निगमको महाप्रबन्धकको तलब तीन लाख, महालेखाले उठायो प्रश्न
काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक र कार्यकारी अध्यक्षको सेवासुविधामा महालेखा परीक्षकको प्रश्न उठाएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनले निगमका महाप्रबन्धक तथा कार्यकारी अध्यक्षलाई सेवा सुविधा दिदा दोहोरो व्ययभार परेको उल्लेख छ । सञ्चालन खर्च समेत धान्ने अवस्था नभएको नेपाल वायुसेवा निगमका महाप्रबन्धकको सेवासुविधा तीन लाख तोकिएको छ । निगमको महाप्रबन्धकको पारिश्रमिक २ लाख ८५ हजार रुपैयाँ र कार्यकारी अध्यक्षको पारिश्रमिक नेपाल सरकारका विशिष्ट श्रेष्ठी सरह रहेको प्रतिवेदनमा उल्लेख छ । निगमका तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेलले पारिश्रमिक बृद्धि गरेका थिए । उनि महाप्रबन्धक हुनुअघिसम्म एक लाख रुपैयाँ रहेको पारिश्रमिकमा उनले बढाएर २ लाख ८५ हजार रुपैयाँ पुर्याएका थिए ।
डोल्पामा लुकीछिपी यार्सा सङ्कलन गर्न जाने १३ जना पक्राउ
डोल्पा । डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन् । यार्सा सिजन खुल्नुअगाडि नै पाटनमा छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र रामबाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए । उनीहरु सबै निकुञ्जको तोइजुमपोष्टबाट पक्राउ परेको भण्डारीले बताए । डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्सा सङ्कलन पाटन खुलाउने गरिन्छ । त्यसैगरी, कुनासा र पुनिखा पाटनमा अवैध रुपमा छिरेका ४० जनाको हाराहारीमा रहेको समूहलाई निकुञ्ज र सेनाको संयुक्त गस्ती टोलीले निगरानी गरेको संरक्षण अधिकृत भण्डारीले जानकारी दिए । यस वर्षको यार्सा सङ्कलन गर्ने समय नजिकिँदै गर्दा एक सातादेखि निकुञ्जका कर्मचारी र सेनाले निकुञ्ज क्षेत्रमा पर्ने यार्सा पाटनमा संयुक्त गस्ती गरिरहेको निकुञ्जले जनाएको छ । यार्सा सङ्कलन गर्ने समय अगाडि नै लुकीछिपी पाटन नछिर्न निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ । नियमित गस्तीका क्रममा पाटनमा कोही भेटिएमा पक्राउ गरी नियमानुसार कारबाही गरिनेसमेत निकुञ्जले जनाएको छ । रासस
‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’
कोरिया । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताएका छन् । राज्य नियन्त्रित सञ्चारमाध्यमका अनुसार जासुसी उपग्रह परीक्षका निम्ति तयार छ । यसअघि प्योङयाङले गरेका क्षेप्यास्त्र र रकेट प्रक्षेपणबाट उत्तर कोरियाले अन्तरिक्षमा उपग्रहहरू पठाउनसक्ने अनुमान गरिएको थियो । विज्ञहरूले भने जासुसीका निम्ति शक्तिशाली क्यामरा आवश्यक पर्ने र प्रक्षेपण गर्ने भनिएको भूउपग्रहमा त्यस्ता क्यामरा छन वा छैनन् भन्ने प्रश्न गरेका छन् । विगतमा गरिएका प्रक्षेपणका तस्बिर शक्तिशाली क्यामराले नखिचिएकाले अझैपनि प्योङयाङसँग जासुसीका निम्ति उपयोग हुने अत्याधुनिक क्यामरा नभएको उनीहरूको बुझाई छ । मङ्गलबार देशको अन्तरिक्ष केन्द्रको भ्रमण गरेर नेता उनले आणविक क्षेप्यास्त्रको प्रभावकारी प्रयोगका लागि सैन्य टोही उपग्रह महत्वपूर्ण हुने बताउँदै खुफिया सूचना सङ्कलन गर्ने भूउपग्रहबारे जानकारी लिएका थिए । वैज्ञानिकहरूले कुनै पनि बेला त्यसलाई प्रक्षेपण गर्न सकिने जानकारी दिएका बताइएको छ । उत्तर कोरियाले अमेरिका र जापानलाई आफ्नो प्रमुख शत्रु मान्दै आएको छ । अमेरिकी नाकाबन्दीबाट क्रुद्ध भएको उत्तरले हालै दक्षिणसँग मिलेर अमेरिकाले गरेको बृहत् सैन्य अभ्यासबाट अझ रिसाएको उसले ठोस ऊर्जाशक्तिबाट सञ्चालन हुने अन्तरमहाद्विपीय क्षेप्यास्त्र परीक्षण गरेर दक्षिण कोरिया र अमेरिकालाई चिन्तित तुल्याएको छ । रासस
सिंहदरबार ठप्प पार्ने चेतावनीसहित कर्मचारीको आन्दोलन घोषणा
काठमाडौं । निजामती कर्मचारीहरूका युनियनहरूले आन्दोलन गर्ने घोषणा गरेका छन् । सरकारको प्रशासनिक केन्द्र सिंहदरबार ठप्प पार्ने गरी उनीहरुले आन्दोलन गर्ने घोषणा गरेका हुन् । कर्मचारीहरूले उठाएका माग सरकारले सम्बोधन नगरेकाले आन्दोलनका गर्ने निर्णय गरेको उनीहरुले बताएका छन् । आन्दोलनको पहिलो चरणमा उनीहरुले वैशाख १९ र २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एसएमएस पठाउने र वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रहने कार्यक्रम सार्वजनिक गरेका छन् ।
तरलताको सकस भइरहेको बेला पनि राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्था बलियो
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले बुधबार चैत मसान्तको वित्तीय विवरण सार्वजनिक गरेको हो । २ अर्ब ९४ करोड ३० लाख १६ हजार रुपैयाँ सेयर पुँजी रहेको यस बैंकले ४४ अर्ब ४३ करोड ३ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने कुल ३३ अर्ब ६४ करोड ९१ लाख २० हजार रुपैयाँ ऋण लगानी गरेको छ । बैंकसँग कुल २४.३८ प्रतिशत अर्थात् १० अर्ब ८३ करोड २४ लाख रुपैयाँ तरलता रकम छ । यो हिसाबले अर्थतन्त्र समस्यामा रहेको बेलामा पनि यो बैंक स्वस्थ देखिन्छ । १५ हजार ८७५ हजार कुल सेयर सदस्य रहेको यस बैंकको कुल २ हजार ५ सय १७ जना ऋणी सदस्य रहेका छन् । १ अर्ब १३ करोड ७१ लाख ७६ हजार रुपैयाँ संस्थागत पुँजी रहेको राष्ट्रिय सहकारी बैंकको कुल सम्पत्ति भने ५२ अर्ब २५ करोड ६४ लाख रुपैयाँ बराबरको रहेको छ ।
विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत
भारत । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपीएको पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो । युएनएफपीएको ‘द स्टेट अफ वल्र्ड पपुलेसन रिपोर्ट, २०२३’ मा भारतको जनसङ्ख्या एक अर्ब ४२ करोड ८६ लाख पुगेको तथा चीनको जनसङ्ख्या एक अर्ब ४२ करोड ५७ लाख रहेको उल्लेख गरिएको छ । युएनएफपीएको प्रतिवेदनको जनसाङ्ख्यिक सूचकमा यो तथ्याङ्क समावेश गरिएको छ । सन् १९५० मा संयुक्त राष्ट्रसङ्घले जनसङ्ख्या तथ्याङ्क सङ्कलन र जारी गर्न थालेपछि भारतको जनसङ्ख्याले चीनलाई उछिनेको यो पहिलो पटक हो । गत वर्ष चीनको जनसङ्ख्या उच्च बिन्दुमा पुगेर घट्न थाल्योभने सोही अवधिमा भारतको जनसङ्ख्यामा बढोत्तरी भएको छ । प्रतिवेदनअनुसार सरदर आयुमा भने भारतभन्दा चीन अगाडि छ । चीनमा महिलाको सरदर आयु ८२ वर्ष तथा पुरुषको ७६ वर्ष छ भने भारतमा महिलाको सरदर आयु ७४ र पुरुषको ७१ वर्ष छ । विज्ञहरूका अनुसार भारतलाई अहिले जनसाङ्ख्यिक लाभ भएको छ । उपभोक्ता सञ्चालित अर्थतन्त्रमा युवा जनसङ्ख्याको अधिकताले देशको विकासलाई अघि बढाउन मद्दत गर्नेछ भने देशको आर्थिक वृद्धिका लागि पनि ठूलो अवसर प्रदान गर्नेछ । देशलाई आन्तरिक खपतका निम्ति श्रमिक आपूर्तिमा समस्या नहुने हुनाले बाह्य समस्याबाट पनि भारतलाई जोगिन सहज हुनेछ । कोभिड–१९ को महामारीका बेला यो वास्तविकता उजागर भइसकेको छ । रासस
संसदमा डा. आरजु राणाको प्रश्न : सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?
काठमाडौं । प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकारको तथ्याङ्कअनुसार झन्डै ९७ प्रतिशत शिक्षकहरु तालिम प्राप्त भए पनि नतिजा अपेक्षाकृत नभएको भन्दै सरकारको ठूलो लगानी हुँदाहुँदै पनि विद्यालय शिक्षाको नतिजा उल्लेख्य मात्रामा प्राप्त नहुनुले प्रश्न उठेको बताइन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा राणाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको दृष्टान्त पेश गर्दै भनिन्, ‘धनगढी उपमहानगरपालिकाका विद्यालयमा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका सामुदायिकतर्फका १७ विद्यालयको नतिजा शून्य आउनु एउटा निराशाजनक हो, हाम्रो देशका विश्वविद्यालयहरुमा विद्यार्थी भर्ना सङ्ख्या कम हुँदै जानु पनि राम्रो लक्षण होइन साथै लगानी अनुसारको प्रतिफल नमिल्नु अर्को निराशा रहेको छ ।’ सांसद राणाले यो क्षेत्रको सुधार तथा सुशासन अभिवृद्धिका लागि केही महत्वपूर्ण पक्षमा सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएकी थिइन् । उनले आधारभूत तथा माध्यमिक तहहरुमा निरन्तर मूल्याङ्कन गर्नुपर्ने र सो को ‘रेकर्ड’ राखी पृष्ठपोषण (फिडब्याक) दिनुपर्ने र नतिजाका आधारमा शिक्षक र विद्यालयहरुलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव दिए । त्यसैगरी विद्यालय व्यवस्थापन समिति गठन र सञ्चालनमा धेरै राजनीतिकरण भएको देखिएको भन्दै समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अद्यावधिक गरिनुपर्ने उनको भनाइ थियो । सांसद राणाले देशभरका सरकारी विद्यालयहरुका आधारभूत तहमा अङ्ग्रेजी भाषाबाट पनि पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति, नियम र आवश्यक स्रोतसाधनको सुनिश्चितता गरिनुपर्नेमा जोड दिइन् । नेपालका विश्वविद्यालहरुमा विद्यार्थीहरुको भर्ना दरलाई बढाउन बहुक्षेत्रका निकायले ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले शिक्षा अधिकारको सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय तहलाई प्राप्त अधिकारका बारेमा स्पष्ट व्यवस्था गरिनुपर्ने र शैक्षिक मूल्याङ्कनलाई अपरिहार्य पाटोका रूपमा स्थापित गर्नुपर्नेमा ध्यानाकर्षण गराइन् । ‘जुन परिकल्पनाका साथ संविधानमा शिक्षाको महत्वलाई अङ्गीकार गर्दै हामीले हाम्रा भावी सन्ततिहरुका लागि नैसर्गिक अधिकारका रूपमा शिक्षालाई समावेश गरिएको थियो त्यसतर्फ उन्मुख हुन अझै धेरै नीतिगत र कार्यगत पहल आवश्यक रहेको हुँदा सम्पूर्ण सरकारी शिक्षा क्षेत्रको पुनर्वालोकनका लागि सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई निर्देशन गरिदिन हुन हार्दिक अनुरोध गर्दछु’, संसदमा उनले भनिन् । उनले शिक्षाले मानवको चौतर्फी विकासका लागि अहम् भूमिका खेल्ने बताउँदै कुनै पनि देशको विकासका निम्ति शिक्षा महत्वपूर्ण स्तम्भ भएकाले संविधानमा पनि शिक्षाको अधिकारका बारेमा व्यवस्था गरिएको बताइन् । रासस
बागलुङ–बेनी सडक वैशाख १२ गतेसम्म बन्द हुने
म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मङ्गलबारदेखि यही वैशाख १२ गतेसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । सवारी साधनको चापका कारण कालोपत्र गर्ने काम प्रभावित बनेपछि आवतजावत रोकेर कालोपत्र सुरु गरिएको पूर्वाधार विकास कार्यालयका प्राविधिक रविन चोखालले जानकारी दिए । ‘सवारी साधनको चापले सडक कालोपत्रको काम गर्न समस्या भएपछि निर्माण व्यवसायीको अनुरोधमा आवतजावत रोकिएको हो,’ उनले भने, ‘बागलुङ–बेनी आवतजावत गर्ने सवारी साधनलाई पर्वतको मालढुङ्गा–बेनी सडक प्रयोगको व्यवस्था मिलाइएको छ ।’ यो सडक विस्तार र कालोपत्र गर्न सडक डिभिजन कार्यालय बागलुङले विसं २०७४ साउनमा नागार्जुन देव एन्ड सायर बिएन जेभीसँग १३ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ मा प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको यो सडक निर्माण विसं २०७६ मा सक्ने लक्ष्य थियो । ९२ प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम तीन वर्षपछि सञ्चालन भएको हो । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले सडकमा कालोपत्रका लागि बेस बिछ्याएर सम्याउने र लोडरले पेल्ने काम सकिएको बताए । ‘विस २०७६ मा कोरोना महामारी सुरु भएपछि रोकिएको सडक निर्माणलाई २०७७ साल असारको बाढीपहिराले क्षति पुर्यायो,’ उनले भने, ‘पहिराले क्षति गरेपछि गर्नुपर्ने अतिरिक्त कामको भेरिएसन अर्डर भिओ स्वीकृत भएपछि यसपालि कालोपत्र गर्ने कामलाई पूर्ण दिन लागिएको हो ।’ निर्माण नसकिँदै पहिलो चरणमा भएको कालोपत्र उप्किएर खाल्डाखुल्डी परेको, पर्खाल भत्किएको र नाली पुरिएको थियो । पहिलो पन्छाउने, नाली सफा र खाल्डाखुल्डी पुरेर कालोपत्रका लागि तयारी बनाइएको छ । बेनी—मालढुङ्गा सडक स्तरोन्नतिको चरणमा रहेको हुँदा म्याग्दी र मुस्ताङबाट पोखरा आवतजावत गर्ने सवारी साधनले बेनी–बागलुङ वैकल्पिक सडक प्रयोग गर्दै आएका छन् । सातदेखि दश मिटर फराकिलो बनाएर विस्तार भएको सडकमा डिबिएसडी प्रविधिको कालोपत्र गर्न लागिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले लामो प्रयासपछि रत्नेचौर–बेनी सडकले कालोपत्र हुन लागेको बताए । बागलुङदेखि बेनीसम्मको करिब १७ किलोमिटर सडकमध्ये बागलुङ खण्डमा सडक डिभिजन कार्यालयमार्फत स्तरोन्नति गरिएको छ । बेनीदेखि खबरासम्म करिब दुई किलोमिटर सडक गत वर्ष कालोपत्र भएको थियो । रासस