कुमारी बैंकको नाफा पौने २ अर्ब, एनपीएल बढ्यो
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकले १ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले चालू आवको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणका अनुसार सो नाफा गरेको हो । बैंकले बिहीबार वित्तीय विवरण सार्वजनिक गर्दैछ । बैंकले यो अवधिमा ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा २ खर्र्ब ८५ अर्ब रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा भने बढेको छ । बैंकको एनपीएल ३.९ प्रतिशत पुगेको छ भने सीडी रेसियो सीडी रेसियो ८९ प्रतिशत रहेको छ । कुमारी र एनसीसी बैंकबीच गत पुसमा एकीकृत कारोबार भएको थियो । गत आर्थिक वर्षको सोही अवधिमा कुमारी बैंकको नाफा १ खर्ब ८० अर्ब, निक्षेप १ खर्ब ६५ अर्ब र कर्जा लगानी कर्जा १ खर्ब ५५ रुपैयाँ गरेको थियो । यस्तै गत आर्थिक वर्षको तेस्रो त्रैमासमा एनपीएल ०.९६ प्रतिशत र सीडी रेसियो ९१ प्रतिशत थियो । यस्तै, एनसीसी बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४८ करोड नाफा, १ खर्ब २५ अर्ब निक्षेप संकलन र कर्जा लगानी १ खर्ब १६ अर्ब रुपैयाँ गरेको थियो । एनसीसी बैंकको एनपीएल १.५२ प्रतिशत र सीडी रेसियो ८९.१४ प्रतिशत रहेको थियो ।
महिन्द्राको एक्सयूवी ३०० नेपालमा सार्वजनिक, कतिपर्छ मूल्य ?
काठमाडौं । महिन्द्राले एक्सयूवी३०० गाडी सार्वजनिक गरेको छ । नेपालको लागि महिन्द्रा गाडीहरूको आधिकारिक वितरक अग्नि ग्रुपले बिहिबार एक कार्यक्रम गर्दै एक्सयूवी३०० मोडलको सार्वजनिक गरेको हो । अग्नि ग्रुपका अनुसार एक्सयूवी३०० मोडलको गाडी सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ । जसका कारण एक्सयूवी३०० नेपालको सबैभन्दा सुरक्षित सवारी मध्यको एक रहेको पनि बताइएको छ । एक्सयूवी३०० मा पेट्रोल म्यानुअल इन्जिन र ७ रंग सहित चारवटा भेरियन्टमा उपलब्ध छ । डब्लू ४, डब्लू ६, डब्लू ८ र डब्लू ८ ओ भेरियन्टमा यो गाडी रहेका छ । यो गाडीमा जडान भएको शक्तिशाली इन्जिन, उत्कृष्ट सुविधाले गर्दा आकर्षक लुक्स देखिन्छ । जसका कारण आरामदारयी यात्रा गर्न कम्पनीले जनाएको छ । डुअल फ्रन्ट एयरब्याग, इबीडी सहितको एबीएस, रिभर्स पार्किङ सेन्सर र अन्य धेरै सुरक्षा सुविधाहरू एक्सयूवी३०० मा रहेका छन् । एक्सयूवी३०० मा १.२ लिटर टर्बो पेट्रोल इन्जिनले ११० पीयस र २०० एनएम टर्क प्रदान गर्ने पनि बताइएको छ । यस गाडीमा ६ स्पीड म्यानुअल गियरबक्स रहेका छन् । ५ सेकेन्डमा ०-६० किलोमिटर प्रतिघण्टा गतिमा कुद्ने एक्सयूवी३०० टर्बोस्पोर्टको यो गाडी सबै भन्दा छिटो कुद्ने बताइएको छ । जसको मूल्य ४२ लाख रुपैयाँ निर्धारण गरिएको छ । महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडका इन्टरनेशनल अपरेसन प्रमुख सचिन आरोलकरले एक्सयूवी३०० गाडीलाई नेपालमा ल्याउन पाउँदा उत्साहित रहेको बताए । ‘हामी विश्वस्त छौं, एक्सयूवी३०० को सुविधा र विकल्पहरूको विस्तृत प्याकेज नेपाली उपभोक्ताहरूका लागि एक आकर्षक मूल्य प्रस्ताव हुनेछ, यस गाडीमा यात्रा आरमदायी हुनको साथै यो नेपाली बाटोमा सुहाउँदो छ,’ उनले भने । यस्तो छ मूल्य
परम्परागत वैदेशिक लगानी कम गरी नयाँ औजार प्रयोग गर्छाैं : अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी गर्न अन्तर्राष्ट्रिय क्षेत्रका लगानीकर्तालाई आग्रह गरेका छन् । स्वीस राजदुत एलिजावेथ भोन केपलर र अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरुको संस्था डेभलभमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई)का प्रतिनिधिहरुसँग भेट गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका हुन् । उनले विदेशी संस्थालाई नेपालमा लगानी विस्तारका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको समेत बताए । ‘नेपालको विकासमा नीजि क्षेत्रको पूँजी र कर्जा विस्तार गरी लगानी बढाउन छलफल भइरहेको छ, प्रक्रिया र नीतिगत सहजीकरण गर्न सरककार तयार छ,’ उनले भने । लगानी आकर्षित गर्ने विषयमा डिएफआईका प्रतिनिधिहरुले ६ वटा सुझाव प्रस्तुत गरेका थिए । मन्त्री डा.महतले डिएफआईका प्रतिनिधिहरुबाट प्राप्त सुझावहरु अध्ययन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको लगानी क्षेत्रमा रहेको नीतिगत र नीयमन संयन्त्रको बारेमा मन्त्री महतले जानकारी गराएका थिए । ‘लगानी आकर्षण गर्न नयाँ ढंगले वर्तमान सरकार लागिरहेको छ, यो क्षेत्रमा धेरै प्रगती पनि हासिल भएको छ,’ उनले भने । सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरुको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेकाले अब परम्परागत वैदेशिक सहायताहरु कम गरी विकासका लागि नयाँ औजारहरु लिएर अगाडी बढ्ने उनको भनाइ छ ।
राष्ट्र बैंकले सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कर्जाको ब्याजदर घटाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग बुधबार उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीले गरेको भेटमा कर्जाको ब्याजदर घटाउन अध्यक्ष ढकालले आग्रह गरेका हुन् । बजारमा तरलता पर्याप्त भएपनि माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनले बताए । राष्ट्र बैंकले सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा उनले जोड दिए । ‘निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा छन्, असार मसान्तसम्मका लागि पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिनुपर्छ, बैंकहरुको खराब कर्जा समेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्छ,’ अध्यक्ष ढकालले भने । अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका कारण समस्यामा परेको बताए । केन्द्रिय बैंकले अर्थतन्त्रमा देखिएका समस्या समाधानतर्फ लाग्नुपर्ने उनको भनाइ छ । गभर्नर अधिकारीले पछिल्लो समय ब्याजदर घट्दोक्रममा रहेकाले हरेक विषयलाई बैंक तथा वित्तीय संस्थाको ब्याजदरसँग नजोड्न आग्रह गरे । निजी क्षेत्रका माग तथा सुझावलाई सकारात्मक रुपमा लिएको उनले बताए । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीति मार्फत् पनि महासंघका सुझावहरु समावेश गरिने उनको भनाइ छ ।
व्यवसायीलाइ गभर्नरको प्रश्न : व्यवसाय सञ्चालन गर्न नसक्ने, राष्ट्र बैंकलाई दोष दिने ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हरेक विषयलाई ब्याजदरसँग नजोड्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिको भेटमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । पछिल्लो समय ब्याजदर घट्दोक्रममा रहेकाले हरेक विषयलाई बैंक तथा वित्तीय संस्थाको ब्याजदरसँग नजोड्न उनले आग्रह गरे । गभर्नर अधिकारीले उद्योग वाणिज्य महासंघका सुझावलाई सकारात्मक रुपमा लिएर कार्यान्वन गर्ने आश्वासन दिए । ‘मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीति मार्फत् पनि महासंघका सुझावहरु समावेश गरिनेछ, साथै महासंघसंगको सहकार्य राष्ट्र बैंकका लागि पनि महत्वपूर्ण छ, हरेक विषयलाई ब्याजदरसँग जोड्नु हुँदैन, व्यवसाय सञ्चालन गर्न नसक्दा बन्द भएपनि ब्याजदरलाई नै जोडेको हुन्छ,’ उनले भने । कोही उद्योगी व्यवसायीले व्यवसाय सञ्चालन गर्न नसक्दा बन्द भएपनि ब्याजदरलाई नै दोष दिने गरेको उनको भनाइ छ । अन्य कारणले समस्या आएको पनि बैंक तथा वित्तीय संस्थालाई नै आरोप लगाउने गरेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाली अर्थतन्त्र न्युन माग र उच्च मुल्य वृद्धिका कारण समस्यामा परेको बताए । केन्द्रिय बैंकले अर्थतन्त्रमा देखिएका समस्या समाधानतर्फ लाग्नुपर्ने उनको भनाइ छ । बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनले बताए । राष्ट्र बैंकले सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा उनले जोड दिए । ‘निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको साँवा र ब्याज तिर्न नसक्ने अवस्थामा छन्, असार मसान्तसम्मका लागि पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिनुपर्छ, बैंकहरुको खराब कर्जा समेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्छ,’ अध्यक्ष ढकालले भने ।
मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र गतिशील तुल्याइनेछ : उपप्रधानमन्त्री खड्का
काठमाडौं । उपप्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय गर्ने सन्दर्भमा कानुन मन्त्रालयको बहुआयामिक भूमिका र दायित्व रहेको बताएका छन् । मन्त्रालयमा पदवहाली गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संसद् सञ्चालन नियमित अघि बढाउने र व्यवस्थित गर्ने सन्दर्भमा मन्त्रालयकातर्फबाट सभामुख र अध्यक्षलगायतसँग समन्वय गरी निर्वाह गर्नुपर्ने भूमिकालाई क्रियाशील तुल्याइने विश्वास दिलाए । उपप्रधामन्त्री खड्काले भने, ‘संविधानले व्यवस्था गरेका मानवअधिकार र मौलिक अधिकारसँग जोडिएका कानुन निर्माण गर्ने प्रक्रियाअघि बढिरहेको छ, सङ्घीय ऐन बनाइसकेपछि त्यसमा आधारित भएर प्रदेशका कानुन निर्माण गरिनेछ ।’ उनले सङ्घीयता कार्यान्वयनसँग जोडिएका ऐन–कानुन निर्माणलाई प्राथमिकतामा राखेर छिटो पारित गर्न प्रयत्नशील हुने तथा संसद्मा पुर्याउन तयार भएका कतिपय विधेयक सरोकारसँग समन्वयन गरी संसद्मा पठाइने जानकारी दिए । उपप्रधानमन्त्री खड्काले छिटो सङ्घीय ऐन पारित गर्ने विषयमा मन्त्रालयले खेल्नुपर्ने भूमिकालाई व्यवस्थित र सामूहिक गतिशीलताका आधारमा कार्ययोजना बनाएर प्राथमिकता निर्धारण गरी काम गर्ने स्पष्ट गरे । रक्षामन्त्रीको जिम्मेवारीमा रहनुभएका खड्काले संवैधानिक परिषद्को आजको बैठकमा प्रधानन्यायाधीशको नियुक्तिसम्बन्धी कार्यसूची प्रवेश गरेको बताए । परिषदका अध्यक्ष प्रधानमन्त्रीले प्रधानन्यायाधीशको नियुक्तिको आवश्यकता र औचित्यसम्बन्धी कार्यसूची प्रस्तुत गरेको जानकारी दिँदै उनले संवैधानिक परिषद् ऐन परिषद्का अरु सदस्यसँगको सल्लाहा र सहमतिमा अघि बढाएर प्रधानन्यायाधीश नियुक्तिमा सर्वसम्मत् कायम गरिने विश्वास दिलाए । एक प्रश्नको जवाफमा उनले संवैधानिक व्यवस्थाअनुरुप जेठ १५ गते बजेट ल्याउने गरी कार्यायोजनाका आधारमा संसद् अधिवेशनको अन्त्य र आह्वान हुने स्पष्ट गरे । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिशमा उक्त मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेपछि उनले आज मन्त्रालयमा पदबहाली गरेका हुन् । रासस
मातातीर्थ औँसी पर्वले बजारमा चहलपहल बढ्यो
महोत्तरी । आर्थिक क्षेत्रमा जताततै मन्दी बढेको समाचार आइरहेबीच अहिले महोत्तरीमा बजार चहलपहल ह्वात्तै बढेको छ । दिउँसभरि टन्टलापुर घामले दैनिक जीवनका कतिपय काम थाती राखेका सर्वसाधारण पनि किनमेलको कामले बजार पुग्ने बढेपछि यहाँ चहलपहल बढेको हो । जिल्लाका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रका बजार मातातीर्थ औँसी पर्वले अहिलेदेखि नै भरिभराउ देखिएका हुन् । वैशाख औँसीका दिन मनाइने हिन्दू परम्पराको यो पर्व यसपालि भोलि बिहीबार परेको छ । हिन्दू परम्परामा पनि खासमा पर्वते समुदाय मातातीर्थ औँसी पर्वका लागि सामग्री किन्न बजार पुग्दैछन् । अहिलेको चहलपहमा महिलाको विशेष भीड देखिँदो छ । बर्दिबास नगरपालिकाका बर्दिबासचोक, हाथीलेट, खयरमारा र पथलैयाबजारमा आमाको मुख हेर्ने पर्वका लागि सामान किन्ने ग्राहक एकाबिहानदेखि बढेका छन् । त्यसैगरी, गौशालानगरपालिकाको गौशाला र कान्तिबजार, औरही नगरपालिकाको औरहीबजार र भङ्गाहा नगरपालिकाको सीतापुरबजारका कपडा पसल र किराना पसल ग्राहकले भरिभराउ देखिएका छन् । पर्वविशेषले कपडा र नरिवल, मिश्री, चकलेटसहितका किराना वस्तुको व्यापार बढेको बर्दिबास उद्योग वाणिज्य सङ्घका महासचिव उत्तम श्रेष्ठ बताउनुहुन्छ । पर्वले गर्दा विवाहित छोरीचेली आमा भेट्न माइत जाने चलनले आजैदेखि सार्वजनिक यातायातका साधन बस, टेम्पु, अटो, जिप र सफारीजस्ता साधन पनि यात्रुले खचाखच देखिएका छन् । पसलहरुमा भीड देखिए पनि यस पर्वमा विगतको जस्तो कारोबार भने नभएको व्यापारीको भनाइ छ । ‘पर्वले गर्दा ओहोरदोहोर र भीडभाड त देखिन्छ, तर पहिलेको जस्तो व्यापार छैन’, बर्दिबासचोकस्थित व्यापारिक प्रतिष्ठान बर्दिबास घर संसारका सञ्चालक मन्दीप गिरी भन्छन्, ‘विगत वर्षका यसै पर्वमा सामान्यतया पनि आठ/दश हजारको सामान किन्ने ग्राहक यसपालि एकाध हजारमा झरेका छन् ।’ मान्छेको क्रयशक्ति निकै घटेको हुँदा पसलपसलमा भीड देखिए पनि कारोबार निकै कम रकमको भइरहेको गिरीको भनाइ छ । चाडबाडमा उल्लासका साथ सहभागी हुने आम उपभोक्ता यसपालि भने ‘के गर्नु रु गर्दै आइएको, गर्नै त पर्यो’ भन्ने बाध्यात्मक मनस्थितिमा भेटिने गरेका व्यापारीहरुको अनुभव छ । ‘बजारचोक र पसलमा भीड देख्नुहुन्छ नि, तर बिक्री उत्साहजनक छैन’, बर्दिबासचोककै सविना वस्त्रालयका सञ्चालक सविता बस्नेत भन्छिन्, ‘पसल रुँगेको भर छ ।’ यद्यपि केही दिनयताको शून्यजस्तै बजार चहलपहल भने पर्वले बढाएको बस्नेत बताउँछिन् । वैशाख औँसीका दिन आमाको मुख हेरेर मिष्टान्न परिकार खुवाउने र नयाँ वस्त्र परिधान पहिर्याउने पहाडी हिन्दू परम्परा छ । पर्वमा आफ्नै जन्म दिने आमा, सासूआमा, मितआमा र आमाको नाता लगाइएका नारीलाई पूज्य मानेर दर्शन गर्दै दीर्घजीवनको कामना गरिन्छ । निधन भइसकेका आमालाई यस पर्वका दिन तर्पण दिने हिन्दू परम्परा छ । मधेसको मिथिला क्षेत्रमा प्रचलनमा रहेको मैथिल पञ्चाङ्गमा पनि वैशाख औँसीका दिनलाई मातातीर्थ औँसी उल्लेख गरिए पनि पाहाडी परम्पराको जस्तो आमा भेट्न जाने परम्परा भने छैन । तर दिवङ्गत मातृहरुको सम्झना गरेर तर्पण गर्ने कर्मकाण्डी परम्परा भने रहेको बर्दिबास–२ का बासिन्दा मैथिल कर्मकाण्डका ज्ञाता पण्डित महेशकुमार झा बताउँछन् । रासस
सरकार पनि सेयरमा डुब्यो, वार्षिक प्रतिफल १.१८% मात्र
काठमाडौं । सेयरमा लगानी गर्दा नेपाल सरकार पनि डुबेको छ । सरकारले ११४ वटा कम्पनी ३ खर्ब ५७ अर्ब ६३ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको छ । त्यसबाट सरकारले आर्थिक वर्ष २०७८/७९ मा १.१८ प्रतिशत मात्र नगद लाभांश पाएको छ । सरकारले ११४ कम्पनीमा सेयर लगानी गरेकोमा ९ वटा कम्पनीले नगद लाभांश दिएका छन् । १०५ वटा कम्पनीमा गरिएको सेयर लगानीबाट सरकारले लाभांश पाउन नसकेको हो । गत आवमा ९ कम्पनीले सरकारलाई ४ अर्ब २४ करोठ ३७ लाख रुपैयाँ नगद लाभांश दिएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६६.७२ प्रतिशत कम रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लोख गरिएको छ । सेयर लगानीको प्रतिफल कम भएपनि सरकारले सेयर लगानी भने बढाउँदै लगेको छ । गत आर्थिक वर्षमा मात्र सरकारले सेयरमा १५ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ थप लगानी गरेको छ । १०५ वटा कम्पनीको सेयरमा सरकारले २ खर्ब ५८ अर्ब ७८ करोड २२ लाख रुपैयाँ बराबर लगानी गरेको छ । उक्त लगानीको प्रतिफल शुन्य रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ । ११४ संस्था मध्ये ६९ वटा पूणर् सरकारी स्वामित्वका सार्वजनिक संस्थान छन् । त्यसमा ४२ वटा संस्थान मात्र सञ्चालनमा रहेका छन् ।