ति विकास र आपूर्ति आवश्यक अनुकुल वातावरण तयार गर्न सरकार क्रियाशील रहेकाले लगानी तथा सहयोगका लागि आग्रह गरिन् । विदेशमा आर्जन गरेको ज्ञान, सिप, सक्षमता र पूँजीको परिचालन गरी अन्य देशहरुले विकासमा फड्को मारिसकेको स्मरण गर्दै उनले नेपालमा विद्यमान स्रोत साधनलाई यथोचित परिचालन गर्न नसक्दा पछाडि परेको बताइन् । विश्व अर्थतन्त्रमा नेपालको विद्यमान अवस्थालाई पुनः परिभाषित गर्नका लागि नवप्रवर्ततन, अनुसन्धान र विकासमा लगानी गर्न उनले सूचना प्रविधि विज्ञहरू र व्यवसायीहरूलाई आग्रह गरिन् । ‘हामीले सूचना प्रविधि क्षेत्रलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन देशको व्यवसायिक वातावरणमा थप सुधार गर्नुपर्छ, यसका लागि सूचना प्रविधि, दूरसञ्चार, साइबर सुरक्षा र व्यक्तिगत डाटा सुरक्षासँग सम्बन्धित कानूनको संशोधन आवश्यक हुन्छ’ उहाँले भन्नुभयो, ‘यसका लागि संस्थागत क्षमतामा सुधार र सार्वजनिक र निजी क्षेत्रबीचको संवाद समेत आवश्यक हुन्छ,’ उनले भनिन् । सरकारले आईटी कम्पनीहरूको लागि नेपाललाई विश्व स्तरको गन्तव्यस्थलको रूपमा चिनाउन सूचना प्रविधिको क्षेत्रमा प्रयोगमा आइरहेका नविनतम विश्वव्यापी असल अभ्यासहरु र सोचलाई नेपालमा कसरी लागु गर्न सकिने उनले बताइन् । साथै त्यसको लागि विद्यमान कानून तथा संस्थागत ब्यवस्थालाई पुर्न परिभाषित गर्न सकिने उनको भनाइ छ । सुरक्षित र समावेशी डिजिटल सरकारको जग निर्माण गर्न सम्भव रहेको स्पष्ट गर्दै उनले डिजिटाइजेसनलाई गति दिन आवश्यक राय सुझाव पेश गर्न आग्रह गरिन् । डिजिटल नेपाल फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुर्याउन उनले बताइन् । ‘पन्ध्रौं योजनाले डिजिटाइजेसन मार्फत् सामाजिक, आर्थिक र शासकीय व्यवस्थामा सुधार गर्ने एवम् उर्जा, पूर्वाधार, मानवीय र साइबर सुरक्षा प्रदान गर्ने तथा साइबर अपराध नियन्त्रण गरिने रणनीति बनाइएको छ,’ मन्त्री शर्माले भनिन्, ‘नेपाल सरकारले तीब्र विकास र उच्च आर्थिक वृद्धिका लागि समय सापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क २०७६ जारी गरी कार्यान्वयनमा लगेको छ ।’ नेपालको साइबर स्पेसलाई सुरक्षित र भरपर्दो बनाउनका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइएको उनले बताइन् । इन्टरनेटलाई आवश्यक सेवाको सूचिमा समावेश गरिएको जानकारी दिंदै मन्त्री शर्माले फोरजी सेवा ७७ वटै जिल्लामा संचालनमा ल्याइको, ७४३ स्थानिय तह, ५ हजार ३१८ माध्यमिक विद्यालय र ४ हजार २४९ स्वास्थ्य संस्थामा इन्टरनेट ब्रोडब्याण्ड सेवा जडान गरिएको पनि उनले बताइन् ।

मन्त्री भएको पहिलो दिन नै भारतीय राजदूतसँग भेट

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आइतबार भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री साउदले नेपाल–भारतबीच सदियौँदेखि सौहाद्र्रपूर्ण मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै आगामी दिन थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे । राजदूत श्रीवास्तवले मन्त्री साउदलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । मन्त्री साउदले आतइबार मात्रै नियुक्त भई पदभार सम्हालेका हुन् ।

जुवा तास लगायत भन्सार छलीका सामग्रीबाट साढे ४ करोड राजस्व सङ्कलन

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा प्रहरीले भन्सार छलीका सामग्रीबाट ४ करोड ६५ लाख ८५ हजार ८४० रुपैयाँ राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ३८ पटक विभिन्न प्रकारका भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ । बरामद सामग्रीलाई भन्सार चलान गरी उक्त राजस्व सङ्कलन गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालयले भन्सार छलीसहित विभिन्न प्रकृतिका कारबाहीबाट चालूआर्थिक वर्षको चैत मसान्तसम्ममा कूल ७ करोड २० लाख ७० हजार ८९० रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए । उनका अनुसार भन्सार छलीपछि सबैभन्दा धेरै राजस्व ट्राफिक नियम उल्लङ्घन गरेका सवारीको कारबाहीबाट राजस्व सङ्कलन भएको छ । जसअनुसार सो अवधिमा २३ हजार २५० वटा सवारी कारबाहीबाट १ करोड ७९ लाख ४० हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । कसुरजन्य सम्पत्ति लिलाम बिक्रीबाट ४१ लख ४३ हजार ३३२ रुपैयाँ, प्राकृतिक स्रोतको चोरी नियन्त्रणबाट २५ लाख ८ हजार ७०८ रुपैयाँ, काठ तस्करी नियन्त्रणबाट ६ लाख १६ हजार ७५ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ । प्रहरीले चालु आर्थिक वर्षमा ५६ जनालाई जुवा तास खेल्दै गर्दा नियन्त्रणमा लिएको छ । जसबाट २ लाख ७६ हजार ४३५ रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले बताए । नौ महिनामा घरेलुहिंसाका ९६ घटना जिल्ला प्रहरी कार्यालय नवलपुरमा नौ महिनाको अवधिमा घरेलु हिंसाका ९६ वटा घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षको चैतसम्ममा यो सङ्ख्यामा घरेलु हिंसाका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । चालू आर्थिक वर्षको साउनमा सबैभन्दा धेरै २१ वटा घटना दर्ता भएका छन् । उहाँका अनुसार सबैभन्दा कम फागुन महिनामा एउटा मात्रै घटना दर्ता भएको छ । धेरै जसो पतिपत्नी बीचका घटना दर्ता भएका छन् । दर्ता भएका घटनामध्य धेरैजसो मिलापत्रसमेत भएको प्रहरी उपरीक्षक तिवारीले बताए ।

२ संस्थालाई फ्लाइङ स्कुल स्थापनाको अनुमति, नेपालमै पाइलट उत्पादन हुने

काठमाडौं । नेपालमै पाइलट उत्पादन गर्ने उद्देश्यले दुई फ्लाइङ स्कुलले अनुमति पाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका अनुसार शुभम् एभिएसन प्रालि र चन्द्र सूर्य एभिएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन् । कार्यविधिमा आवश्यक संशोधन गर्दै दुई फ्लाइङ स्कुललाई अनुमति प्रदान गरिएको हो । प्रक्रिया पूरा गरी आउने अन्य संस्थालाई पनि इजाजत प्रदान गरिने पर्यटनमन्त्रीले उल्लेख गरेका छन् । नेपालमा पाइलट उत्पादन गर्ने संस्था नहुँदा नेपालीले अहिले फिलिपिन्स, अमेरिकासहितका मुलुकमा गएर पाइलट कोर्ष पूरा गर्ने गर्छन् ।

एफपीओमा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फर्दर पब्लिक अफरिङ (एफपीओ) मार्फत् बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालीन समाधान खोज्न निर्देशन दिएका छन् । नेपाल उद्योग परिसङ्घ र नेपाल बैंकर्स सङ्घले सुंयक्त रुपमा एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले पारेको असरका विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री दाहालले उक्त निर्णय स्थगित गर्न निर्देशन दिएका हुन् । भेटमा प्रधानमन्त्री दाहालले यो विषयको दीर्घकालीन समाधानका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएका केही कम्पनी तथा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो चुक्ता पूँजी बृद्धि गर्न एफपीओमार्फत पुँजी वृद्धि गरेका थिए । त्यस समयमा यसरी वृद्धि गरिएको एफपिओमा कर लगाइएको थिएन । महालेखापरीक्षकको कार्यालयले ५८औँ वार्षिक प्रतिवेदनमार्फत विभिन्न पब्लिक लिमिटेड कम्पनीले पुँजी वृद्धि प्रयोजनका लागि जारी गरेको एफपीओमा कर लाग्ने ठहर गर्दै ती कम्पनीबाट कर असुल गर्नुपर्ने जनाएको थियो । नेपालको निजी क्षेत्रले सरकारले कानुन बनाइ तोकेका कर समयमै चुक्ता गरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेका छन् । कर कानुनमा व्यवस्था नभएको विषयमा कर लागु गर्ने विषयले लगानी प्रवद्र्धन गर्ने तथा नेपालको अर्थतन्त्रको आकार बढाउने सरकारको नीतिमा नकारात्मक असर पुग्ने बुझाइ निजी क्षेत्रको छ । एफपीओको बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय कार्यान्वयनले नेपालमा निजी क्षेत्रद्वारा प्रवद्र्धित उद्योग तथा व्यवसाय लिमिटेड कम्पनीमा रुपान्तरण नहुने तथा हाल सञ्चालनमा रहेका कम्पनीले आफ्नो आकार बढाइ अर्थतन्त्रमा थप योगदान दिन नसक्ने अवस्था सिर्जना हुन सक्नेतर्फ सचेत हुनुपर्नेमा परिसङ्घको जोड छ । लगानीकर्ताको मनोबल गिर्ने, पुँजी बजार तथा लगानीकर्तालाई धरासायी बनाउनेप्रति सजग हुनुपर्ने धारणा परिसङ्घको छ । एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले निजी क्षेत्रलाई पारेको असर समाधानका लागि प्रधानमन्त्रीले देखाएको सदासयताका लागि नेपाल उद्योग परिसङ्घ स्वागत गर्दै यसले नेपालको निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र हौसला प्रदान गर्ने विश्वास परिसङ्घले गरेको छ ।