विकासन्युज

संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ति गर्न सहमति

काठमाडाैं । प्रमुख राजनीतिक तीन दलको बैठकले प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । सोमबार बालकोटमा बसेको सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एवं एमाले अध्यक्ष ओलीबीचको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले तीन दलको बैठकले चाँडै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको बताए । लामो समयदेखि सर्वोच्च अदालतको कार्यभार नै कार्यवाहकबाट सञ्चालन भइरहेको भन्दै प्रधानमन्त्रीले चाँडै संवैधानिक परिषद्को बैठक बोलाएर स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउने कुरामा सहमति जुटेको उनले जानकारी दिए ।

रोल्पा सिमेन्टले साढे ८ कराेड बक्यौता तिर्न बाँकी, विद्युत लाइन काटियो

रोल्पा । रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ । उद्योगले विद्युत महसुलवापत आठ करोड ४४ लाख छ सय ९७ बक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो । रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उक्त उद्योगले वक्यौता नबुझाएको पाइएपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्र रोल्पाले जनाएको छ । ‘पटक–पटक ताकेता गर्दा पनि अटेर गरी महसुल नबुझाएपछि आइतबार लाइन काट्न बाध्य भयौ’, वितरण केन्द्रका कार्यालय प्रमुख आषेश्वर साहले भने । सिमेन्ट उद्यागेले २०७० साल यता महशुल नबुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ । वक्यौता नतिरेसम्म लाइन पुनः जडान नहुने उनको भनाइ छ । रोल्पा सिमेन्ट प्रालि रोल्पामा सञ्चालित सबैभन्दा ठूलो उद्योग हो ।

सिजी नेटले गर्यो ७ नयाँ शहरमा सेवा विस्तार

काठमाडौं । इन्टरनेट र आईपिटिभीका साथ सिजी नेटले  ‘स्पिड दमदार प्राइस शानदार’ अफर ल्याएको छ । यस अफर अन्तर्गत १३० एमबिपिएस ७९९ रुपैयाँमा, २५० एमबिपिएस १०४९ रुपैयाँमा तथा ३५० एमबिपिएस नेट १२९९ प्रति महिनामा नेटको सुविधाका साथ ल्याएको हो । साथै, सिजी नेटले आफ्ना प्रयोगकर्तालाई तीन लाख रुपैयाँ सम्मको दुर्घटना बीमा र सिजीका घडी, इयरफोन लगायत अन्य अरु घरायसी सामाग्रीको खरिदमा ३५ प्रतिशतसम्मको डिस्काउन्ट अफर लिएर आएको छ । सिजी नेट जोडेर प्रयोगकर्ताहरुले चार लाख नेपाली रुपैयाँ बराबरको यी सबै सुविधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन् । काठमाडौंको भव्य सफलतापछि विराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान तथा दुहबीसम्म आफ्नो सुविधा पुर्याउने योजनाका बनाएको यस कम्पनीले पछिल्ला केहि महिनामा आफ्नो सेवा योजना गरेका सम्पूर्ण ठाउँहरुमा पुर्याइसकेको छ । वैशाख ३ गते पोखरामा भव्य उद्घाटन गर्दै सिजी नेटले हालका लागि आफ्नो विस्तार यात्रा टुङ्ग्याएको छ । २०८० वैशाख ३ गते पोखरा सहरमा भव्य उद्घाटन समारोह र र्‍यालीको आयोजना गर्दै सिजी नेटले पोखरामा आफ्नो आगमनको उद्घोष गरेको हो । १३० एमबिपिएस नेटलाई जनतामाझ सबैभन्दा सस्तो मूल्य ७९९ रुपैयाँप्रति महिनामा ल्याउने नेपालकै पहिलो कम्पनी सिजी नेट अत्याधुनिक प्रविधिको प्रयोगबाट सस्तो र भरपर्दो इन्टरनेट सेवामार्फत देशलाई संसारसँग जोड्ने उद्देश्यका साथ नेपालका विभिन्‍न स्थानहरुमा आफ्नो सेवा बिस्तार गरिरहेको छ । सस्तो र भरपर्दो इन्टरनेट खोज्‍ने नेपालीहरुका लागि यो एउटा सुवर्ण मौका हो । आगामी दिनहरुमा अझै बढी सहर र देशका कुना–कुनासम्म आफ्नो सुविधा पुर्याउनका लागि बिस्तारका नयाँ योजना लिएर आउने सिजीनेटले बताएको छ । कम्पनीका सीईओ भन्छन्– ‘आठ नयाँ स्थानमा सेवाहरूको विस्तार गर्न पाउँदा हामी निकै उत्साहित बनेका छौं, आजको संसारमा खाँचो पर्ने भरपर्दो इन्टरनेट सुविधाको पहुँचको महत्त्व बुझ्छौं र त्यसलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरूलाई उपलब्ध गराउन चाहन्छौँ । भरपर्दो ग्राहक सेवाका साथ–साथै किफायती दरमा उच्च गतिको इन्टरनेट प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौँ ।’ आफ्ना ग्राहकहरूलाई सबैभन्दा उत्कृष्ट इन्टरनेट सेवाहरू उपलब्ध गराउन सिजीनेट प्रतिवद्ध छ । यी नयाँ स्थानहरूमा गरिएको सेवाको विस्तार त्यही प्रतिबद्धताको प्रमाण हो । सिजीनेटको यो सेवा विस्तार आफ्ना विद्यमान ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको उच्च गुणस्तरको इन्टरनेट सेवालाई नयाँ ग्राहकहरु समक्ष पनि पुर्याउने एउटा बलियो प्रयास भएको कम्पनीले जनाएको छ ।

प्रभु लाइफका संचालक पोखरेलले दिए राजीनामा

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका एक संचालकले राजीनामा दिएका छन् । इन्स्योरेन्सका संचालक मनि राम पोखरेलले बैशाख ३ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन् । पोखरेल कम्पनीको संस्थापक सेयरधनीबाट संचालकमा २०७५ साल जेठ १० गते मनोनित भएका थिए । प्रभु बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका पोखरेलले बीमा प्राधिकरण चैत १७ गते दिएको निर्देशनपछि राजीनामा दिएका हुन् । बीमा प्राधिकरणले चैत १७ गते सूचना जारी गर्दै बीमक वा बैंक तथा वित्तीय संस्था वा कुनै प्रकारको निक्षेप संकलन गर्ने संगठित संस्थाको सञ्चालक रहेको वा अन्य कुनै बीमकको संस्थापक समूहको आधारभूत सेयर लिएको बहालवाला संचालक वा कर्मचारी बीमा कम्पनीको सञ्चालक हुन अयोग्य हुने बताएको थियो ।

आगामी वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्थामा अधिकांश बैंक, खराब कर्जा ३ प्रतिशत बढी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा खराब कर्जा वृद्धि भएको छ । बैंकहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक नगरेपनि अधिकांश बैंकको खराब कर्जा बढेको बैंकरहरु बताउँछन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा देखिएको तरलताको अभाव र बैंक विरुद्धका गतिविधि लगायतले बैंकको खराब कर्जा बढिरहेको छ । चालू आर्थिक वर्षको प्रथम त्रैमासदेखि नै बैंकहरुलाई रिकभरी (कर्जा असुली) मा सकस परिरहेको छ । त्यो क्रम अझैं रोकिएको छैन । बरु बैंकहरुको वित्तीय विवरण नकारात्म आउने अवस्था जारी छ । खराब कर्जा अनुसारको रकम प्रोभिजिङ गर्नु पर्ने व्यवस्था राष्ट्र बैंकको छ । जसकारण नाफामा स्वतः असर पर्ने बैंकरहरु बताउँछन् । पछिल्लो समय अर्थतन्त्रमा समस्या देखिएको र उद्योगी व्यवसायीहरुले कर्जाको सावाँ र ब्याज चुक्ता नगर्दा बैंकको रिकभरीमा सकस देखिएको बैंकहरुहरुले बताएका छन् । राष्ट्र बैंकका अधिकारीहरुले समेत ऋण असुलीमा समस्या परेका कारण खराब कर्जा बढ्न सक्ने धारणा राखिरहेका छन् । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष बैंकहरुले तरलता अभाव धेरै खेप्नु परेको थियो । जसकारण बैंकहरुले आफ्नो व्यवसाय विस्तार गर्न नसकेको हुँदा धक्का लागेको बैंकका उच्च तहका कर्मचारीहरु बताउँछन् । यति बेला बैंकहरुहरु चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणतयारीमा जुटेका छन् । यसपटक विगत वर्षझैं उत्साहपूर्ण वित्तीय विवरण नआउने देखिन्छ । एक बैंकरका अनुसार समग्र बैंकिङ्ग क्षेत्रमा रिकभरीको समस्या देखिएको छ । पछिल्लो समय समग्र क्षेत्रको अवस्था नाजुक नै रहेकाले बैंकको स्थिती पनि खासै उत्साहप्रद छैन । उनले तेस्रो त्रैमासमा बैंकहरुले खराब कर्जा लुकाएर सार्वजनिक गर्न सक्ने शंका समेत व्यक्त गरे । ‘बैंकहरुले खराब कर्जा लुकाएर प्रकाशन गर्ने सम्भावना देखिन्छ, अहिले अवस्था गम्भीर भएकाले उच्च व्यवस्थापन समूहले सही तथ्याङ्क दिन्छन की दिँदैनन् भन्नेमा भर पर्छ, स्पष्ट तथ्याङ्क बाहिर आउने सम्भावना न्यून छ,’ ती बैंकरले भने, ‘राष्ट्र बैंकले नै बैंकहरुको औषत खराब कर्जाको दर साढे ३ प्रतिशतको हाराहारीमा पुग्ने बताउँदै आएको छ, बैंकहरुको रिकभरीमा अझै समस्या देखियो भने असार मसान्तसम्म ५ प्रतिशतको हाराहारीमा खराब कर्जा पुग्ने अनुमान छ ।’ बैंकहरुको खराब कर्जा बढेपछि निक्षेप संकलनमा असर पर्ने भएकाले बैंकहरुले खराब कर्जा लुकाउन सक्ने उनको तर्क छ । साथै बैंकको खराब कर्जा वृद्धि भएपछि नाफा समेत स्वतः घट्ने उनको भनाइ छ । तेस्रो त्रैमासमा बैंकको वितरणयोग्य नाफा दरमा समेत कमी आएको उनले बताए । ‘निक्षेप संकलन गर्न एनपीएलको रेसियो कति छ भनेर हेर्नुपर्छ, त्यसले प्रत्यक्ष क्यापिटलमा असर गर्छ, अहिले बैंकिङ्ग क्षेत्र चुनौतिपूर्ण अवस्थामा गुज्रिरहेको छ, एनपीएल बढेको कारण बैंकको नाफामा पनि स्वतः दबाब परेको छ,’ उनले भने, ‘एनएफआरएसमा स्पष्ट आम्दानी देखाउनु पर्छ, ग्राहकले पैसा तिरे वा नतिरे पनि बैंकको विवरणमा नाफा देखाउनु पर्छ तर, नाफाभन्दा पनि वितरणयोग्य नाफा कमजोर स्थितीमा देखिन्छ ।’ उनले असार मसान्तसम्म बैंकको खराब कर्जामा सुधार नहुने बताए । होटल क्षेत्रमा केही सुधार भएपनि व्यवसायीहरु भने अझै सकसमा परेको बताइरहेको धारणा राखे । अधिकांश उद्योगी व्यवसायीहरु उधारोमा फसेका कारण यस्तो स्थिती आएको उनले बताए । ‘असार मसान्त अघि सुधार हुन गाह्रो देखिन्छ, कुनै पनि क्षेत्रको राम्रो भइरहेको छ भनेर प्रतिक्रिया दिएका छैनन्, होटल क्षेत्रको राम्रो गरेको देखिएपनि व्यवसायीहरुले समस्यामा छौं भनिरहेका छन्, अधिकांश उद्योगी व्यवसायीहरुको रकम उधारोमा फसेको छ, सबै जड त्यतै देखिन्छ,’ उनले भने, ‘विगतमा उद्योग व्यवसायीले सहकारी संस्था गुहारेर बैंकको कर्जा तथा ब्याज तिर्थे तर, अहिले सहकारी संस्थाहरु आफै दबाबमा छन् ।’ अर्थतन्त्र सुधार हुनका लागि ठूलै रकम बजारमा आउनु पर्ने र सहज रुपमा कर्जा प्रवाह हुनु पर्ने उनको भनाइ छ । मर्जरमा गएका बैंकहरुको स्थिती पनि अन्य बैंक सरह नै रहेको उनले बताए । उनका अनुसार मर्जरमा गएका बैंकहरुलाई अन्य बैंकको भन्दा बढी दबाब देखिएका छन् । राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) देवेन्द्र रमण खनाल बजार सकारात्मक नदेखिएको बताउँछन् । अधिकांश उद्योगी व्यवसायीहरुको ब्यापार खस्किएको हुँदा तेस्रो त्रैमासमा बैंकहरुको स्थिती पनि कमजोर रहेको उनको भनाइ छ । ‘उद्योगी व्यवसायीहरुले नीतिगत रुपमा राहतको व्यवस्था हुने आशा गरेका छन्, तेस्रो त्रैमासबाट ब्याजदर घट्दै गएपनि सकारात्मक देखिएको छैन, रिकभरी राम्रो नभएका कारण बैंकको एनपीएल बढ्ने देखिन्छ, समग्र बैंकको एनपीएल ३ प्रतिशत भन्दा बढी नै हुने अनुमान छ,’ उनले भने, ‘एनपीएल बढ्ने बित्तीकै प्रोभिजन राख्नुपर्ने हुन्छ, प्रोभिजन राखेपछि बैंकको नाफामा स्वतः असर गर्छ, सरकारी बैंकको स्थिती पनि अन्य बैंकको जस्तै छ ।’ सरकारी बैंकले सहुलियतपूर्ण कर्जा अन्तर्गतबिना धितो ऋण दिएपनि खासै असर नगर्ने उनले बताए । उनका अनुसार समग्र वित्तीय विवरण उत्साहपूर्ण नभएपनि बैंक ऋणात्मक नै हुनु पर्ने अवस्था नआउने उनको धारणा छ । ‘बिना धितो थोरै प्रतिशत मात्रै कर्जा गएको हुँदा खराब कर्जामा खासै असर गर्दैन, नाफामा धेरै वृद्धि नभएपनि ऋणात्मक हुने अवस्था छैन, सरकारको पूँजीगत खर्च बढेको र नयाँ बजेट पश्चात् खराब कर्जामा सुधार हुन सक्छ,’ उनले भने, ‘अर्थतन्त्रमा देखिएको समस्याले बैंकको खराब कर्जा बढेको हो, बैंकिङ्ग क्षेत्रमा पछिल्ला घटनाक्रमले धेरै सचेत भएका छन् ।’ चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कृषि विकास बैंकले नोक्सानी व्यहोर्नु परेको थियो । बैंक स्रोतका अनुसार तेस्रो त्रैमासमा बैंकको नाफा धनात्मक भइसकेको छ । तेस्रो त्रैमासको वित्तीय विवरण अन्तिम चरणमा भएपनि दुई दिन बिदा भएका कारण सार्वजनिक गर्न ढिला भएको स्रोतले बतायो । कृषि विकास बैंकका पूर्व डीजीएम ध्रुबचन्द्र गौतमका अनुसार निष्कृय कर्जा बढेको हुँदा बैंकिङ्ग क्षेत्रमा आशाजनक वित्तीय विवरण आउन सक्ने अवस्था छैन । तेस्रो त्रैमासमा बैंकको नाफामा खासै प्रगति हुन नसकेको उनले बताए । निक्षेपको ब्याजदर घटेको कारण असारपछि भने केही सुधार हुन सक्ने उनको भनाइ छ । ‘बैंकहरुको कर्जा निक्षेप अनुपात सीमाभित्र कायम राख्नु पर्नेछ, मान्छेको क्रयशक्ति र आम्दानी गर्ने क्षमता घटेको हुँदा बैंकिङ्ग क्षेत्रमा यो वर्ष सुधार हुने छाँटकाँट छैन, सेयर बजार घटेको छ, पूँजीगत खर्च निराशाजनक छ, राजश्व संकलनमा गिरावट छ,’ उनले भने, ‘शोधानान्तर र रेमिट्यान्स बढेको भएपनि अन्य सूचकहरु सुधारोन्मुख छैनन् ।’ अर्थतन्त्र सुधार गर्नका लागि राष्ट्र बैंक र अर्थमन्त्रीको सम्बन्धमा सुधार हुनुपर्ने उनले बताए । साथै मौद्रिक नीतिको समीक्षामा केही व्यवस्था खुकुलो गरियो भने सहज स्थिती आउन सक्ने उनले बताए । अहिलको स्थिती हेर्दा बैंकहरुले अर्काे वर्ष लाभांश वितरण गर्न नसक्ने अवस्था आउन सक्ने महाप्रबन्धक गौतमको भनाइ छ । ‘गभर्नरले सहयोग नगरेका कारण कतिपय नीतिगत व्यवस्थाको सुधारमा समस्या छ, अर्थमन्त्रालय र राष्ट्र बैंकबीच सम्बन्धमा सुधार हुन आवश्यक छ, मौद्रिक नीतिको तेस्रो समिक्षामा केही व्यवस्थामा सुधार तथा नीतिगत परिमार्जन वा संशोधन गर्याे भने सुधार हुन सक्छ,’ उनले भने, ‘केही बैंकले लाभांश दिन खोजेपनि ५ प्रतिशतको हाराहारीमा हुन सक्छ किनभने रिकभरी राम्रो भएको छैन, धेरै कर्जा खराब कर्जामा परिणत भएको छ, लिलामीमा राखिएको धितो पनि बिक्री हुन सकेको छैन ।’ निक्षेपको ब्याजदर घटेको हुँदा कर्जाको ब्याजदर पनि स्वतः घट्ने र बाह्य क्षेत्र पनि सुधार भएकाले अर्काे आर्थिक वर्षदेखि अर्थतन्त्रमा सुधारको संकेत देखिएको उनले बताए । ‘आयातलाई धान्न सक्ने शोधानान्तर स्थिती छ, अहिले आयात र कर्जा विस्तार हुन नसके पनि ब्याजदर घटेको हुँदा सहज हुनेछ, राजश्व संकलन बढाउनुपर्ने देखिन्छ, तरलता सहज भएकाले कर्जा विस्तारमा जोड दिनुपर्छ,’ उनले भने, ‘एक खर्ब ४ अर्ब रुपैयाँ लगानी गर्न सक्ने तरलता बैंकहरुसँग छ तर, माग नभएकाले कर्जा विस्तार हुन सकेको छैन, बजारमा सेवा र वस्तु बिक्री भएको छैन, उद्योगी व्यवसायीहरुको क्षमता नपुगेपछि हजारौं गाडीहरु भान्सार कार्यालयमा थन्किएका छन्, यो अवस्थामा बैंकको वित्तीय विवरण पनि राम्रो आउने देखिँदैन ।’

धनगढी उपमहानगरभित्रका १७ सामुदायिक विद्यालयको ८ कक्षामा सबै विद्यार्थी फेल

धनगढी । धनगढी उपमहानगरपालिका भित्रका १७ सामुदायिक विद्यालयको कक्षा ८ को परीक्षामा सहभागी भएका सबै विद्यार्थी फेल अर्थात ननग्रेड भएका छन् । धनगढी उपमहानगरपालिका भित्र सञ्चालनमा रहेका ६३ मध्ये १७ वटा विद्यालयको कक्षा ८ मा भएको परीक्षामा सामेल भएका विद्यार्थी ननग्रेड भएका हुन् । धनगढी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्र बहादुर खातीका अनुसार अहिलेसम्म सबै विद्यालयमा भएको परीक्षाको तथ्यांक सफ्टवेयरमा अपडेट गरिएको छ, जसलाई हेर्दा कम्प्युटर विषयमा अधिकांश विद्यार्थी कमजोर देखिएका छन् । अहिले स्थानीय मिडियाले लेखेको समाचार स्कुलको सर्वेक्षणका आधारमा लेखेको हुनसक्ने तर ननग्रेडमा परेका विद्यार्थीले फेरिपनि परीक्षा दिन पाउने हुँदा अहिले नै ननग्रेडमा परेका विद्यार्थीको यथार्थ तथ्यांक भन्न नमिल्ने सूचना अधिकारी खातीले बताए । उपमहानगर भित्रका विद्यालयहरुले हिजो आइतबार र आज नतिजा निकालिरहेका छन् । सूचना अधिकारी खातीका अनुसार ननग्रेडमा परेका विद्यार्थीहरुले बैशाख २९ र ३० गते पुनः ग्रेडिङको लागि परीक्षा दिन पाउनेहुँदा त्यसपछि मात्रै वास्तविक तथ्यांक भन्न मिल्छ ।

काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष झा ‘प्रबल जनसेवाश्री’ पदकबाट सम्मानित

काठमाडौं । ‍काठमाडौं वर्ल्ड स्कुलका अध्यक्ष तथा इञ्जिनियर डा। मिथलेशकुमार झा ‘प्रबल जनसेवाश्री पदक’बाट विभुषित भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय झालाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदानवापत उक्त पदक प्रदान गरिएको हो । वैशाख १ गते शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई उक्त पदक हस्तान्तरण गरेका थिए । काठमाडौं वर्ल्ड स्कुल चौधरी समूहअन्तर्गतको सिजी होल्डिङसको लगानी रहेको स्कुल हो ।

सिटिजन्स बैंकका ग्राहकलाई जामुनी अटो सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक र जामुनी अटो सेन्टरबीच समझदार भएको छ । सिटिजन्स बैंक र जामुनी अटो सेन्टर बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझाैताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरुले जामुनी अटो सेन्टरमा स्कुटर खरिद गर्दा २५ हजारसम्मको आकर्षक छुट पाइने कम्पनीले जनाएकाे छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम, विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १५ लाख ४० हजार भन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।