अन्तरिम आदेश खारेजसँगै सुकुम्वासी बस्ती हटाउन महानगरलाई बाटो खुल्यो
काठमाडौं । उच्च अदालत पाटनले सुकुम्वासी बस्ती हटाउन रोक लगाउनुपर्ने माग गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै काठमाडौं महानगरलाई सुकुम्वासी बस्ती हटाउने बाटो खुलेको छ । काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध परेको रिटमा बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सुकुम्वासी बस्ती हटाउन काठमाडौं महानगरलाई बाटो खुलेको हो । न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेश खारेज गरेको हो । यसअघि उच्च अदालत पाटनले सुकुम्वासी बस्तीमा तत्काल डोजर लगाउने निर्णय रोक्न अन्तरिम आदेश जारी गरेको थियो । काठमाडौं महानगरपालिकाले ११ चैत २०७९ मा ७ दिनको सूचना दिई सुकुम्बासी बस्ती खाली गर्न सूचना निकालेको थियो । सूचनामा नदी किनार, नदी उकास र नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउनु’ भनी उल्लेख थियो । उक्त सूचना विरुद्ध परेको रिट निवेदनमा उच्च अदालत, पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले २७ चैत, २०७९ मा अल्पकालिन अन्तरिम आदेश दिएको थियो । उच्च अदालत, पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता नपाउने आदेश जारी भएको जानकारी दिए ।
सामाजिक सुरक्षा र तलब भत्ता कटौती गर्न सकिँदैन : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सामाजिक सुरक्षा र तलब भत्ता कटौती गर्न नसकिने बताएका छन् । ललितपुरमा आयोजित ‘अर्थतन्त्रका आन्तरिक समस्या र समाधानका उपाय’ अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षा र तलब भत्ता कटौती गर्न नसकिने बताएका हुन् । वर्तमान समयमा अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न सबैको साझा दृष्टिकोण लिएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । उनले अर्थतन्त्रमा धेरै सुधारका आवश्यकता भएको र राज्य संयन्त्रका सबै तह, राजनीतिक दलले समन्वय गर्नुपर्ने बताए । ‘हामीले समन्वय पनि गरिरहेका छौँ, राजनीतिक दलमा पानी बाराबारको अवस्था छैन, सबैसँग कुरा हुन्छ, अर्थतन्त्रका विषयमा सबैको एउटै भूमिका हुन्छ,’ अर्थमन्त्री महतले भने, ‘विगतमा हामीले पूँजीगत खर्च प्रभावकारीरूपमा प्रवाह गर्न सकेनौँ, आगामी दिनमा यसलाई समाधान गर्नेछौँ, सामाजिक सुरक्षा र तलब भत्ता कटौती गर्न सकिँदैन, अरु साधारण खर्च पुनरावलोकन गर्न सकिन्छ ।’ अहिले पनि अर्थतन्त्रमा कोभिडको समयको प्रभाव रहेको उल्लेख गर्दै उनले अर्थतन्त्रमा धेरै सुधारका आवश्यकता रहेको र यसका लागि राज्य संयन्त्रका सबै तह, राजनीतिक दलले समन्वय गर्नुपर्ने बताए । उनले एक महिनामा नै बजेट प्रस्तुत गर्नुपर्ने भएकाले सबैको सल्लाह लिएर बजेट निर्माण गर्ने बताए । पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले जिम्मेवार पदमा बस्नेले जनविश्वास जित्ने गरी संवाद र सहकार्य गर्नुपर्नेमा जोड दिए । ‘अहिलेको समस्या पार्टी विशेषको नभएर देशकै समस्या हो, समस्या समाधानका लागि सरकार र प्रतिपक्ष मिलेर लाग्नुपर्छ, सरकारको मात्रै नियत गलत छ भनेर देखाएर हुँदैन, निजी क्षेत्रले कर्पोरेट नैतिकता कायम गर्नुपर्छ,’ उनले भने । स्वदेशमै उत्पादन हुने कच्चा पदार्थलाई प्राथमिकता र संरक्षण दिनुपर्ने बताउँदै प्रतिस्पर्धा हुने हदसम्म स्वदेशी उत्पादनलाई सहुलियत दिनुपर्ने भन्ने उनको धारणा छ । अर्थशास्त्री प्रा.डा. रेशम थापाले अन्तरसरकारी समन्वय र सहकार्य ‘फेलियर’ हुनु नै मुख्य समस्या भएको बताउँदै उत्पादनमा वृद्धि गर्न नसक्दा खर्च बढेको र प्राज्ञिक र सञ्चार क्षेत्र चुकेको औँल्याए ।
सेयर र घरजग्गामा कर्जा जाँदा समस्या आयो : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सेयर र घरजग्गामा पहिला सहजरूपमा ऋण दिएका कारण पनि अहिले समस्या आएको बताएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सेयर र घरजग्गामा कर्जा प्रवाह गर्दा समस्या आएको बताएका हुन् । साथै, उनले लगानीको वातावरण बनाउन राज्य र निजी क्षेत्रबीच समन्वय गर्नुपर्ने बताए । उनले दक्ष जनशक्ति नहुँदा समस्या भएको बताउँदै आन्तरिक र बाह्य बजारमा सहजरूपमा काम गर्नसक्ने दक्ष जनशक्ति निर्माण गरिनुपर्नेमा जोड दिए । ‘नेपालको अर्थतन्त्रमा ‘डिप्रेस’ हुनुपर्ने अवस्था छैन, २५ प्रतिशत रेमिट्यान्स बढेको छ, तरलता बढेको छ, ब्याजदर घट्दो छ, सूचक सकारात्मकतिर जाँदैछ, यहाँभन्दा खराब अवस्था आउँदैन,’ ढकालले भने । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले व्यापार घाटा ९ गुणा बढी हुँदा समस्या भएको बताउँदै निर्यात प्रवद्र्धनलाई ध्यान दिनुपर्ने बताए । अर्थतन्त्र सङ्कुचनको अवस्थामा भएकाले वित्तीय अनुशासन कायम राख्दै अर्थतन्त्र प्रवद्र्धन गर्ने कुरामा ध्यान दिनुपर्ने उनको धारणा थियो । अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान समयमा अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्न सबैको साझा दृष्टिकोण लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । अर्थतन्त्रमा धेरै सुधारका आवश्यकता भएको र राज्य संयन्त्रका सबै तह, राजनीतिक दलले समन्वय गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्रालयले निर्माण गरेको अर्गानिक मिनी मार्ट चन्दननाथ सहकारीलाई जिम्मा
कर्णाली । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा निर्मित अर्गानिक मिनी मार्ट चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लालाई हस्तान्तरण गरिएको छ । सहकारी मन्त्रालयको ३२ लाख रुपैयाँ लागतमा सुर्खेत विमानस्थलको प्राङ्गणमा निर्माण गरिएको मिनी मार्ट आज भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले चन्दनाथ सहकारीलाई हस्तान्तरण गरे । मन्त्री शर्माले कर्णाली प्रदेश सरकारले लिएको अर्गानिक प्रदेश निर्माण अभियानमा सघाउने सहकारीलाई आवश्यक सहयोग गर्ने नीति लिइएको बताए । उन चन्दनाथ सहकारीले यस क्षेत्रमा राम्रो काम गरेको प्रतिक्रिया दिँदै उच्च प्रशंसा गरे । ‘हामीमा बजेट र योजनामा भन्दा पनि कार्यान्वयनमा समस्या छ, गुणस्तर नियन्त्रण हुन नसक्दा बजार खस्किँदो अवस्था छ, क्षेत्रगत एवं धेरै उत्पादन गर्न सक्छौँ या सक्दैनौँ भन्ने कुरामा ध्यान दिनुपर्नेछ,’ उनले भने । उत्पादनको परिमाण कति हो भन्ने यकिन तथ्याङ्क आवश्यक रहेको भन्दै मन्त्री शर्माले अर्गानिक कृषि उत्पादन र उद्यमीको प्रवद्र्धनमा विशेष जोड दिने जनाए । सहकारी मन्त्रालयका सचिव डा.नरहरि घिमिरेले अर्गानिक कृषि वस्तुले मानव स्वास्थ्यमा पारेको सकारात्मक प्रभावले राम्रो सन्देश प्रवाह भएको बताए । बाहिरबाट आउने कृषि वस्तुलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिँदै सचिव घिमिरेले अर्गानिक कृषि प्रवद्र्धनमा आवश्यक कार्यक्रम अगाडि बढाईने जनाए । मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले आव २०७७/७८ मा कर्णालीमा प्राङ्गारिक कृषिका आधार तयार गरी सरकारले अर्गानिक प्रदेश निर्माण गर्न लिएको अभियानअन्तर्गत नागरिक उड्डयन कार्यालय सुर्खेतको प्राङ्गणमा वार्षिक ६० हजार रुपैयाँ जग्गाको भाडा तिर्ने गरी अर्गानिक मिनि मार्ट निर्माण गरिएको जनाए । यहाँ उत्पादन हुने प्राङ्गारिक कृषिउपजको सङ्कलन, प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको उनले बताए । हस्तान्तरित मार्ट सञ्चालन गरेबापत उक्त सहकारीले मन्त्रालयलाई मासिक १३ हजार ५ सय रुपैयाँ बुझाउनेछ । जुम्लामा दैनिक १ लाख रुपैयाँ र सुर्खेतमा प्रतिदिन ३५ हजार रुपैयाँको कृषि उपज बिक्री हुँदै आएको उक्त सहकारीका व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिए । उनले कर्णालीमा खेत बाँझो राख्न नपाउने नीति ल्याउन प्रदेश सरकारलाई अनुरोध गरे । कर्णालीमा स्याउ, सिमी तथा ओखर विकास बोर्ड गठनले मात्र त्यसको समुचित विकास तथा प्रवद्र्धन हुने व्यवस्थापक पाण्डेको जिकिर थियो । उनका अनुसार चन्दननाथ बहुउद्देश्यीय सहकारी लिमिटेड जुम्लाले काठमाडौँ ३६ अर्गानिक पसललाई कर्णालीका अर्गानिक खाद्य वस्तु तथा फलफूल निर्यात गरेको छ । यहाँको उत्पादनलाई बजारीकरण गर्न र बाँझो जमिनमुक्त प्रदेश बनाउन सकिए वैदेशिक रोजगारका लागि युवा विदेशीनु नपर्ने उनको भनाइ थियो । जुम्लालगायत कर्णालीमा उत्पादित खाद्यबाली क्यानडामा पठाइएको तर अमेरिकामा माग हुँदा पनि पठाउन नसकिएको उनले जनाए । यहाँका नागरिकले भने रातो चामल दिएर सेतो चामल खाने प्रचलन सच्याउनुपर्ने उनले बताए । सहकारीका सुर्खेत प्रतिनिधि विश्वराज खत्रीले कर्णालीका राडीपाखी, कालो काम्लोलगायतका स्थानीय उत्पादन राष्ट्रपति कार्यालयसम्म पुर्याइएको बताए । उनका अनुसार गत वर्ष मोदी सरकारसम्म पनि कर्णालीको उत्पादन पठाइएको थियो ।
दाङमा २ सय टनभन्दा बढी मह बिक्री भएन
दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गर्नुभएको २ टन मह बिक्री भएको छैन । उनी मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा परेका छन् । त्यस्तै तुलसीपुर–१५ का किसान आशिष अधिकारीले उत्पादन गरेको ६ टन मह मध्ये साढे २ टन मात्रै बिक्री गरेका छन् । ‘साढे ३ टन मह थन्काएर राखेको छु,’ उनले भने । उनीहरु उदाहरण मात्रै हो । विगत दुई वर्षदेखि दाङमा उत्पादन भएको महले बजार पाउने गरेको छैन । भारतबाट आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार नपाउने गरेको किसानको गुनासो छ । ‘बिना भन्सार भारतबाट मह आउँछ, भारतबाट आउने कम गुणस्तरको महले हाम्रो मह बिक्री हुने गरेको छैन,’ किसान शर्माले भने । विगतमा मौरीबाट राम्रै आम्दानी गर्ने गरेका किसान पनि पछिल्लो समय यसप्रति भविष्य देख्न छाडेका छन् । कच्चा पदार्थ एक वर्षसम्म पनि नबिग्रिने भएपछि जिल्लामा किसान यो पेसामा आकर्षित थिए तर, उत्पादित महले बजार नपाएपछि भने यो पेसाप्रति भविष्य देख्न छोडेका किसान आशिष अधिकारीको भनाइ छ । ‘यो पेसाप्रति किसान आकर्षित थिए, विगतमा राम्रै आम्दानी थियो, तर, अहिले मह बिक्री नभएपछि पलायन हुने अवस्था छ,’ उनले भने । बिक्री नभए पनि एक वर्षसम्म राख्न सकिन्छ तर, त्योभन्दा बढी समय भएमा मह बिग्रिने समस्या हुन्छ । भारतबाट ल्याइएको मह पातलो हुने भएकाले उपभोक्ताले पनि त्यही मह नै मन पराउँछन् तर, गुणस्तर मह जम्छ, भन्ने कुरा उपभोक्ताले नबुझ्दा त्यही भारतीय मह नै किक्ने गरेको किसानको गुनासो छ । जिल्लामा हाल ५ सय हाराहारीमा मौरी पालक किसान छन् । किसानको सङ्ख्या बढे पनि उत्पादित मह बजारीकरणमा ध्यान नदिनु सरकारको पनि कमजोरी रहेको किसान अधिकारीले बताए । दाङमा मात्रै करिब २ सय टनभन्दा बढी मह बिक्री नभएको उनले बताए । उपभोक्ताले पनि स्थानीय उत्पादन नचिन्दा जिल्लामा उत्पादन भएको महले बजार पाउन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । ‘जडीबुटी, चरण क्षेत्रमा उत्पादन भएको महले बजार पाउन सकेको छैन, भारतबाट आएको मह सस्तो पनि पाउने र नजम्ने भएकाले पनि उपभोक्तालाई त्यसलाई नै मन पराउने गर्नुहुन्छ, तर, यहाँ उत्पादन भएको गुणस्तर मह किन्नुहुन्न, त्यसले गर्दा पनि समस्या बनाएको छ,’ उनले भने । मह बिक्री नभएपछि किसान समस्यामा परेका छन् । जिल्लाका किसानले मौरी चराउनका लागि बर्दिया, कैलाली लैजाने गर्थे । मह बिक्री नहुने भएपछि खर्च कटौती गर्दै यस वर्ष बाहिर नलगेको किसान शर्माले बताए । किसानको यही कारणले यस वर्ष जिल्लामा मह उत्पादन पनि घटेको छ । यस वर्ष जिल्लामा करिब ३ सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब ४ सय ५० टन मह उत्पादन भएको थियो ।रासस
विश्वकै उत्कृष्ट माइक जडान भएको ‘स्टुडियो २१’ सञ्चलानमा
काठमाडौं । काठमाडौंको अनामनगरमा ‘स्टुडियो २१’ सञ्चलानमा आएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि ‘स्टुडियो २१’ औपचारिक रुपमा सञ्चालनमा आएको हो । भारतीय साउण्ड इन्जिनियर अमित जोशी, देवेन्द्र नेपाल, किरण सिंह थापा र मनोज डंगोलको संयुक्त लगानीमा ‘स्टुडियो २१’ सञ्चालनमा ल्याइएको हो । ‘स्टुडियो २१’बाट गीत रेकर्डिङ्ग, मिक्सिङ्ग मास्टरिङ्ग लगायतका म्युजिक सम्बन्धी काम गरिने सञ्चालक किरण थापाले जानकारी दिए । ८ महिनाको अथक प्रयासपछि बुधबारदेखि औपचारिक सञ्चालनमा आएपनि यसअघि आन्तरिक रुपमा काम गर्दै आएको थापाले बताए । ‘सीरुपाते जुङ्गा’ गीतका गायक बाबुल गिरीको संगितकार तथा एरेन्जमा चलचित्र ‘सिटामोल’का लागि ‘सलाम आमा बाबालाई’ बोलको गीत रेकर्डिङ्ग गरेर स्टुडियो २१ औपचारिक उद्घाटन गरिएको उनले बताए । पछिल्लो समय चर्चित गायक÷गायिका थानेश्वर गौतम, अञ्जु पन्त, अनु चौधरी, चक्र बम, निरुता खत्री, उमेश मुस्कान, सुमन ताम्राकार, नवराज कलौनी, पुष्पा बोहरा, टिका पुनले सो स्टुडियोबाट गीत रेकर्डिङ्ग गरिसकेको सञ्चालक थापाले बताए । निकै चर्चित थानेश्वर गौतमको ‘आलिमा भट्ट’, ‘पैसा खाउ’ लगायतका गीत ‘स्टुडियो २१’ बाट रेकर्डिङ्ग र मिक्सिङ्ग मास्टरिङ गरिएको थियो । सो रेकर्डिङ स्टुडियोमा विश्वैक उत्कृष्ट न्यूमन एम १४९ कम्पनीको माइक जडान गरिएको बताइएको । उक्त माइक जडान भएको नेपालको पहिलो स्टुडियो रहेको उनको दाबी छ । स्वर्गीय माइकल ज्याक्सन, लता मंगेश्वर, सोनु निगम, अर्जित सिंह लगायत विश्व प्रसिद्ध गायकहरुले समेत सो माइक प्रयोग गरी गीत रेकर्ड गरेको उनले बताए ।
निजी अस्पतालमा १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार, पार्किङ शुल्क लिए कारवाही
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई कूल शैयाको १० प्रतिशत शैया गरिबीलाई निःशुल्क उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । याे व्यवस्थासँग सर्बसाधारणालाई केही सुविधा हुने तर निजी लगानीमा सञ्चालित स्वास्थ्य संस्थालाई भने मर्का पर्ने जानकारहरू बताउँछन् । मन्त्रालयका उपसचिव एकदेव खनालले आज सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गरी विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका हुन् । मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने भएको व्यवस्थाअनुसार १० प्रतिशत शैया छुट्याई निःशुल्क उपचार गर्नुपर्ने उल्लेख छ । मन्त्रालयले केही दिनअघि गरेको अनुगमनमा धेरै अस्पतालले कूल शैयाको १० प्रतिशत शैया नछुट्याएको पाइएको थियो । यस्तै अस्पतालमा कार्यरत जनशक्तिलाई पनि न्यूनतम तलब दिएको पाइएको उल्लेख गर्दै पूणर् तलब दिनसमेत परिपत्रमा निर्देशन दिइएको छ । मन्त्रालयले अनुगमनका क्रममा स्वास्थ्य संस्थाले सवारी साधन पार्किङको शुल्क उठाएको पाइएको जनाउँदै पार्किङ शुल्क नउठाउन निर्देशन दिएको हो । मन्त्रालयले परिपत्रमा उल्लेख गरिएका कुरा लागू नगरे कारबाहीसमेत गर्ने स्वास्थ्य संस्थालाई जनाएको छ ।
मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण हुँदै, काठमाडौंदेखि नुवाकोटसम्मको यात्रा
काठमाडौं । मेरोअटो मोटर र्यालीको तेस्रो संस्करण वैशाख १५ र १६ गते आयोजना हुने भएको छ । विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मोटर र्याली यो वर्ष काठमाडौंबाट नुवाकोट दरबार क्षेत्रसम्म हुनेछ । मेरोअटो डटकमले आयोजना गर्दै आएको यस मोटर र्याली मुख्यतया हाइवे ड्राइभिङ, आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम र ब्यवसायीक नेटवर्किङ विस्तारको लागि सहयोगी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । लक्ष्मी हुन्डाई र बीवाइडीसँगको सहकार्यमा हुन लागेको र्यालीमा विभिन्न ब्राण्डका ५० भन्दा धेरै कार र १०० भन्दा धेरै सहभागि रहने आयोजकले जानकारी दिएको छ । र्यालीको तयारी पुरा भएको जानकारी दिँदै अटोमोटीभ्स प्रालिका निर्देशक उज्वल घिमिरेले भने, ‘हाम्रो लक्ष्य नेपालमा ड्राइभ टुरिजम विकासमा सहयोग गर्ने र सुरक्षित ड्राइभिङलाई प्राथमिकता दिने हो । यसमै आधारित रहेर ¥यालीको तयारी गरेका छौं ।’ घिमिरेको अनुसार र्याली काठमाडौंको नक्सालबाट टोखा, शिवपुरी, छहरे हुँदै ऐतिहासिक नुवाकोट दरवार पुगेर बट्टारस्थित सिद्धार्थ होटल वाटर टावरमा पुगेर समापन हुनेछ । शुक्रबार दिउँसो १ बजे सुरु हुने र्यालीको समापन भने शनिबार गरिने उनले बताए ।