काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा प्रहरीले भन्सार छलीका सामग्रीबाट ४ करोड ६५ लाख ८५ हजार ८४० रुपैयाँ राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा ३८ पटक विभिन्न प्रकारका भन्सार छलीका सामग्री नियन्त्रणमा लिएको छ ।
बरामद सामग्रीलाई भन्सार चलान गरी उक्त राजस्व सङ्कलन गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालयले भन्सार छलीसहित विभिन्न प्रकृतिका कारबाहीबाट चालूआर्थिक वर्षको चैत मसान्तसम्ममा कूल ७ करोड २० लाख ७० हजार ८९० रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए ।
उनका अनुसार भन्सार छलीपछि सबैभन्दा धेरै राजस्व ट्राफिक नियम उल्लङ्घन गरेका सवारीको कारबाहीबाट राजस्व सङ्कलन भएको छ । जसअनुसार सो अवधिमा २३ हजार २५० वटा सवारी कारबाहीबाट १ करोड ७९ लाख ४० हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
कसुरजन्य सम्पत्ति लिलाम बिक्रीबाट ४१ लख ४३ हजार ३३२ रुपैयाँ, प्राकृतिक स्रोतको चोरी नियन्त्रणबाट २५ लाख ८ हजार ७०८ रुपैयाँ, काठ तस्करी नियन्त्रणबाट ६ लाख १६ हजार ७५ रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।
प्रहरीले चालु आर्थिक वर्षमा ५६ जनालाई जुवा तास खेल्दै गर्दा नियन्त्रणमा लिएको छ । जसबाट २ लाख ७६ हजार ४३५ रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले बताए ।
नौ महिनामा घरेलुहिंसाका ९६ घटना
जिल्ला प्रहरी कार्यालय नवलपुरमा नौ महिनाको अवधिमा घरेलु हिंसाका ९६ वटा घटना दर्ता भएका छन् । चालु आर्थिक वर्षको चैतसम्ममा यो सङ्ख्यामा घरेलु हिंसाका घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।
चालू आर्थिक वर्षको साउनमा सबैभन्दा धेरै २१ वटा घटना दर्ता भएका छन् । उहाँका अनुसार सबैभन्दा कम फागुन महिनामा एउटा मात्रै घटना दर्ता भएको छ । धेरै जसो पतिपत्नी बीचका घटना दर्ता भएका छन् । दर्ता भएका घटनामध्य धेरैजसो मिलापत्रसमेत भएको प्रहरी उपरीक्षक तिवारीले बताए ।