सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक सय ९९ हेक्टर जङ्गल डढेलोले नष्ट भएको छ । जिल्ला वन कार्यालयका अनुसार चौतारा साँगा चोकगढी नगरपालिकाको विभिन्न सामुदायिक वनको जङ्गल डढेलोले सखाप पारेको हो । त्यसैगरी चौतारा साँगा चोकगढी नगरपालिका र सुनकोसी गाउँपालिकाका जङ्गल डढेलाले नष्ट भएको डिभिजन वन कार्यालयबाट परिचालित हरित स्वयंसेवक समूहका संयोजक शारदाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार मेलम्चीमा रहेको टारापाखा सामुदायिक वनको २६ हेकटर जङ्गल पनि डढेलोले सखाप भएको छ । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कृष्णबहादुर थापाका अनुसार गर्मी मौसमसँगै डढेलो लाग्ने क्रम जारी रहेकाले यकिन तथ्याङ्क प्राप्त हुन सकेको छैन । यसबाट महत्वपूर्ण जडीबुटी, वनयजन्तु र करोडौँका रुख बिरुवा नोक्सान भएका छन् । बर्सेनि जङ्गलमा डढेलो कसले लगाउँछ भन्ने तथ्य भने नखुलेको उनले बताए । रासस
चितवनको मतगणना दिउँसो १ बजेदेखि
काठमाडौं । चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा सो सहमति भएको हो । मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ । चितवन क्षेत्र नम्बर २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।
एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त
काठमाडौं । एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त भएका छन् । बैंकको वैशाख ८ गते बसेको संचालक समितिको बैठकले संस्थापक सेयरधनी समुहको तर्फबाट श्रेष्ठलाई संचालक नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका संचालक अरुण मान शेरचनले राजीनामा दिएपछि उनको स्थानमा श्रेष्ठलाई नियुक्त गरिएको हो । शेरचनको राजीनामा बैंकको वैशाख ८ मा बसेको संचालक समितिको बैठकले स्वीकृत गरेर सोहि बैठकले श्रेष्ठलाई संचालक नियुक्त गरेको हो ।
नेको इन्स्योरेन्सले भुक्तानी गर्यो ७० प्रतिशत बढी दाबी, कृषिको मात्रै १० करोड बढी
काठमाडौं । नेको इन्स्योरेन्सको दाबी भुक्तानीमा तीव्रता देखिएको छ । नेको इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा कूल १ अर्ब २७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार चालू आर्थिक वर्षको चैत्र मसान्तसम्ममा थपिएका सहित कूल दाबीमध्ये ७० प्रतिशत दाबी भुक्तानी फर्छ्यौट गरिएको छ। चालू आव २०७९/८० मा पुराना भुक्तानी हुन बाँकी दाबीहरु ३ हजार ९७३ रहेका थिए । यसैगरी चालू आर्थिक वर्षमा थपिएका समेत गरेर कूल ८ हजार ९५९ वटा दाबी फर्छ्यौट गरेको छ। योमध्ये कृषिसँग सम्बन्धित २ हजार २३० वटा दाबीवापत १० करोड २ लाख रुपैयाँ भुक्तानी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बीमितको सुविधाका लागी गत पाँच वर्षदेखि ठाउँको ठाउँ दाबी भुक्तानी सेवा समेत संचालन गरिरहेको छ। दाबी भुक्तानीका लागी पेश गर्न बाँकी रहेको कागजप्रमाणहरू पेश गरेर दाबी भुक्तानी लैजानका लागी कम्पनीले बीमितसँग अनुरोध समेत गरेको छ।
औषधि व्यवस्था विभागको नियमित खर्च नै साढे १० करोड, सिलिङ आयो पौने १० करोड
काठमाडौं । आगामी बजेट निर्माणमा सरकार जुटिरहँदा औषधि व्यवस्था विभागको नियमित खर्च समेत धान्न नमिल्नेगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि व्यवस्था विभागलाई बजेट सिलिङ पठाएको छ । विभागको वार्षिक तलब र कानुनी दायित्व साढे १० करोड छ तर, मन्त्रालयले पौने १० करोड मात्रै बजेट सिलिङ पठाएको छ । विभागका महानिर्देशक भरत भट्टराईका अनुसार मन्त्रालायले विभागलाई आगामी आर्थिक वर्षका लागि १० करोड ७८ लाख बराबरको बजेट सिलिङमा रहेर कार्यक्रम पेश गर्न निर्देशन दिएको छ । उनले भने, ‘आगामी आर्थिक वर्षको लागि साढे १० करोड बराबरको तलब र कानुनी दायित्व रहेको तर मन्त्रालयबाट ९ करोड ७८ लाख बराबरको सिलिङ प्राप्त भएकाले काम नै कसरी गर्ने भन्नेमा सोचनीय छौं’, उनले भने । स्थापना कालदेखि अहिलेसम्म विभागको जनशक्ति संरचनामा फेरबदल नभएको तर कार्यक्षेत्र र कार्यभार बढ्दै गएकाले भौतिक पूर्वाधार र जनशक्ति विकासको विषयलाई विभागले लामो समयदेखि उठाउँदै आएको थियो । तर, आगामी बजेटमा पनि आफ्ना मागहरु सम्बोधन नहुने अवस्था भएको विभागका महनिर्देशक भट्टराईले भने । ‘यहाँ प्रशस्त जनशक्तिको आवश्यकता छ, अन्यथा काम भएन भन्ने बजेट पनि नदिने काम पनि गर भनेर कसरी हुन्छ’, महानिर्देशक भट्टराईले भने । आफूहरुले तालुकदार निकायमा भनेको तर राज्यको नै अवस्था यही छ भनेर प्रतिक्रिया आएको उनले बताए । चालु आवकै बजेटमा समेत कटौती भएकाले आगामी आवमा विभागको समस्या थप भएर जाने उनको प्रतिक्रिया छ । साधन स्रोतको व्यवस्थाको अभावमा विभागले गुणस्तरीय सेवा दिन नसक्ने भन्दै महानिर्देशक भट्टराईले जनशक्ति व्यवस्थापनको समस्या यथावत रहन सक्ने चिन्ता प्रकट गरे । उनले आफूहरुले प्राप्त सिलिङले विभागका समस्या सम्बोधन गर्न नसकिने हुँदा बढाउन आवश्यक भनी सम्बन्धित निकायमा विषय राख्दा राज्यको अवस्थाका कारण सम्बोधन गर्न नसकिने अवस्था रहेको भनि प्रतिक्रिया आएको महानिर्देशक भट्टराईले विकासन्युजलाई बताए ।
दाङको जडीबुटी निकासी घट्यो
दाङ । दाङमा यस वर्ष जडीबुटी निकासा घटेको छ । यस वर्ष जिल्लामा दुई लाख किलो बराबर जडीबुटी निकासा भएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष आधाले निकासा घटेको हो । डिभिजन वन कार्यालयका सहायक वन अधिकृत भक्तबहादुर चौधरीका अनुसार निजी वनबाट सबैभन्दा बढी कालीकाठ ७३ हजार पाँच सय ३० किलो निकासा भएको छ । यसपछि टिमुर ५३ हजार पाँच सय ८६ किलो निकासा भएको छ । काउलो २१ हजार आठ सय ७५ किलो, रिठा १४ हजार दुई सय किलो, मालागेडी १३ हजार पाँच सय किलो निकासा भएको छ भने तेजपात पाँच हजार पाँच सय किलो, दालचिनी सात हजार एक सय ४५ किलो, मालागेडी पाँच हजार किलो निकास भएको छ । जसमा निजी वनबाट एक लाख ९४ हजार तीन सय ३६ किलो र राष्ट्रिय वनबाट २९ हजार सात सय किलो गरी दुई लाख २४ हजार २६ किलो जडीबुटी निकासा भएको छ । दाङबाट बितेको एक वर्षमा करिब साढे चार लाख किलो जडीबुटी निकासा भएको थियो । डिभिजन वन कार्यालय घोराहीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा राष्ट्रिय वन र निजी वन क्षेत्रबाट चार लाख ३८ हजार नौ सय ५२ किलो बराबरको विभिन्न प्रकारका जडीबुटी निकासी भएको थियो । वन नियमावलीमा तोकिएअनुसार राष्ट्रिय वनको जडीबुटी सङ्कलनको राजस्व लिने गरिए पनि निजी वनको जडीबुटी सङ्कलनको राजस्व पूर्णरुपमा छुट गरिएको छ । निजी वन क्षेत्रबाट उत्पादित जडीबुटीको उत्पादन र प्रवद्र्धनलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेकाले निकासीमा राजस्व छुट गरिएको सहायक वन अधिकृत चौधरीले बताए । यसैगरी, राष्ट्रिय वन क्षेत्रबाट सबैभन्दा बढी दारुहल्दी सात हजार सात सय किलो निकास भएको छ । तेजपात पाँच हजार किलो, टिमुर चार हजार पाँच सय किलो निकासा हुँदा कालीकाठ चार हजार किलो निकासा भएको छ । रिठा तीन हजार किलो, दालचिनी तीन हजार किलो, मालागेडी तीन हजार किलो निकासा हुँदा दुई लाख ३३ हजार पाँच सय राजस्व सङ्कलन भएको उनले बताए । राष्ट्रिय वनबाट विभिन्न १५ प्रकारका जडीबुटी सङ्कलनको अनुमति दिइएकोमा निजी वन क्षेत्रबाट १३ प्रकारका जडीबुटी सङ्कलनको अनुमति दिइएको थियो । यसअनुसार अघिल्लो वर्ष राष्ट्रिय वन क्षेत्रबाट टिमुर २९ हजार पाँच सय ५० किलो, रिठागेडी १६ हजार किलो, मालागेडी १४ हजार पाँच सय किलो, तेजपात सात हजार किलो, अमला तीन हजार किलो, बर्रो एक हजार पाँच सय किलो, लहरे गुर्जो दुई हजार पाँच सय किलो, ब्राहमी एक हजार किलो र चुत्रो दुई हजार किलो निकासी हुँदा रु छ लाख ५३ हजार राजस्व सङ्कलन गरेको डिभिजन वन कार्यालय घोराहीले जानकारी दिएको छ । यो वर्ष कम निकासा हुँदा राजस्व पनि घटेको छ । पछिल्ला केही वर्षयता जिल्लाबाट जडीबुटीको उत्पादन र निकासी परिणाम बढ्दै गएको बेला यो वर्ष निकासा अपेक्षितरुपमा हुन सकेको छैन । जडीबुटी खेतीको प्रवद्र्धन गर्दै वनका माध्यमबाट उपभोक्ताको आयआर्जनमा वृद्धि गर्ने गत वर्षदेखि जडीबुटी खेती गर्न डिभिजन वन कार्यालयले प्रोत्साहन गर्दै आएको छ । टिमुर उत्पादनको दृष्टिले दाङको पहाडी क्षेत्र सम्भावनायुक्त क्षेत्र भएको डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिकाको १८ र १९ नम्बर वडा र बंगलाचुली गाउँ पालिकालाई गतवर्ष पकेट क्षेत्र समेत घोषणा गरेको छ । पकेट क्षेत्रमा टिमुरसँगै माला गेडी र दालचिनीका एक लाख ८४ हजार बिरुवा दुई वर्षको अवधिमा रोपिएको वन कार्यालयले जनाएको छ । जसमा करिब एक लाख बढी बिरुवा टिमुरका मात्रै रहेका छन् । वनमा जडीबुटी खेती गरेर उपभोक्तालाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले वन कार्यालयले जडीबुटी खेतीमा किसानलाई निःशुल्क बिरुवा वितरणदेखि बिरुवा संरक्षण गर्नेलाई प्रतिबिरुवा २० रुपैयाँ दिने गरेको छ । जसले गर्दा जिल्लामा जडीबुटी खेती गर्ने किसान बढेको डिभिजन वनको दाबी छ । जिल्लाको करिब ३३ हेक्टर वन क्षेत्रमा विभिन्न प्रजातिका जटीबुटीका बिरुवा रोपिएको छ । रासस
वर्षाका कारण एसीसी प्रिमियर कप क्रिकेट खेल प्रभावित
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत आज नेपाल र साउदी अरबबीचको खेल खराब मौसमका कारण टससमेत हुन सकेको छैन । मूलपानी क्रिकेट मैदानमा आज बिहान ८ः३० बजे हुनुपर्ने टस वर्षा बाधक बनेपछि हुन सकेको छैन । तेस्तै समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल अहिले ९ बजेदेखि सुरु हुनुपर्ने थियो तर मूलपानी क्षेत्रमा सिमसिम पानी परिरहेका कारण खेल सुरुआत हुन सकेको छैन । उक्त प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहेको छ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् । तेस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोलीले सेमिफाइनल खेल्ने छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा आजै हुने भनिएको समूह ‘बी’ का हङकङ र बहराईनबीच खेल पनि वर्षाका कारण प्रभावित बनेको छ । रासस
यस्तो छ आजको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हुरीको सम्भावना छ । रातिको समयमा पनि लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम १३ र अधिकतम तापक्रम २८ डिग्री सेल्सियस रहेको छ ।