विकासन्युज

संसदमा डा. आरजु राणाको प्रश्न : सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?

काठमाडौं । प्रतिनिधिसभाका सदस्य डा आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकारको तथ्याङ्कअनुसार झन्डै ९७ प्रतिशत शिक्षकहरु तालिम प्राप्त भए पनि नतिजा अपेक्षाकृत नभएको भन्दै सरकारको ठूलो लगानी हुँदाहुँदै पनि विद्यालय शिक्षाको नतिजा उल्लेख्य मात्रामा प्राप्त नहुनुले प्रश्न उठेको बताइन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा राणाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किएको दृष्टान्त पेश गर्दै भनिन्, ‘धनगढी उपमहानगरपालिकाका विद्यालयमा कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका सामुदायिकतर्फका १७ विद्यालयको नतिजा शून्य आउनु एउटा निराशाजनक हो, हाम्रो देशका विश्वविद्यालयहरुमा विद्यार्थी भर्ना सङ्ख्या कम हुँदै जानु पनि राम्रो लक्षण होइन साथै लगानी अनुसारको प्रतिफल नमिल्नु अर्को निराशा रहेको छ ।’ सांसद राणाले यो क्षेत्रको सुधार तथा सुशासन अभिवृद्धिका लागि केही महत्वपूर्ण पक्षमा सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएकी थिइन् । उनले आधारभूत तथा माध्यमिक तहहरुमा निरन्तर मूल्याङ्कन गर्नुपर्ने र सो को ‘रेकर्ड’ राखी पृष्ठपोषण (फिडब्याक) दिनुपर्ने र नतिजाका आधारमा शिक्षक र विद्यालयहरुलाई दण्ड र पुरस्कारको व्यवस्था गर्नुपर्ने सुझाव दिए । त्यसैगरी विद्यालय व्यवस्थापन समिति गठन र सञ्चालनमा धेरै राजनीतिकरण भएको देखिएको भन्दै समितिको कार्यशैली परिवर्तन गर्न निर्देशिका अद्यावधिक गरिनुपर्ने उनको भनाइ थियो । सांसद राणाले देशभरका सरकारी विद्यालयहरुका आधारभूत तहमा अङ्ग्रेजी भाषाबाट पनि पढाइ हुने वातावरण तयार गर्न आवश्यक नीति, नियम र आवश्यक स्रोतसाधनको सुनिश्चितता गरिनुपर्नेमा जोड दिइन् । नेपालका विश्वविद्यालहरुमा विद्यार्थीहरुको भर्ना दरलाई बढाउन बहुक्षेत्रका निकायले ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले शिक्षा अधिकारको सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीय तहलाई प्राप्त अधिकारका बारेमा स्पष्ट व्यवस्था गरिनुपर्ने र शैक्षिक मूल्याङ्कनलाई अपरिहार्य पाटोका रूपमा स्थापित गर्नुपर्नेमा ध्यानाकर्षण गराइन् । ‘जुन परिकल्पनाका साथ संविधानमा शिक्षाको महत्वलाई अङ्गीकार गर्दै हामीले हाम्रा भावी सन्ततिहरुका लागि नैसर्गिक अधिकारका रूपमा शिक्षालाई समावेश गरिएको थियो त्यसतर्फ उन्मुख हुन अझै धेरै नीतिगत र कार्यगत पहल आवश्यक रहेको हुँदा सम्पूर्ण सरकारी शिक्षा क्षेत्रको पुनर्वालोकनका लागि सम्माननीय सभामुखमार्फत नेपाल सरकारलाई निर्देशन गरिदिन हुन हार्दिक अनुरोध गर्दछु’, संसदमा उनले भनिन् । उनले शिक्षाले मानवको चौतर्फी विकासका लागि अहम् भूमिका खेल्ने बताउँदै कुनै पनि देशको विकासका निम्ति शिक्षा महत्वपूर्ण स्तम्भ भएकाले संविधानमा पनि शिक्षाको अधिकारका बारेमा व्यवस्था गरिएको बताइन् । रासस

बागलुङ–बेनी सडक वैशाख १२ गतेसम्म बन्द हुने

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–बागलुङ सडक सात दिनका लागि बन्द गरिएको छ । बेनी नगरपालिका–१ रत्नेचौरको भुवानेदेखि हुलाके खण्डको सडक कालोपत्र गर्नका लागि मङ्गलबारदेखि यही वैशाख १२ गतेसम्मका लागि सडक पूर्ण रुपमा बन्द गरिएको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ । सवारी साधनको चापका कारण कालोपत्र गर्ने काम प्रभावित बनेपछि आवतजावत रोकेर कालोपत्र सुरु गरिएको पूर्वाधार विकास कार्यालयका प्राविधिक रविन चोखालले जानकारी दिए । ‘सवारी साधनको चापले सडक कालोपत्रको काम गर्न समस्या भएपछि निर्माण व्यवसायीको अनुरोधमा आवतजावत रोकिएको हो,’ उनले भने, ‘बागलुङ–बेनी आवतजावत गर्ने सवारी साधनलाई पर्वतको मालढुङ्गा–बेनी सडक प्रयोगको व्यवस्था मिलाइएको छ ।’ यो सडक विस्तार र कालोपत्र गर्न सडक डिभिजन कार्यालय बागलुङले विसं २०७४ साउनमा नागार्जुन देव एन्ड सायर बिएन जेभीसँग १३ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७५ मा प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको यो सडक निर्माण विसं २०७६ मा सक्ने लक्ष्य थियो । ९२ प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम तीन वर्षपछि सञ्चालन भएको हो । निर्माण कम्पनीका प्रतिनिधि नारायण जिसीले सडकमा कालोपत्रका लागि बेस बिछ्याएर सम्याउने र लोडरले पेल्ने काम सकिएको बताए । ‘विस २०७६ मा कोरोना महामारी सुरु भएपछि रोकिएको सडक निर्माणलाई २०७७ साल असारको बाढीपहिराले क्षति पुर्यायो,’ उनले भने, ‘पहिराले क्षति गरेपछि गर्नुपर्ने अतिरिक्त कामको भेरिएसन अर्डर भिओ स्वीकृत भएपछि यसपालि कालोपत्र गर्ने कामलाई पूर्ण दिन लागिएको हो ।’ निर्माण नसकिँदै पहिलो चरणमा भएको कालोपत्र उप्किएर खाल्डाखुल्डी परेको, पर्खाल भत्किएको र नाली पुरिएको थियो । पहिलो पन्छाउने, नाली सफा र खाल्डाखुल्डी पुरेर कालोपत्रका लागि तयारी बनाइएको छ । बेनी—मालढुङ्गा सडक स्तरोन्नतिको चरणमा रहेको हुँदा म्याग्दी र मुस्ताङबाट पोखरा आवतजावत गर्ने सवारी साधनले बेनी–बागलुङ वैकल्पिक सडक प्रयोग गर्दै आएका छन् । सातदेखि दश मिटर फराकिलो बनाएर विस्तार भएको सडकमा डिबिएसडी प्रविधिको कालोपत्र गर्न लागिएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख गुरुदत्त अधिकारीले लामो प्रयासपछि रत्नेचौर–बेनी सडकले कालोपत्र हुन लागेको बताए । बागलुङदेखि बेनीसम्मको करिब १७ किलोमिटर सडकमध्ये बागलुङ खण्डमा सडक डिभिजन कार्यालयमार्फत स्तरोन्नति गरिएको छ । बेनीदेखि खबरासम्म करिब दुई किलोमिटर सडक गत वर्ष कालोपत्र भएको थियो । रासस

एनएमबि बैंकले गर्यो ८ मिलियन अमेरिकी डलरको हेजिङ्ग कारोबार, नेपालमै पहिलो भएको दावी

काठमाडौं । एनएमबि बैंकले ८ मिलियन अमेरिकी डलर बराबरको रकम सफलतापूर्वक हेजिङ्ग कारोबार गरेको छ । बैंकले द करेन्सी एक्सचेन्ज फण्ड र एमएफएक्स करेन्सी रिस्क सोलुसन वासिङटन सँगको सहकार्यमा नेपालकै पहिलो हेजिङ्ग कारोवार गर्ने सफल भएका जनाएको छ । बैंकको अनुसार नन् डेरिभरेवल क्रस करेन्सी स्वाप गर्नका लागि प्रयोग गरिएको हेजिङ्ग उपकरण टीसीएक्सले उपलब्ध गराएको र सो सम्वन्धित कारोबार गर्नको लागि एमएफएक्सले सहजकर्ताको भूमिका निर्वाह गरेको थियो । यस हेजिङ्ग कारोबारले बैंकको वित्तीय संयन्त्र विकाश र प्रयोग प्रतिको प्रतिवद्धता दर्शाएको बैंकको भनाइ छ । यसरी सफलतापूर्वक सम्पन्न भएको हेजिङ्ग कारोबारले देशभरी स्थिरता र सुनिश्च्तिताका साथ वित्तीय कारोबार गर्नका लागि बाटो खुला गरेको र अस्थिर बजारमा स्थिरताका साथ आर्थिक कारोबार गरी वित्तीय लक्ष्य प्राप्त गर्न मद्दत गर्नेमा विश्वस्त रहेकोमा एनएमबि बैंकले जनाएको छ  । विकाश उन्मुख देशहरुको आर्थिक उन्नत्तीको लागि डेभलपमेन्ट फाइनान्स इन्सटिट्यूसन (डीएफआइएस) हरुले प्रदान गर्ने आर्थिक सहयोग निकै महत्वपूर्ण हुन्छ । नेपालमा उपलब्ध श्रोत र साधनहरुको कारण केही समयदेखि यस्तो सहयोग प्राप्त गर्ने रोजाईको देश भएको छ । विदेशी यस्ता दातृ निकायहरुबाट प्राप्त हुने सहयोगले नेपालको आर्थिक उन्नत्तीमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

सामान्य अंकले बढ्याे सेयर बजार, ४ कम्पनीमा सर्किट

काठमाडौं । बुधबार सेयर बजार १५.१३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९०२.१२ विन्दुमा पुगेको छ । आज २६६ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन् । आज ४ कम्पनीको सेयरमा सर्किट लागेको छ । नेप्सेको अनुसार आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक र एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने कम्पनी क्रमश: कालिन्चोक दर्शन, मोलुङ हाइड्रोपावर र गुरासँ लघुवित्त वित्तिय संस्था रहेको छ भने नकारात्मक सर्किट लाग्ने आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ । आज कारोबार रकम र कारोबार भएका सेयर सङख्याका आधारमा सबैभन्दा धेरै स्वाबल्मबन लघुवित्त वित्तिय संस्थाको प्रमोटर सेयर आठ करोड ८३ लाख ३२ हजार रुपैयाँ बराबरको किनबेच भएको छ ।

अमेरिकी टेलिभिजन फक्स न्युजले गलत समाचार प्रवाह गरेवापत ७८७ मिलियन डलर तिर्नुपर्ने

एजेन्सी । अमेरिकी टेलिभिजन कम्पनी फक्स न्युजले गलत समाचार प्रवाह गरेवापत ७८७.५ मिलियन डलर रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनको क्रममा भोटिङ मेसिनको विषयमा प्रवाह गरेको समाचारलाई लिएर उक्त जरिवाना तिर्नुपर्ने भएको हो । उक्त राष्ट्रपतीय निर्वाचनको समयमा फक्स न्युजले भोटिङ मेसिन कम्पनी डोमियनले आफ्नो विषयमा गलत समाचार प्रसारण गरेको भन्दै अदालतसमक्ष मुद्दा दायर गरेको थियो । डोमियनले समाचारको कारण आफ्नो कम्पनीलाई ठूलो क्षति भएको भन्दै फक्स न्युजसँग १.६ मिलियन डलर मागदाबी गरेकोमा आधा रकम तिर्ने सहमति भएको जनाइएको छ । फक्स न्युजले निर्वाचनको समयमा तत्कालीन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका विरुद्ध भोटिङ मेसिन प्रयोग गरिएको भन्दै समाचार प्रसारण गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब बढी, खराब कर्जा घट्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ९ महिनाको अवधिमा ४ अर्ब रुपैयाँ नाफागरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले ४ अर्ब बढी खुद नाफा गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकले फागुनससम्म ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । चालू आर्थिक वर्षको ९ महिनामा बैंकको कूल निक्षेपमा समेत वृद्धि भएर ३ खर्ब रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २२ प्रतिशत बढेर २ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको बैंक स्रोतले जनाएको छ । गत आर्तिक वर्षको सोही अवधिमा बैंकसँग २ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप थियो । यस्तै, बैंकले गत वर्षको तुलनामा १६.८२ प्रतिशतले कर्जा वृद्धि गरेको छ । गत वर्ष २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा समीक्षा अवधिमा बढेर २ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ । साथै, बैंकले गत वर्षको भन्दा यस वर्ष खराब कर्जा दर पनि घटाउन सफल भएको छ । चैतसम्म खराब कर्जा २.५ प्रतिशतको हाराहारीमा रहेको बैंकले बताएको छ । अघिल्लो वर्षको चैत मसान्तसमा ३.०७ प्रतिशत खराब कर्जा थियो । चालू आवको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा २.७९ प्रतिशत थियो । दोस्रो त्रैमासमा यो बैंक नाफामा नम्बर वान बनेको थियो ।

छालारोगका डाक्टर प्रशन्न कुमार झा जर्नल ‘आईडोज’ को पेपर रिभ्युअरमा छनौट

काठमाडौं । नेपालका प्रसिद्ध छाला, यौनरोग तथा कपाल प्रत्यारोपन विशेषज्ञ डाक्टर प्रशन्न कुमार झा भारतको विश्वप्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाईन जर्नल आईडोज (क्ष्म्इव्) को पेपर रिभ्युअरमा छनौट भएका छन् । एकेडेमिक स्तर राम्रो भएका डाक्टर झाको आर्टिकलहरु रिभ्युको लागि शैक्षिक उत्कृष्टता र विवेकको सम्मान गर्ने भन्दै रिभ्युअरहरुको टोलीमा सामेल हुन आमन्त्रित गरेको आईडोजले पठाएको पत्रमा उल्लेख छ । जर्नलका एडिटर इन चिफ प्रोफेसर डाक्टर के ए सीतारामले पत्र लेख्दै उनलाई अनुरोध गरेका हुन । नेपालबाट छनौट हुने उनी पहिलो डाक्टर हुन् । डाक्टर झाले काठमाडौं मेडिकल कलेज (केएमसी) बाट एमबीबीएस , भारतको प्रसिद्ध वनारस हिन्दू विश्वविद्यालय (बीएचयू) बाट क्लिनिकल डर्माटोलोजीमा तीन वर्षे एमडी र जर्मनीको ‘फेलोसिप इन एस्थेटिक मेडिसिन’ (फाम)को कोर्स पुरा गरेका छन् । उनका विश्वका विभिन्न प्रसिद्ध जर्नलमा १० वटाभन्दा बढी आर्टिकल प्रकाशित भैसकेका छन् । उनी ईन्डियन सोसाईटी अफ एस्थेटिक मेडिसिन र ईन्डियन इन्स्टिट्यूट अफ लेजर एण्ड एस्थेटिक मेडिसिनका आजीवन सदस्य समेत छन् । आफुलाई आईडोजले पेपर रिभ्युअर मा छनौट गरेपछि खुसी ब्यक्त गर्दै यो नेपाल र नेपाली डाक्टरको लागी निकै महत्वपुर्ण उपलब्धी रहेको डाक्टर झा बताउँछन् । यो छनौटले नेपाली डाक्टरहरु पनि हरेक कुरामा सक्षम र उत्कृष्ट छन भन्ने सन्देश गएकाले नेपालीको प्रतिष्ठानलाई माथि उठाउन सहयोग पुर्याउने उनको भनाइ छ ।

तेस्रो त्रैमासमा कृषि विकास बैंकको नाफा २ अर्ब, एनपीएल १ प्रतिशतमा झार्ने लक्ष्य

काठमाडौं । कृषि विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्बभन्दा बढी खुद नाफा गरेको छ । दोस्रो त्रैमासमा ऋणात्मक रहेको बैंक तेस्रो त्रैमासमा भने नाफालाई धनात्मक गर्न सफल भएको हो । बैंकले भोलि (बिहीबार ७ गते) तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दैछ । बैंक स्रोतका अनुसार ९ महिनाको अवधिमा २ अर्ब बढी नाफा आर्जन गरेको छ । गत वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालू आर्थिक वर्षको ९ महिनामा बैंकको निक्षेप १३ प्रतिशत वृद्धि भएको छ । चैत मान्तसम्म बैंकको निक्षेप १ खर्ब ८१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको निक्षेप १ खर्ब ६० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस्तै, बैंकको कर्जा २ प्रतिशत बढेको छ । चैत मसान्तसम्म बैंकले १ खर्ब ८० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ खर्ब ७७ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । बैंकका अनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सहज अवस्थामा रहेको छ । चैत मसान्तसम्म बैंकको सीडी रेसियो ८५ प्रतिशतमा झारेको बैंकले जनाएको छ । बैंकको आधार दर १० प्रतिशतको हाराहारीमा छ । बैंकले गत वर्षकोभन्दा यस वर्ष खराब कर्जा दर पनि घटाउन सफल भएको छ । चैतसम्म खराब कर्जा ४ प्रतिशतमा झरेको बैंकले बताएको छ । यसअघि दोस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.५२ प्रतिशत थियो । यद्यपी गत वर्षको चैत मसान्तसम्म २.३२ प्रतिशतखराब कर्जा थियो । बैंक स्रोतका अनुसार आर्थिक वर्षको असार मसान्तमा १ प्रतिशतमा खराब कर्जा झार्ने लक्ष्य राखेको छ ।