४ दिनमै बिक्यो महालक्ष्मी विकास बैंकको ऋणपत्र
काठमाडौं । महालक्ष्मी विकास बैंक निष्काशन गरेको ‘११% महालक्ष्मी डिवेन्चर –२०८९’ चार दिनमै बिक्री भएको छ । बैंकले चैत्र २९ गते देखी निष्काशन खुल्ला गरेको डिबेन्चर तोकिएको समय अुनसार चार दिनमै बिक्री भएको हो । दश वर्ष अवधि तथा वार्षिक ब्याजदर ११ प्रतिशत भएको यस ऋणपत्र जम्मा एक अर्ब रुपैंयाँको ६० प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालिस प्रतिशत रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निष्काशनबाट बिक्रीका लागि खुल्ला गरिएको थियो । इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरीदका लागि छिटोमा बैशाख ४ गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । तर बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात बैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो । महालक्ष्मी विकास बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।
सिद्धार्थ बैंकले ल्यायो विशेष घर कर्जा, ७ वर्षसम्म ब्याज स्थिर
काठमाडौं । सिद्धार्थ बैंकले नयाँ वर्ष २०८० को अवसरमा विशेष घरकर्जा सुविधा ल्याएको छ । लबैंकले घर खरिद, निमार्ण र पुर्ननिर्माणका लागि ११.७५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा ल्याएको हो । बैंकको अनुसार यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो ७ वर्षसम्मका लागि स्थिर रहनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागु गरिएको छ । यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पुरा गर्नेछ भन्ने विश्वास बैंकले लिएको जनाएको छ । बैंकले विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ ।
४ लघुबीमाका अध्यक्षलाई सपथ गराउँदै सिलवालले भने : इमान्दारीपूर्वक काम गर्नुहोस्
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विभिन्न चारवटा लघुबीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई शपथ गराएका छन् । अध्यक्ष सिलवालले मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालयमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्सका आशिष श्रेष्ठ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका ऋषिराज मोर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका कृतिका अग्रवाललाई शपथ गराएका हुन् । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीको समग्र जिम्मेवारी संचालक समितिका अध्यक्षको हुने भएकाले कम्पनीहरू अध्यक्षको निगरानीमा रहनुपर्ने बताए । सिलवालले न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्नेगरी धेरै लामो प्रयासपछि लघुबीमा कम्पनीहरू स्थापना भएको उल्लेख गर्दै सोही उद्देश्य अनुरूप स्थानीयस्तरमा सञ्जाल विस्तार गरेर स्वस्थ प्रतिस्पर्धाका साथ इमान्दारीपूर्वक काम गर्न निर्देशन दिए ।
१७१ नयाँ कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु
काठमाडौं । मंगलबार १७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार मंगलबार २ हजार २९२ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् । यस्तै, मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको जनाएको छ ।
भूमिहीनलाई छिट्टै जग्गाधनी बनाउँछौं : मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले मुलुक बनाउने हो भने सहरभन्दा पहिले गाउँ बनाउनुपर्ने बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले भूमिहीन नागरिकले जमिन पाउनुपर्ने र गाउँलाई सम्पन्न बनाउनैपर्ने बताइन् । काठमाडौं उपत्यकाभित्रै बसोबास गर्ने हजाराैं नागरिक अझै पनि भूमिहीन र लालपुर्जाविहीन रहेको भन्दै उनले उक्त समस्या समाधानका लागि एक कार्यदल बनाएर छिट्टै काम शुरु गर्ने विश्वास व्यक्त गरिन् । कमैया, कमलरीले लामो समयदेखि लालपुर्जा पाउन नसकेकाले उनीहरुको समस्या समाधानका लागि पहल थाल्ने जानकारी दिँदै राष्ट्रिय भूमि आयोगमार्फत पनि केही समस्या समाधान हुने उनले बताइन्। सुकुम्वासी समस्या समाधानका लागि आयोगले काम कारबाही भइरहेको र त्यसका लागि सबैको साथर्क सहयोग जरुरी रहेको मन्त्री श्रेष्ठको भनाइ छ । जग्गाको हदबन्दीसम्बन्धी व्यवस्थालाई समयानुकूल बनाउन मन्त्रालयले कार्ययोजना बनाएर लागू गर्ने उनले बताइन् । मन्त्री श्रेष्ठले जग्गाको कित्ताकाटका सम्बन्धमा स्थानीय निकायले नै भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सङ्घीय सरकारलाई सहयोगका लागि माग भई आएमा सहजीकरण गरिने बताइन् । दैलेखलगायतका विभिन्न जिल्लामा रहेको गुठीको जग्गाको उचित व्यवस्थापनका लागि गुठी ऐनको मस्यौदा तयार भएको र सोही ऐनमार्फत समस्या समाधान हुने मन्त्री श्रेष्ठको प्रष्टोक्ति छ । रासस
एकै प्रकृतिका कार्यालय एकीकृत गर्न माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले जिल्लामा एकै प्रकृतिका धेरै कार्यालय रहेको भन्दै त्यसलाई तत्काल एकीकृत गर्नुपर्नेमा जोड दिएका छन् । बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै सांसद श्यामकुमार घिमिरेले न्यून बजेट भएका आयोजनामा परामर्शदाताको खर्च बढी भएकाले आगामी आर्थिक वर्षको बजेटमा त्यसलाई व्यवस्थित गर्नुपर्ने बताए । उनले सरकारी राजश्वको प्रमुख स्रोतका रुपमा रहेको सवारी साधनको आयात भए पनि त्यसलाई रोकिँदा समस्या परेकाले त्यसलाई सहजीकरण गर्नुपर्नेमा जोड दिए । आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने केही विषयलाई सुत्रवद्ध रुपमा राख्दै सांसद घिमिरेले जग्गा प्राप्ति ऐनलाई समयानकूल बनाइ सार्वजनिक हितका लागि प्रयोग गर्ने व्यवस्था गर्न माग गरे । उनले आत्मनिर्भर हुन लागेको उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्न सरकारले थप सहजीकरण गर्न आग्रह गरे । सांसद भीमप्रसाद आचार्यले सरकारले हालसम्म पूर्णता नपाएको भन्दै विकास निर्माणको काम कहिले अगाडि बढ्ने हो भन्दै प्रश्न गरे । परिवर्तनलाई कोही उल्ट्याउन नसक्ने तर्क गर्दै उनले किसान, मजदुर, श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद हितबहादुर तामाङले काठमाडौं महानगरपालिकाका प्रमुखले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा नगरेका कारण समस्या खडा भएको उल्लेख गर्दै काठमाडौंका नदी किनारमा रहेका अव्यवस्थित बसोबासी हटाउने भनेर गरिएको सूचना र प्रयास नै संविधान विपरीत रहेको बताए । सिंहदरबार र अति विशिष्ट कार्यालयको फोहरमैला उठाउदिन भनेर काठमाडौंका प्रमुखले गलत गतिविधि गरेको उनको भनाइ छ । तीन वर्षका लागि भनेर फोहर व्यवस्थापन गर्न थालिएको सिसडोलमा १६ वर्षसम्म फोहर फालिएको र अघिल्लो वर्षदेखि मात्रै बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिए पनि स्थानीयको माग सम्बोधन नभएकोमा आपत्ति प्रकट गरे । बञ्चरेडाँडामा वैज्ञानिक तवरले फोहर व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै सांसद तामाङले काठमाडौं महानगरपालिकाले संविधान मिच्ने र कानुन मान्दिन भन्न नपाउने बताए । उनले फोहर व्यवस्थापनसम्बन्धी अध्ययन गर्न विशेष समिति गठन गर्न माग गरे । सांसद ज्ञानबहादुर शाहीले आफूले पाउने तलब सुविधाबाट तीन हजार बराबरको रकम खेलाडीलाई प्रदान गर्ने घोषणा गरे । रासस
मलेसियाविरुद्द नेपालको सानदार जित, ३६.२ ओभरमै ६ विकेटले विजयी
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले मलेसियलाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल विजयी भएको हो । मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको थियो । नेपालले सो लक्ष्य ३६.२ ओभरमै पुरा गर्यो । नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।
कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयरमा सर्किट
काठमाडाैं । पुँजी बजारमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक तीन दशमलव ०७ अङ्कले घटेर एक हजार नौ सय चार दशमलव ९८ को बिन्दुमा कायम भएको हो । आज दुई सय ६६ वटा कम्पनीका २९ लाख ७५ हजार नौ सय २० कित्ता सेयर ८७ करोड चार लाख ४८ हजार बराबरको कारोबार भएका छन् । होटल तथा पर्यटन समूह ४० दशमलव ७५, म्युचुअल फन्ड समूह शून्य दशमलव ०८ र निर्जीवन बीमा समूह पाँच दशमलव ४३ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूहको उपसूचक ४९ दशमलव ६१ र लघुवित्त समूहको उपसूचक २० दशमलव ६५ अंकले घटेको छ । बैंकिङ समूह शून्य दशमलव ०१, विकास बैंक समूह १२ दशमलव २७, वित्त समूह छ दशमलव ८६, जलविद्युत् समूह दुई दशमलव ४९ र लगानी समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको नेप्सेले जनाएको छ । त्यसैगरी, आज जीवन बीमा समूह ११ दशमलव ३०, व्यापार समूह १८ दशमलव ९४ र अन्य समूह शून्य दशमलव ३६ अङ्कले घटेको छ । आल कालिञ्चोक दर्शन र मोलुङ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्य बढी घट्नेमा भने सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पाँच दशमलव ०५ प्रतिशतले घटेको छ । आज कारोबार रकम र कारोबार भएका शेयर सङख्याका आधारमा सबैभन्दा धेरै प्रभु बैंक प्रमोटर सेयर पाँच करोड २६ लाख ३२ हजार बराबरको पाँच लाख १६ हजार कित्ता किनबेच भएको छ । रासस