उपनिर्वाचनको मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
काठमाडौं । आज भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतदान सकिएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुने क्रम जारी रहेको छ । हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको छ । जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५३ प्रतिशत मतदान भएकोे छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो । यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए । मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार बारा निर्वाचन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य सङ्घको हल, भरतपुरमा राति ११ बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नं १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ । मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (मतगणना) निर्देशिका, २०७९ र मतगणनाबारे आज आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सृर्जना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए ।
नयाँ स्टक एक्सचेञ्ज : ३ व्यापारिक समूह मैदानमा, राजनीतिक दौडधुप शुरु
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज सञ्चालन गर्न इजाजतपत्र (लाइसेन्स)का लागि विभिन्न ३ कम्पनीको आवेदन परेको छ । आइतबार अन्तिम दिनसम्म नयाँ स्टक मार्केटका लागि हिमालयन, नेशनल र अन्नपूर्ण स्टक एक्सचेञ्जको आवेदन परेको हो । हिमालयन स्टक एक्सचेञ्जले शुक्रबार र नेशनल स्टक एक्सचेञ्ज स्टक एक्सचेञ्जले आइतबार अनुमतिका लागि बोर्डमा आवेदन दिएको जनाएको छ । यससँगै विभिन्न तीन व्यापारिक समूहबीच नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि ठूलै प्रतिस्पर्धा हुने देखिएको छ । देशका ठूला उद्योगी व्यवसायीक घरानहरुबीच नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्राप्त गर्नका लागि आफ्नो शक्ति प्रदर्शन देखाउन सक्ने जानकारहरु बताउँछन् । नयाँ स्टक एक्सचेञ्जको अनुमतिका लागि व्यापारीहरुबीच राजनीतिक दौडधुप सुरु भइसकेको बताइएको छ । हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा इन्फिनिटी होल्डिङसका दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ । यस्तै, नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, पूर्व अध्यक्ष कुल आचार्य लगायत एनआरएनएको लगानी छ । यस्तै, यो स्टकमा केडिया ग्रुपका अध्यक्ष मनाेज केडिया, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ लगायतको लगानी रहेको पनि बुझिएको छ । यस्तै, अन्नपूर्ण स्टक एक्सचेञ्जमा प्रमुख लगानीकर्ता रामेश्वर थापा रहेको स्रोतले बताएको छ । उनी अन्नपूर्ण मिडिया हाउसका सञ्चालक हुन् । साथै, यस कम्पनीमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोद्ध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेती लगायतको लगानी रहेको छ । सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर)लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो । धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो । तर उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो । धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बोर्डले बताउँदै आएको छ । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवम् अन्तर्राष्ट्रियस्तरको प्रविधि सहितको बनाउन पनि बजारमा नयाँ स्टक चाहिने बोर्डको भनाइ छ ।
मौलाकाली केबलकारको उद्घाटन वैशाख १८ प्रधानमन्त्रीले गर्ने
काठमाडौं । मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्र्धित मौलाकाली केबलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केबलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केबलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केबलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केबलकारमा १२ वटा गोन्डोला रहेका छन् । केबलकार सञ्चालनसँगै मौलाकालीको दर्शन तथा पुजाआजाका लागि जाने भक्तजनहरुका लागि सहज हुनेछ । केबलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्प पुग्न करिब ५ मिनेटको समय लाग्दछ । केबलकारको माथिल्लो स्टेसनमा सुविधासम्पन्न ६० रुमको होटल, ब्याङक्वेट हल र रेष्टुरन्ट सञ्चालनमा रहने छन् । केवलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केबलकार प्रालिले जनाएको छ । नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकारसहितको नयाँ पर्यटकीय गन्तब्य निर्माण काठमाडौंको चन्द्रागिरिमा निर्माणसम्पन्न भई सञ्चालनमा रहेको छ । त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केबलकार प्रा.लिद्वारा प्रवद्र्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ । उक्त केबलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।
राष्ट्रको आवश्यकताअनुसार कम्युनिष्ट एकता हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको आवश्यकताअनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आज यहाँ नेकपा (एकीकृत समाजवादी)द्वारा आज आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलन : उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उनले नयाँ आधारमा नयाँ सोचका साथ कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाएर लैजाने बताए । प्रधानमन्त्रीले भने, ‘सही विचार र नीतिका आधारमा कम्युनिष्टहरुलाई एकताबद्ध गर्ने कुरा जारी राख्नु पर्दछ । अहिले हामी त्यही प्रक्रियामा छौँ । जनवादी केन्द्रीयताको सिद्धान्तविरुद्ध रहेकाहरु कम्युनिष्ट एकताको पक्षमा छैनन् । हामी अहिले पनि एकताकै पक्षमा छौँ ।’ उनले केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिने र त्यहीँबाट कम्युनिष्ट आन्दोलनमा नयाँ धुव्रीकरणको प्रक्रिया अगाडि बढ्ने बताए । प्रधानमन्त्री प्रचण्डले आफूहरु राष्ट्र र जनताको आवश्यकताअनुसार थुप्रै नेताहरुसँगको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा छलफल गरी नेकपा तिरै फर्कनेमा रहेको स्पष्ट पारे । उनले भने, ‘कम्युनिष्ट पार्टीभित्र नेतृत्वलाई साँचोका रुपमा लिइन्थ्यो, र हो पनि । नेतृत्वले गलत विचार र प्रवृत्ति अङ्गीकार ग¥यो भने, धेरै ठूलो क्षति हुन्छ र ठूलो प्रतिक्रान्ति हुन्छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि देख्यौँ र आफ्नै आँखा अगाडि पनि देख्यौँ ।’ उनले २०७४ को आम निर्वाचन कम्युनिष्टहरुले चालेको ठूलो अग्रगामी कदम रहेको उल्लेख गर्दै उक्त प्रस्ताव आफूहरुले नै गरेको र त्यसको पहिलो प्रस्तावक आफैँ भएको बताए । ‘राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता, जनताको जनजीविका, सामाजिक न्याय र विकासको आवश्यकतालाई सम्बोधन गर्न पनि कम्युनिष्टहरु एक हुन जरुरी छ,’ उनले भने । लोकतन्त्रको सुदृढीकरण र गणतन्त्रलाई मजबुत गर्नका लागि पनि कम्युनिष्टहरु एक हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ थियो । उनले बिना आग्रह पूर्वाग्रह विचारधारात्मक रुपले समीक्षा गर्दै राष्ट्रको हितमा एकताको नयाँ पहलका लागि वामपन्थी कम्युनिष्टलाई आह्वान पनि गरे । उनले अगाडि भने, ‘एकताबद्ध भएर मात्र हामी कम्युनिष्ट आन्दोलनप्रति इमान्दार हुनसक्छौँ । अहिले हामी कम्युनिष्ट पार्टीहरु कहाँबाट सुरु गर्ने भन्ने छलफलमा छौँ । अहिले राष्ट्रको आवश्यकता, रााष्ट्रियता, जनतन्त्र जनजीविका, विकासको आवश्यकता र दलाल पूँजीवादको विरुद्ध सङ्घर्षको आवश्यकता महसुस गर्नेहरु सबै एउटा मोर्चामा आबद्ध भएर एउटा सन्देह दिऔँ ।’ उनले छिट्टै समाजवादी मोर्चा गठन गरिने र नेकपातिर फर्कनका लागि सबैलाई अपिल गरे । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समान विचार भएका कम्युनिष्ट पार्टीका बीचमा छिट्टै समाजवादी मोर्चा बनाएर एकताको प्रक्रिया अगाडि बढाइने बताए । उनले मोर्चाका लागि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत पहल गरिरहनु भएकाले छिट्टै सार्थकता पाउने विश्वास व्यक्त गरे । विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक सोच, कार्यशैली र मन मिल्ने पार्टीबीच छिट्टै एउटै पार्टी बनाउने गरी तयारी भइरहेको पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बताए । ‘विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, सङ्गठनात्मक सोचहरु, कार्यशैली पनि व्यवस्थापन गर्न सकियो भने, मन पनि मिल्यो भने हामी एउटै पार्टी हुन सक्छौँ,’ उनले भने । अध्यक्ष नेपालले वामपन्थी कम्युनिष्ट एकापसमा मिलिदिए हुन्थ्यो भन्ने जनताको भावना रहेकाले त्यो दिन धेरै टाढा नभएको बताए । राष्ट्रिय समस्या समाधानका लागि वामपन्थी शक्तिबीचको एकता जरुरी रहेको उल्लेख गरे । कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव गङ्गालाल तुलाधर, पुराना वामपन्थी नेता चन्द्रदेव जोशी लगायतको उपस्थिति थियो । रासस
आईएमई लाईफले दियो सम्पति शुद्धिकरण सम्बन्धी तालिम
काठमाडौं । आईएमई लाईफले सम्पति शुद्धिकरण सम्बन्धी वित्तिय लगानी निवारण तालिम प्रदान गरेको छ । आईएमई लाईफ इन्स्योरेन्सले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । उक्त कार्यक्रम बिहीबार सम्पन्न गरेको हो । कान्तिपथको होटेल यल्लो प्यागोडामासम्पन्न उक्त तालिम कार्यक्रममा सातै प्रदेश अन्तर्गतका प्रमुख, क्षेत्रीय प्रमुख तथा ब्यवस्थापन समूह गरी ३० जनाको सहभागिता रहेको थियो । अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका कम्प्लायन्स प्रमुख ममता जयसवालले सम्पति शुद्धिकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बिस्तृत प्रशिक्षण गराएका थिए । गैर कानूनी कमाइ र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धिकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रक्रियाहरु के के हुन, रिर्पोटिंग कसरी गर्ने आदि विषयमा विस्तृत जानकारी दिइयो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यले सम्पत्ति शुद्धिकरण प्रक्रिया र औचित्य बारेमा प्रकाश पारेका थिए ।
विश्वमै उत्कृष्ट फिनल्यान्डको शिक्षा प्रणाली, नेपालले के सिक्न सक्छ ?
काठमाडौं । फिनल्यान्डको शिक्षा प्रणालीलाई विश्वकै उत्कृष्ट शिक्षा प्रणालीको रुपमा मानिन्छ । विश्वका सबै मुलुकमा सो देशको शिक्षा प्रणालीको विषयमा निकै चर्चा हुने गर्दछ । साँच्चीकै फिनल्यान्डको शिक्षा प्रणाली अनुकरणीय र अद्वितीय रहेको छ, जसलाई मानिसहरुले अनौठो रुपमा समेत लिने गर्दछन् । शिक्षा प्रणालीमा सँधैजसो नयाँ अन्वेषण र बालबालिकालाई बिना बोझ सिकाउने विधिको प्रयोग गर्ने गरिन्छ । बालबालिकालाई वैज्ञानिक तरिकाले पढाउने कुरामा जोड दिइन्छ । उनीहरुको योग्यता र क्षमता र योग्यतालाई अंकको आधारमा मापन गरेर श्रेणी कायम गर्ने प्रचलन फिनल्यान्डको शिक्षा प्रणालीमा छैन, यो मात्रै नभएर विद्यार्थीको तुलनात्मक क्षमताको विषयमा चर्चा समेत गरिँदैन । फिनल्यान्डमा शिक्षक पेशालाई सबैभन्दा सम्मानित पेशाको रुपमा मानिन्छ । यहाँ शिक्षकको हैसियत अन्य पेशा वा व्यवसाय भन्दा माथि छ । यहाँ शिक्षक बन्नको लागि कम्तिमा स्नातकोत्तर तह उत्तिर्ण गरेर उच्च स्तरको शिक्षक तालिम समेत लिनुपर्ने हुन्छ । विद्यार्थीलाई हेरचाह गर्नेले पनि कम्तिमा स्नातकोत्तर अध्ययन गरेको हुनुपर्छ । फिनल्यान्डको शिक्षक तालिम प्रतिष्ठान पनि विश्वस्तरमा नै प्रतिष्ठित रहेको छ । एक योग्य शिक्षक बन्नको लागि विद्यार्थीहरुले विश्वविद्यालय पढ्दा देखि नै शिक्षक प्रशिक्षण स्कुलहरुमा काम गर्न शुरु गर्नुपर्छ । सो अवधिमा उनीहरुलाई विशेषगरी बालबालिकामा सिक्ने जिज्ञासा जगाउने तरिकाको बारेमा सिकाइन्छ । अन्य मुलुकहरुमा शिक्षकलाई तालिम दिँदा पहिला उसैलाई सिकाउने काम गरिन्छ र विद्यालयमा लागु गरिन्छ तर, फिनल्यान्डमा भने त्यसको उल्टो अभ्यास गर्ने गरिन्छ । यहाँको गाउँ र सहरको विद्यालय र शिक्षकको गुणस्तरमा कुनै भिन्नता रहेको छैन । यहाँका सबै विद्यालयहरुको अवस्था राम्रो छ, जुन विश्वका अन्य मुलुकमा रहेको देखिँदैन । फिनल्यान्डका सबै बालबालिकालाई शिक्षाको समान अधिकार छ । बालबालिकाको अध्ययन पद्दती अनुसन्धानमा आधारित छ, शिक्षकहरुले कुनै निश्चित तोकिएको ढाँचामा अपनाउनुको सट्टा आफ्नै सोचले नयाँ तरिका अपनाउन पाउँछन् । तर, त्यो पनि विद्यार्थीकै सहमतिमा उसलाई सिकाइन्छ । शिक्षकहरुले प्रविधिको सहायतामा नयाँ–नयाँ विधिको आविस्कार गर्ने र विद्यार्थीहरुलाई रोचक तरिकाले पढाउने स्वतन्त्रता हुन्छ । यहाँ विद्यालयमा अध्ययनको लागि कुनै निश्चित सिमा तोकिएको हुँदैन । बालबालिकाले आफूले चाहेको बेलामा पढ्न, खेल्न र आराम गर्न सक्छन् । यो सबै सुविधा विद्यालयमा नै उपलब्ध हुन्छ । बालबालिकाले ४५ मिनेटदेखि एक घण्टा पढेपछि कम्तिमा १५ मिनेट विश्राम लिनुपर्छ । विद्यार्थीहरुलाई बस्नको लागि डेस्क बेञ्चको अनिवार्य व्यवस्था गरिएको छैन । राजनीतिक रुपमा दक्षिणपन्थी तथा बामपन्थीहरु र शिक्षाविदहरुसँगको छलफलपछि फिनल्यान्डले देशव्यापी रुपमा सन् १९७० को शुरुवातमा नै शुल्क तिर्ने स्कुल तथा संस्थाहरु बन्द गर्ने काम गरेको थियो । त्यसभन्दा अगाडि त्यहाँ धेरैजसो शैक्षिक संस्थाहरु निजी क्षेत्रबाट सञ्चालित थिए । त्यसपछाडि सबै शिक्षकहरुलाई सरकारी कार्यक्रममार्फत नै राम्रो तलब तथा सेवा सुविधा दिन शुरु गरियो । उनीहरुलाई उच्च सम्मान गर्ने, राम्रो तालिम प्रदान गर्ने र शिक्षण विधिमा स्वतन्त्र बन्ने अधिकार दिइयो । एउटा राम्रो पक्ष भनेको के हो भने आमाबाबु चाहे धनी होउन वा गरिव उनीहरुले आफ्ना छोराछोरी राम्रो स्कुलमा राम्रोसँग पढुन भन्ने चाहन्छन् । शिक्षाका लागि सम्पूर्ण खर्च सरकारले नै गर्न शुरु गर्यो, जुन प्रणालीलाई त्यहाँको समाजले पूर्ण रुपमा स्वीकार गरेको छ । ५५ लाख भन्दा बढी जनसंख्या रहेको फिनल्यान्डको प्रणालीले पुँजीवाद र समाजवाद दुबैका राम्रा पक्षलाई अंगिकार गरेको छ । सरकारले कर लिन्छ र गरिव वा धनीलाई समान शिक्षा प्रदान गर्ने गर्दछ । सरकारले प्रणालीमाथि आक्रमण गर्दैन, शिक्षकहरु नै प्रणालीलाई प्रभावकारी बनाउन जिम्मेवार हुनेगर्दछन् । जसले गर्दा नै फिनल्यान्डको प्रणाली अत्याधिक सफल भएको मानिन्छ । बुल्गेरिया, सोफियाको ओपेन सोसाइटी इन्स्टिच्युटका अनुसार युरोपका ४१ वटा देशहरुमध्ये फिनल्यान्ड शैक्षिक क्षेत्रमा गलत सूचना जान्न सिकाउने शैक्षिक प्रणालीमा पाँचौपटकसम्म पहिलो स्थानमा रहँदै आएको छ । अधिकारीहरुहले फिनल्यान्डको शिक्षा विश्वमै उत्कृष्ट हुनुमा विद्यार्थीहरुलाई गलत सूचनाको बारेमा ज्ञान दिने कारण पनि मुख्य भएको बताउँछन् । जहाँ मिडिया साक्षरतालाई प्रारम्भिक स्कुल तहदेखि नै पाठ्यक्रममा शमावेश गरिएको छ । फिनल्यान्डमा चिकित्सा प्रणाली पनि निकै सफल छ । तीन प्रतिशत अस्पताल मात्रै निजी अस्पताल छन् भने १० प्रतिशत डाक्टर मात्रै निजी अस्पतालमा काम गर्छन । तर, निजी अस्पतालमा काम गर्ने चिकित्सको सेवा सुविधा पनि सरकारी सरह नै रहेको छ । अति गरिव विमारीले आफ्नो क्षमताअनुसार मात्रै उपचारको लागि पैसा तिरे पुग्छ भने पैसा भएका विमारीले पनि कम पैसा तिरे पुग्छ । यस्तो देखिन्छ कि चिकित्सा प्रणाली पनि शिक्षा प्रणाली जस्तै निःशुल्क हुन सक्छ । तर, शुल्कले मानिसहरुलाई प्रणालीमा अनावश्यक झमेला पैदा नगर्न सहयोग पुर्याउन सक्छ । अधिकांश भागमा चिकित्सा प्रणाली पनि शिक्षा प्रणाली जस्तै सञ्चालन भएको देखिन्छ । ऐजेन्सीको सहयोगमा ।
सनराइज बैंकका ग्राहकलाई भारतको अपोलो हस्पिटलमा १० प्रतिशतसम्म छुट
काठमाडौं। सनराइज बैंकले भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा भारतको अपोलो हस्पिटलबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतितशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सो सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका महाप्रबन्धक अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका छन् । इन्द्रप्रस्थ अपोलो हस्पिटल भारत स्थित एक प्रतिष्ठित अस्प्ताल हो जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर बैंकले छुटै हेल्थ केयर कार्ड पनि संचालनमा ल्याइसकेको छ भने अपोलो लगाएत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्च समेत सनराइज स्वास्थ्य योजना अन्तर्गत सोधभर्ना लिन सकिने बैंकले जनाएको छ ।
के.एल. दुगड समुहको ‘ज्ञान मह’ बजारमा
काठमाडौं । के.एल. दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मह नेपाली बजारमा ल्याएको छ । स्थानीय रुपमा उपलब्ध विभिन्न बहुमुल्य वनस्पतिहरुमा चरन गरेका मौरीहरुबाट यस महको उत्पादन गरिएको कम्पनीले जनाएको छ । स्थानीय किसानहरुद्वारा स्थानीय रुपमै उत्पादित सामानहरुको प्रवद्र्घन गर्ने उद्धेश्यले यस महको उत्पादन शुरु गरिएको पनि कम्पनीले जानकारी दिएको छ । खाद्य प्रविधिका निकै अनुभवी र दक्ष विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको परिक्षण गरि उपभोगको लागि उत्कृष्ट रहेको ठहराएका कम्पनी बताउँछ । मह प्राचीन कालदेखि मानव जातिमा परिचय गराइएको सबैभन्दा मूल्यवान प्राकृतिक उत्पादनहरू मध्ये एक हो । महमा भिटामिन र अन्य पोषक तत्वहरू भरिपूर्ण हुन्छ । ज्ञान मह मुख्य डिपार्टमेन्ट स्टोरहरुका साथसाथै स्थानीय किराना पसलहरुमा २५० ग्राम, ५०० ग्राम र १ केजी प्याकमा उपलब्ध छ । के।एल। दुगड समुहले ज्ञानका ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता लोकप्रिय उत्पादनहरु पनि लामो समयदेखि नेपाली बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।