१४ करोड कुम्ल्याएर अध्यक्ष भागेपछि सहकारी सञ्चालक नै पीडित !
काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट १४ करोड रुपैयाँ लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् । दौपदाका अन्य सञ्चालकका अनुसार उक्त सहकारीको करिब पाँच करोड रकम अपचलन भएको छ । सोही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको ६५ लाख र उनका दाजु देवीप्रसाद गौतमको ५१ लाख रुपैयाँसमेत गौतमले लिएर फरार भएको बताइएको छ । गौतम प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पुण्यश्वर सहकारीको चौँरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका सात हजार दुई सय सदस्यको नौ करोड रुपैयाँ रकम गौतमले नै खर्च गरेर महिनौँदेखि बेपत्ता भएको पीडितको निवदेनमा उल्लेख छ । गौतमका साथै सो सहकारीका सचिव गङ्गाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताले बनेपा नगरपालिका कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी दिएका छन् । विसं २०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दिएको पाइएको छ । पीडितले हेटौँडास्थित बागमती प्रदेशको सहकारी मन्त्रालयमा समेत निवदेन दिएका छन् । सोही निवेदनका आधारमा मन्त्रालयले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई खोजकार्य तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि फरार गौतम तथा सहकारीबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ । रासस
चितवनको जलविरे झरनामा नयाँ वर्षमा डेढ सय पर्यटकले गरे अवलोकन
चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताए । ‘दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने गरेका छन्’, उनले भने । शनिबार र सार्वजनिक बिदाका दिन भने यहाँ अत्यधिक घुइँचो लाग्छ । नयाँ वर्षको पहिलो दिन एक हजार एक सय ५० जनाले टिकट काटेको तथ्याङ्क छ । कोरोना महामारीपछि यहाँ पर्यटक आउने क्रम बढेको हो । झरना रहेको वडा नं ६ का बासिन्दालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । ‘यहाँ झरना अवलोकनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन्’, अध्यक्ष गुरुङ बताउँछन् । पर्यटक लोभ्याउनका लागि यहाँ भौतिक पूर्वाधारसमेत निर्माण गरिएका छन् । केन्द्र, प्रदेश सरकार र गाउँपालिकाले विभिन्न संचरना निर्माण गरेका हुन् । झरनासम्म सडक ढलान तथा कालोपत्र गरिएको छ । सिँढी, रेलिङ, गोलघर, प्रवेशद्वार, टिकट घर, धारा, शौचालयलगायत संरचना निर्माण गरिएका छन् । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले उक्त झरना आन्तरिक आयतर्फ गाउँपालिकाले सबैभन्दा बढी आम्दानी गर्ने पर्यटकीय गन्तव्यमा पर्छ । पछिल्लो छ महिनामा गाउँपालिकाले झरना आउने पर्यटकबाट प्रवेश शुल्कवापत १४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको गुरुङले बताए । यहाँ प्रवेश गर्न आन्तरिक पर्यटकले ५० र विदेशीले १०० रुपैयाँ शुल्क तिर्नुपर्छ । ‘आन्तरिक पर्यटकलाई लक्षित गर्दै झरनालाई थप आकर्षित गर्न विभिन्न योजना बनाउँदैछौँ’, उनले भने । झरना नारायणगढ–मुग्लिन सडकबाट नजिकै रहेका कारण पर्यटक सजिलै पुग्न सक्छन् । चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्यमध्ये जलविरे लामो झरना उत्कृष्ट गन्तव्यभित्र पर्छ । यसले पर्यटकको मन लोभ्याएको छ । यहाँ पर्यटक स्वफूर्तरूपमा आउँछन् । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगाबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकलाई लोभ्याइदिन्छ । चर्को गर्मी, कोलाहल, तनाव र थकान मेट्नका लागि पनि यो झरना आन्तरिक पर्यटकको रोजाइमा परेको छ । पूर्वाधार थपिएकाले पछिल्लो समय झरना आसपासको क्षेत्र व्यवस्थित बन्दै गएको छ । रासस
उपनिर्वाचनका लागि भारतीय सीमानाका ३ दिन बन्द
बारा । यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी आज राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द रहने जनाएको छ । उपनिर्वाचनलाई मध्यनजर गरी सीमानाका बन्द गर्न लागिएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए । यस्तै मतदानकार्य सम्पन्न नभएसम्म जिल्लाभरि मादक पदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ । बारा क्षेत्र नं २ भित्र पर्ने हुलाकी राजमार्गलगायत सम्पूण राजमार्गमा वैशाख ९ गते राति १२ बजेदेखि वैशाख १० गते साँझ ७ बजेसम्मका लागि अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गरिएको प्रजिअ सापकोटाले जानकारी दिए । रासस
राष्ट्रिय सहकारी बैंकको ब्याजदर परिवर्तन, अब कुन खातामा कति ?
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले बैशाख ८ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम ११.७५ प्रतिशत ब्याजदर तोकेको छ । जसमा साधारण बचत खातामा ४.२५ प्रतिशतदेखि ४.५० प्रतिशत, विशेष बचतमा ४.७५ प्रतिशत, सुपर बचतमा ४.७५ प्रतिशतदेखि ५.२५ प्रतिशत तोकिएको छ । यस्तै, एनसिसिएल समुन्नत बचच खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ५.७५ प्रतिशत, एनसिसिएल प्रिमियम बचतमा ५.२५ देखि ५.५० प्रतिशत, अनिवार्य बचतमा १० प्रतिशत र क्रमिक बचतमा ९.७५ देखि १०.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको मुद्दती निक्षेपमा न्यूनतम १०.७५ प्रतिशतदेखि अधिकतम ११.७५ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । बैंकका अनुसार कर्जा तर्फ विभिन्न विभिन्न शिर्षकमा १०.५० प्रतिशतदेखि १३.७५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरिएको छ ।
एनआईसी एशिया बैंकले ७ लाख १५ हजार कित्ता बेच्दै, मूल्य ३९५ रुपैयाँ
काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ७ लाख १५ हजार ९५० कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ता समेत सो मूल्य वा सो भन्दा बढी मूल्य तोकि बोलकबोल गर्नुपर्नेछ । बैंकको उक्त सेयर खरिद गर्न बैशाख १५ गतेभित्र विवरण खुलाई आवेदन दिनुपर्नेछ । बैंकको सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
माछापुच्छ्रे बैंकले धितोमा राखिएको कार बेच्दै
काठमाडौं । माछापुच्छ्रे बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । बैंकको नेपालगंज शाखा कार्यालयबाट ऋणी नेपालगंज युनाइटेड हेल्थ केयर प्रालिका सञ्चालक रजनी शाही (के.सी.)लाई कर्जा चुक्ता गर्न तोकता गरेपनि कुनै वास्ता नगरेको हुँदा धितो बिक्री गरेर ऋण असुल गर्ने बैंकले जनाएको छ । बैंक धनी भएको ऋणी नेपालगंज युनाइटेड हेल्थ केयर प्रालिको नाममा दर्ता कायम बाग्मती प्रदेश ०१०२५ च ४०५४ नम्बरको भिटारा ब्रेजा कम्पनीको कार बिक्रीमा राखिएको हो । साथै, ऋणी नेपालगंज युनाइटेड हेल्थ केयरको नाममा मालपोत कार्यालय नेपालगंजमा दर्ता कायम रहेको नेपालगंज १४ स्थित २०५.५० वर्गमिटरका कित्ता नम्बर ५७, ५८, ५९ र ६० को जग्गा र जग्गामा बनेका घर पनि बिक्री गर्ने बैंकले जनाएको छ । बैंकमा राखिएको धितो जहाँ जो अवस्थामा छ सोही अवस्थामा लिलाम बिक्री गर्ने भएकाले ७ दिनभित्र आवेदन पेश गर्न बैंकले आग्रह गरेको छ ।
५० हजार कित्ता खरिद गर्न पाइने माई खोला हाइड्रोको आईपीओ बिक्री खुला
काठमाडौं । माई खोला हाइड्रोपावरले आज बैशाख ८ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १५ करोड २९ लाख रुपैयाँ बरारबको आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ७६ हजार ४७९ कित्ता सामुहिक लगानी कोष, ३० हजार ५८८ कित्ता कर्मचारी र बाँकी १२ लाख ६९ हजार ४११ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बैशाख १२ गतेसम्म आईपीओ खरिद गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
कृषि विकास बैंकको ११ प्रतिशत लाभांश सेयरधनीको खातामा जम्मा
काठमाडौं । कृषि विकास बैंकले सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकका सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको बैंकले जनाएको छ । बैंकको चैत १४ गते सम्पन्न १६औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश आईपीएस मार्फत सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको बैंकले जनाएको छ । हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई तत्काल गर्न बैंकले आग्रह गरेको छ । साथै डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । नगद लाभांश बैंक खातामा नगएका सेयरधनीहरुको विवरण सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलको वेभसाइटमा हेर्न सकिनेछ । साथै सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।