अब नेप्सेमा सबै प्रकारका ऋणपत्र ७ दिनभित्रै सूचीकरण हुने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले अब ७ दिनमै कुनैपनि ऋणपत्र सूचिकरण गर्ने भएको छ । नेप्सेको सोमबार बसेको संचालक समितिको बैठकले धितोपत्र सूचीकरण विनियमावली २०७५ संशोधन गर्ने निर्णय गरेसँगै ऋणपत्र सूचीकृतको समय घट्ने भएको हो । २०७५ सालमा बनेको उक्त सूचीकरण विनियमावली यता बजारमा धेरै कुराहरु परिवर्तन भईसकेको विषयलाई मध्यनजर गर्दै विनियमावली संशोधन गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ । हाल नेप्सेमा कुनैपनि सेयर तथ ऋणपत्र सूचीकृत गर्ने अधिकतम ३० दिन लाग्छ ।
चितवनमा २२ गतेदेखि औद्योगिक एक्पो सुरु हुँदै
काठमाडौं । चितवन औद्योगिक एक्पो सुरु हुने भएको छ । चितवन औद्योगिक एक्पो बैशाख २२ गतेदेखी २४ गतेसम्म हुने भएको छ । चितवनमा उद्योग संघको आयोजना साझेदारीमा एक्पो प्रदर्शनी हुने भएको छ । उक्त्त प्रदशनी बैशाख २२, २३ र २४ भरतपुरमा हुने आयोजकले जनाएको छ । उक्त प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको बृहत प्रदर्शनी हुँदैछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरु रहने गरी आयोजना हुन गइरहेको उक्त प्रदर्शनीको धमाधम स्टलहरु बुकिङ हुन थालेका छन् । यस प्रदर्शनीमा प्रदर्शकको रुपमा सहभागिता जनाउन चाहने उद्योगीले यही १७ गतेसम्म स्टल बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।
प्रभु बैंकका थकाली कामना सेवा विकास बैंकको सीईओ बने, को हुन् उनी ?
काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) दिनेश थकाली बनेका छन् । हाल प्रभु बैंकमा प्रमुख ब्यापार अधिकृतका रुपमा कार्यरत थकाली कामना सेवा विकास बैंकको सीईओ बनेका हुन् । कामना सेवा विकास बैंकको सञ्चालक समितिले बैंकको सीईओका लागि आन्तरिक रुपमा व्यवसायिक योजना तथा रणनीतिहित माग गरेको थियो । त्यसमा थकाली छनोट भएका हुन् । थकालीले पनि आफू छनोट भएको बताएका छन् । उनले प्रभु बैंकमा राजीनामा दिएर स्वीकृत पनि भइसकेको बताए । ‘प्रभु बैंकमा राजीनामा दिएर स्वीकृत पनि भइसकेको छ, अब बैंकभित्रका केही प्राविधिक विषयहरु व्यवस्थापन गरेर निस्कन्छु, त्यसपछि कामना सेवामा पदभार ग्रहण हुन्छ,’ थकालीले विकासन्युजसँग भने । माघ १५ गतेदेखि कार्यवाहक सीईओका रुपमा चलिरहेको कामना सेवा विकास बैंक अब थकालीले हाँक्नेछन् । अहिले सो बैंकमा विनय दाहालले कार्यवाहक सीईओका रुपमा काम गरिरहेका छन् । थकालीले आफू रणनीतिक र योजनाबद्ध किसिमभन्दा पनि गएर मिहेनतका साथ काम गर्ने प्रकृतिको मान्छे भएको धारणा राखे । चार्टर्ड एकाउण्टेण्ट थकाली सांग्रिला डेभलपमेन्ट बैंकको कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए । त्यसपछि उनी प्रभु बैंकमा गएका थिए । उनले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रबन्ध संचालकको जिम्मेवारी समालेका थिए । त्रिभुवन विश्व विद्यालयबाट बिजनेस स्टडीमा स्नातकोत्तर गरेका थकाली डेढ दशकदेखि बैंकिङमा सक्रिय छन् ।
राष्ट्र बैंकले गर्दा अर्थतन्त्रमा समस्या आयो, तत्काल समाधान गर्न सक्छु भन्दिन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले कडाई गर्दा अर्थतन्त्रमा समस्या आएको बताएका छन् । बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले यस्तो बताएका हुन् । ‘अर्थतन्त्रमा वाह्य दबाब बढ्दै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत कडाई गर्दा बैंकको ब्याजदर वृद्धि, मूल्यवृद्धि,आयात प्रतिबन्द लगाउँदा अर्थतन्त्रमा समस्या आएको हो,’ उनले भने । उनले सरकारको पुँजीगत खर्च कम हुने प्रवृति यो वर्ष पनि कायम रहेको र दुई वटा निर्वाचनमा सरकारको ध्यान केन्द्रित भएको कारण पनि समस्या भएको बताए । अर्थमन्त्री डा. महतले मौद्रिक नीति राष्ट्र बैंकको क्षेत्राधिकारभित्र भएकाले सहज बनाउन सरकारले अनुरोध गरिरहेको पनि बताए । बजार संकूचनको अवस्थामा रहेकाले चलायमान बनाउनु पर्ने अवस्था रहेको बताउँदै उनले भने,’अब अर्थतन्त्रमा सुधार गर्नुपर्ने समय आएकाले बैंकको ब्याजदरमा बैंकहरुले पुनःविचार गर्ने र मौद्रिक औजारहरु प्रयोग गरी सेयर बजार,अर्थतन्त्रलाई चलायमान बनाउनु पर्छ ।’ यस्तै, उनले अर्थमन्त्री भएर आएको एक महिना मात्र भएकाले तत्काल अर्थतन्त्रका सबै समस्या समाधान गर्छु भन्न नसक्ने बताए । सबैको सहयोगमा सकेसम्म अर्थतन्त्रलाई चलायमान बनाउनेतर्फ सम्पूर्ण ध्यान केन्द्रित हुने प्रतिवद्धता उनले जनाए ।
नेपालका बैंकमा डिपोजिटरको पैसा निकै सुरक्षित छ : गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालका बैंकमा डिपोजिटरको पैसा सुरक्षित भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालका बैंकहरुले एनिपएलाई कभर गर्न रकम छुट्याएको कारण डिपोजिटरको पाइपाइ सुरक्षित रहेको बताए । ‘अर्थतन्त्रमा उतारचढाव आए एनपीए बढ्छ, कभर गर्नका लागि बैंकहरूले आफ्नो नाफाबाट रकम छुट्याएको हुनपर्छ, जुन हाम्रो नेपाली बैंकहरुले गरिरहेका छन्,’ उनले भने । उनले नेपालको वित्तिय प्रणाली निकै सुरक्षित भएको बताए । गभर्नर अधिकारीले दक्षिण एसियाको अन्य देशहरूसँगको तुलना गर्दा पनि नेपालको वित्तिय अवस्था सुरक्षित भएको बताए ।
रोजगारी खोज्नेको लागि सिद्धार्थ इन्स्योरेन्समा सुनौलो अवसर
काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले बुधबार एक सुचना जारी गर्दै मार्केटिङ विभाग अन्तर्गतमा जूनियर एसिस्टेन्टदेखि असिस्टेन्ट मनेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेका छन् । इन्स्योरेन्सले मिदी हेल्थ डिपार्टमेन्टमा जुनियर अफिसका लागि १ जना र इन्भेष्टमेन्ट डिपार्टमेन्टका लागि अफिसरमा १ जनाका लागि कर्मचारीको माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने इन्स्योरन्सले जनाएको छ । इन्स्योरन्सले आफ्ना विभिन्न शाखा कार्यालयका लागि कर्मचारको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले बैशाख २३ गतेभित्र आवेदन दिनुपर्ने इन्स्योरन्सले जनाएको छ ।
बागलुङका १३ कार्यालयले बिदामा पनि सेवा दिने
बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङसहित १३ सरकारी कार्यालयले सार्वजनिक बिदाका दिन पनि सेवा दिने भएका छन् । शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइने सार्वजनिक बिदाका दिन कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यस वर्ष सार्वजनिक बिदा दिइएको १६ दिन पनि कार्यालय खुल्ने छन् । वैशाख २२ गते उभौली पर्व, बुद्धजयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १४ गते रक्षाबन्धन, भदौ २० गते श्रीकृष्ण जन्माष्टमी, असोज २८ गते घटस्थापना र पुस ९ गते क्रिसमस डेमा सेवा प्रवाह हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यी सबै दिन सार्वजनिक बिदा छन् । त्यस्तै पुस १० गते किरात समुदायको उभौली पर्व, योमरी पुन्ही र पुस १५ गतेको तमु ल्होसारका दिनमा पनि कार्यालय खुल्नेछ । पुस २७ गतेको पृथ्वी जयन्ती र माघ १ गतेको माघी पर्वका दिन पनि कार्यालय खुल्ने बरालले जानकारी दिए । फागुन १ गते जनयुद्ध दिवस, फागुन ७ गते प्रजातन्त्र दिवस, फागुन २५ गते महाशिवरात्री, फागुन २८ ग्याल्पो ल्होसार÷बकर इदका दिन पनि प्रशासन कार्यालयबाट नियमित रुपमा सेवा प्रवाह हुनेछ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, पर्यटन बोर्ड, मालपोत, नापी र जिल्लामा रहेका सबै स्थानीय तहका कार्यालय, भेटेरीनरी अस्पताल, खानेपानी डिभिजन, विद्युत् वितरण केन्द्र र यातायात व्यवस्था कार्यालयलाई शनिबारबाहेकका सार्वजनिक बिदाका दिनसमेत सेवा प्रवाहका लागि निर्देशन दिइएको बरालले बताए । रासस
एक हजार ८९२ विन्दुमा नेप्से
काठमाडौं । पुँजीबजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो । आज दुई सय ६४ वटा कम्पनीको २५ लाख ७१ हजार दुई सय दुई कित्ता सेयर २३ हजार चार सय २९ पटक खरिदबिक्री हुँदा ८४ करोड ७० लाख २८ हजार दुई सय १९ बराबरको कारोबार भएको छ । आज नेप्सेका सबै इन्डेक्सको सूचक रातो देखिएको छ । सेन्सेटिभ इन्डेक्स दुई दशमलव ११, फ्लोट इन्डेक्स एक दशमलव ०१ र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७७ अङ्कले घटेको छ । त्यस्तै, सबै समूहका उपसूचक पनि रातो देखिएका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ५६ दशमलव ८२ र निर्जीवन बीमा समूहको उपसूचक ५० दशमलव ९५ अङ्कले घटेको छ । आज बैंकिङ समूह सात दशमलव ६७, विकास बैंक समूह ३५ दशमलव ९२, वित्त समूह १२ दशमलव ७५, होटल तथा पर्यटन समूह ४६ दशमलव ९० र जलविद्युत् समूह २० दशमलव ५७ अङ्कले घटेको छ । त्यसैगरी, लगानी समूह शून्य दशमलव ८५, उत्पादन तथा प्रशोधन समूह ३४ दशमलव ७२, लघुवित्त समूह २० दशमलव ९५, म्युचुअल फन्ड शून्य दशमलव ०४, व्यापार समूह छ दशमलव ५८ र अन्य समूह पाँच दशमलव ४५ अङ्कले घटेको छ । आज सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य तीन दशमलव २५ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सनराइज ब्लुचिप फन्डको सेयर मूल्य नौ दशमलव १२ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्टको सात करोड एक लाख ६० हजार चार सय ५७ बराबरको एक लाख ६४ हजार नौ सय ३० कित्ता सेयर किनबेच भएको छ ।