सनराइज बैंकको १ लाख २२ हजार कित्ता सेयर बिक्रीमा, मूल्य कति छ ?
काठमाडौं । सनराइज बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सवा १ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो । बैंकले संस्थापक सेयरधनी लिला देवी खेतानको नाममा रहेको १ लाख २२ हजार ४५ कित्ता सेयर बिक्री गर्न लागेको हो । उक्त सेयरको मूल्य प्रतिकित्ता १२५ रुपैयाँ तोकिएको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले उक्त सेयर खरिद गर्न ३५ दिनभित्र विवरण खुलाई बैंकको प्रधान कार्यालय काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । बैंकको अनुसार म्यादभित्र संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई सेयर बिक्रीको प्रक्रिया अघि बढ्ने छ ।
घोराही सिमेन्टले प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री गर्ने, बोर्डले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्ट इन्डस्ट्रीलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न अनुमति दिएको छ । घोराही सिमेन्टलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न बोर्डले बैशाख ६ गते अनुमति दिएको हो । बोर्डले अनुमति दिएसँगै कम्पनीले छिट्टै निष्काशन प्रक्रिया अघि बढाउने छ । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ६१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीले आयोजना प्रभावित स्थानियको लागि प्रतिकित्ता ४ सय रुपैयाँ अंकित मूल्य दरका लाख ९७ हजार १९० कित्ता र सर्वसाधारण लगानीकताएका लागि प्रतिकित्ता ४३५ रुपैयाँमा ७५ लाख ४६ हजार ६११ कित्ता सेयर बिक्री गर्नेछ । घोराही सिमेन्टको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग रहेका छन् ।
स्मार्ट टेलिकमको लाइसेन्स खारेजी रोकियो, तत्काल कार्यान्वयन नगर्न आदेश
काठमाडौं । उच्च अदालत पाटनले नेपाल दूरसञ्चार प्राधिकरणको स्मार्ट टेलिकमको लाइसेन्स खारेजी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश गर्दै खारेजीको निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको हो । ‘किस्ताबन्दीमा नवीकरण शुल्क बुझाउने सुविधा माग गरेको देखिएको, यस अदालतमा सो विषयको रिट विचाराधीन अवस्थामा रही अन्तरिम आदेशको छलफलको लागि मितिसमेत तोकिएको छ,’ आदेशमा भनिएको छ, ‘दूरसञ्चार प्राधिकरणले निवेदकले प्राप्त गरेको अनुमतिपत्र खारेज हुने गरी मिति २०८०÷१÷४ मा निर्णय गरी कार्यान्वयनमा ल्याउँदा निवेदकको लगानी जोखिममा परी अपूरणीय क्षति हुने र संविधानको सन्तुलनको दृष्टिबाट समेत निवेदकलाई घोर असुविधा हुने अवस्था छ ।’ आदेशमा दुवै पक्षबीच छलफल भई अर्को आदेश नभएसम्म नेपाल दूरसञ्चार प्राधिकरणबाट निवेदकका नाममा जारी गरिएको यही वैशाख ४ गतेको निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भनिएको छ । लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स स्वतः खारेज गर्ने निर्णय गरेको थियो ।
हेटौँडा सिमेन्ट उद्योगमा पुनः उत्पादन सुरु
मकवानपुर । करिब डेढ महिनाअघिदेखि बन्द रहेको हेटौँंडा सिमेन्ट उद्योगमा बिहीबारदेखि पुनः उत्पादन सुरु भएको छ । करिब छ हप्ताअघि उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएर समस्या आउँदा क्लिङ्कर उत्पादन गर्ने कार्य बन्द गर्नुपरेको उद्योगको व्यवस्थापनले जनाएको छ । उद्योग व्यवस्थापनले बाहिरबाट विभिन्न उपकरण ल्याएर जडान र मर्मतसम्भार गरी बिहीबार बिहानदेखि सिमेन्ट उत्पादनका लागि प्रयोग गरिने क्लिङ्कर उत्पादन पुनः सुरु गरिएको हेटौँडा सिमेन्टका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिए । कर्णले करिब ४ दशकअघिदेखि सञ्चालनमा रहेको उद्योगमा पटक-पटक प्राविधिक समस्या आएकाले उत्पादन बन्द गर्नुपर्ने बाध्यताले अब सिमेन्ट उत्पादन सञ्चालन गर्न कठिनाइ भोग्नुपर्ने भएको बताए । उनले अब उद्योगलाई नयाँ प्रविधिबाट दीर्घकालीनरूपमा क्षमताअनुसार उत्पादन वृद्धि गर्न उद्योग व्यवस्थापनले प्रधानमन्त्री र उद्योग वाण्ज्यिमन्त्रीलाई ध्यानाकर्षण गराई सरकारको तर्फबाट आर्थिक रकम उपलब्ध गराउन पहल भइरहेको जानकारी दिए । अहिले उद्योगमा पर्याप्त चुनढुङ्गा र कोइला आपूर्ति भइरहेको उद्योगको उनले बताए । उनका अनुसार सिमेन्ट उद्योगको उत्पादन बन्द रहेको भए पनि भण्डारणमा रहेको सिमेन्टको प्याकिङ र प्याकिङ गरिएको सिमेन्ट काठमाडौँ, पोखरा, विराटनगर, जनकपुर, भैरवालगायतको शहरहरुमा बिक्री वितरण नियमितरूपमा भइरहेको छ । हेटौँडा सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २२ देखि व्यावसायिक उत्पादन सुरु गरी सर्वसाधारण र विकासको आयोजनालाई आपूर्ति गर्दै आएको उनले बताए ।
म चितवनले रोपेको बिरुवा हुँ : सभापति लामिछाने
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले आफू चितवनवासीले हुर्काएको बिरुवा भएको बताएका छन् । चितवनको भरतपुरमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले गत निर्वाचनमा रोपेको बिरुवालाई मलजल दिन आग्रह गरे । ‘गत निर्वाचनमा तपाईंहरूले रोपेको बिरुवा हुँ म, त्यो बिरुवालाई हुर्काउन मल चाहिन्छ, सम्पूर्ण गालीहरूलाई सङ्कलन गरेर मल बनाएका छौँ, हामीले त्यसलाई प्रयोग गर्नेछौँ, यसपटक मल त हालिसकेका छौँ, अब जल हाल्ने जिम्मेवारी तपाइँहरूको हो,’ उनले भने । उनले अब चितवनले एक व्यक्तिलाई मात्रै नभएर देशलाई न्याय गर्ने बताए । देशलाई परिवर्तनको जबर्जस्ती आवाज चाहिएको उनको भनाइ छ । ‘यो साथको निरन्तरता चाहिएको छ, तपाईंलाई झुक्याउन जरुरी छैन, आँधीहुरी जे आए पनि नडराउनुहोला, न्यायका लागि आवाज उठाउनुभयो, न्याय चाहिन्छ भने आजको दिनमा चितवन जानुहोस् भन्ने मान्यता स्थापित भएको छ,’उनले भने । उनले अबको ४ वर्षपछि २०८४ मा हुने आमनिर्वाचनमा देशभरबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बहुमतको सरकार बनाउने दाबी गरे । कार्यक्रममा तनहुँबाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेका डा.स्वर्णिम वाग्लेले देशका विकृति र विसङ्गतिको विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी शान्तिपूर्ण विद्रोहमा उत्रिएको बताए । सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डीपी अर्याल, प्रवक्ता मुकुन्द ढकाल, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरू तोसिमा कार्की, हरि ढकाल, सबिता गौतमलगायतले सम्बोधन गरेका थिए ।
निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने
दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले संस्थागत विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको बताए । ‘हामीले निजी विद्यालयलाई गत वर्षकै शुल्क र पाठ्पुस्तकलाई निरन्तरता दिने गरी निर्णय गरेका छौँ, शुल्क वृद्धि गर्नुपर्ने अवस्थामा प्रस्ताव तयार गरी नगरपालिकाबाट स्वीकृत लिन भनेका छौँ,’ उनले भने । यसै शैक्षिक सत्रदेखि कक्षा ५, ८ र १० बाहेकका कक्षाका पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने उनले बताए । संस्थागत विद्यालहरूले हरेक शैक्षिक सत्रमा शुल्क वृद्धि गर्ने र पाठ्यपुस्तक परिवर्तन गर्नेलगायत गतिविधि गर्न थालेपछि नगरपालिकाले यस्तो निर्णय गरेको उनको भनाइ छ । पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने बाध्यात्मक अवस्था आए नगरपालिकाबाट पूर्वस्वीकृति लिन नगरभित्रका संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ ।
पुँजी बढाउन विदेशी पाटर्नर भित्र्याउँदै प्रभु, नेपाल इन्स्योरेन्सलाई घरजग्गा बेच्न स्वीकृति दिइँदै
काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रभु इन्स्योरेन्सले पुँजी बढाउन विदेशी पाटर्नर भित्र्याउने भएको छ । कम्पनी सम्बद्ध श्रोतका अनुसार कम्पनीले नेपाल बीमा प्राधिकरणबाट तोकिएको डेढ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन विदेशी पाटर्नर भित्र्याउनको लागि छलफल अघि बढाएको हो । ‘विदेशी पाटर्नर भित्र्याउनको लागि छलफल भइरहेको छ,’ कम्पनी उच्च श्रोतले विकासन्युजसँग भन्यो । उक्त श्रोतका अनुसार कम्पनीले सो विषयमा हाल छलफल मात्रै गरेको हो, तर निर्णय भने गरिसकेको छैन । प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउनको लागि प्रभु इन्स्योरेन्सले हाल दुई वटा विकल्प अघि सारेको छ । ‘यसमा कम्पनीले दुईवटा अप्सनलाई अघि बढाएको छ, एउटा विदेशी पार्टनर भित्र्याउने, अर्को मर्जरमा जाने,’ श्रोतले भन्यो- ‘योमध्ये एउटा विकल्प रोजेर छिट्टै पुँजी वृद्धिको प्रकृया अघि बढाउने तयारीमा छौं ।’ हाल प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ छ । पुँजी वृद्धिको लागि विदेशी पार्टनर भित्र्याउने विषयमा हाल छलफल मात्रै रहेकोले के कति पुँजी थपिन्छ भन्ने बारे पनि कुनै टुंगो लागेको छैन । यता बीमा प्राधिकरणको जानकारीमा पनि प्रभु इन्स्योरेन्सले विदेशी पार्टनर ल्याउनको लागि छलफल गरिरहेको भन्ने छ । जसमा प्राधिकरण पनि सकारात्मक देखिएको छ । ‘कम्पनीले पुँजी थप्नको लागि पैसा हाल्न पायो, तर हकप्रद सेयर जारी गर्न पाएन,’ प्राधिकरण उच्च श्रोतले विकासन्युजसँग भन्यो । त्यस्तै, नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले पुँजी थप्नको लागि घरजग्गा बेच्ने भएको छ । कम्पनीले काठमाडौंको न्यूरोडको भवन, नारायणगढ, वीरगञ्ज र विराटनगरको जग्गा बेच्न नेपाल बीमा प्राधिकरणसँग स्वीकृति मागेको हो । इन्स्योरेन्सले करिब एक महिनाअघि नै प्राधिकरणसँग उक्त स्वीकृति मागेको हो । जसको लागि हालसम्म कुनै प्रतिकृया नदिएको प्राधिकरण अब भने छिट्टै स्वीकृति दिने मुडमा छ । ‘सम्पत्ति बेचेर पुँजी वृद्धि गर्ने इन्स्योरेन्सको प्रस्तावलाई छिट्टै स्वीकृति दिँदैछौं,’ प्राधिकरणको उच्च श्रोतले भन्यो । हाल नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले सम्पत्ति बेचेर करिब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी करिब १९३ करोड रुपैयाँ पुग्ने छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएकोले त्यो सुविधा पनि उपयोग गरी पुँँजी २५० करोड पुर्याउने कम्पनीको योजना रहेको छ । निर्जीवन बीमा व्यवसाय गर्दै आएका यी दुई कम्पनी प्रभु र नेपाल इन्स्योरेन्स हाल नेपाल बीमा प्राधिकरणको विशेष निगरानीमा छ । मर्जरमा जान्छु भनेर सहमति गरेर पनि नगएका यी दुई कम्पनीलाई प्राधिकरणले पुँजी पुर्याउन थप तीन महिनाको समय दिएको छ । यससँगै कम्पनीहरुले आगामी असार मसान्तसम्ममा तोकिएको पुँजी पुर्याइ सक्नु पर्ने छ । यदि सो अवधिसम्ममा पुँजी नपुर्याएमा प्राधिकरणले कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएको छ । ‘पुँजी नपुर्याउनेलाई केही समय थप गरेर पुँजी पुर्याउनको लागि अवसर दिन्छौं, त्यसमा पनि पुर्याएनन् भने की त फोर्स मर्जर गराउँछौं, कि त कारोबार घट्ने गरी कारवाही गर्छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने । यस्तै पुँजी वृद्धिको प्रकृया अघि बढाएर पनि तोकेको पुँजी नपुर्याएका कम्पनीहरुले भने हकप्रद सेयर जारी गर्न पाउने भएका छन् । सम्बन्धित समाचार पुँजी वृद्धिको लागि समय थप्दै बीमा प्राधिकरण, अधिकांशले हकप्रद सेयर जारी गर्न पाउने पुँजी वृद्धिको समय थप्न बीमा कम्पनीहरुको माग, कारवाहीको तयारीमा प्राधिकरण
राहुल गान्धीको पुनरावेदन खारेज
नयाँदिल्ली । मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो । अदालतको आदेशसँगै नेता गान्धीले सांसद् पद गुमाएका थिए । सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए । यद्यपि उनको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन । अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्नुहुने उनको दलका नेताहरूले बताएका छन् । दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको छ । रासस